Thursday, February 20, 2014

.... अल फ्रम ब्ल्याक

ब्लुज्, फङ्क, ज्याज, सोल र मोटाउन संगीतका प्रेमिका लागि फेब्रुअरी महिना अघिपछिजस्तो सीर्फ संगितको आनन्द लिने समय रहेन । त्यसको उत्पति, मर्म र शैलिलाई समेत उनीहरुले नजिकबाट चियाउन पाए र पाउनेछन । र, सबैभन्दा महत्वपूर्ण तथ्य अमेरिकी वा विश्व संगितमा अफ्रिकी अमेरिकी समुदायको योगदान जान्नेछन् । खासमा फ्रेबुअरी महिना नेपाली संगीतकर्मीहरुले पनि विश्वभरझै नेपालमा पनि ती अफ्रिकी अमेरिकी समुदायमा उत्पति भएका गीत र त्यसका सस्ट्राप्रति सम्मान दर्शाइरहेका छन्, ‘ब्ल्याक हिस्ट्री मन्थ’का रुपमा ।

आज साँझ नै पनि ठमेलको हाउस अफ म्युजिकमा काठमाडौं ज्याज कन्सरभेट्री (केजेसी)का विद्यार्थी र किस्मत ज्याज क्वार्टेटले ज्याज संगीतमाथि प्रस्तुति दिंदैछन् । ज्याजको दायरा अहिले निकै फराकिलो भएको छ । बिसौं शताब्दीको शुरुतिर अमेरिकाको दक्षिणी भेगमा लो पिचमा गाइने ब्लु नोटदेखि बराबर समयअवधीमा लामो छोटो अल्टर गर्दै गाइने स्विङ नोटजस्ता केही प्रारम्भिक शैलीमा उत्पति भएको थियो । तर अहिले विश्वभर फैलिएको ज्याजका शैली देश, स्थान र समुदायपिच्छे ‘सब’, ‘फ्युजन’, ‘रिजनल’ जेन्राका रुपमा मौलिक र भिन्नभिन्न पाइन्छन् । सायद आज केजेसी कोम्बोले यसका धेरै प्रकृतिमाथि आफ्नो प्रस्तुति दिनेछ ।

यो सांगितिक महिनाको संयोजन गरेको छ ट्राभल गाइड ‘लोन्ली प्लानेट’ले मौलिक नेपाली रक, आरएनवीजस्ता संगित लाइभ सुन्ने सबैभन्दा उत्कृष्ठ थलो भनेर अथ्र्याएको ठमेलको ‘हाउस अफ म्युजिक’ र काठमाडौंस्थित अमेरिकी दूतावासले । अमेरिका र क्यानाडामा यसलाई बर्षेर्नी फेब्रअरीमा मनाइन्छ भने बेलायतले अक्टोबर महिनामा । सांगितिक पक्षले बढि चर्चा बटुलेता पनि कतिपयले यसलाई अफ्रिकी अमेरिकी समुदायकै इतिहास सम्झने महिनाको रुपमा सम्झन्छन् । काला अमेरिकीहरुको दु:ख, पीडा र त्यसबिचमै हुर्किएको प्रेम, सद्भावजस्ता थुप्रै विविधता पाइन्छ अफ्रिकी अमेरिकीहरुले उत्पति गरेका यी सांगितिक विधामा ।


महिनाभरका हरेक शुक्रबार विभिन्न विधाप्रति सम्मान दर्शाउँदै प्रस्तुति राखिएकोमा त्यसको शुरुवात फङ्क र सोलबाट गरिएको थियो । ज्याज, ब्लुजजस्ता थुप्रै विधाको समिश्रणबाट तयार हुने सोल संगित नृत्यको लागि समेत बढि रुचाइनेमा पर्छ । फङ्कमा भने सोल, ज्याज, आरएनबीको फ्युजनबाट तयार हुन्छ ।

सोल, ब्लुजजस्ता विधाका संगीतमा गुञ्जने भेदभाव, पीडाबाट मुक्तिका गुञ्जाइस र अधिकारका आवाजहरु उनीहरुको त्यही दु:खदायी बिगतबाट जन्मिएको हो । त्यसैले अफ्रिकी–अमेरिकी समुदायका जन्मिएका यी सांगितिक विधाहरु एक अर्कामा मिल्दाजुल्दा र अन्तरसम्बन्धित देखिन्छन् ।

अर्को शुक्रबार रस्टी नेल्स, मुक्ति शाक्य लगायतका गायकले ब्लुजका यिनी पक्षमा नेपाली स्वाद भरेर गाउँछन् । संगीतकर्मी तथा हाउस अफ म्युजिकका संस्थापक सञ्जय श्रेष्ठ भन्छन्, “जहाँ दु:ख, पीडा र प्रेमभाव त हुने छ नै तर नेपाली परिवेशमा ।” भिरपाखामा चौरी चराउँदा, घाँस काट्न जाँदाका परिवेस हुन् वा आफ्ना प्रेमी खाडिको मरुभूमिमा छंदा एकअर्कामा हुने पीडा झल्कनेछन् । अझ मोन्टाउन विधाको एउटा विशेषता भनेको ‘कल एण्ड रेस्पोन्स’ शैली हो, जुन कतैकतै हाम्रो दोहोरीसँग मिल्छ पनि । त्यसैले ब्याक हिस्ट्री मन्थ अमेरिकी साङ्गितिक प्रभाव भएता पनि स्थानीय परम्परागत स्वादको उर्जात्मक सम्मिश्रण हुनेछन् ।

यो बर्ष ज्याज र ब्लुजतर्फ काठमाडौंका युवामाझ दुई फरक फरक कार्यशाला समेत गर्दैछन् । नेपालमा ब्ल्याक हिस्ट्री मन्थको यो तेस्रो संस्करण हो । पहिलो सिजनमा एक अमेरिकी हिपअप आर्टिस्टले अमेरिकाबाटै भिडियो कन्फरेन्समा सांगितिक कार्यशाला पनि दिएका थिए ।

First appeard in (Hello Shukrabar) Kantipur.

No comments:

Post a Comment