Saturday, December 19, 2009

कल्पना लोकको सयर (फिल्म समीक्षा)

By यज्ञश 

जेम्स क्यामरुनको यो साइन्स फिक्सनले हलिउडको एउटा कडा नियम तोड्छ। पृथ्वी बाहिरको कुनै जन्तु वा यानले अमेरिकामाथि आक्रमण गर्ने र त्यसलाई अमेरिकी सेनाले परास्त गर्ने हलिउडको प्रिय कथा यो फिल्ममा उल्टिन्छ। आजसम्मकै सबभन्दा महँगो फिल्म (नेपाली रूपैयाँ २२ अर्बभन्दा बढी) 'अवतार'मा पृथ्वी बाहिरको ग्रह प्यान्डोरा आक्रमण गर्न गएको अमेरिकी सेनाको टोलीलाई त्यहाँका आदिवासीले आफ्ना धनुकाण, केही चरा र जनावरका बलमा लेखेटिदिन्छन्।


फिल्मः अवतार (साढे तीन स्टार)

पटकथा/निर्देशनः जेम्स क्यामरुन

कलाकारहरूः साम वोरिङटन, जो साल्डाना, आदि।


उच्चस्तरको प्रविधि र त्यस्तै कल्पनाको एकसाथ मिश्रण भयो भने के हुन्छ? यसको एउटा उत्तर यस्तो हुनसक्छ- त्यो बेला कुनै फिल्म निर्देशक मान्छे होइन, भगवान लाग्न सक्छ। बेलाबेला हलिउड निर्देशकहरूले पर्दामा छुट्टै संसारको रचना गरेर दर्शकलाई चकित पार्दै आएका छन्। जर्ज लुकासको 'स्टार वार' र स्टिभन स्पिलबर्गको 'जुरासिक पार्क' यस्तै संसार थिए। संसारको रचना भगवानले गरेको मान्ने हो भने, 'अवतार' बनाएर जेम्स क्यामरुनले पर्दाको नयाँ भगवान बन्ने प्रयास गरेका छन्।

यसअघि 'टाइटानिक' र 'टर्मिनेटर २'जस्ता संसार प्रसिद्ध फिल्म बनाएका जेम्स क्यामरुनको 'अवतार' सन् २१५४ को कथा हो। पृथ्वीका सारा स्रोत र खनिजको दोहनपछि अर्को ग्रह प्यान्डोरामा खनिज खोज्न गएको अमेरिकी वैज्ञानिक र सैनिकको समूहले त्यहाँका आदिवासीसँग गर्ने असफल युद्धको कथा यसले भन्छ।

फिल्ममा एउटा उपकरण छ, जसमा सुतेपछि मान्छेको 'अवतार' बन्छ। खुट्टा नचल्ने अमेरिकी सैनिक र प्यान्डोराको कल्पना लोकमा पुग्ने उसको अवतार फिल्मको मुख्य पात्र हो। प्यान्डोरामा छुट्टै भाषा र संस्कृति भएको नेभी नाम गरेको एउटा जाति छ। एलियनजस्तो पहेँला आँखा, लामो पुच्छर र अग्लो कद भएका नेभीका बीचमा जब शिवजीको जस्तो निलो रङ भएको सैनिक 'अवतार' पुग्छ, फिल्मले तिनको मायाप्रेम र पृथ्वीवासीसँगको द्वन्द्वको कथा भन्छ।

जेम्स क्यामरुनको यो साइन्स फिक्सनले हलिउडको एउटा कडा नियम तोड्छ। पृथ्वी बाहिरको कुनै जन्तु वा यानले अमेरिकामाथि आक्रमण गर्ने र त्यसलाई अमेरिकी सेनाले परास्त गर्ने हलिउडको प्रिय कथा यो फिल्ममा उल्टिन्छ। आजसम्मकै सबभन्दा महँगो फिल्म (नेपाली रूपैयाँ २२ अर्बभन्दा बढी) 'अवतार'मा पृथ्वी बाहिरको ग्रह प्यान्डोरा आक्रमण गर्न गएको अमेरिकी सेनाको टोलीलाई त्यहाँका आदिवासीले आफ्ना धनुकाण, केही चरा र जनावरका बलमा लेखेटिदिन्छन्। यो कोरा कल्पनाको लोक हो, यसैले यहाँ मेसिनगनका अगाडि धनुकाण निरीह हुन बाध्य छैन।

कथा इतिहासको होस् या भविष्यको, फिल्म सधैं वर्तमान कालमा हुन्छ। निर्देशकले वर्तमानका दर्शकलाई सम्बोधन गरेर फिल्म बनाउँछ। यसैले २१५४ को कथामा पनि अहिलेको समयको छायाँ देखिन्छ। जस्तै, १ सय ५० वर्षपछि पनि अर्को ग्रहमा आक्रमण गर्न अरु कोही होइन, अमेरिकी नै पुग्नेछन्। यो अमेरिकीले बनाएको फिल्म हो यसैले त्यो ग्रहका आदिवासीको रक्षा पनि अमेरिकीको 'अवतार'ले नै गर्नेछ।

त्यो बेला मानव जातिको सबभन्दा ठूलो खोजी खनिजको हुनेछ, अहिलेको उपभोग दरका हिसाबले त्यतिबेलासम्म पृथ्वीमा न पेट्रोल बाँकी हुनेछ न ग्याँस। र, अहिले इराकमाथि आक्रमण गरेजस्तो त्यो बेला तेलका कुवा खोज्दै अमेरिकी सेनाले अर्को ग्रहमा परेड खेल्नेछन्। र, 'ग्लोबल वार' अर्को ग्रहमा पनि पैठारी हुनेछ। वा त्यतिञ्जेलसम्म अमेरिकासँग भिड्ने हिम्मत पृथ्वीमा कसैसँग हुनेछैन, त्यसैले अमेरिकी बन्दुक प्यान्डोरातिर सोझिने छ।

भारतजस्तो विकासशील देशले समेत बहुराष्ट्रिय कम्पनीलाई खनिज उत्पादन गर्न दिन आदिवासीमाथि आक्रमण थालेका बेला क्यामरुनको कल्पनाले यर्थाथलाई सँगै लिएर उडेको प्रतीत हुन्छ।

'अवतार'मा फिल्मका सबैजसो मसला छन्। नेभी जातिकी राजकुमारी र अवतारको 'फिल्मी प्रेम' होस् या युद्धपिपासु कर्नेल, गैरमानवको कथामा पनि फिल्मले मानवीय गुणको खोजी गर्छ। तर, यी सबैभन्दा ठूलो चमत्कार चाहिँ नयाँ ग्रहको निर्माणमा अनुभूत हुन्छ। यसको चरित्र निर्माण गर्नका लागि सिर्जना गरिएका लज्जावती

झारजस्तो च्याउ, अजंगका घोडा, एउटा ठूलो रुखमुनि बस्ने नेभी, हात्ती र घोडा मिसिएको भिमकाय जनावरले यसलाई अलौकिक संसार बनाइदिन्छन्।

यो यस्तो संसार हो जहाँ रुखमुनि बस्न रुखसँग मान्छेको मन मिल्नुपर्छ र 'फ्लाइङ ड्रयागन'जस्ता लाग्ने चराले आफ्नो सवारी आफैं रोज्छन्। चरामा बसेर हावामा तुन्द्रुङ झुन्डिएका पहाडको चक्कर लगाउन मानिसको बलले काम गर्दैन, प्रेम चाहिन्छ। सयौं अत्याधुनिक हतियारजडित हेलिकोप्टरसँग भाला लिएर लड्ने आदिवासीको लडाइँले रोमाञ्चको नयाँ अनुभूति दिलाउँछ। सिनेमाको पर्दामा अहिलेसम्म रचिएको यो सबभन्दा विशाल कल्पनाको संसार हो।

फिल्ममा प्यान्डोरा लोकको मात्र कथा छैन। पृथ्वीबाट गएका मानिसको पनि आफ्नै द्वन्द्व छ। नयाँ जातिको चियो गर्न गएर उतै प्रेममा परेको सैनिकको मनोविज्ञान एकातिर छ भने अर्कातिर लड्न जाँदा पनि युद्ध विमानको अघिल्तिर बसेर कफीको मजा लिने कर्नेल छ। प्यान्डोराको खनिज प्रेमले प्राप्त गर्ने कि बलले भन्ने द्वन्द्व पनि फिल्ममा छ। क्लाइमेक्सअघि यो द्वन्द्व कायम राख्नका लागि निर्देशकले मानव पात्रहरूलाई 'हिरो' र 'भिलेन'मा वर्गीकरण गरिदिन्छन्।

बेलायती निर्देशक ड्यानी बोयलले 'स्लमडग मिलेनियर' बनाएर अंग्रेजी शब्द भण्डारमा नयाँ शब्द 'जय हो' थपिदिएका थिए। क्यामरुनले 'अवतार' थपेका छन्। र, यो शब्दले संस्कृत र नेपाली भाषाकै 'अवतार'को अर्थ बोकेर अंग्रेजीमा प्रवेश गर्नेछ।

'अवतार'को शिल्प यसको प्रविधिमा निहित छ। फिल्मका साठी प्रतिशत दृश्य कम्युटर एनिमेसनबाट तयार भएका छन्। यसैले यसको निर्देशकमा अतिरिक्त खुबी चाहिन्छ। त्यसमाथि कुनै कथा वा लोककथामा आधारित नभई आफैले लेखेको मौलिक कथामा साइन्स फिक्सन बनाएर क्यामरुनले आफ्नो प्रतिभाले संसारलाई चकित बनाइदिएका छन्। उनको यसअघिको फिल्म 'टाइटानिक'ले एघार ओस्कर पाएको थियो, 'अवतार'को भागमा कति पर्छ अनुमान अहिल्यैदेखि सुरु भइसकेको छ।




No comments:

Post a Comment