Monday, February 27, 2012

व्यक्तिसँग जोडिएको इतिहास


पछिल्लो समय मुस्ताङसँग जोडिएका दुई फरक फरक बिषयमा विस्तृत रिपोर्टिङ गर्नुपर्ने थियो । एउटा मौलिक सभ्यताको झल्को दिने त्यहाँका गुफाहरुबारे (भूमिभित्रको भव्यता, नेपाल) र अर्को लोमान्थाङ दरबारमा आएको आन्तरिक कलहको उत्कर्ष स्वरुप सर्वोच्च अदालतले दरबारलाई ३ भागमा विभाजन गर्न गरेको विवादास्पद निर्णय (अनरेष्ट इन द वाल सिटी, दी काठमाण्डु पोष्ट, सहलेखन) बारे । जसक्रममा थुप्रै जर्नल तथा पुस्तकहरु पढ्नुपरेको थियो जतिबेलै मुस्ताङको विशिष्ठता बुझेर म निकै रोमाञ्चित भएको थिएँ । त्यतिबेला मुस्ताङसँग जोडिएको सामिप्यताले पछिल्लोपटक ‘कर्म’ मा मेरो मन गयो । कर्म मुस्ताङको मार्फास्थित थकाली परिवारमा जन्मेर अनेकन संघर्षहरु गर्दै जापानसम्म पुगेर आफ्नो व्यावसाय शुरु गर्ने देवमान हिराचनको आत्मकथन/आत्ममन्थन हो । उनै हिराचन पछि गैरआवासिय नेपाली संघ (एनआरएन) को अध्यक्ष पनि भए । तर कर्म मात्र उनै हिराचनको जीवनवरपर घुमेको छैन नेपालको उद्योग व्यावसायको क्षेत्रमा उनले देखे/भोगेका समस्या र सम्भावनासँगै थकाली जाति र मुस्ताङ जिल्लाको इतिहाँसबारे विभिन्न रोचक तथा नविन तथ्यहरु समेत संग्रहित छन् । 

Marpha Village (© http://bit.ly/xdni0T)
उमेरले झण्डै ६ दशक काटिसकेका हिराचनसँग जीवन भोगाईका अनेकन तीता–मिठा अनुभव छन् जसले पुस्तकलाई खोक्रो आदर्शमा भन्दा पनि व्यावहारिक कुराहरुमा केन्द्रीत गरेको छ । पोखरामा स्कुल पढ्दा होस् वा काठमाडौंमा कलेज पढ्दा उनको सपना आफ्नै जातकी कुनै केटीसँग विहे गर्ने र मुस्ताङ वा पोखरामा घरजम बसाएर बस्ने मात्र हुन्थ्यो । तर उनको सपना छिनछिनमा बदलिरहने मुस्ताङी मौसमजस्तै फेरिइरहन्थ्यो । मुस्ताङमा उनका बुवा घोडा व्यापारी थिए जतिखेर उनको सपना त्यस्तै बन्ने थियो । तर जब पोखरा झरे आफू पढ्ने स्कुलका हेडसर उनका ‘आदर्श व्यक्ति’ बने र एसएलसी पास गर्दानगर्दै उनी त्यस्तै सर बन्ने सपना सझाउँथे । काठमाडौं आएर आइएस्सी पास गर्दानगर्दै उनी आफूमा इञ्जिनियर देख्न थाले । तर जीवन सोचेजस्तो कहिल्यै हुँदैन भनेझैं उनको जीवनको मोड अर्कै गतिमा बढ्न थाल्यो । मुस्ताङ फर्केर घरजम बसाउने उनको सपना जापानतर्फ मोडियो । जापानबाट रेडियोलोजीमा स्नातक सकेर उनी जापानी केटीसँग विहे गर्न पुग्छन् । त्यससँगै उनको सपनाले अर्को ‘टर्न’ लिन्छ र उनको जीवनको नयाँ अध्याय शुरु हुन्छ ‘उद्योग–व्यावसायी’ को रुपमा । 

जीवनमा यहाँसम्म आइपूग्दा नेपाल र जापानमा गरेर झण्डै दुई दर्जन व्यावसायमा उनले हात हाले । तर त्यसो भन्दैमा त्यसका शुरुवाती दिनमा झेलेको समस्या र चूनौतिलाई समेत उनले कम प्रेरणादायी मान्दैनन् । उनले भाँडा माझ्ने, लिप्नेजस्ता स–साना देखि ठूला काममा आफूलाई अभ्यस्त गर्दै लगे । मार्फामा घोडा चराउने, कुखुराका अण्डा बेच्नेजस्ता थुप्रै त्यस्ता काम पहिल्यै पनि आफूले गरिसकेको हुनाले त्यसमा उनलाई कुनै प्रकारको ग्लानी महसुस पनि भएनछ । जापान बसाईको क्रममा उनले आप्रवासीको रुपमा भोगेका समस्या समेत पुस्तकमा कोट्याएका छन् । 

सानैदेखि फेरिरहने सपनासँग अभ्यस्त बनेका हिराचनले पुस्तकमा एउटा महत्वपूर्ण सवाल उठाएका छन्, ‘मार्फाबाट मुस्ताङ हेर्दा, मुस्ताङबाट नेपाल हेर्दा, नेपालबाट संसार हेर्दा कस्तो देखिन्छ ? र, संसारबाट मुस्ताङबाट संसार हेर्दा कस्तो देखिन्छ होला ?’ तर संसारको बदलिंदो विकासक्रमलाई नजिबाट नियालेका उनले अन्तत: निकालेको निश्कर्ष पनि गजबको पाइन्छ । भूबनोटको असर स्वरुप व्यापार–व्यावसायमा थकाली समुदाय पोख्त हुन थाले जसकै असर स्वरुप उनको वर्तमान संसार निर्माण हुन पुगेको समेत उनको निश्कर्ष छ । प्रत्येक ठाउँ जतिसुकै सम्पन्न वा बिपन्न किन नहोस त्यसले स्थानियहरुमा एउटा विशेष छाप संचार गरेको हुन्छ भन्ने तथ्य उनले मार्फालाई आफैसँग जोडेर तुलना गरेका छन् । कालिगण्डकीको बाटो जुन शताब्दियौं अघिदेखि तिब्बत र भारतबिच सामान ओसारपसार गर्ने व्यावारिक मार्ग हो जसको प्रभाव ति थकाली समुदायका रगत–रगतमा छ जसरी जापान पुगेर डाक्टर बन्ने बेला समेत हिराचन व्यापार–व्यावसायमा हान्निएझैं । 

व्यावसायलाई कहिलेकाहीँ तिब्र गतिमा लैजान आवश्यक पर्ने ‘क्याराभान’ को प्रशंग समेत पुस्तकमा उल्लेख गरिएको छ । एउटा कुनाको ठाउँ भइकन पनि इतिहाँसमा यसको महत्वलाई बुझेर मुस्ताङ धेरैको आँखामा परेको कुरा, नेपाल र तिब्बतबिच युद्ध हुँदा थकाली समूदायले खेलेको बौद्धिक र सिर्जनशील भूमिकाले थकाली शक्तिको उदय भएको कुरा, थकाली समूदायमा ठूलो शक्तिको रुपमा रहेको सामूहिक र मिलनसार कार्यभावनाको कुरा समेत हिराचनले दृष्टान्तहरुसाथ उठाएका छन् । जति सांस्कृतिक रुपमा विशेषतापूर्ण भएता पनि राज्यको उचित पहुँच नहुँदा झेल्ने समस्याहरु एकपटक उनी स्वयं टाइफाइड भएर मार्फामा मरणाशन्य भएको कुराबाट उठाएका छन् । माइलो छोरा लामा बन्नुपर्ने परम्पराको कारण गुम्बामा लगेर राख्दा समेत उनले परिवारसामू अड्डी कसेर त्यसो नगरेको रोचक तथ्य राखेका छन् । तर पुस्तकमा धेरैजसो स्थान थकाली समूदायको व्यापारशैली र इतिहाँसले नै ओघटेको छ । जापानी समुदायमा अभ्यस्त हुने क्रममा झेलेका समस्या र त्यहाँको परिवेशले उनको जीवनमा पारेको प्रभावले समेत पुस्तक रुचिकर र फराकिलो दायराको बनाएको छ । 

पुस्तकमा हिराचनको आत्मकथा र मुस्ताङ तथा थकाली समूदायको इतिहास दुवैलाई समेट्न खोज्नु सरहानीय लागेता पनि त्यसले आत्मकथाको भावलाई धेरैठाउँमा बिगारेझैं लाग्छ । यद्यपि ऐतिहासिक तथ्य र संघर्षसिल जीवनलाई सहज रुपमा देखाउन सक्नु पुस्तकको विशेष पक्ष हो । धेरै ठाउँमा लेखकले अनावश्यक भाषिक फूलबुट्टा भरेर लम्बे बनाएका छन् । निकै सरल भाषामा लेखिएको पुस्तकमा सम्पादक राजेन्द्र महर्जन र ज्योतिलाल वनको मिहीनेत राम्रै परेको देखिन्छ । 

कर्म (आत्मकथन/आत्ममन्थन)
लेखक: देवमान हिराचन
सम्पादन: राजेन्द्र महर्जन/ ज्योतिलाल वन
प्रकाशक: ललित सुब्बा
पृष्ठ ३१०
मूल्य: रु: ५००

No comments:

Post a Comment