Sunday, May 17, 2015

न उद्घार, न राहत



(मेलम्ची) एउटा विपत्तिको घाउ सन्चो हुन नपाउँदै राम्चे गाविसकी चमेली मगर, ४१, लाई अर्को संकटले सताएको छ । १२ वैशाखको भुइँचालोमा परी सिन्धुपाल्चोकमा मात्रै तीन हजारले ज्यान गुमाए । तर, तीन सन्तान र पतिसहितको परिवारलाई सामान्य चोटसमेत नलाग्दा पनि उनी उति खुसी छैनन् ।

गत वर्ष १६ साउनमा जुरे पहिरोमा घरबार गुमाएको उनको परिवारले सात लाख रुपियाँ ऋणधन गरेर अर्को घर बनाएको थियो । ५ माघमा नयाँ घर सरेपछि उनले सोचेकी थिइन्, नमीठो विगतलाई बिर्सेर छोराछोरीलाई राम्रोसँग पढाउन मात्र सके पनि जीवन सहज बन्दै जानेछ । तर, उनको सपनामा तीन महिना नबित्दै तुषारापात भएको छ ।


भूकम्पको ११औँ दिन तीन घन्टा ओरालो झरेर लामोसाँघु आइपुगेकी थिइन् चमेली । काठमाडौँबाट आएको राहत टोलीलाई सुनाउँदै थिइन्, “घर चर्केर भत्केलाजस्तो भएको छ, माथिपट्टि पहिरो आइपुगेको छ । बारीमा धाँजा फाटेको छ ।” अर्को महिनाबाट वर्षायाम सुरु भएपछि गाउँ फेरि पहिरोको सिकार बन्न सक्छ । धेरैले त गाउँ नै छाडिसकेका छन् । चमेली भने अझै अलमलमा छिन् । बरर आँसु खसाल्दै उनले भनिन्, “गाउँमा बस्न मात्र होइन, खेतीसमेत गर्न सकिने अवस्था छैन ।”

राहत लिन आएका मोतीराज कार्की, ७६, ले भूकम्पमा छोरीपट्टिका एक नाति र एक नातिनी गुमाएका छन् । उनको मात्र होइन, गाउँका कसैको घर पनि ठीक अवस्थामा छैन । उद्धार तथा राहतका लागि फोन गर्नलाई कसैको मोबाइलमा चार्ज बाँकी छैन । तल गएर राहत टोलीलाई गाउँसम्म ल्याउने तन्नेरी गाउँमा छैनन् । सरकारी राहतको पत्तो छैन । ५७ घरधुरीको उक्त गाउँका लागि २२ वैशाखमा आएको राहतसमेत काठमाडौँमा रहेका गाउँका एक युवाले पहल र समन्वय गरेर ल्याएका थिए ।

सबैभन्दा बढी जनधनको क्षति भएको र काठमाडौँबाट नजिकको जिल्ला भएकाले त्यहाँ सरकारी, संस्थागत र स्वत:स्फूर्त पहलबाट दिनहँु  राहत बोकेका सयौँ गाडी आउँछन् । तर, प्राय:ले राजमार्ग वा बाटो पुगेका क्षेत्र आसपासका बस्तीमा मात्र राहत छाडेको दुर्गम गाउँका बासिन्दाको गुनासो छ ।

मुलुक उद्धारमा केन्द्रित भइरहेका बेला १७ वैशाखमा काठमाडौँबाट दालमोठ, चिउरा र केही थान टेन्टसहित एउटा सैनिक हेलिकप्टर लामोसाँघु बजार पुगेको थियो । तर, त्यसको जानकारी न त्यहाँस्थित सुरक्षा निकायलाई थियो, न नागरिकलाई नै । लामोसाघुँकै म्याग्नेसाइड कोलोनीपारिको खाली जग्गामा हेलिकप्टर ल्यान्ड नै नगरीकन माथिबाट राहत फ्याँक्दा आसपास  भएका र सक्नेहरूले मात्र फाइदा उठाए ।

भूकम्पमा परी लामोसाँघु बजारमा मात्र १७ जनाले ज्यान गुमाए भने नजिकैको चर्चमा १६ जनाले । प्राय: घरको छत खसेर च्यापेको देखिन्छ । लामोसाँघु बजारमै रहेको सुनाखरी माविको भवनसमेत धुलिसात भएको छ ।
जुरे पहिरोको उद्धारका क्रममा चीनबाट ल्याई नेपाल ओरेन्ट म्याग्नेसाइडको गोदाममा थन्काइएका पानीका बोतल अहिले पीडितलाई बाँडिएको छ । म्याद सकिएकाले पिउँदा नमीठो गन्ध आउँछ । त्यो स्वास्थ्यका लागि कति हानिकारक छ भनेर जाँच्ने कुनै संयन्त्र छैन । भारतबाट पठाइएका पानीका पोका सडकछेउमा थुप्रिएका छन् । तर, स्वास्थ्यमा हानि हुने डरले त्यसको उपयोग हुन सकेको छैन ।

राहत बाँड्न पुगेको एउटा टोलीका स्कुले दिदीबहिनी सुचिन्दा र सुप्रिया श्रेष्ठले महिलालाई भेटेर स्यानिटरी प्याड ल्याइदिएको बताउँदा केही त भावुक भएर रुन थाले । लाग्थ्यो, पीडितले ठूला राहत मात्र खोजिरहेका छैनन् । दुई छाक मुख जोड् न पुग्ने राहतसँगै आफ्ना पीडा महसुस गरिदिने मानिससमेत खोजिरहेका छन् । सुप्रिया भन्छिन्, “केही सहयोग गर्न नसके पनि उनीहरूसम्म पुगेर केही समय बिताइयो भने ठूलो राहतको काम गर्दो रहेछ ।”

लामो साँघुपछि सिन्धुपाल्चोककै मेलम्ची र आसपासका गाउँतर्फ लाग्दा बाटो आसपासमा देखिने पुराना घर सहीसलामत देखिएनन् । काठका घर, माटोले जोडिएका घर र ब्लकबाट बनाइएका घरमा भूकम्पको असर सबैभन्दा ज्यादा छ । सम्पूर्ण घर ढल्दासमेत ठाडै उभिएका ढोकाले घरलाई नै गिज्याइरहेका जस्ता देखिन्छन् ।

मेलम्ची–१४ स्थित कार्कीटोलका रामहरि कार्कीका दुई भतिजी घरमै पुरिए । कम्पन सकिएको १० मिनेटभित्रै उद्धार गर्दासमेत उनीहरू बाँचेनन् । मेलम्ची बजारमा पिलरकै घरसमेत कतै तलबाटै त कतै बीचबाट भाँचिएका छन् । त्यस्ता अवस्थामा रहेका घर पूर्ण रूपमा भत्काउनुपर्ने विज्ञहरू बताउँछन् ।

गाउँघरमा राहत नपुगेपछि स्थानीय पीडित मेलम्ची बजारमा ओइरिएका छन् । त्यहाँबाट उत्तरपूर्वमा पर्ने बरुवा गाविसमा त ६० प्रतिशत मानिसको मृत्यु भएको अनुमान छ । त्यस ठाउँमा मरेका गाई, भैँसी र बाख्राका कारण दुर्गन्ध फैलिएको मेलम्ची झर्ने स्थानीयको कथन छ । बालबच्चा च्यापेर खानेकुरा र ओढ्ने कम्मलको अभावमा दिन गुजार्नु पर्दा पीडितहरू मानसिक दबाबमा छन् । तराई वा काठमाडाैँमा आफन्त हुनेहरू बिस्तारै त्यतातिर बसाइँ सर्दै छन् । तर, घर पूर्ण रूपमा ध्वस्त नभएको तर धेरैतिर चर्किएर भित्र जाने अवस्था पनि नभएकाहरू भने के गर्ने भन्ने दोधारमा छन् ।

राहतसमेत कसैले थुप्रैपटक र कसैले एकपटक पनि नपाएको गुनासो छ । पहुँचवाला भएका ठाउँमा केही मात्रामा राहत सामग्री आए पनि कतै भने त्यसको गन्धसमेत पुगेको छैन । मेलम्चीमा भेटिएका सोसाइटी अफ एक्स बूढानीलकण्ठ स्टुडेन्ट्सका कौशलराज सापकोटा भन्छन्, “गाउँघरसम्म पुग्न नसकिने अवस्थामा पुग्न सकिने ठाउँका बूढापाकाको रोहवरमा सामग्री छाडिरहेका छौँ ।” २३ वैशाखमा मात्र उनीहरूले मेलम्ची र आसपासका गाउँका लागि भनेर तीन हजार टेन्ट र ३० किलोका तीन हजार बोरा चामल बाँडेका थिए ।

मेलम्चीबाट जर्सिङपौवा र साँखु हुँदै फर्किंदा भग्नावशेष बनेका घर काठमाडौँसम्मै थिए । तर, काठमाडौँ नजिकिँदै जाँदा टेन्ट, खाद्यान्न र स्वास्थ्योपचारका सुविधा बाक्लिँदै गरेका देखिन्थे । राजधानीमा जनजीवन सामान्य भएझैँ लागे पनि काठमाडौँबाहिर अझै बिग्रँदै जान सक्ने अवस्थालाई जानी/नजानी नजरअन्दाज गरिएजस्तो लाग्छ ।

First Appeared in Nepal Magazine.

No comments:

Post a Comment