Monday, May 15, 2017

नेपालप्रेमी राष्ट्रपति

नेपाल आइरहने र यहाँका हिमालमा घुम्न रुचाउने मुन जे इन

‘शान्ति खोज्न नेपाल’ रोज्ने दक्षिण कोरियाली राजनीतिज्ञ मुन जे इन त्यहाँको १२औँ राष्ट्रपतिमा भारी मतले विजयी भएका छन् । २६ वैशाखमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा उनले पाएको सफलतालाई यसअघि भन्दा फरक त्यहाँ रहेका नेपालीहरूले आपसमा बधाई साटासाट गर्ने अवसरका रूपमा लिए । नेपालमै उनीसँग भेटेका थुप्रैले उनीबारेका स्मृति सम्झन थाले । इनको नेपाल साइनो गज्जबको तर उनीजस्तै शान्त स्वभावको थियो, हल्लाखल्लाबिनाको । 

गत वर्ष उनी सुटुक्क नेपाल भ्रमणमा आए र भूकम्पपीडितको सहयोगका लागि नुवाकोट र लाङटाङ उपत्यका पुगे । नुवाकोटको बेलकोटमा रहेको आरुखर्क माध्यमिक विद्यालयको पुन:निर्माणमा सघाए । स्थानीयसँग मिलेर आफैँ निर्माण सामग्री ओसारपसार गरे । विज्ञान सामग्रीहरू विद्यालयलाई हस्तान्तरण गरे । लाङटाङ जाँदा बिग्रेको बाटोका ढुंगा मिलाउन आफैँ कस्सिए । 

पेसाले कानुन व्यवसायी इनको राजनीतिक ‘करिअर’ भने धेरै पुरानो होइन । सन् २०१२ यता औपचारिक राजनीतिमा रहेका उनले दक्षिण कोरियाका नवौँ राष्ट्रपति रो मु–हुन प्रशासनका विभिन्न ओहोदामा रहेर सन् २००३ यता ६ वर्ष काम गरेका थिए । हुनको प्रमुख चुनावी रणनीतिकारदेखि चिफ अफ स्टाफसम्मको भूमिकामा रहे । सन् २००४ मा चुनावी आचारसंहिता उल्लंघन र भ्रष्टाचारको आरोपमा हुनमाथि दक्षिण कोरियाली संसद्मा महाभियोग दर्ता हुँदा इन नेपालमै थिए । र, त्यो खबर पाउनासाथ भ्रमण छोट्याएर कोरिया फर्किए । त्यतिबेला उनी राष्ट्रपतिको सिभिल सेक्रेटरीबाट राजीनामा दिएर नेपाल आएका थिए । 

उनी गोप्य रूपमा नेपाल भ्रमणमा थिए, त्यसबेला । त्यो संकटका बेला कोरियामा उनलाई नभेटिएपछि बल्ल धेरैले नेपाल आएको पत्तो पाएका थिए । खासमा त्यसबेला उनी श्रीमतीसाथ चितवन र पोखरा भ्रमणमा थिए । इनको स्वभाव अनुसार त्यसबाहेक अरू बेला पनि उनी कसैलाई सुइको नदिई नेपाल आएका हुन सक्छन् । 

०६६ जेठमा हुनले आत्महत्या गरे । उनीनिकट रहेर लामो समय पर्दापछाडिबाट काम गरेका इनले त्यसपछि बल्ल राजनीतितर्फ ढल्किने सोच बुन्न थालेका थिए । भ्रष्टाचारको बढ्दो घटना र कन्जरभेटिभ पार्टीका युवाहरूमा बढेको निराशालाई आड लिएर उनी राजनीतिक मञ्चमा उदाए । सन् २०१२ मा डेमोक्रेटिक पार्टी प्रवेश गरेर उनी त्यहाँको सांसद निर्वाचित भए । सोही वर्ष उनी राष्ट्रपतिको उम्मेदवार बनेका थिए तर झिनो अन्तरले पराजित भए । हुनले आत्महत्या नगरेका भए सायद इन राजनीतिमै प्रवेश गर्दैनथे कि भनेर आकलन गर्नेहरू पनि छन् ।

उत्तर कोरियाप्रति नरम नीति राख्ने नेताका रूपमा चिनिएका उनीप्रति दक्षिण कोरियाका युवा पुस्ताको विशेष आकर्षण छ । गत साल नेपाल आउँदाको सन्दर्भ सम्झिन्छन्, पत्रकार निर्मल श्रेष्ठ । कोरियामा रहेका एक साथीको अनुरोधमा त्रिभुवन विमानस्थलमा इनलाई स्वागत गर्न पुगेका थिए उनी, अभिनेता दिनेश डिसी र पर्वतारोहण गाइड फुर्वा तेन्जिङ शेर्पालाई पनि साथमा लिएर । खासमा त्यसबेला उनीहरूलाई इनको प्रभावबारे त्यति धेरै जानकारी थिएन । उनीहरूले जब ती फोटो फेसबुक र ट्वीटरमा सार्वजनिक गरे, त्यसैलाई आधार बनाएर दक्षिण कोरियाली सञ्चार माध्यमहरूले प्रशस्त समाचार बनाए । निर्मल सम्झन्छन्, “जबकि, मलाई पछ्याउने कोरियन त त्यस बेलासम्म एउटा पनि थिएनन् ।” कतिसम्म भएछ भने समाचारहरूमा फिल्मकर्मी डिसीसँग इनको सम्बन्ध के छ ? कतै इन हिमाल चढ्न त लागेनन् भन्नेजस्ता कुरा जोडेर लेखिएको रहेछ ।

सायद त्यही मिडिया चासो र आकर्षणबाट केही बेर ओझेल पर्न पनि उनी आउँथे कि भन्ने ठान्छन्, उनलाई त्यसबेला चिनेका नेपालीहरू । भूकम्पपीडितको राहत र पदयात्राका लागि हिँड्नुअघि उनले, ‘कुनै बेला सेनामा गरेझैँ लङ मार्चमा हिँड्न लागेको’ बताएका थिए । त्यसको पृष्ठभूमि के थियो भने उनले सन् १९७६ मा दुई वर्ष सेनामा काम गरेका थिए । उनले फेसबुकमा लेखेका थिए, ‘खाली दिमाग लिएर नयाँ कुराहरू भरेर आउनेछु ।’

शान्ति र खुसीसँग नेपालको तुलना गर्ने उनको नेपाल भ्रमणलाई अचेल कोरियाली सञ्चारमाध्यमले अनेक तरिकाबाट विश्लेषण गर्न थालेका छन् । गत वर्ष उनी नेपाल आउँदा पार्टी महाधिवेशन सम्मुख थियो । धेरैले कतै अब उनी फर्केर सक्रिय राजनीति त गर्दैनन् भन्ने अड्कलबाजी गरेका थिए । तर, उनी यताबाट पुन:ताजगीसाथ फर्केका थिए र डेमोक्रेटिक पार्टीको नेतामा निर्वाचित भए । 

नेपाल आउँंदा उनले कोरियाबाट फर्केकाहरूसँग जमघट गर्ने र त्यहाँ रहेका नेपालीसँग भेटघाट गर्ने गर्छन् । नेपाल भ्रमण उनका लागि कतिसम्म प्रिय थियो भने काठमाडौँ आउँदा उनी अक्सर होटलमा नबसी होमस्टे वा चिनजानका साथीका घरमा बस्थे । उनी नेपालका हिमाललाई त्यत्तिकै माया पनि गर्छन् र यहाँ घुम्न रुचाउँछन् । त्यसैले विश्वको ११औँ ठूलो अर्थतन्त्रको कार्यकारी प्रमुखको नेपालप्रति रहेको यस सद्भावले कोरियामा नेपालीहरूको रोजगारी बढाउनेदेखि द्विपक्षीय सम्बन्ध र सहयोगमा बदलाव आउन सक्ने अपेक्षा गर्नु अस्वाभाविक होइन । 

No comments:

Post a Comment