Monday, February 16, 2015

२५ सय वर्ष पुरानो कंकाल, हिमालय क्षेत्रकै सर्वाधिक पुरानो

पुरातत्त्व विभागका कर्मचारी मुस्ताङका विभिन्न गुफामा भेटिएका सयौँ वर्ष पुराना कंकाल र अस्थिपञ्जरका बाकस मिलाउँदै थिए, २८ माघमा। ती अस्थिपञ्जरका बीच एउटा मृत बच्चाको सिंगो शरीर पनि थियो, जुन झन्डै २ हजार ५ सय वर्ष मुस्ताङी हावापानी झेलेर काठमाडौँ छिरेको झन्डै दुई दशक पुग्यो।  शाक्यमुनि गौतम बुद्धकै समयको महत्त्वपूर्ण पुरातात्त्विक वस्तु भईकन पनि यो सामान्य वस्तुसरह विभागको सामान्य कोठामा थन्किएको छ।

सन् '८० को दशकको अन्त्यतिर मुस्ताङको टुकुचेमा चोकोपानी लघु जलविद्युत् परयिोजनाका लागि सुरुङ खन्दा पुरातात्त्विक महत्त्वका प्रशस्त वस्तु भेटिएका थिए। त्यसयता पुरातत्त्व विभाग र जर्मन पुरातत्त्वविद्हरूले संयुक्त अन्वेषण गर्दा सन् १९९५ मा मेब्राक गुफामा उक्त शरीर र अन्य ३० मानव अस्थिपञ्जर फेला  परेका थिए। उक्त गुफा त्यहाँको एउटा समुदायको मृत शरीर राख्ने चिहानका रूपमा प्रयोग हुने गरेको पाइएको थियो । त्यहाँ भेटिएका अस्थिपञ्जर इसापूर्व ४०० देखि सन् '५० को दशकसम्मका भएकाले त्यो परम्परा झन्डै साढे चार सय वर्ष चलेको देखिन्छ ।

अन्वेषणका क्रममा भेटिएको सुकेको छालासहितको सिंगो शरीर ६ महिनाभन्दा कम उमेरको बच्चाको रहेको निचोड वैज्ञानिक विश्लेषणबाट निकालिएको थियो, जसको लिंग भने अझै खुलेको छैन । यो नेपालमा भेटिएको अहिलेसम्मकै सबैभन्दा पुरानो सिंगो शरीर हो। र, त्यहाँ भेटिएका कंकाल हिमालय क्षेत्रका सर्वाधिक पुराना मानव अवशेष हुन् । पुरातत्त्वविद्हरूका अनुसार कालीगण्डकी उपत्यका आसपासमा पाइएका ती अस्थिपञ्जर मानव सभ्यता र विकासक्रम बुझ्न निकै महत्त्वपूर्ण छन् । "२०-२५ हजार वर्ष  पुरानो सभ्यता रहेको मुस्ताङ क्षेत्र पुरातात्त्विक हिसाबले स्वर्णभूमि हो," मुस्ताङको अध्ययनमा संलग्न युनिभर्सिटी अफ क्यालिफोर्नियाका प्राध्यापक एवं पुरातत्त्वविद् मार्क अल्डेनडर्फरले नेसनल जियोग्राफिकसँग भनेका छन्, "त्यहाँ मानव सभ्यताबारे अझै थुप्रै महत्त्वपूर्ण विवरण फेला पर्न सक्छन्।"


सन् २००७ यता मुस्ताङको सेमजोङमा अमेरिकी टोलीका साथ विभागले 'रेस्क्यु प्रोजेक्ट' नाम दिइएको अर्को अध्ययन थालेको थियो। त्यहाँका मानव निर्मित गुफामा 'पेन्टेड मास्क' लगाइएका काठका कफिन थिए। ती कफिनमा फेला परेका मानव कंकाल कहाँबाट आए र किन आए भन्ने सवालसँग मुस्ताङका थुप्रै रहस्य  जाेडिएको पुरातत्त्वविद् मार्क ठान्छन्।

मुस्ताङ कालीगण्डकी नदीछेउ हुँदै तिब्बत र भारतीय उपमहाद्वीप जोड्ने प्राचीन रेशमीमार्गमा पथ्र्यो । सुन र चाँदी मिलाएर बनाइएको पेन्टेड मास्क मुस्ताङबाट दुई सय किलोमिटर पश्चिममा भारतको मलारी र तिब्बतमा पनि पाइएको छ । अन्वेषणका क्रममा मुस्ताङ तत्कालीन रेशमीमार्गमा पर्ने महत्त्वपूर्ण स्थान थियो  भन्ने अर्को प्रमाण पनि भेटिएको थियो । मुस्ताङमा भेटिएजस्तै मालाको दाना इरानमा पनि भेटिएको थियो ।

पछिल्लो अध्ययनका नेतृत्वकर्ता पिटर एथेन्स प्राचीन अस्थिपञ्जर फेला पर्दा पछिल्लो समयमा फर्केको अनुभव हुने सुनाउँछन् । हिमाल आरोही पिटर सन् १९८१ तिर अन्नपूर्ण सर्किट घुम्न आउँदा मुस्ताङका गुफाबाट मोहित भएका थिए । तर, ती गुफामा इतिहासका महत्त्वपूर्ण तथ्य लुकेका छन् भन्ने कल्पना उनले  त्यतिखेर गरेका थिएनन् । 

"मुस्ताङबाट २० वर्षअघि ल्याइएको २ हजार ५ सय वर्ष पुरानो मानव कंकाल वातानुकुलित परिवेशमा छाउनीस्थित राष्ट्रिय संग्रहालयमा प्रदर्शनीका लागि राख्ने भनिए पनि विज्ञ र पूर्वाधारको अभावमा त्यहाँ सोकेस निर्माणको काम ढिलो भइरहेको छ । त्यसैले सिंहदरबारसँग जोडिएकाले पुरातत्त्व विभागमा चौबीसै घन्टा  बिजुली उपलब्ध हुने ठाउँ भनेर सामान्य कुलरकै भरमा राखिएको छ।"

>> भेषनारायण दाहाल

    महानिर्देशक, पुरातत्त्व विभाग

मुस्ताङका प्राचीन गुफा मानव बसोवासका लागि बनाइएको पुरातात्त्विक अध्ययनबाट पुष्टि भइसकेको छ । त्यस समय प्रारम्भिक जन्म-संस्कार पूरा नभईकन मरेका बच्चालाई गुफाकै गारोमा गाड्ने प्रचलन थियो । त्यहाँका गारोमा थुप्रै मानव अस्थिपञ्जर फेला परे पनि सग्लो शरीर भने फेला परेको थिएन । तर, उक्त  शरीर गाडिएको स्थानमा विशिष्ट वातावरण सिर्जना भएकाले यति लामो समयसम्म पनि शरीर सग्लो रहन सकेको राष्ट्रिय अभिलेखालय प्रमुख प्रकाश दर्नाल बताउँछन् ।

पानीको प्रभाव नभएको गुफामा तापक्रमसमेत निकै कम थियो, जसका कारण मृत शरीरका तन्तुहरूको विशेष संरक्षण हुन पुगी प्राचीन डीएनएहरू सुरक्षित हुने अवसर जुर्‍यो । यद्यपि, अस्थिपञ्जरमा डीएनएको मात्रा संरक्षण अभावले गर्दा तीनवटामा बाहेक अन्यमा भने उमेर र लिंग पहिचान गर्न सकिएको छैन ।

अर्कोतर्फ स्यामजोङमा प्राप्त ६३ प्रतिशत हड्डीमा धार थिए । यसको अर्थ के हुन्छ भने त्यस समय मृत शरीरबाट मासु निकालेर गिद्धलाई खान दिइन्थ्यो र अस्थिपञ्जरलाई काठका बाकसमा राखिन्थ्यो । यस्तो प्रचलन सन् ४०० तिरबाट चलेको मानिन्छ । त्यसभन्दा आठ सय वर्षअघि अर्थात् इसापूर्व ४०० मा भने मासु  ननिकालीकनै शवलाई काठका बाकसमा राखिन्थ्यो ।

कतै कतै जनावर (धेरैजसो भेडा-बाख्रा)लाई बलि दिएर कफिनसँगै राखिन्थ्यो । जर्नल अफ आर्केलोजिकल साइन्समा प्रकाशित आलेख 'क्लाइम्बिङ इनटु पास्ट, फस्ट हिमालयन ममिज डिस्कभर्ड इन नेपाल'मा चिहान राखिएका काठका बाकसमा भने रातो हरिण, नीलभेडा -नाउर) र मारखोरका चित्र पाइएका थिए । तर,  त्यहाँबाट भेडा मध्यकालीन समयमै लोप भएको थियो भने मारखोर मुक्तिनाथ उपत्यकामा भेटिएको प्रमाण छैन ।

नाउर मात्र अहिले त्यहाँ पाइने जनावर हो । त्यसबाहेक फेला पारिएका सूतीका रेशाले थुप्रै कला भर्ने र सिउने विविधता देखाउँछ । अस्तिपञ्जरसँग भाँडाकुँडा र रौँबाट बनेका लुगाका अवशेष, काठको कचौरा र बाँसबाट बनेको बाजासमेत भेटिएका थिए । तर, विभिन्न समयमा भूक्षय र अन्य बाह्य कारणले ती गुफे  चिहान भत्कँदा  र त्यसमा चराको बिस्टा पर्दा प्रमाणहरूमा असर परेको छ ।

गुफा बसोवास सभ्यतामा मृत शरीरलाई आफू बस्ने स्थानभन्दा माथिल्लो भागमा राख्ने प्रचलन थियो । यस्तो 'स्काई ब्युरल' तिब्बतका केही स्थानमा अझै प्रचलनमा छ । कालीगण्डकी नदीका किनारमा अझै थुप्र्रै पुराना अस्थिपञ्जर भेटिन्छन् । भूक्षयका कारण ती अस्थिपञ्जर गुफाबाट झरेर नदी किनारमा आइपुगेका  हुन् । अहिले विभागमा राखिएका थुप्रै कंकालमा दाँतसमेत छन्, जसले डीएनएमार्फत हुने अनुसन्धानमा सहयोग पुर्‍याउँछ । तिनीहरू कताबाट बसाइँ सरेका थिए भन्ने तथ्य अहिलेको पुस्तासँग जोडेर हेर्न मिल्छ ।

मानिसको शारीरिक विविधताबारे अध्ययन गर्ने एन्थ्रोपोमेटि्रकल तथ्य अनुसार जातीय रूपमा उनीहरू मंगोलियनसँग मेल खाएको मध्य एसिया र उत्तर पश्चिमतिरबाट मुस्ताङ आएको देखाउँछ । थप अध्ययनले त्यस बेला लागेका रोग र खानपानबारे थाहा हुन्छ । "मानव पुरातत्त्वको विशेष पक्ष भनेको यसले अन्य थुप्रै  प्रकारका उत्खनन र अध्ययनमा सहयोग पुर्‍याउँछ," दर्नाल भन्छन्, "हाम्रो पुरातत्त्व मन्दिरहरूमा केन्द्रित  भएकाले यसमा चासो दिन सकिएको छैन ।"

मुस्ताङमा के के भए ?

 >> सन् १९५२ मा इटालीको रोम विश्वविद्यालयका पूर्वीय दर्शन र संस्कृतिका प्राध्यापक ज्युसेफ टुचीले मुस्ताङ भ्रमणबारे लेखेको पुस्तक जर्नी टू मुस्ताङमा मानव निर्मित गुफाबारे वर्णन । उनले मुस्ताङ ट्रेजर हन्टरको केन्द्र रहेको पुस्तकमा लेखेका थिए ।

>> विसं २०३८ मा चोकोपानी भेगमा लघु जलविद्युत् आयोजना निर्माणका लागि पुरातात्त्विक अध्ययन प्रतिवेदन तयार ।

>> सन् १९९२ देखि १९९७ सम्म तल्लो मुस्ताङमा पुरातत्त्व विभाग र जर्मनीको कोलोन विश्वविद्यालयको अनुसन्धान ।

>> सन् २००७ देखि २०१२ सम्म माथिल्लो मुस्ताङमा अमेरिकी स्काइडोर फाउन्डेसन र नेसनल जियोग्राफिक सोसाइटीसँग मिलेर पुरातत्त्व विभागको रेस्क्यु प्रोजेक्ट सञ्चालन ।
****** 

No comments:

Post a Comment