Saturday, April 12, 2014

बहुरंगी पोखरा


पोखरा बहुरंगी छ । त्यसैले मानिसहरू आ-आफ्नै आँखाबाट पोखरालाई व्याख्या गर्छन् । कसैले यसलाई साहास जाँच्ने ठाउँको रूपमा चिन्छन् त कसैले योग गर्न बिताउनुपर्ने सहर । साहित्य/संगीतमा त यो सहर प्रेम, सुन्दरता र निश्चलताको विम्बकै रूपमा धेरैले प्रयोग गरेका छन् । एउटा पर्यटकीय आँखाबाट हेर्दा पोखरामा के मात्र गर्न सम्भव छैन ! यो ३६० डिग्रीमा चियाउन र रमाउन सकिने सहर हो । 

अघिल्लो वर्ष अंग्रेजी नयाँ वर्षमा एक हप्ता म लेकसाइड, पोखरामा थिएँ । त्यसबेलाको पोखरा अर्कै थियो, उन्मुक्त । त्यहाँको रमाउने शैली कुनै पश्चिमा सहरको भन्दा कम थिएन । त्यसबेला विदेशी नभई स्वदेशी हाबी थिए । त्यसले निकै सुन्दर ढंगबाट मध्यमवर्गीय नेपाली समाजको रमाउन खोज्ने चाहनाको प्रतिविम्ब बोलिरहेको थियो । र, पोखरा त्यसमा सबैभन्दा राम्ररी फिट भएको थियो ।  

पोखरासँग अनेकथरी मिथक जोडिएका छन् । अर्मलाको भ्वाङ वा सेतीको बाढीजस्ता घटना घट्दा ती मिथक झन् बरालिन्छन् । तर मिथक डरलाग्दा मात्र होइनन्, रहरलाग्दा पनि छन् पोखरामा । १६ वटा प्याराग्लाइडिङ कम्पनीका सयभन्दा बढी पाइलटहरू सारङकोटको डाँडाबाट चराझैं हाम फाल्छन् । मानिसलाई आफूसँगै उडाउँछन् । त्यसबेला मानिसले डर र रोमान्सको मिश्रति अनुभूति गर्छ । आँखैअघि माछापुच्छ्रे र तलपट्टि फेवातालको आनन्द । 

प्याराग्लाइडिङ मात्र होइन, खेलौनाजस्ता अल्ट्रालाइट हवाई जहाजले पोखराको फेवादेखि माछापुच्छ्रेको फुटहिलसम्म पुग्छन् । शान्त तालमा बोटिङ गर्दै आकाशमा उडिरहेका मानिसहरूको झुन्ड हेर्न पनि निकै गजबको अनुभूति हुन्छ । पोखरा र आसपासमा रहेका ८ वटा तालमाथि साँझमा विभिन्न आकृति बनाएर उड्ने चराको झुन्ड झनै रोचक देखिन्छ । फेवातालको मज्जा मानिसहरूले कतिसम्म लिएका छन् भन्ने जान्न त्यहाँ व्यावसायिक रूपमा सञ्चालित ७ सयभन्दा बढी संख्यामा डुंगाले स्पष्ट छनक दिन्छ । दुई वर्षयता सराङकोट डाँडाबाट हेम्जा फेदीसम्म तारमा अल्झिएर 'जिप ड्राइभ' गर्ने नयाँ खेल पनि थपिएको छ । थुप्रै ख्यातिप्राप्त अन्तर्राष्ट्रिय पाइलटहरू पोखराको आकाशमा आफ्नो एड्भेन्चर अनुभूति गर्न बेलाबखत आइरहन्छन् । 

व्यावसायिक उडानका लागि व्यावसायिक, सरकारी र स्थानीय सहकार्य नमिलेता पनि पोखरामा अल्ट्रालाइट हवाई जहाज तालमा अवतरणको अभ्यास समेत भइसकेको थियो । बिनाइन्जिन उड्ने हयान्डग्लाइडरको समेत सफल अभ्यास भइसकेको छ । जति बढी यसरी पोखरामा साहसिक उडानका अभ्यास भएका छन्, उत्तिकै तिनले विदेशीको ध्यान पोखरातर्फ तान्छन् । र, पोखराको 'भ्यालु' दिनानुदिन विश्वभर फैलिइरहेको छ । सायद, अन्तर्राष्ट्रिय क्षेत्रमा सबैभन्दा राम्ररी ब्रान्डिङ भएको नेपाली सहर पनि यही नै हो । 

पोखरा प्राकृतिले मात्र खुलेको होइन, पोखरालाई परिचित बनाउने त्यहाँको मुख्य जङ्सन हो- लेकसाइड । कतिले पोखरा भ्रमणलाई त्यही लेकसाइडमा टुंग्याउँछन् त कतिका लागि पोखरालाई केन्द्रमा राखेर हुने लामा-छोटा पदयात्रा सुरु र अन्त्यसँगै फ्रिकी हुने ठाउँका रूपमा । यहाँका कति रेस्टुराँका इन्टेरियर हुन् वा त्यहाँ मध्यरातसम्म गुन्जिने विभिन्न भाषा र शैलीका गीत, पोखरा अन्य सहरभन्दा पृथक छ । मैले थुप्रै त्यस्ता व्यक्तिहरू पनि भेटें, जसका लागि पोखरा पुग्नु भनेको लेकसाइडमा टहलिनु वा सारङकोटको सूर्योदय हेर्नु मात्रै पनि होइन, अन्तर्राष्ट्रिय ख्याति कमाएका क्लब एम्सटर्डम, क्लब ओजोन वा बीजीबीजस्ता रेस्टुराँमा एक साँझ रमाउनु पनि हो । त्यहाँ भेटिने मानिसका हुलियाले पोखरालाई स्थायी/अस्थायी रूपमा कस्मोपोटिलन सोसाइटी बनाइरहेको देखाउँछ । 
०००
नयाँ वर्षमा पोखरामा कन्सर्टका लर्को लाग्छन् । भनिन्छ, पोखरेलीको रगतमै संगीत हुन्छ । सायद होला पनि, त्यही भएर थुप्रै नेपालीका मनमा बसेका नेपथ्य, डिमोर्चा, कन्दराजस्ता थुप्रै ब्यान्डहरू पोखरेली छन् । लेकसाइडकै रेस्टुराँ चहार्दा त्यहाँ के मात्र सुनिँदैन- ओरिजिनल लोकपप, दोहोरी, ज्याज/ब्लुज, मेटलदेखि तिनका कभरसम्म । त्यहाँ उनीहरू अनेकखाले फेस पेन्टिङ, मोडिफाइड फेसनजस्ता शैलीमा प्रस्तुत हुन्छन् । बाहुन, नेवार, मुस्लिम र छेउछाउका गुरुङ, मगर, थकाली लगायत जातजातिको सुन्दर सम्मिश्रण रहेको पोखरामा उनीहरूको फेसन, खानपिन र बोलीचालीले अझ रोचकता थप्छ । भनिन्छ, पोखराको मौसमको मादकता यस्तो छ कि जेसुकै कारण पोखरेलीहरू बढ्तै 'कुल' देखिन्छन् । फेवाताल वरपर वा लेकसाइडमा प्रेमालाप गर्नेहरूले यो कुरा झन् राम्ररी बुझेका हुन्छन् किनकि त्यसको कुनै मतलब गर्दैनन् मानिसहरू । कारण, एउटै हो- पोखराले पश्चिमाजगत् जत्तिकै परिवर्तन र उतारचढाव देखेको छ । किनकि, यो सहरले नेपालभन्दा बढी पोखरा चिन्ने थुप्रैलाई स्वागत गरिसकेको छ । 


पोखरा प्रकृतिदेखि मानवीय विविधताको उत्कृष्ट सम्मिश्रण भएको ठाउँ हो । त्यसैले पोखराले कहिल्यै थकाउँदैन । बरु, एकपटक पोखरा पुग्ने जोकोहीलाई झन् आफूतिर लोभ्याइरहन्छ मात्र । त्यसैले त पोखरा बहुरंगी छ । 

पोखराको रंगमा सराङकोटको सूर्योदय मात्र छैन । फेवा, रूपा र वेगनासको चिसो हावा मात्र छैन । विश्वशान्ति स्तुपाको उचाइ र सौम्यता पनि पोखरासँग छ । वरिपरि थुम्काका गुरुङ बस्तीले जोगाएको ग्रामीण जीवन पनि पोखराको सम्पत्ति हो । सिक्लेस, घान्दु्रक होस् वा धम्पुस, पोखरा बेलाबेला गाउँतिर लम्किन्छ । र, आफ्ना पाहुनालाई त्यताको बाटो देखाइरहन्छ । घान्द्रुक पुगेर गुरुङ पोसाकामा फोटो खिचाउनेहरूको संख्या घटेको छैन । 'पाहा हन्टिङ' गरिने काभ्रेजस्ता होमस्टेको सुविधा भएका गाउँ पनि पोखराकै वरिपरि छन् । लेकतिरबाट भेडाको बथान लिएर झर्ने गोठालाहरू यस्तै गाउँसम्म आइपुगेर पोखराको गन्ध सुँघेर फर्किन्छन् । 

सेतीको खोंच र पातले छाँगोका बारे धेरै चर्चा गरिएको छ । प्रकृतिले दिएका ठाउँका अलावा मान्छेले बनाएका प्याराग्लाइडिङ र जिप ड्राइभले पोखरामा अझै बढी आकर्षणका रंग थपेका छन् । 

No comments:

Post a Comment