Monday, October 20, 2014

अन्नपूर्ण विपत्तीको कारक -- कमजोर सूचना संयन्त्र

मुस्ताङको दामोदर कुण्डमाथि पर्ने खरिबुङ पास (६००० मिटर) लाई गन्तव्य बनाएर पदयात्रा गर्दै गरेकाले सम्भावित लेक लाग्ने समस्यासँग जुध्न ११ जनाको फ्रेन्च टोलीले निकै तयारी गरेको थियो । उच्च भेगको हावापानीसँग अभ्यस्त हुन थोरै–थोरै हिंड्दै र आराम गर्दै अघि सरेका उनीहरुले त्यस्तो समस्या झेले जसको तयारी त परै जाओस कल्पनासम्म पनि गरेका थिएनन् । २८ असोजको दिउसोबाट जब अचानक हिउँ पर्न थाल्यो, एकछिन त पर्यटकहरु रमाए । त्यसदिन जसोतसो ६ घन्टा हिंडेर ४०९० मिटर उचाईमा पर्ने यारखर्क पुग्दासम्म हिउँ त्यसअघि कहिल्यै नभएको समस्या बनिसकेको थियो ।

“पानी र हिउँ एकैसाथ पर्‍यो । त्यसैबेला चिसो हावा पनि यसरी चल्यो कि भरपर्दो पहिरन र रेनकोट लगाउँदा पनि भित्रैसम्म चिसो छिर्‍यो,” टोलीमा नेतृत्व गरेका गाइड दविन्द्र लामाले नेपाललाई भने, “माटोले बनेका घरका छाना पनि चुहिन थाले ।” चश्मा लगाउँदा समेत देखिन छाडेको त्यो हिमपात असमान्य थियो । चिसोमा खेल्ने चौरीहरु समेत मरिरहेका थिए ।

दविन्द्रको टोली यारखर्क बास बसेको भोलिपल्ट उठ्दा हिउँको रासले हिंड्ने बाटो पूरै मेटिएर हिमालजस्ता भएपछि उनीहरुले आफ्नो पदयात्रा रद्द गरे । सौर्य उर्जाका भरमा चल्ने मोवाइलले समेत काम गर्न छाडेका थिए । त्यत्तिकैमा अगाडि बढ्नेहरु हुन् मुख्य समस्यामा पर्नेहरु । थोरोङ पासमा दविद्रकै सहकर्मी शान्ति लामा र एक नाम नखुलेका नेपाली गाइडको निधनको खबर आएको छ । हिउँले सेताम्य पहाडमा २ दिन ९ घन्टा हिंडेर दविन्द्र भने मुस्ताङको कागबेनी आइपुगेका छन् । अन्य पयर्टकहरु भने हिउँमा हिंड्न गाह्रो भएकाले विस्तारै तल झरिरहेका छन् ।

थोराङ पास पुग्नु अघिको तेस्रो क्याम्प मनाङबाट फर्केर ज्यान बचाए टेलिभिजन पत्रकार दिलभुषण पाठकले पनि । भन्छन्, “चार जनाको हाम्रो टोलीमा एक साथी विनय बोहोराका बुवाले भारतबाट फोन गरेर समुद्री आंदीको प्रभाव हुनसक्ने जानकारी मनाङमा छंदै गराउनु भएको थियो । त्यही हिमपात शुरु भएपछि हामी तल झरिहाल्यौं ।” मनाङ, थोरोङ फेदी पुग्नु अगाडिको तेस्रो बेस हो । पाठकका अनुसार थुप्रै नेपाली पदयात्रीहरु सामान्य पहाड चढेजसरी त्यत्तिको उच्च भेगमा गइरहेका थिए जसलाई त्यहाँ हुन सक्ने दुर्घटनाको सामान्य बिफ्रिङ समेत थिएन । न बदलिएको मौसमी अपडेट न त उचाईमा यात्रा गर्न चाहिने आधारभुत ज्ञान । सामान्यत: उकालोमा यात्रा गर्दा एक दिनमा पाँच सय मिटरभन्दा माथि लाग्नु हुँदैन । 

यो विपदबाट शुक्रबार साँझसम्म २९ जनाको मृत्यु छ भने २२० भन्दा बढिको नेपाली सेनाले उद्दार गरेको छ । १२ जान विदेशीको सनाखत भएको छ भने बाँकी नेपालीहरु छन् । “अझै थुप्रै टि हाउस र होटलमा छन जो टेलिफोन सम्पर्कका अभावमा छन्,” सर्च एन्ड रेस्क्यु अपरेसनमा गएका सिम्रिक एयरका क्याप्टेन सिद्धार्थ गुरुङले विहीबार नेपालसँगले भने, “तर त्यहाँ व्यवस्थित र संगठित रुपले उद्धारको काम भएको छैन जुन हुन सकेको भए यो समस्या यति ठूलो हुने थिएन ।”

जलवाफयुक्त वादल बंगालको खाडिबाट आएको समुद्री आँधीसँगै नेपालतर्फ प्रवेश गरेको थियो । जसको सुचना पदयात्रीमाझ पुग्न र पुर्‍याउनतर्फ चासो दिइएन । यसअघि सन् १९९५ मा यस्तै बरफी तुफानले सोलुखुम्बुको गोक्यो ताल नजिकै १३ जापानी र ११ नेपालीको मृत्यु भएको थियो । त्यस्तै सन् २००५ मा मनाङको काङ गुरुमा हिमपहिरोले गर्दा नेपाली र फ्रेन्च गरी १८ जनाको ज्यान गएको थियो । यसले पदयात्रा रुटमा यस्ता आपतकालिन सूचनाको महत्व कस्तो हुन्छ भन्ने पुन: एकपटक बोध गराएको छ । “धेरै विदेशीहरु पास नजिक पुगेपछिको अन्तिम विन्दुमा त्यत्तिकै नफर्किने भन्दै पनि अगाडि बढे,” पत्रकार पाठक भन्छन्, “निकै कहलिएका ट्रेकिङ दलसँग पनि स्याटलाइट फोन र मौसमबारे जानकारी थिएन ।”
त्यहाँ गाइड र पोर्टरहरुको अवस्था झनै विजोगको हुन्छ चप्पलकै भरमा यात्रा गर्नुपर्ने । थुप्रै गाइडहरु विदेशीको दवाबमा पनि परे । माथि झन् नमज्जाले हिमपात र पहिरो गइरहेको छ भनेर तल जानकारी दिने र रोक्ने कोही भइदिएन ।

अहिले धेरै ज्यान लिनेगरी हिमपात भएको भाग थोरोङ पास अन्नपूर्ण सर्किटकै सबैभन्दा उच्च हो जसले मनाङ र मुस्ताङ जोड्छ । विश्वकै चर्चित अन्नपूर्ण पदयात्रा नेपालकै सबैभन्दा बढि पदयात्री जाने रुट हो भने मनास्लु र मुस्ताङ रुट पनि महत्वपूर्ण हुन् । शरद ऋतु पर्यटकिय मौसम भएकाले यो समय त्यहाँ धेरै चाप हुने हो । अघिल्लो बर्ष थोरोङ पास काटेका गोविन्द सिवाकोटी भन्छन्, “तिलिचो बेस क्याम्पदेखि तालसम्म यो याममा त्यसै पनि हिउँ परिराखेको हुन्छ । उता थोराङ फेदीदेखि थोराङ पाससम्म सामान्य मौसममै समेत लेक लाग्ने समस्याले गर्दा ३ देखि ५ घन्टा हिंड्नुपर्छ ।” त्यहाँ एक दुई टि हाउस मात्र छन् । मनाङपछि सहजै होटल भेटिंदैन । त्यसैले धेरै मनाङ काटेपछि याक खर्कमा धेरै नबस्नेगरी सिधै थोरोङ पास काट्न तम्सिन्छन् ।
त्यसबाहेक मेरा पिक क्षेत्र, धवलागिरी आधारसिविर, लार्केला भञ्जाङ् प्रभावित छन् । हिमपात बन्द भइसकेपछि पनि हिमपहिरो आएकाले त्यहाँ समस्यामाथि समस्या थपिएको छ । “अघिल्लो दिन (बुधवार) देखिएका १० शवहरु अर्कोदिन जाँदा ६ मात्र फेला पार्न सकियो,” नेपाली सेनाका प्रवक्ता नीरञ्जन श्रेष्ठले भने, “थोरङ नपुग्दै फर्कनेहरुले ज्यान बचाएका छन्, माथिबाट मुक्तिनाथ जानेहरु भने समस्या झेले जहाँबाट ६ लास बरामद गरिएको थियो ।”  

याक खर्क र थोराङ फेदिबाट अगाडि बढ्नेको विवरण लिने गरिन्छ जुन पास कटेपछिको मुक्तिनाथमा जाँच्ने काम हुन्छ । यसमा नेपालीको विवरण छैन । ठूलो हिमपात भएको मनाङको नार र फुमा स्थानियहरु समेत घर बाहिर निस्कन सक्ने अवस्थामा छैनन् । चौरी खर्कहरुमा रहेकाहरुको हालत के छ भन्ने अझै स्पष्ट छैन ।

No comments:

Post a Comment