महाविनाशकारी भूकम्पपछि उद्धार र राहतका लागि मानव बस्तीमा भीड बढिरहँदा त्रिभुवन विश्वविद्यालयका भूगर्भशास्त्रका उपप्राध्यापक दीपक चम्लागाईं आफ्नो टोलीसँग चुरेका डाँडातिर लागे । कारण थियो, भूकम्पका कारण त्यहाँ परेका चिराहरूको पहिचान गरी त्यसका आधारमा सम्भावित भौगर्भिक अवस्थाको मूल्यांकन गर्नु । भारतीय र युरेसियन प्लेटका कारण नेपालमा जहाँ भूकम्प गए पनि त्यसको ऊर्जा निकास चुरे पर्वतमा बन्ने दरारबाट हुन्छ ।
सुरुमा भौगर्भिक दृश्यका आधारमा अगाडि बढे पनि पछि स्थानीयवासीका सूचनालाई समेत पछ्यायो, चम्लागाईंको टोलीले । त्यस क्रममा उनीहरूले सर्लाही, हरिवनको अत्रौली पहाडमा भूकम्पसँगै सक्रिय भएको झन्डै आठ मिटर लामो पहिरो फेला पारे । “तर, त्यो पहिरोलाई सामान्य ढंगबाट हेर्न मिल्दैनथ्यो,” चम्लागाईं सुनाउँछन्, “त्यसले जमिनमा भएको पानीको स्थितिमा परिवर्तन ल्याएको छ ।” जस्तो : त्यसको असर तत्कालै देखिन थाल्यो । भूकम्प रोकिएको एक घन्टामै केहीअघिसम्म सुक्खा रहेको अत्रौली खोलामा पानी बग्न थाल्यो, डाँडातिरका रूख भने सुक्न थाले ।
कमजोर मानिने चुरे शृंखलामा देखिएको यस्तो दृश्य हाम्रो भूगर्भमा आएको परिवर्तनको एउटा साधारण उदाहरण मात्र हो । जमिनभित्रका कति प्रभाव त हाम्रा आँखाले तत्काल नदेख्न पनि सक्छन् । कतिलाई भौगर्भिक विशिष्टताका आधारमा मूल्यांकन नगरिन पनि सक्छ । चम्लागाईंको ठहर छ, “त्यही हाम्रा लागि भावी दु:खको कारण बन्न सक्छ ।”
बाढी, पहिरो र राजमार्ग
भूकम्पले भूगर्भमा ल्याएको परिवर्तनको प्रारम्भिक अवस्था थाहा पाउनका लागि खानी तथा भूगर्भ विभाग, त्रिभुवन विश्वविद्यालय र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले अति प्रभावित जिल्लामा तीन सदस्यीय १८ वटा टोली पठाएको थियो, जसको उद्देश्य मनसुनअगावै स्थानान्तरण गरिनुपर्ने ठाउँको पहिचान गर्नु थियो । विज्ञ अभाव र त्यसको प्रतिवेदन छिटो तयार पार्नुपर्ने भएकाले ती टोलीले दुईदेखि तीन दिन मात्र फिल्डमा बिताउन सके । जटिल भूभागकै कारण उनीहरूले जिल्लामा क्षतिको निकै हल्ला सुनेका ठाउँलाई मात्र आधार बनाए । टोली फर्किएर गृह मन्त्रालयलाई आफ्नो प्रतिवेदन बुझाइसक्दासमेत खासै उल्लेख्य निष्कर्षमा पुग्न नसकिएको भन्दै वर्षाअगावै नेपाली सेनासँगको सहकार्यमा पुन: फिल्डमा जाने निष्कर्षमा पुगेको छ, खानी तथा भूगर्भ विभाग ।
सिन्धुपाल्चोकको गुम्बा गाविस पुगेका विभागका वरिष्ठ डिभिजनल जियोलोजिस्ट सन्तोष ढकाल भन्छन्, “कतिपय ठाउँमा गाउँ नै सार्नुपर्ने गरी चिरा परेका छन् तर धेरै ठाउँमा मानिस सामान्य चिराकै आधारमा समेत आत्तिएका छन् ।” उनको अनुभवमा कोदारी राजमार्गमा माथिबाट ढुंगा खस्ने क्रम उच्च छ भने तलबाट नदीले कटान गरिरहेको छ । कोदारी मात्र होइन, अधिकांश मुख्य राजमार्गहरू यसै गरी पहिरो काटेर बनाइएका हुन् । अहिले सामान्यजस्तो देखिए पनि त्यस्ता राजमार्गमा धेरै वर्षअगाडिका पहिरो भूकम्पसँगै सक्रिय भएका हुन सक्ने भूगर्भशास्त्रीहरूको चिन्ता छ । विभागका सुपरिटेन्डेन्ट जियोलोजिस्ट लीलानाथ रिमाल भन्छन्, “मनसुनअगाडि हाम्रो ध्यान जसरी हुन्छ थप मानवीय क्षति रोक्नेतर्फ मात्र छ, विस्तृत अध्ययन त अबको वर्षालाई हेरेपछि मात्र सम्भव छ ।”
पानी पर्नेबित्तिकै भूकम्पले चिरा परेका भागमा वरपरको पानी जम्मा हुन्छ । त्यसरी जम्मा हुने पानीले चाप सिर्जना गर्छ र पहिरो जाने क्रम बढ्छ । त्यसैले अहिले सुरक्षित मानिएका बस्तीवरपरका पहाडमा समेत चिराको अध्ययन आवश्यक छ ।
गोरखाबाट फर्केपछि विभागका विज्ञहरू ताम्राङ गाविसको आरुघाटमा रहेको भूकम्पप्रभावितहरूको अस्थायी शिविर, जहाँ ४१ परिवारको बसोवास छ, लाई वर्षाअगावै सार्नुपर्ने बताइरहेका छन् । त्यससँगैको मान्द्रेदेखि लाप्राकसम्मको करिब सात किलोमिटरको दूरीमा डाँडामा लामो चिरा परेको छ, जसको गहिराइ उनीहरूले तीन मिटरसम्म मापन गरेका छन् । त्यसको वास्तविक गहिराइ अझ बढी पनि हुन सक्छ । किनभने, ठूलो भूकम्पबाट बनेको चिरा परकम्पनहरूमा जोडिएर थाहा नभएको पनि हुन सक्छ । भूगर्भविद् रिमाल भन्छन्, “वर्षापछि त्यस्ता धेरै ठाउँमा करेन्ट पठाएर विस्तृत भौगर्भिक अध्ययन गरिनुपर्छ ।”
राजमार्गसँग जोडिएका त्यस्ता पहिरो कति छन् भन्ने पहिचान अझै भएको छैन, जसले पहिरो बढ्दा खोलाको सतह उठेर पूर्वपश्चिम राजमार्गमा भएका पुललाई असर गर्छन् । यसले भारतसम्म बाढी र पहिरोको समस्या सिर्जना गर्न सक्छ । हालै कालीगण्डकीमा थुनिएको पहिरो र गत वर्ष जुरे पहिरोले सुनकोसी थुनिएजस्तो जोखिम त छँदै छ ।
वर्षामा हुन सक्ने सम्भावित प्रकोपबाट बच्न नेपाल–चीन सीमाको खासा बजारलाई चिनियाँ पक्षले खाली गराइसकेको छ । यता नेपालतर्फको लिपिङ बजार सुनसान नै छ । कोदारी राजमार्गमा ढुवानीको काम ठप्पै छ । ढुंगे पहिरोले गर्दा लामोसाँघुदेखि कोदारीसम्म बाटो कहीँ ठीक छैन । तातोपानीमा निर्माणाधीन दुगुना गढीमा सुक्खा बन्दरगाहसमेत सुरु नहुँदै बन्द हुने अवस्थामा छ । कारण, एकातर्फ तल भोटेकोसीमा पानी बढेर कटान भइरहेको छ भने अर्कोतर्फ माथि डाँडामा १५ मिटर गहिराइसम्मको चिरा परेको छ । यसले सम्भावित अनिष्टको संकेत गर्छ ।
नदीको सतह बढ्ने चिन्ताले पहिले नै विभिन्न नदी–खोलाका २७ स्थानमा जडान गरिएका अटोमेटिक सेन्सरको माध्यमबाट तह बढेको छ या छैन भन्ने मापन हुँदै आएको छ । ‘रियल टाइम’ सूचना आउने त्यस्तो संयन्त्रबाट यो वर्ष अहिलेदेखि नै धेरैतिर आइरहेको सुक्खा पहिरोको सम्भावनालाई मध्यनजर गर्दै १८ जेठबाट २४ घन्टे सूचना लिने–दिने काम सुरु गरिएको छ ।
असुरक्षित हिमताल
भूकम्पको विनाशलीलाका कारण हिमतालहरू पनि संकटमा पर्न सक्ने भन्दै अमेरिकाको युनिभर्सिटी अफ टेक्ससको टोली नेपाल आएर खुम्बु क्षेत्रको इम्जालगायतका हिमतालमा पुगेको थियो । त्यस टोलीका नेता प्राध्यापक डेनी म्याकिन्लीले विश्वविद्यालयको वेबसाइटमा भनेका छन्, ‘अहिलेलाई अवस्था जेजस्तो देखिए पनि जोखिममा रहेका भनिएका हिमतालहरूको विपत् पश्चात्को फिल्डको आकलन आवश्यक छ ।’ उक्त टोलीले खानी तथा भूगर्भ विभागसँग मिलेर आउँदो तीन महिनासम्म त्यस्ता हिमतालको अवस्थाको अध्ययन गर्दै छ । २ जेठमै विभाग र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)को टोली दोलखाको च्छो रोल्पा हिमतालतलको मानव बस्तीमा असर पार्न सक्ने भन्दै पूर्वसचेतना प्रणाली जडान गर्न गएको थियो ।
सोलुखुम्बुको इम्जा हिमतालमा हाललाई समस्या देखिएको छैन तर भूकम्पलगत्तै पहिरोका कारण एउटा सानो हिमताल फुटेर इम्जा हिमनदीमा बाढी आएपछि मानिस आत्तिएका थिए । च्छो रोल्पामा भने तालको माथिपट्टि पहाडतिर चिरा परेको प्रारम्भिक अध्ययन छ । “त्यो खतरनाक त होइन,” जल तथा मौसम विज्ञान विभागका महानिर्देशक ऋषिराम शर्मा भन्छन्, “यद्यपि, हामीले जोखिममा रहेका ठूला तीन हिमताललाई विज्ञसहितको टोली लगेर अध्ययन गर्दै छौँ ।”
देशभरमा २१ वटा हिमताल जोखिममा भए पनि अहिलेको भूकम्पबाट असर पुगेका हुन सक्ने भने ठूला प्रमुख तीन अर्थात् दोलखाको च्छो रोल्पा, सोलुखुम्बुको इम्जा र मनाङको ठूलागी हिमताल हुन् । भूकम्पको सबैभन्दा बढी असर च्छो रोल्पामा परेको छ । महानिर्देशक शर्मा भन्छन्, “परकम्पनसमेत च्छो रोल्पाकै आसपास केन्द्रविन्दु परेर आइरहेका कारण बढी चिन्ता छ ।” इम्जामा पानीको सतह तीन मिटर घटाउन कुलो बनाएर निकास दिने काम सुरु हुँदै छ । यो काम हिउँद सुरु नहुँदै सक्ने तयारीमा छ, जल तथा मौसम विज्ञान विभाग ।
हरेक सानाठूला पूर्वाधार निर्माण गर्दा पहिले भौगर्भिक अध्ययन सकेपछि मात्र इन्जिनियरिङबारे सोचिनुपर्छ । तर, हामीकहाँ जमिनको अवस्थालाई बेवास्ता गर्दा राम्रो इन्जिनियरिङ भएका भवनहरू पनि कसरी सुरक्षित रहन सकेनन् भन्ने तथ्य काठमाडौँका अग्ला भवन र अपार्टमेन्टबाट बुझिन्छ ।
सामान्य समयमा पनि ढुंगे पहिरो वा धूले पहिरो जाने ठाउँहरू भौगर्भिक रूपमा अस्थिर ठाउँका रूपमा बुझिन्छन् । सहरमा र ठूला पूर्वाधार बनाउँदा गरिएका भौगर्भिक अध्ययनको प्रभावकारिताको प्रश्न त एकातर्फ छ भने अर्कातर्फ गाउँघरतिर जता डोजर गयो, त्यतै बाटो बन्ने गरेका पनि छन् । पहिरोले बनाएका ठाउँ समथर पनि हुने हुँदा धेरै गाउँ पहिरोमै छन् । “पहिरो प्रकोप नक्सांकन पहिले गर्नु आवश्यक छ । देशको ठूलो भूभागको भौगर्भिक अध्ययन जरुरी छ,” उपप्राध्यापक चम्लागाईं भन्छन्, “अब त झन् भौगर्भिक मात्र नभएर भूकम्पीय भौगर्भिक अध्ययनको आवश्यकता छ ।” अहिलेसम्म भौगर्भिक अध्ययनमा भूकम्पीय पक्षलाई हेरिएको थिएन ।
टिप्पणी: न अध्ययन, न योजना
- प्रा विशालनाथ उप्रेती
पछिल्लो भूकम्पसँगै अबको वर्षामा हामीले झेल्नुपर्ने मुख्य समस्या पहिरो नै हो । यद्यपि, भूकम्प जाँदाजाँदै वा लगत्तै भने लाङटाङ, सगरमाथा र दोलखामा बाहेक अन्यत्र ठूलो क्षति हुन पाएन । यसमा हामीले आफूलाई भाग्यमानी ठान्नुपर्छ । पाकिस्तानको सन् २००५ को भूकम्पमा ८० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो, जसमध्ये २५ हजारजतिले त पहिरोबाटै ज्यान गुमाए । चीनको सिचुवानमा सन् २००८ को भूकम्पले ज्यान गुमाएका झन्डै ७० हजारमध्ये एकतिहाइ त पहिरोमै परेका थिए ।
हामीकहाँ भुइँचालोको समय मध्याह्नमा परेकाले आगलागी ठूलो समस्या बनेन । हिमनदी फुट्न सक्ने समस्याबाट समेत हामी बच्यौँ । तर, वर्षामा त्यसै पनि पहिरो जान्छ हामीकहाँ । त्यसमाथि सिर्जना भएका जमिनका चिरामा पानी भरिएर भित्रबाट बल दिन्छ, परकम्पनले जमिनलाई थोरै मात्र हल्लाउँदा पनि पहिरो जान सक्छ । चिरा परेर जोखिममा रहेका गाउँ अहिले यति छन् कि जहाँ पुग्न हामीसँग पर्याप्त भूगर्भविद् नै छैनन् । हालै खानी विभागले सात जिल्लामा पठाएका १८ टोलीसमेत त्यस जिल्लाका प्रमुख जिल्ला अधिकारीले सिफारिस गरेका केही गाउँमा मात्र पुगेका हुन् । त्यसैले तिनले बुझाएका विवरणले समेत वास्तविक अवस्था बोल्न सक्दैनन् ।
वर्षामा छेउका पहाडबाट ठूलो पहिरो गएमा हाम्रा नदीहरू एक ठाउँमा मात्र होइन, थुप्रै ठाउँमा थुनिन सक्छन् । चीनको सिचुवानमा त्यस्तै समस्या आएर दसौँ लाख मानिसलाई अन्यत्र सारेर नदी खुलाइएको थियो । विज्ञ, प्रविधि र स्रोत प्रशस्त हुँदा त चीनलाई समस्या परेको थियो । हामीकहाँ त त्यो पनि छैन ।
खेतबारीमा धेरै चिरा परेको छ, जसमा रोपाइँ गरियो भने पहिरोको समस्या झन् निम्तिन सक्छ । किनभने, चिरा परेको जग्गामा पानी संकलन हुनु भनेको पहिरोका लागि निकै उपयुक्त वातावरण हो । त्यसैले हालै भएको प्रारम्भिक अध्ययनले त्यस्ता खेतमा रोपाइँ नगर्न सुझाएको छ ।
सिन्धुपाल्चोकका लागि अहिलेको वर्षा निकै त्रासदीपूर्ण हुनेवाला छ । त्यहाँका डाक्लाङ, गुम्बाजस्ता ठाउँ त्यसै पनि पहिरोको खतरा भएका ठाउँ हुन् । अहिले नै सुक्खा पहिरो सुरु भइसकेको छ । त्यस्ता धेरै ठाउँका लागि एउटा विपत्ति नसकिँदै अर्को विपत्तिका लागि तयारी आवश्यक छ ।
अर्को महत्त्वपूर्ण पाटो हाम्रा सडक कत्तिको सुरक्षित छन् भन्ने त अहिलेसम्म हेरिएकै छैन । बनेपा–सिन्धुली सडकमा पनि धेरैतिर चिरा परेको छ । मुग्लिङ–नारायणघाट सडक खण्डमा त्यसै पनि धेरै पहिरो जाने भएकाले त्यहाँ बढी डर छ । नदीछेउका पहिरोले प्राकृतिक बाँध बनेर पाँच किलोमिटरसम्मका ताल बन्न पुगे र त्यसलाई व्यवस्थापन गर्न सकिएन भने एकैपटक फुट्दा ठूलठूला जलविद्युत् आयोजनामा नै असर पर्न सक्छन् ।
मनसुन सुरु हुन अब महिना दिन पनि बाँकी नरहँदा अब हामीसँग सूचना लिने र तयारी अवस्थामा बस्नुको विकल्प छैन । किनभने, हामीकहाँ यस्ता विपत्सँग जुध्न दीर्घकालीन अध्ययन र योजना नै बनेन । बिनाअध्ययन पूर्वतयारी गर्न सकिन्न । तसर्थ, अध्ययनका लागि लगानी जरुरी हुन्छ । त्यसपछि मात्र सीप र प्रविधि भित्र्याएर जोखिम न्यूनीकरण गर्न सकिन्छ ।
(उप्रेती भूगर्भविद् हुन् ।)
First appeared in Nepal Magazine.
First appeared in Nepal Magazine.
No comments:
Post a Comment