Monday, May 19, 2014

मल्टिएड्भेन्चर म्यान -- सानोबाबु सुनुवार

सानोबाबु सुनुवार, ३०, के हुन् -- कायकर, प्याराग्लाइडिङ पाइलट वा आरोही ? केहीअघिसम्म यस प्रश्नको स्पष्ट उत्तर उनीसँग पनि थिएन। तर, नेसनल जियोग्राफिक म्यागेजिनले विश्वका १० उत्कृष्ट साहसिक काममा आरोही लाक्पा छिरी शेर्पासहित उनको सगरमाथादेखि बंगालसम्मको 'द अल्टिमेट डिसेन्ट' छानेपछि नयाँ शब्द क्वाइन भएको छ -- 'मल्टिएड्भेन्चर म्यान'।

मृत्युको भयले कहिल्यै पछ्याएन सानोबाबुलाई। उनको परिवार र शुभेच्छुकका नजरमा त्यो अझै पनि एउटा ठूलो कमजोरी हो। त्यही 'कमजोरी' सानोबाबुको लोभलाग्दो परिचय बनेको छ। भन्छन्, "मैले जीवनको हरक्षणको आनन्द लिइरहेको छु किनभने म एड्भेन्चर गर्छु।"

एड्भेन्चर पनि यस्तो, जुन त्यसअघि कसैले नगरेको, कसैले नबुझेको। सानोबाबुले के के मात्र गरेनन् -- सगरमाथा चुचुरोबाट उडेर तल झरी कायकिङ गर्दै बंगालको खाडी पुग्नेदेखि मेचीदेखि महाकाली प्याराग्लाइडिङ गरेरै नाप्नेसम्म।

रामपुर, रामेछापका उनको बाल्यकाल धेरैजसो सुनकोसी नदी किनारमा बित्यो। त्यहाँ जब मानिसहरू कायकिङ र र्‍याफ्टिङ गर्दै आउँथे, उनलाई पनि त्यस्तै रहर लाग्थ्यो। सानोबाबुलाई पौडन राम्रोसँग आउँथ्यो तर कायकिङ/र्‍याफ्टिङ उनका लागि टाढाको कुरा थियो। सिन्धुलीको डुडभञ्ज्याङ उच्च माविबाट एसएलसी सकेपछि एक दिन उनलाई एक साथीले काठमाडौँको सपना देखाए। त्यसअघि मोटरसमेत नदेखेका उनलाई दिन-रात छुट्याउन गाह्रो पर्ने सहर भनेपछि जसरी पनि पुग्ने भूत सवार भयो।

काठमाडौँमा ज्यान पाल्न गलैँचामा धागो कात्ने, सार्वजनिक यातायातमा भाडा उठाउने र फर्निचर कम्पनीमा काम गर्नेजस्ता थुप्रै काम गरे उनले। सम्झन्छन्, "तैपनि, ममा खोलातिरै खेल्न पाइयोस्, कायकिङको अनुभव गर्न पाइयोस् भन्ने सपना मरेको थिएन।"

उनको मनोभावना बुझेका एक साथीले कुनै विदेशीलाई पक्रिन सके त्यस्तो गर्न सकिने भन्दै ठमेल जान सुझाए। एउटा टोलीले पोखरा हुँदै अन्नपूर्ण पदयात्रा जाने टोलीमा भरयिाका रूपमा उनलाई लैजाने भयो। दिनभर गाडीमा सामान लोड गराएपछि होचो मान्छे काम गर्न अप्ठ्यारो हुने भनेर उनी निकालिए, ज्याला २० रुपियाँ थमाएर।
पोखरा पुग्न भाडासमेत नभएका उनी लाटोको अभिनय गरेर बसमा बसे। त्यो जुक्तिले काम गर्‍यो र पोखरामा नयाँ अध्याय सुरु भयो, कुइरे जंक्सन लेकसाइडमा। काम माग्न सुरुमै कोठाभर कायाक सजाइएको पसल छिरे। तर, उनलाई कसैले पत्याएनन्। त्यहाँ पनि केही महिना भारी बोक्ने काम मात्र हात लाग्यो उनलाई। पछि एक्सुडस र्‍याफ्टिङ कम्पनीमा काम पाए उनले, ब्रोसर बाँड्ने र डुंगा धुने। त्यहाँ उनलाई सिनियर गाइड चित्रबहादुर पुनले कायकिङ सिकाउँथे पनि।
पौडन सिपालु उनले त्यहाँ बिस्तारै आफ्नो रुचिको काममा पनि हात लम्काउँदै थिए तर तीन महिनामै कम्पनी बन्द भयो। कम्पनी बन्द भए पनि उनलाई मानिसले चिन्न थालिसकेका थिए। त्यसैले पोखरा आएर सुरुमा छिरेको ठाउँमै काम पाए।

पाँच महिनामै उनी नेपाल हिमालयन ह्वाइट वाटर इन्टरनेसनल कायकिङ च्याम्पिनसिप-२००२ को जुनियरतर्फ दोस्रो भए। अर्को वर्ष उनलाई चिन्नेहरू एक्कासि बाक्लिए। किनभने, सन् २००३ मा उनको पोल्टामा सेती रिभर कायकिङ कम्पिटिसनमा प्रथम र सिनियरतर्फको नेपाल हिमालयन ह्वाइटवाटर इन्टरनेसनल कायकिङ च्याम्पियनसिपमा तेस्रो स्थान पर्‍यो।

त्यसयता उनले झन्डै तीन दर्जन नदीनाला र छाँगाको अन्वेषण गरेका छन्। पोखराको सेती नदीमा केआई सिंह पुलदेखि रामघाटसम्मको खोँचमा पहिलोपटक कायक गरेका छन्, जसमा ५२ मिटर दूरी त भूमिगत छ। कायकिङमार्फत नै सन् २००६ मा उनको जम्काभेट स्विस प्याराग्लाइडिङ पाइलट डेभिड अरुफतसँग भयो, जो त्यस बेला विश्वका उत्कृष्ट पाँच पाइलटमा गनिन्थे। सानोबाबुमा प्याराग्लाइडिङ सिक्ने भूत उनैले बसालेका हुन्।

त्यसै वर्ष उनलाई पिक-यूके कायकिङ टिमसँग सजिलो हिमाल 'आइल्यान्ड पिक' पुग्ने मौका मिल्यो। आरोहण भने मौसम बिग्रिएर  हुन सकेन। तर, उनका लागि उक्त भ्रमण सबैभन्दा महत्त्वपूर्ण रह्यो। किनभने, सगरमाथा चुचुरोबाट हाम फाल्दै समुन्द्रसम्म पुग्ने आइडिया त्यसकै बेसक्याम्पको टेन्टमा सुत्दा फुरेको थियो।

बीचमा केही समय उनले भारतको हिमाचल प्रदेश र जम्मु कश्मीरको लद्दाखमा बिताए। त्यहाँका स्थानीयलाई कायकिङ मात्र सिकाएनन्, थुप्रै डरलाग्दा घटनामा उद्धारमा समेत खटिए। त्यस बेला धेरै भारतीय पत्रिकाले उनीबारे लेखे। डेभिडसँगको संगतले उनलाई प्याराग्लाइडिङ सिक्न धेरै समय लागेन। उनी जहाँ जाँदा पनि प्याराग्लाइडर बोकेरै हिँड्छन् र मौका मिल्नासाथ कतै डाँडामा गएर उडिहाल्छन्। प्याराग्लाइडिङमा पोखरा-काठमाडौँको दूरी नाप्ने पहिलो 'ट्यान्डम पाइलट' सानोबाबु नै हुन्।

पछिल्लो संविधानसभा चुनावमा उनी फूलचोकीबाट उडेर मकवानपुर, काभ्रे, दोलखा, सिन्धुली हुँदै सात घन्टामा रामेछाप पुगे -- भोट हाल्न। सुनकोसी, इन्द्रावती, भोटेकोसी, तामाकोसीजस्ता नदी कायकिङ गर्दै नापेकाले उनलाई नेभिगेसनको त्यति समस्या हुँदैनथ्यो। पूर्वाञ्चलका १० जिल्लामाथि उडेका छन् उनी।

सन् २०१० मा भने उनी डडेलधुराको तुफानडाँडाबाट प्याराग्लाइडिङ गर्दै इलामको श्रीअन्तु पुगे, ३५ दिनमा १८ फ्लाइट गर्दै ५२ घन्टा उडेर। ८ सय ३२ किलोमिटर आकाशे दूरी उडेर गरिएको उक्त रेकर्ड अहिलेसम्मकै पहिलो हो, जसका लागि त्यसअघि पनि थुप्रै असफल प्रयास भएका थिए।

उनलाई सगरमाथाको चुचुरोबाट उड्ने सपनाले पनि निकै सताइरहेको थियो। आरोहण गरिसकेका थुप्रैसँग उनले सल्लाह मागे। तर, कसैले निकै खर्चिलो त कसैले निकै कठिन बताउँथे। उनलाई भने जसरी पनि उड्नु थियो।

संयोगले तीनपटक सगरमाथा चुचुरो नापिसकेका लाक्पा छिरी शेर्पा प्याराग्लाइडिङ सिक्न उनीकहाँ आइपुगे। त्यसअघि सगरमाथाबाट गतिलोसँग प्याराग्लाइडिङ गर्न नसकेका उनी विशेष तालिमका लागि पोखरा हान्निएका रहेछन्। सानोबाबु सुनाउँछन्, "उहाँलाई उड्न सिक्नु थियो भने मलाई सगरमाथा चढ्नु थियो।" सानोबाबुले गोप्य तरिकाले एक बेलायती र ब्राजिलियन त्यस्तै मिसनका लागि नेपाल आएको सुइँको पाएका रहेछन्। उनले लाक्पालाई भने, "उनीहरू अगाडि चढे भने हामीले चढ्नुको अर्थ हुँदैन। चुचुरोबाट उडाएर तल झार्ने र समुद्रसम्म पुर्‍याउने काम मेरो, चुचुरोसम्म पुर्‍याउने काम तपाईंको।"

न लाक्पालाई सगरमाथा चढाउनु महाभारत थियो, न त सानोबाबुलाई उडाएर तल झार्नु नै। लाक्पालाई त पौडन पनि आउँदैनथ्यो। स्याङ्जाको सिर्कुटबाट पोखरासम्म साढे तीन घन्टा प्याराग्लाइडिङ गराएपछि भने लाक्पालाई सानोबाबुप्रति विश्वास जागेछ। त्यसअघि भने उनी प्याराग्लाइडिङ गर्दै डाँडाबाट र्झन मात्र सकिन्छ भन्ने सोच्दा रहेछन्।

अनुमतिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरण धाउँदा त्यस्तो कामका लागि सरकारले अनुमति दिन नमिल्ने बताइयो। त्यसअघि मेची-महाकाली उडिसकेका उनलाई कर्मचारीहरूले व्यक्तिगत रूपमा भने नियम कानुनको वास्ता नगरी जान सुझाए। "जब नाम्चे पुगियो, थुप्रैले स्वागत र सद्भाव दिए," उनी सम्झन्छन्, "किनभने, लाक्पालाई मान्नेहरू थिए त्यहाँ।"

एउटा उडान नाम्चे बजारमै गर्दा स्थानीयलाई भने त्यो लाक्पाले गरेको भनिएको थियो। कहिल्यै हिउँ नटेकेको मान्छे सगरमाथा चढ्न हिँड्दा घरमा रुवाबासी नै चल्यो। श्रीमतीको काखमा तीनमहिने छोरा थिए। त्यो हविगत देखेकी एक शुभेच्छुक स्विस महिला डोरसि एन्थोनीले सगरमाथा चढ्दा पाइनेजति पैसा आफूले दिने भन्दै नचढ्न सुझाइन्। तर, उनको चढाइ पैसाका लागि थिएन। उनी रोकिएनन्।
यात्रामा स्थानीय शेर्पाले खानपिन, लुगा र अक्सिजन सिलिन्डरसम्म दिएर उनलाई सघाए। यसरी सानोबाबु र लाक्पा छिरी चुचुरोमा पुगे, २१ मे २०११ को बिहान। "चुचुरो पुग्दा नपुग्दै हाम्रो अक्सिजन सिलिन्डर पनि हरायो," उनी भन्छन्, "तर, हामी रोकिएनौँ, चुचुरोमा पुगेपछि त्यसभन्दा ३० मिटर माथिसम्म उड्यौँ।" सानोबाबुलाई चुचुरोबाट उड्न कुनै डर लागेनछ। उनलाई त सराङकोटको डाँडामै छु जस्तो लागेछ। नाम्चे झर्न ४५ मिनेट लाग्यो, जबकि त्यो दूरी पैदल ११ दिनको हो।

तल बबाल भइसकेको थियो। कानुन मिचेको भन्दै प्रहरी र सेनाले घेरे। एक ठाउँमा उनीहरू उड्ने व्यक्ति आफूहरू नभएको भनेर फुत्किए भने अर्को ठाउँमा मिसन पूरा गरेपछि जेल जान परे पनि तयार रहेको भन्दै प्रहरीसँग भद्र सहमति गरे। त्यसपछि कतै हाइकिङ र कतै प्याराग्लाइडिङ गर्दै उनीहरू सुनकोसी र दूधकोसीको दोभान पुगेछन्। त्यसपछि विहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बग्ने कोसी नदीमा कायकिङ गर्दै २८ दिनमा बंगालको खाडी पुगे। बाटोमा थुप्रैतिर लुटपाट भयो। भएजति सबै दिए तर उनीहरूले आफ्नो क्यामेरा बचाए।

सन् २०१३ मा तान्जिनियाको माउन्ट किलिमिन्जारोको चुचुरोबाट प्याराग्लाइडिङ गर्न २८ देशका ९८ पाइलट जुटेकामा काम फत्ते गर्न सक्ने सानोबाबु एक्ला निस्के । त्यही वर्ष युरोपको अल्पस पर्वतमालामा अस्टि्रयाको सल्वर्गदेखि मोनाकोसम्म हुने विश्वकै साहसिक रेस 'रेड बुल एक्स अल्पस'मा पहिलोपटक नेपाली सहभागितासमेत उनकै नाममा दर्ज भयो। यो रेसमा कि प्याराग्लाइडिङ गरेर कि दगुरेर झन्डै एक हजार किलोमिटरको दूरी पार गर्नुपर्छ।

सानोबाबुको अहिले पोखरामा आफ्नै प्याराग्लाइडिङ कम्पनी छ। त्यस्तै स्याङ्जाको सेरेकमा आफ्नै एड्भेन्चर स्कुल 'बाबु एड्भेन्चर क्याम्प' खोलेका छन्। सगरमाथादेखि सागरसम्मको साहसलाई गिनिज वल्र्ड रेकड्र्सले पहिचान गरसिकेको छ। तर, प्रमाणपत्रका लागि नेपाल सरकारले अनुमोदन गरसिकेको छैन। त्यही कामका लागि प्रधानमन्त्री सुशील कोइरालाले आफूलाई सम्मान गरिसकेकाले  सानोबाबु छिट्टै सरकारी अनुमोदन पाउने आशमा छन्। आइन्दा उनलाई कानुन मिचेर काम गर्ने रहर छैन। भन्छन्, "म कल्पनामा विश्वास गर्छु र कल्पना यथार्थमा परिणत हुँदा सबैभन्दा बढी आनन्दित हुन्छु ।" 

No comments:

Post a Comment