Friday, December 8, 2017

क्राइमियामा ‘कन्फ्युज्ड’, क्याटलोनियामा ‘क्लियर’

परराष्ट्र मन्त्रालयले २० कात्तिकमा प्रेस विज्ञप्तिमार्फत स्पेनको एक स्वायत्त प्रशासनिक र राजनीतिक क्षेत्र क्याटलोनिया स्वतन्त्रताको विरुद्धमा आफ्नो अडान स्पष्ट पार्‍यो । १५ असोजमा क्याटलोनियामा त्यहाँको संसद्को निर्णयबमोजिम भएको जनमतसंग्रहमा ९२ प्रतिशत क्याटलान मतदाताले स्वतन्त्रताको पक्षमा मत दिएका थिए । तर, स्पेन सरकारले जनमतसंग्रहको तीन हप्ताअगाडि नै त्यो प्रक्रिया असंवैधानिक रहेको भन्दै त्यसलाई गैरकानुनी घोषणा गरेको थियो । ‘आन्तरिक मामिलाहरू देशको संवैधानिक संरचनाभित्रै रहेर सुल्झाउनुपर्छ भन्ने मान्यताको पक्षमा छ,’ नेपालले स्वतन्त्रताप्रति असहमति जनाउँदै जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यस्ता जटिल वैदेशिक मामिलामा नेपाल कमै मुछिने गर्छ । तर, बोल्नैपर्ने अवस्था आउँदा समेत उसलाई विश्व राजनीतिका थुप्रै पक्षलाई ख्याल गर्नुपर्ने चुनौती पनि हुन्छ । स्पेनको सन्दर्भमा यसरी आफ्नो अडान स्पष्टसँग राखिरहँदा धेरैले यसलाई ०७० चैतमा रुसमा भएको युक्रेन अधीनस्थ क्राइमियाको विलयसँग जोडेर हेरेका छन् । त्यतिखेर नेपालले संयुक्त राष्ट्रसंघको मतदानमा तटस्थ मत दिएको थियो । जसको एउटा मुख्य कारण भारत र चीनसमेत क्राइमिया मामिलामा तटस्थ बस्ने निर्णय गर्नु थियो । रुसले समेत आफ्नो कूटनीतिक संयन्त्रमार्फत नेपाल कम्तीमा विरोधमा नउभियोस् भनेर ‘लबिङ’ गरेको थियो । त्यसैले पनि होला, नेपालले संयुक्त राष्ट्रसंघको स्थायी सदस्यसँग चिढिनुको जोखिम मोल्न चाहेन ।

Saturday, October 28, 2017

चीन २.०



प्रदीप बस्यालसंजीव गिरी

१ कात्तिकमा राष्ट्रपति सी चिनफिङले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को १९ औँ कंग्रेसमा पाठ गरेको साढे तीन घन्टा लामो म्याराथुन भाषणका हरेक शब्द निकै अर्थपूर्ण रूपबाट तौलिएका थिए । थुप्रै महिना अघिदेखि १०१ वटा अध्ययन टोलीले ३४ मध्येका २९ प्रान्त, स्वायत्त क्षेत्र, नगरपालिकाका १,४३३ बहुआयामिक क्षेत्रका संस्थाहरू भ्रमण गरेर त्यसको मस्यौदा तयार पारेका थिए । त्यसमाथि आएका सुझाव र प्रतिक्रिया समेटेर पाँच सयभन्दा बढी पटकको पुनर्लेखनपछि तयार पारिएको उक्त रिपोर्टमा धेरै कुरा स्पष्ट थिए भने केही सांकेतिक । प्राय: संकेतबाटै धेरै बोल्ने चिनियाँ शैलीबीच पनि एउटा स्पष्ट दाबी के थियो भने चीन अबको विश्वको नेतृत्वकर्ता हो । मन्तव्यभरि सीले सबभन्दा बढी दोहोर्‍याए मध्येको एक शब्दावली ‘नयाँ युगमा चिनियाँ चरित्रको समाजवाद’भित्र त्यसको स्पष्ट चित्र थियो । 

सीका पदचाप 

‘लो प्रोफाइल’मा रहेर अगाडि बढ्ने भन्ने पुरानो रक्षात्मक चरित्र बोकेर अगाडि बढिराखेको चीनमा पाँच वर्षअघि राष्ट्रपति सी सत्तामा आएसँगै बदलावका संकेतहरू देखापर्न सुरु गरेका थिए । उनले ल्याएको बेल्ट एन्ड रोड अवधारणा (बीआरआई) यति विशिष्ट प्रकृतिको थियो कि चीन रक्षात्मक भएकै खण्डमा त्यसलाई अगाडि बढाउन सम्भव थिएन, छैन । खुलापनसँगै आर्थिक रूपमा मारेको फड्कोले चीनसँग अहिले विश्वकै सबैभन्दा बढी विदेशी मुद्रा सञ्चय छ, जसलाई दिगो रूपमा चलायमान गराउन नै बीआरआई अवधारणा जन्मिएको थियो ।

Monday, May 15, 2017

नेपालप्रेमी राष्ट्रपति

नेपाल आइरहने र यहाँका हिमालमा घुम्न रुचाउने मुन जे इन

‘शान्ति खोज्न नेपाल’ रोज्ने दक्षिण कोरियाली राजनीतिज्ञ मुन जे इन त्यहाँको १२औँ राष्ट्रपतिमा भारी मतले विजयी भएका छन् । २६ वैशाखमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा उनले पाएको सफलतालाई यसअघि भन्दा फरक त्यहाँ रहेका नेपालीहरूले आपसमा बधाई साटासाट गर्ने अवसरका रूपमा लिए । नेपालमै उनीसँग भेटेका थुप्रैले उनीबारेका स्मृति सम्झन थाले । इनको नेपाल साइनो गज्जबको तर उनीजस्तै शान्त स्वभावको थियो, हल्लाखल्लाबिनाको । 

गत वर्ष उनी सुटुक्क नेपाल भ्रमणमा आए र भूकम्पपीडितको सहयोगका लागि नुवाकोट र लाङटाङ उपत्यका पुगे । नुवाकोटको बेलकोटमा रहेको आरुखर्क माध्यमिक विद्यालयको पुन:निर्माणमा सघाए । स्थानीयसँग मिलेर आफैँ निर्माण सामग्री ओसारपसार गरे । विज्ञान सामग्रीहरू विद्यालयलाई हस्तान्तरण गरे । लाङटाङ जाँदा बिग्रेको बाटोका ढुंगा मिलाउन आफैँ कस्सिए । 

पेसाले कानुन व्यवसायी इनको राजनीतिक ‘करिअर’ भने धेरै पुरानो होइन । सन् २०१२ यता औपचारिक राजनीतिमा रहेका उनले दक्षिण कोरियाका नवौँ राष्ट्रपति रो मु–हुन प्रशासनका विभिन्न ओहोदामा रहेर सन् २००३ यता ६ वर्ष काम गरेका थिए । हुनको प्रमुख चुनावी रणनीतिकारदेखि चिफ अफ स्टाफसम्मको भूमिकामा रहे । सन् २००४ मा चुनावी आचारसंहिता उल्लंघन र भ्रष्टाचारको आरोपमा हुनमाथि दक्षिण कोरियाली संसद्मा महाभियोग दर्ता हुँदा इन नेपालमै थिए । र, त्यो खबर पाउनासाथ भ्रमण छोट्याएर कोरिया फर्किए । त्यतिबेला उनी राष्ट्रपतिको सिभिल सेक्रेटरीबाट राजीनामा दिएर नेपाल आएका थिए । 

Tuesday, February 21, 2017

‘पावर, पैसा र ग्ल्यामर केही रहेनछ’— सुजाता कोइराला


दिवंगत गिरिजाप्रसाद कोइरालाझैँ ‘संवाद, सहमति र सहकार्यबाटै देशको स्वार्थमा काम गर्नुको विकल्प नभएको’ बताउने उनी ‘सबैका आ–आफ्नै ब्रान्डको राजनीति भए पनि त्यो रचनात्मक र परिपक्व हुनुपर्ने’ सुझाव दिन्छिन् । एकअर्कालाई गाली र खोक्रा भाषण गर्नेहरु अचेल उनलाई जोकरझैँ लाग्छन् । अनि, उनलाई आफ्नो यस्तै विगतप्रति पश्चात्ताप पनि छ । असाध्य रोग क्यान्सरसँग लडेर अहिले मण्डिखाटारस्थित निवासमा आराम गरिरहेकी नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सन्तोष आचार्य प्रदीप बस्यालसँग राजनीतिक भन्दा पनि आध्यात्मिक लयमा कुरा गर्न रुचि देखाइन् । त्यसैको सम्पादित अंश:

क्यान्सरसँग कसरी भिडिराख्नुभएको छ ?
स्तन क्यान्सर पत्ता लागेको एक महिनामै मेरो डिम्बाशयमा पनि क्यान्सर देखियो । दुवै अलगअलग प्रकृतिका थिए । ती पहिलो चरणमै रहेका कारण समयमै उपचार सम्भव भयो । क्यान्सरभन्दा बढी समस्या त एक महिनाभित्रै दुइटा अपरेसन गर्नुपर्दाको मानसिक तनाव थियो । शारीरिक रूपमा निकै कमजोर भएँ । चिकित्सक, मनोचिकित्सकहरू आउनुभयो । उहाँहरूले निद्रा लाग्ने औषधि दिनुभयो, जसलाई मैले ‘ह्याप्पी मेडिसिन’ नाम दिएकी थिएँ । त्यसले मेरो खास समस्या समाधान गरेन । जब उहाँहरूले अर्को औषधि दिने कुरा गर्नुभयो, म झन् बढी चिन्तित भएँ । औषधिले समस्या समाधान गर्दैन भन्ने लागेपछि म योगतिर लागेँ । जसले मलाई अहिले निकै ऊर्जा र उत्साह दिएको छ । 

बीपी कोइरालालाई समेत क्यान्सर लागेपछि एक सन्दर्भमा ‘झैझगडाहरू सबै बेकार रहेको, जीवन नै ठूलो कुरा रहेको’ भन्नुभएको थियो । तपाईंलाई पनि कुनै बेला यस्तो लाग्यो ?
हामीले आफैँलाई मात्र संसार सोचेका हुन्छौँ, जुन आखिर भ्रम रहेछ । मलाई थुप्रैपटक यस्तो लाग्यो । दोस्रोपटक म १२ दिनजति अस्पताल बसेँ । त्यतिखेरसम्म मलाई मानसिक रोग लागिसकेको रहेछ । अस्पतालमा डाक्टर–नर्ससँग हुँदा मात्र सुरक्षित अनुभव हुने, बाहिर निस्केर बस्न डर लाग्ने । मैले निस्किनै नमानेपछि डाक्टरहरूले बाहिर गएर घुलमिल हुन, राम्री बनेर घुम्न, सपिङ गर्न, रमाइलो गर्न हौस्याए । उनीहरूले खास मेरो उदासपन नापेरै त्यसो भनेका रहेछन् । त्यतिखेर मलाई पावर, पैसा, ग्ल्यामर भन्ने कुरा केही रहेनछ भन्ने अनुभव भयो । हामी बेकारमा एकअर्कामा द्वैष, झगडा पालेर बसेका छौँ । हिजो साथी–भाइ र परिवारसँग गरेका झैझगडा सम्झिँदा अहिले निकै हास्यास्पद लाग्छ ।