Monday, August 1, 2016

कबाली अर्थात् ‘रुटिन मसला’मै रजनीकान्त

धेरैजसो साउथ इन्डियन फिल्म उस्तै लाग्छन् । जहाँ गुन्डा अवतारमा हिरो भेटिन्छन्, मरे भनिएका पात्र अपत्यारिलो गरी पुन: सिनमा आउँछन् । एक्सन त मुटु नै भइहाल्यो । कबालीमा पनि लगभग यिनै ‘रुटिन मसला’ छन् । त्यही पनि फिल्म अरूभन्दा एक कदम अगाडि छ । कारण सामान्य छ, कबालीमा रजनीकान्त छन् । साउथ इन्डियन फिल्मका लागि यसभन्दा बलियो पक्ष सायद उनले सिनेमा खेलुन्जेल अर्को केही नहोला ।

फिल्म मलेसियाको परिवेशमा छ । जहाँ ग्याङ लिडर कबालीस्वरन उर्फ कबाली (रजनीकान्त) २५ वर्षे जेल जीवन काटेर निस्केसँगै क्वालालम्पुरमा आफ्ना प्रतिद्वन्द्वी टोनी ली (विन्स्टन चाओ)सँग मुठभेडमा लाग्छन् । दुई प्रतिस्पर्धी ग्याङको लडाइँ भए तापनि पृष्ठभूमिमा त्यसले मलेसियाली तमिल र चिनियाँबीचको अधिकार प्राप्तिको लडाइँ बोकेको छ । टोनी लीसँग कबालीको रिसईबी सिर्फ क्वालालम्पुरमा कसले राज गर्ने भन्ने मात्र नभई उसकी गर्भवती श्रीमतीलाई ऊसँग अलग्याउनुको कारण हुन्छ ।

त्यसो त मलेसियामा आफूहरूले पुज्ने भगवान् शिवको मन्दिर स्थापना गर्ने स्थानका लागि तमिलहरूले संघर्ष गरिरहेका हुन्छन्, जसको बाधक त्यतिखेर शक्तिमा हुने चिनियाँ मूलका मलेसियालीहरू हुन्छन् । समान ज्याला, सामाजिक प्रतिष्ठा र दासताबाट मुक्तिका लागि भइरहेको लडाइँको मोर्चा सम्हालिरहँदा तमिलहरूका नेता मारिन्छन् ।

र, त्यसको भूमिका कबालीमा आइपुगेको हुन्छ । उसको उदय राजनीतिक पृष्ठभूमिबाट भए तापनि पछि गुन्डाका रूपमा प्रस्तुत गरिनु अस्वाभाविक रूपमै सही, चल्तीकै तमिल फिल्मको ढर्रा समात्न खोजेको देखिन्छ । यद्यपि, कबालीको उदयलाई तमिल समुदायभित्रै भाँजो उब्जाउने अवसरका रूपमा लिन्छन् चिनियाँहरू । यसकारण कबालीले एकसाथ आफ्नै मानिसहरू र प्रतिद्वन्द्वीसँग लड्नुपर्ने हुन्छ । उनी जेल जानुपर्ने अवस्था पनि आफ्नै तमिल सहकर्मीको षड्यन्त्रबाट जन्मेको हुन्छ ।


जेलबाट निस्किँदा कबालीलाई सबैभन्दा पछुतो आफ्नी श्रीमतीको रक्षा गर्न नसकेकामा हुन्छ । गुन्डागर्दीमै पनि कबालीका केही नियम छन्, देहव्यापार, लागूऔषधजस्ता कारोबार नगर्नु । उसको ग्याङले सुधारगृहजस्तो एउटा स्कुल नै खोलेको हुन्छ– फ्रि लाइफ फाउन्डेसन । एक दिन कबाली त्यहाँका विद्यार्थीसँग अन्तक्र्रिया गर्न जान्छन् । त्यतिखेर त्यहीँ पढिरहेकी एक युवतीले उसलाई ‘बाबा’ सम्बोधन गरेर बोलाउँछिन् । त्यसले कबालीको मनमा आफ् नी छोरी जन्मिन सकेको भए अहिले कस्ती हुँदी हुन् भन्ने लाग्छ, श्रीमती बचेकी पो छन् कि भन्ने आशले सताउँछ ।

क्वालालम्पुरको धन्दाबाट २५ वर्षसम्म छुटेको हात, टोनी लीको बढ्दो शक्तिबीच कबालीमा एकसाथ आउने ‘परिवारप्रतिको भावना’ र ग्याङलाई पुरानै स्वरूपमा ल्याउनुपर्ने चुनौती कसरी मिल्छ भन्नेमै फिल्म घुम्छ । श्रीमती जीवितै हुन्छिन् त भन्ने सस्पेन्सले फिल्ममा लामो समय डोर्‍याउँछ ।

फिल्मका सहायक पात्रहरू यति धेरै छन् कि थुप्रैपटक दर्शक नै अलमलमा पर्न सक्छन् । ६५ वर्षमा समेत रजनीकान्तले आफूलाई ग्याङस्टारकै अवतारमा धेरै हदसम्म स्वाभाविक देखाउन सकेका छन् । उनले फिल्मभर सिग्नेचर वाक्य ‘बहुत खुब’ दोहोर्‍याइरहन्छन्, औँला नचाएर कतै/कसैलाई इसारा गर्ने शारीरिक भाषा उस्तै लोभलाग्दो छ ।

२५ वर्षअघि र अहिलेको क्वालालम्पुरको फरक देखाउन फिल्मको सेटमा गरिएको मिहिनेतलाई सन्तोषजनक नै मान्नुपर्छ । महत्त्वपूर्ण लडाइँमा क्वालालम्पुरका अग्ला टावर चयन गरिएका छन्, जसले दर्शकलाई एकखाले भर्चुअल टुर पनि दिन्छ । एकपटकका लागि हेर्न फिल्म रमाइलो छ ।

रेटिङ: ३/५
First Appeared in Nepal Magazine.

No comments:

Post a Comment