Wednesday, June 22, 2016

सगरमाथाले ततायो भेगन बहस

Kuntal Joisher

मेलबर्न, अस्ट्रेलियाकी मारिया ट्राइडमलाई सिर्फ आरोहीका रूपमा सम्बोधन गर्दा अपूरो हुन्थ्यो । उनी भेगन आरोही थिइन् अर्थात् माछा, मासु, अन्डा, मह र दूधबाट बनेका कुनै पनि परिकार नखाने ।

‘अनि, कहाँबाट आउँछ प्रोटिन, भिटामिन, आइरन ?’
‘कसरी जुट्छ त्यति धेरै शक्ति ?’
‘अनि कसरी सम्भव छ सगरमाथा चढ्न ?’

अक्सर झेलिरहने यस्ता प्रश्नको सबैभन्दा गतिलो उत्तर फर्काउनु भनेको उनका लागि सगरमाथा चुचुरो चुम्नु थियो । आफ्ना भेगन पति रोबर्टसहित १ जेठमा चुचुरोतर्फ लम्कँदै गर्दा उनी झन्डै ८ हजार ७ सय मिटर उचाइको साउथ समिटमा लेक लागेर फर्कनु पर्‍यो । क्याम्प–४ मा पुग्दा ३४ वर्षे मारियाको ज्यान गयो भने रोबर्ट बच्न सफल भए ।

मारियाले आफ्नो दम्पतीको सफलतालाई ‘भेगन हुनु समस्या होइन, बरू भेगनले गैरभेगनले भन्दा पनि बढी काम गर्न सक्छन्’ भन्ने सन्देश दिन खोजेकी थिइन् । उनको सपनाले गन्तव्य नजिकै पुगेर दु:खद अन्त्य झेलिरहँदा अर्का भेगन भारतीय आरोही कुन्तल जोइसर, ३६, आधार शिविरबाट सगरमाथातर्फ उक्लँदै थिए । ६ वैशाखमा चुचुरो चुमेर उनले आफू पहिलो भेगन आरोही भएको दाबी गरेका छन् ।

भेगन आन्दोलनका लागि यसरी सगरमाथाको यो सिजन एकैसाथ दु:खद र सुखद घटना बन्न पुगेको छ । भेगनको शारीरिक क्षमतामाथि कहिल्यै नटुंगिने बहस भने एकपटक फेरि चर्केको छ ।



गुजराती शाकाहारी परिवारमा जन्मेका कुन्तल १४ वर्षयता पूर्णत: भेगन छन् । हिमाल चढ्ने सपना बुनेकै दिनदेखि उनले पनि मारियाले जस्तै प्रश्न सामना नगरेका होइनन् । “उनीहरूलाई विश्वस्त गराउन गाह्रै पथ्र्यो,” कुन्तलले नेपालसँग भने, “बरू, मैले भेगन भएरै तिनको अभाव पूर्ति गर्ने विकल्प खोज्न थालेँ, दिनचर्या बदलेँ ।” सायद उनको पछिल्लो सफलता भेगनको क्षमतामाथि संशय पोख्नेहरूका लागि गतिलो जवाफ हो ।
Dr. Maria Strydom and her husband Robert Gropel. Photo: Their facebook. 

अमेरिकाको डेनाली, ताञ्जेनियाको किलिमिन्जारोसहित आधा दर्जनभन्दा बढी कठिन हिमालका चुचुरो नापिसकेकी मारिया सातवटै महादेशका उच्च शिखर (सेभेन समिट्स) चढ्ने क्रममा सगरमाथासम्म आइपुगेकी थिइन् । मोनास विश्वविद्यालयको अनलाइन पोर्टलसँगको कुराकानीमा उनले भनेकी थिइन्, ‘भेगन भए शरीरलाई पर्याप्त पोषण पुग्दैन, उनीहरू कमजोर हुन्छन् आदि दुष्प्रचार हौवा मात्र हुन् ।’

उनको निधनसँगै अन्तर्राष्ट्रिय सञ्चार माध्यम मारिया दम्पतीको जीवनचर्या खोतल्न भिडिरहेका देखिन्छन् । तर, उक्त दुर्घटना भेगन भएकै कारण थियो वा अन्य भन्नेबारे भने सबै नाजवाफ छन् । कुन्तलको अनुभव भन्छ, “लेक लाग्नुसँग आरोहीको खानपानको ठूलो सम्बन्ध छैन । के त्यसो भए सगरमाथामा आजसम्म ज्यान गुमाउने तीन सयभन्दा बढी आरोही सबै भेगन थिए त ?”

कतिपय विज्ञ भने भेगन हुँदा शारीरिक शक्तिका लागि अत्यावश्यक कतिपय तत्त्वको अभाव स्वाभाविक रूपमा हुने र त्यसको विकल्प खोज्ने कामसमेत सहज नहुने औँल्याएका छन् । “कुलीन भोजन र अनुशासित व्यायामबाट अभावलाई चिर्न सकिन्छ,” ब्रिटिस डाइटेटिक एसोसिएसनका पोषणविज्ञ डा फ्र्याङ्की फिलिप्सले बीबीसीसँग भनेका छन्, “तर, कमजोर भेगन खाना भने प्रत्युत्पादक हुन सक्छ ।”

यिनै कुरा बुझेका कुन्तलले सगरमाथा सपना बुनेसँगै भेगन खानामै पनि स्वस्थ/ताजा र पोषणतत्त्व ज्यादा हुने खानेकुरामा ध्यान दिए । सेतो चिनी खाएनन्, मैदाको भन्दा आटाकै रोटी खाए । कतिपय भेगन जनावरका छाला, रौँ, हड्डी, खुर, सिङजस्ता अंग मिसाइएका पहिरन र सामानसमेत प्रयोग गर्दैनन् ।

कुन्तलले सगरमाथा चढ्दाका गियरहरू ८५ प्रतिशत भेगन नै थिए । “उचाइको ठन्डी थेग्ने स्तरको हातको पञ्जा र डाउनसुटमा लेदर जोडिएका थिए,” उनले भने, “मैले त्यस कुरामा जोखिम लिन चाहिनँ किनभने म मरेको भए जाने सन्देश अन्य धेरैका लागि राम्रो हुँदैनथ्यो ।”

सन् १९४५ मा बेलायतमा भेगन सोसाइटीको स्थापनापछि भेगन शब्दको पहिलो प्रयोग भएको थियो । पछिल्लो दशकमा विभिन्न देशमा भेगन स्टोर्स खुलेर विकल्प बढेसँगै व्यावहारिक रूपमै आफूलाई भेगनमा बदल्ने बढेका छन् । यसको खास मर्म जनावरको जीवनलाई असर नपुर्‍याईकनै जिउनुपर्छ भन्ने हो ।

कतिपय भने अहिलेको बहसलाई आगामी दशकमा भेगनको संख्या बढ्ने अनुमानका बीच भइरहेको ‘कर्पोरेट युद्ध’का रूपमा अथ्र्याउँछन् । कुन्तल भन्छन्, “विश्वभर फैलिरहेको भेगन आन्दोलनलाई दबाउन मात्र यसलाई ठूलो विषय बनाइएको हो, नत्र शेर्पाहरूको खाना पनि त्यही दालभात त हो ।”

First Appeared in Nepal Magazine.

No comments:

Post a Comment