Wednesday, November 25, 2009

जर्मनीमा नेपाली सान



काठमाडौ, २०६६ मंसिर ५ - त्यो रात सागर ज्ञवाली, २४, निदाउनै सकेनन् । खुसीको त्यस क्षणमा उनलाई निद्रा लागोस् पनि कसरी ! जर्मनीको मोण्डियालोगो इञ्जिनियरिङ अवार्डका लागि विश्वभरिका इञ्जिनियरिङ विद्यार्थीका झण्डै एक हजार प्रोजेक्टलाई पछि पार्दै अन्तिम ३० मा परेका थिए उनी । त्यसबेलादेखि नै उनका शुभेच्छुक र साथीभाइको बधाई ओइरिन थालेको थियो । 'अब गोल्ड मेडल जितेर ल्याउनु,' शुभकामनामा यस्ता वाक्य हुन्थे । 'सबैका यति धेरै आशा निराशामा बदलिए के पो हुने हो !' यही प्रश्नले उनी र उनको प्रोजेक्ट टिमलाई सताउँथ्यो । तर उनले कसैलाई निराश पार्नुपरेन । अन्ततः उनको प्रोजेक्ट सर्वोत्कृष्ट भयो । गत कात्तिक २४ गते सबेरै उनको प्रोजेक्टलाई स्टुटगार्ट, जर्मनीमा गोल्ड विनर घोषणा गरिँदा सागर, प्रदीप त्रिपाठी र उनको टिमका नारायण अर्याल, रुद्र घिमिरे र प्रकाश अर्याल सबैले जर्मनी र नेपालमा एकैसाथ खुसी साटे । प्रोजेक्टको प्रतिनिधित्व गर्दै सागर र प्रदीपलाई मात्र जर्मनी जाने अवसर जुटेको थियो । स्टुटगार्टमा भएको पदक वितरण समारोहमा नेपालमा सबैका आँखा गढेका थिए । उनीसँगै नेपालबाट ४ प्रोजेक्ट अन्तिम ३० मा छानिएका थिए । सबैले अवार्ड जिते अर्थात् नेपालीका पोल्टामा २ स्वर्ण र २ रजत पर्‍यो ।




विकासोन्मुख र विकसित दुवैथरि मुलुकका इञ्जिनियरिङका विद्यार्थीले सहभागी हुने उक्त प्रतिस्पर्धामा २१ औं शताब्दीका समस्याबारे राष्ट्रसंघको सहस्राब्दी लक्ष्यलाई सम्बोधन हुनेगरी प्रोजेक्ट तयार पार्नु पथ्र्याे जसले विकासोन्मुख देशमा जीवनस्तर उकास्न सहयोग गरोस् । 'एयर कम्पे्रसर बेस्ड वाटर सप्लाई इन् रुरल हिल्ली भिलेज अफ नेपाल' शीर्षकमा सागरको टोलीले प्रोजेक्ट तयार पारेको थियो । 'बिजुली बिना उच्च पहाडी भागमा पिउन र सिंचाइका लागि तल्लो भागबाट पानी लाने हाम्रो प्रोजेक्टमा उद्देश्य हो,' नारायण अर्याल भन्छन्, 'जसबाट नेपालमा बढ्दै गएको ऊर्जासंकट र उच्च पहाडी भेगमा बढेको पानीको अभावलाई सम्बोधन गर्न सकियोस् ।'



जर्मनीमा पदकसँगै थप अध्ययन र स्थल छनौटका लागि भनेर स्वर्ण पदक विजेता प्रत्येक टिमलाई १५ हजार युरो दिइएको छ । रजत पदक विजेता अन्य दुई नेपालीका प्रोजेक्टले पनि १० हजार युरो पाउनेछन् । अमेरिकाको नर्थ क्यारोलाइना एगि्रकल्चर एण्ड टेक्नीकल स्टेट युनिभर्सिटीसँगको समन्वयमा प्रोजेक्ट तयार पारिएको थियो । टिममा प्रकाश र रुद्र मेकानिकल इञ्जिनियर हुन् भने अरु सबै इलेक्टि्रकल । सबैले पुल्चोक क्याम्पसबाट बिई सकेका हुन् । उनीहरु सबै अहिले एउटै फ्ल्याटमा ललितपुरको शंखमुलमा बस्छन् । सागर भन्छन्, 'यहीं बसेरै केही गरौं भन्ने इच्छा बोकेका साथीहरुको साझा प्रयासबाट देशलाई योगदान दिन खोजिएको हो ।' अहिले उनीहरु मिलेर 'हाम्रो प्रविधि, राम्रो नेपाल' नामको गैर सरकारी संस्था खोलेका छन् जसको वेब साइट धधध।जउचलभउब।यिचन।लउ मा बायोग्यास, कृषि र जडिबुटी, लघु जलविद्युत्, सौर्य ऊर्जा जस्ता विषयमा तयार पारिएका प्रोजेक्ट छन् । अध्यक्ष साग्ारल्ाे जर्मनी उड्नुअघि शंखमुलस्थित आफ्नो कोठामा भनेका थिए, 'राष्ट्र निर्माणमा हामी सबैको उत्तिकै जिम्मेवारी हुन्छ । आलोचना मात्र नगरी जिम्मेवारी पनि लिनुपर्छ ।' उनीसँगै इञ्जिनियरिङ पढेकाहरु अहिले युरोप र अमेरिकामा छन् । तर प्राविधिक दक्षतासँगै सो संस्थाका सदस्य समाजशास्त्रसमेत पढ्दैछन् । उनीहरुको भनाइ छ्, 'हाम्रो सामाजिक यथार्थलाई पनि बुझेर काम गर्नु जरुरी छ ।'



तर यी जुझारु तन्नेरीमा वितृष्णा पनि छ । 'हामीभन्दा पछि स्वतन्त्र भएका देशहरु बिज्ञान र प्रविधिसँगै धेरै फड्को मारिसके तर हामी अझै प्रजातन्त्रकै लागि भनेर लडिरहेका छौं,' अमृत खरेल भन्छन् । रजत पदक विजेता अमृतको 'इन्र्फमेसन एण्ड कम्युनिकेसन युजिङ माइक्रोवेभ लिन्क' मा पनि गाउँमा वायरलेस प्रविधिबाट सूचनाप्रविधिको अधिकतम् उपयोग गर्दै जनताको जीवनस्तर उकास्ने योजना छ । 'गाउँमै इ-लाइब्रेरी, टेलिमेडिसिन, विकास निर्माणको भिडियो प्रदर्शन जस्ता क्रियाकलापमा बढोत्तरी गर्न सकेमा नेपालका हिमाल अभिशाप नभई बरदान सावित हुन सक्थ्यो,' अमृतको टिमकी रोजिना अधिकारी भन्छिन् । मूलधारको राजनीतिमा युवा नेतृत्वको खाँचो औंल्याउँछिन् उनी । भन्छिन्, 'युवा जमातले नयाँ नेतृत्व दिन सक्दैन भन्ने मानसिकताले गर्दा देशले यो दुर्गति भोग्दैछ ।' विश्वमा सत्ता र राजनीतिमा युवाहरु हावी भइरहँदा त्यसको प्रभावलाई नेपालमा कसैले रोक्न नसक्ने उनको भनाइ छ । अघिसम्म साथीका कुरा सुनिरहेका सन्तोष बराल बहसमा सामेल हुन्छन् । भन्छन्, 'अमेरिकामै हेर्नुस्, ५० ननाघ्दै ओबामा राष्ट्रपति बने । भारतमै राहुल गान्धी कांग्रेस आईका महासचिव छन् ।' तर नेपालमा विकास सधैंं राजनीतिक भाषणबाजीमै सीमित हुने गरेको उनलाई चित्त बुझेको छैन । भन्छन्, 'विकास एक क्रमिक प्रक्रिया पनि हो, जसका निम्ति पूर्वाधारको विकास हुनुपर्छ ।'



नेपालबाटै गएको अर्को प्रोजेक्ट 'लो कस्ट फुड पि्रजरभेसन फर फार्मिङ कम्युनिटिज इन् रुरल नेपाल' ले पनि स्वर्ण पदक जित्यो । सो प्रोजेक्टले कृषिमा निर्भर ग्रामिण भेगमा बेमौसमी खेतीलाई बढावा दिने योजना अघि सारेको छ । सरल स्थानीय स्रोत -वैकल्पिक ऊर्जा) कै उपयोग गरी खाद्य भण्डारण गर्न सकिने छ जसको तयारी उनीहरु टोकियो युनिभर्सिटी अफ टेक्नोलोजीसँगको सहकार्यमा गरेका थिए । यसको नेतृत्व गरेकी थिइन् पुल्चोक इन्जिनियरिङ क्याम्पसकै सृष्टि प्रधानले । त्यसैगरी 'रुरल कोल्ड स्टोरेज' शीर्षकको अर्को प्रोजेक्टले पनि रजत पदक प्राप्त गर्‍यो । 'गाउँमा उपलब्ध कच्चा पदार्थलाई प्रयोग गरेर खाद्य चिस्यानमा भण्डारण गरी आर्थिक अवसरहरु सिर्जना गर्ने' लक्ष्य रहेको बताउँछन् उक्त प्रोजेक्टका संयोजक महेश न्यौपाने ।



यी तन्नेरीहरु विदेशमा सम्मानित भएर फर्केलगत्तै देश विकासको खाका कोर्न जुटिसकेका छन् । सधै संविधानकै गोलचक्रमा मस्त हाम्रा नेताले उनीहरुको सिप र ज्ञान प्रयोग गर्न सक्लान् ?


From http://www.ekantipur.com/
http://www.kantipuronline.com/np/news/news-detail.php?news_id=302332#

And http://www.butwalcity.com/
http://www.butwalcity.com/?option=com_content&view=article&id=217:2009-11-21-05-02-43&catid=34:main-articles&Itemid=185&fontstyle=f-larger

No comments:

Post a Comment