Saturday, January 20, 2018

इनोभेसन २.०

नानोटेक्नोलोजी रिसर्चका लागि विश्वभर चिनिएका एक वैज्ञानिक आउँदा बर्षहरुमा विश्वमा के–कस्तो प्रविधि हावी हुने देख्छन् । 

विश्वका विभिन्न कुना चहारिरहंदा प्राध्यापक श्रीराम रामाकृष्ण एउटा प्रश्न बारम्बार सामना गरिराखेका हुन्छन्, “विश्वमा अब कस्तो प्रविधि हावी हुनेछ ?” ‘मटेरियल साइन्स’मा विश्वभर सबैभन्दा बढि उद्धृत गरिनेमध्येका एक नेसनल युनिभर्सिटी अफ सिंगापुरको नानोफाइबर तथा नानोटेक्नोलोजी केन्द्रका निर्देशक उनी धेरैजसो ठट्टामै भनिदिन्छन्, “धेरै अघिको भन्न नसकेता पनि कम्तिमा ५० बर्षपछिको कुरा भने म आरामले भन्न सक्छु । किनकि त्यसबेला सायद म मरिसकेको हुनेछु ।”

उनको ठट्टै सही, धेरैले रामाकृष्णलाई हल्का रुपमा लिंदैनन् । उनले अध्ययन गरिराखेको क्षेत्र नानो टेक्नोलोजीबारेका कुरा धेरै बर्ष ठट्टाकै रुपमा थियो । अहिले चिकित्सा क्षेत्रलाई मात्रै हेर्ने हो भने पनि नगन्य रगतको नमूनाबाट सबथोक थाहा हुन्छ, त्यसमै उपचार हुन्छ । एउटा सामान्य कागजको मोटाइभन्दा हजार गुणा सानो इकाईका कुरा पनि मानिसको जीवनमरणसँगै जोडिनेजस्तो महत्वपूर्ण अर्थ राख्दो रहेछ भन्ने कुरा कल्पना सम्म गरिएको थिएन । अहिले नानो टेक्नोलोजी केमा मात्र छैन् ! चाहे महंगा कस्मेटिक हुन् वा आरामदायी मानिने आँखाका लेन्स, पानी शुद्धिकरण प्रविधिदेखि सुरक्षाका उपकरणसम्म, खाद्य सुरक्षादेखि वातावरणमैत्री घरसम्म नानो टेक्नोलोजी जोडिएकै हुन्छ ।

कतिसम्म भएको छ जनावरप्रेमी तर मासुका पारखीका लागिरुचाइने स्वाद र प्रोटिनको मात्रा मिलाएर जनावरको हत्या नगरिकनै क्रितिम रुपबाटै मासु तयार भइसकेको छ । 

वल्र्ड इनोभेसन फोरम २०१८ को नेपाल संस्करणका रुपमा गरिएको स्विस–नेपाल टेक्नोलोजी ट्रान्सफर वर्कसपका लागि हालै काठमाडौं आएका रामाकृष्ण भन्दैथिए, “तर संसार यति रफ्तारमा अगाडि बढिराखेको छ कि अहिले हामीले जसको कुरा सबैभन्दा बढि गरिराखेका छौं, आगामी दशकमा त्यो हराइसकेको हुनसक्छ र अर्को झन् विशिष्ठ उपलब्धी र सपना हामीमाझ हुनेछ ।”

आफ्नो समयको विशिष्ठ उपलब्धी मानिएको स्टिम इञ्जिन अहिले पनि छ तर हामीमाझ त्यसको कुरा खासै हुँदैन । आउँदा बर्षमा नानो टेक्नोलोजी, क्रितिम बौद्धिकता (एआई), डिजिटल प्रविधिको भूमिका नि:सन्देह ठूलो हुनेछ । “धेरै कुरा चाहिनेभन्दा बढि बुझिएको पनि छ,” उनी भन्छन्, “एआई भनिएका सबैथोक एआई होइनन्, थुप्रै कुराहरु अझै सामान्य प्राविधिक हिसाबकिताब हुन् ।”

सत्य के हो भने, औसत मानिसहरुले भन्दा मेसिनहरुले थुप्रै कुरा छिटो र दुरुस्तै गर्न सक्छन् । एउटा मानिसको दिमागमा परिवार, भावना र दैनिक जीवनका अन्य थुप्रै कुराहरु खेलिराखेका हुन्छन् । मेसिनले गर्ने काम उसको पूर्ण क्षमताको काम हुन्छ भने मानिसका लागि थुप्रैमध्ये एउटा मात्र । त्यसैले कामको गुणस्तर र उत्पादकत्वका दृष्टिले मेसिनहरुले औसत मानिसको क्षमतालाई उछिनिसकेका छन् ।

विज्ञानको क्षेत्र नै अहिले पहिलेजसरी चलिराखेको छैन । “मैले रिसर्च शुरु गर्दा नयाँ ज्ञान पत्ता लगाउने कुरा थियो, तर अहिले धेरैजसो देशहरु प्रविधि हस्तान्तरणको युगमा छन्,” होटल याक एण्ड यतिको बगैंचामा उनी भन्दैथिए, “अहिले आधारभुत अध्ययनभन्दा पनि नयाँ कम्पनी खोलेर वा चालु व्यावसायहरुका लागि लगानी बढाएर काम हुन्छ ।”


उनीजस्ता वैज्ञानिकले यद्यपि के कुरा बिर्सेका छैनन् भने आधारभुत अध्ययन र प्रविधिमा हुने लगानीजस्ता दुवै पक्षको समिश्रणले नै ठूलो अन्वेषणको लागि बाटो बनाउँछ । तर त्यसको लागि पैसा जुटाउनै भएता पनि कम्पनीहरुको साथ चाहिन्छ । राज्यसँग तुलना गर्दा प्रोडक्ट डेभलपमेन्टमा दुई तिहाईबढि लगानी त कम्पनीहरुले नै गरिराखेका हुन्छ । उत्कृष्ठ प्रोडक्ट मात्र बजारमा रहने र कमजोर हराउने बजारको नियममा राज्यहरु कम्पनीजसरी जोखिम मोल्ने आँट गर्दैनन् । अहिलेका टेक कम्पनीहरु यति द्रूत गतिमा अगाडि बढिराखेका छन् आधा दशकमै उनीहरुले आफ्नो सम्पत्ति तीन गुणासम्म बढाइराखेका छन् ।

चालु विश्वमा क्रितिम बौद्धिकता ‘हट केक’को रुपमा छ । यस क्षेत्रमा उत्पादनहरु विकास गर्न जुन रफ्तारले काम भइराखेका छन् त्यसलाई हेर्दा धेरै विश्वविद्यालयहरुसँग उच्च स्तरको आर्थिक स्रोत छैन । ठूला टेक कम्पनीहरुले अहिले ती सबै विलक्षण प्रतिभाहरुलाई आफूतर्फ तानेका छन् ।

“के अब ठूलो युद्ध भयो भने त्यो साइबर विश्वमा हुनेछ ?”
उनी मुसुक्क हाँसे, “युद्ध कसरी हुन्छ भन्ने मलाई थाहा छैन । तर हो, अबको विश्वको प्रतिस्पर्धा प्रविधिकै आडमा हुनेछ ।”

पछिल्ला ५ बर्ष मात्र केलाउने हो भने विश्वका शीर्ष ठूला कम्पनीहरु सबैजसो टेक्नोलोजी वा सफ्टवेर सम्बन्धी छन् । र, थुप्रै देशहरुको कुल ग्राहस्तभन्दा बढि आर्थिक क्षमता भएका ती कम्पनीहरु एक अर्कासँग प्रतिस्पर्धा गरिराखेका छन् । उनी गणितिय नियमकै साहारा लिएर के बुझाउन खोज्दैथिए भने अरुको दायरामा प्रवेश नगरिकन ठूलो बन्न सकिंदैन । यसर्थ विश्व राजनीतिक विकासक्रमले समेत इनोभेसनमा धेरै जोडघटाउ गर्छ ।
सामान्य उदहारणका रुपमा डिजिटल मुद्रा समेत देशभित्र सहज भएता पनि सीमा नाघ्नेवित्तिकै अर्को देशको व्यवस्थासँग जोडिन्छ । अर्को देशको साइबर सुरक्षा, राष्ट्रिय सुरक्षा जोडिन्छ । प्राध्यापक रामाकृष्णले प्रश्न तेर्‍र्साएरै उत्तर दिन चाहे, “टेक कम्पनीहरुलाई हेर्नुस् त अहिले उनीहरुले आफ्ना बोर्ड सदस्य वा सल्लाहकारमा ठूला राजनीतिज्ञहरुलाई लिइराखेका छन् । किन त ?”   

अहिले भचुर्अल विश्वमा टेक कम्पनीहरुले ठूलो भुभाग नै कब्जा गरिसकेका छन् । एउटा क्लासिकल उदहारणको रुपमा अमेरिका र युरोपका हरेक संयन्त्रमा रहेको टेलिकम्युनिकेसन कम्पनी एटिएनटीको प्रभावलाई हेरे पुग्छ । सबैतिर उसको एकाधिकार उच्च भएपछि अमेरिकाले एटिएनटी र अन्य केही ठूला कम्पनीहरुलाई पुर्नसंरचना गर्ने नीति ल्याएको थियो । नत्र त साना कम्पनी वा सिर्जना कहिल्यै आफ्नै तरिकाबाट विस्तारित हुनै नपाउने भए । पछिल्लो आधा शताब्दीमा यो क्रमले निकै व्यापकता पायो ।

अर्को अवसर र चुनौति अब डेटासँग जोडिएको छ । सबै कुरा डेटामा छ । अब गोपनियता व्यवस्थापन र डेटा सुरक्षाको सवाल सबैभन्दा बढि महत्वपूर्ण हुनेछ । अहिले जसरी डेटाहरु आइरहेका छन् त्यो निकै धेरै छ । र, त्यो भन्दा कयौं गुणा डिजिटल डेटाहरु हरेक दिन थुप्रिरहेका छन् ।

रामाकृष्ण त ठान्छन्, अबको २० बर्षमा सायद हामीले दिमागसँग जोडिने प्रविधिको कुरा बढि गरिराखेको हुनेछौं । किनकि त्यतिखेर त्यै सबैलाई चाहिनेछ । आजभोलि थुप्रै एयरपोर्टमा बोर्डिङ कार्ड हुँदैन किनकि बारकोर्डले सबै हिसाब गरिराखेको हुन्छ । एउटा मेसिनले राम्रोसँग काम गरिराखेको छ तर हाम्रो दिमागले गरिराखेको हुँदैन जसलाई सघाउन अर्को मेसिन साथी चाहिनेछ । अहिले विश्वभर उपलब्ध गुणस्तरिय सेवा–सुविधाका कारण मानिसहरु धेरै बर्ष बाँचिराखेका छन् । अर्थात् अहिलेको र आउनेवाला विश्वमा बृद्धहरु बढि छन्, हुनेछन् । स्मरण शक्तिमा ह्रास आउनेजस्ता मानसिक समस्याहरु त्यसैगरी बढेका छन् । डाक्टरले औषधी नै थुप्रै दिनेछन् तर परिवारका सदस्यहरु आफ्नै काममा व्यस्त हुनेछन् । डाक्टर सधै सँगै हुनेछैनन् । “कुन पुस्ताले कस्तो खपत लयलाई समात्छ, इनोभेसनहरु त्यसकै आधारमा हुनेछन्,” उनी भन्छन्, “दिमागलाई मार्गनिर्देश गर्ने प्रविधि आउनेछ ।”

नानो टेक्नोलोजीका क्षेत्रमा भइराखेका लोभलाग्दा इनोभेसन देख्दा रामाकृष्ण आफैं दंग पर्छन् । सायद कहिलेकाहीं उनलाई कल्पनिक कथाको संसारमा सयर भएझैं पनि लाग्दो हो । पंक्तिकारले त्यसो भनिरहंदा यी भलाद्मी प्राध्यापक मुस्काए र अहिले निकै लगानीसाथ अध्ययन भइराखेको क्षेत्र ‘इलेक्ट्रोसिटिकल्स’बारे सुनाउन थाले । यो त्यस्तो क्षेत्र हो जसमा अपेक्षित सफलता हाँसिल भयो भने अहिलेको ‘फार्मासेटिकल्स’ संयन्त्रमा जस्तो बिरामी हुँदा रसायनयुक्त औषधी किनेर खानुपर्ने छैन । त्यस्ता इलेक्टिक झट्काहरु विकसित गरिनेछ जसले शरीरभित्रै हुने अबैं न्युरोन्सलाई औषधी बनाउनेछ । धेरै अगाडि नगइकन अबको दुई दशकभित्रै विश्वका थुप्रै मानिसहरुका शरीरमा कम्तिमा एक चौथाई क्रितिम अंक प्रत्यारोपण हुनेछन् । बदलिंदो कुलिन जीवनशैलीबिच यो एकतर्फ समस्याको रुपमा आएको त छ नै तर नानोटेक्नोलोजीमा भएको विकासले सामान्य प्रकृयाझैं लाग्नेछ ।***

नेपालको छिमेकमै अहिले ठूल्ठूला खोज र अन्वेषण भइराखेका छन् । पूर्वाधारको तहमा आरामदायी स्थान बनाइसकेपछि चीनले आफूलाई ‘न्युन नर्मल’ युगमा प्रवेश गराउँदै उत्पादनबाट इनोभेसनतर्फ लागेको छ । त्यहाँ अहिले दशौं लाखले विश्वविद्यालय तहको शिक्षा लिइराखेका छन् । त्यो भनेकै अबको अर्को तह निर्विकल्प रुपमा इनोभेसनमा जानु हो । चीनको डायस्पोरा नै पनि निकै शक्तिशाली छ । पश्चिमा विश्वमा हुर्केबढेका तृष्ण बुद्धिहरु स्वदेश फर्किरहेका छन् । चीनले अरुलाई पछ्याइराखेको छैन । ऊ अरुभन्दा भिन्न र दिगो खेलाडी बन्नकै खातिर आफ्ना प्राथमिकताहरु निकै विवेकी ढंगबाट तय गरिराखेको छ । बेइजिङमा अहिले दुई अर्ब डलरको लगानीमा वैज्ञानिक पार्क निर्माणाधिन छ जुन पूर्णत: क्रितिम बौद्धिकताको अध्ययनमा केन्द्रित हुनेछ । प्राध्यापक रामाकृष्णका अनुसार त्यस्ता लगानीले थुप्रै प्रयोगात्मक डेटाहरु संकलन गर्न सघाउनेछ ।

एक्काइसौं शताब्दीको एउटा प्रमुख चुनौति मानिएको जलवायु परिवर्तनसँग जुध्न इलेक्ट्रिक पारवहनमा जाने योजना त थुप्रै देशहरुमा छ । वातावरणीय सुधारको लागि उक्त विकल्पमा जानुको विकल्प पनि छैन । तर त्यसो भन्दैमा तत्काल पूरै विस्तापित गर्न पनि सकिंदैन । इञ्जिन, ब्याट्रीजस्ता पक्षलाई बषौं, थुप्रै परिवेश र शैलीमा जाँच गरेपछि आउने डेटाले मात्र त्यो परिवेशको लागि मार्गनिर्देश गर्न सक्छ । रिर्चाजेवल ब्याट्रीमा हुने इनोभेसन झनै महत्वपूर्ण छ । किनकि नविकरणिय उर्जा सधै एकनासको हुँदैन । जसका लागि दशौं लाख गाडिहरुले दिने डेटालाई मुल्यांकन गर्नुपर्छ । उक्त डेटा संकलनको पुर्वाधार बनिसकेको छ । उनी ठान्छन्, “नत्र महत्वकांक्षी मानिने अर्को तहको इनोभेसनमा फड्को मार्न कठिन छ ।” कार्बन उत्सर्जन घटाउन रणनीतिमा अहिले विकसित राष्ट्रको एउटा प्रमुख रणनीति नानो टक्नोलोजीकै इनोभेसनमा केन्द्रीत गरेका छन् ।

“विश्वको यो रफ्तारमा नेपाल कहाँ छ ?”
“धेरै पर,” उनले धेरै नसोचिकनै जवाफ दिए ।

नेपालमा केही दिन बस्दा तन्नेरी पुस्ताहरुका केही आइडियाहरुलाई उनले नजिकबाट हेर्ने अवसर पाए । नेपाली युवाहरुले चुनौति झेल्न खोजिराखेको स्पष्टसँग देखे पनि । तर उनका अनुसार सिंगापुरसँग तुलना गर्दा यद्यपि यहाँ उनीहरुले आफूलाई चाहिनेजस्तो गुरु (मेन्टर) भेटिराखेका छैनन् । भन्छन्, “विश्वविद्यालयहरुसँग पूर्वाधारकै टाउको दु:खाई यति धेरै छ कि योजनाहरु भइकन पनि अध्ययन–अन्वेषणका लागि लगानी गर्ने चरणमै पुगेका छैनन् । सैद्धान्तिक तहमा मात्र काम भइराखेको छ । तर थोरै थोरै नै गरेर भएता पनि रिसर्च एण्ड डेभलपमेन्टमा लगानी बढाउनै पर्छ ।”

उनका अनुसार नेपाली मात्र होइन एसियाली विद्यार्थी वा युवा वैज्ञानिकहरुमा उनले देखेको साझा समस्या आत्मविश्वासको हो । कम्पास, कागज, गनपाउडर, प्रिन्टिङजस्ता शुरुवारी अन्वेषणहरु एसियाबाटै भएका थिए । जुन पछि युरोप, अमेरिकातर्फ फैलिए । अहिले पुन: एसियाली मुलुकहरुमा बढेको बजार, आर्थिक हैसियत, वैज्ञानिकहरुको उपलब्धता र सस्तोमै गर्न सकिने रिसर्चको कारण पुन: एसियाली युग शुरु भएको छ । 
उनले आफ्नो पुस्तक ‘चेन्जिङ फेसेज अफ इनोभेसन: इज इट सिफ्टिङ टु एसिया ?’ लेख्नुपछाडिको कारण पनि एसियाली विद्यार्थीहरुमा यही ऐतिहासिक तथ्यकै भरमा आत्मबल भर्नु थियो ।

अहिले एसियाली मुलुकहरुमै डिजिटल प्रविधिहरुलाई हेर्ने हो भने साझेदारी अर्थतन्त्र, बिनाकागजको वित्तव्यवस्था, भर्चुअल मुद्राले एकखाले क्रान्ति ल्याइसकेको छ । चीनले अमेरिकाकै तहमा रिसर्च एण्ड डेभलपमेन्ट (आरएण्डडी)मा गरेको लगानीले नै यसको माहोल बनाएको हो । उनी धेरै सन्देह नराखीकनै भन्छन्, “यही गतिमा गए छिट्टै अमेरिकालाई उछिन्नेछ चीनले ।” यसअघि जापान, दक्षिण कोरिया, सिंगापुरजस्ता देशहरुले समेत यही गरेका थिए । भारतको योगदान आफ्नै तरिकाबाट महत्वपूर्ण छ ।

विश्वसँग यहाँको संयन्त्र एकिकृत हुन नसक्नु भनेको नेपाल होस् या अन्य कुनै देशका लागि अब भद्रगोलजस्तो हुनेछ । जस्तो, डिजिटल अर्थतन्त्र सबैको रुचिको बिषय नभएता पनि अब जानैपर्छ । “मलाई अचम्म लाग्यो काठमाडौंमा रुट मिल्ने अरुसँग मिलेर ट्याक्सी चढ्न सकिंदो रहेनछ जुन कुनै रकेट साइन्स पनि होइन,” उनी भन्दैथिए, “देशले सबै कुरा अरुको पच्छ्याउनुपर्छ भन्ने छैन तर सबै कुरा अब हिजोजस्तो कसैगरी हुँदैन ।”

सन् २०१५ यताको समयबाट भने उनी केही सशंकित छन् । पछिल्लो तीन दशकलाई हेर्ने हो भने प्रविधिमा थुप्रै ठूला कामहरु मिलेर भएका छन् । तर पुन: पर्खालहरु सिर्जना भएका छन् । ब्रेक्जिट, ट्रम्पको उदय सबै त्यसको उदाहरण हुन् । अब देशहरु इनोभेसन मिलेर नभई सीर्फ हामी एक्लै गर्न सकिन्छ भन्नेहरु शक्तिमा आएका छन् । उनी ठान्छन्, “यी नयाँ पर्खालहरुबिच हाम्रो इनोभेसन अहिलेजस्तो सीमाहिन भने पक्कै हुनेछैन ।”

No comments:

Post a Comment