Thursday, August 19, 2010

पाइला साहसिक खेलतिर


काठमाण्डौंको रात्री जीवनसग एकोहोरो रमाउने बानी परेका उनी सप्ताहन्त आउनसाथ काठमाण्डौं छाडिहाल्छन् । होटल याक एण्ड यतिको द रोयल क्यासिनोबाट हप्ताभरको थकान मेट्न उनको छनौटमा प्रायः प्राकृतिक एवं रमणीय ठाउहरु पर्नेगर्छन् । हालैको एक सप्ताहन्त भने अजय पोखरेल, २७, गन्तव्यतर्फ हान्निदै गर्दा बाटोका प्राकृतिक दृश्यमा त्यती खुलेर आखा डुलाउन सकेनन् । ठूलो आट र साहस जुटाएर उनी काठमाण्डौं छाडेका थिए । उनी जे गर्न जादैथिए, त्यसको केही मिनट अगाडिसम्म पनि त्यो आफूले ‘सक्ने वा नसक्नेमा’ उनी स्वयं दोधारमा थिए । ५ जना साथीहरु भएर पुगेका सबैको पहिलो अनुभव थियो र उनीजस्तै दोधारमा थिए सबै । त्यसैले पहिल्यै उनीहरुबीच ५/५ हजारको बाजी थापिएको थियो । २ जनाले अन्तिम समयमा ‘गिभ अप’ गरे । तर उनीहरुकै पंक्तिमा मिसिएमा बर्षभरी अरु साथीहरुको ‘जिस्क्याइ’ सहनुपथ्र्यो अजयले पनि । अन्ततः भोटेकोसी माथिको झोलुङ्गेबाट बञ्जी हाने ।

हालैको एक मध्यान्न थापाथलीस्थित कफी स्टेसनमा उनी त्यही क्षणको भिडियो फुटेज देखाउदै थिए । ‘तल हेर्दा एकैछिन त लाग्यो...अब सकियो’, बञ्जी हान्नुअघिको त्यो क्षण सम्झिए, ‘तर त्यो अनुभव निकै अनुपम रह्यो ।’ अजयझैं काठमाण्डौं विश्वविद्यालयबाट बिबिए सकेकी आभा आचार्य, २३, पनि बञ्जीको अनुभव जीवनभरका लागि सम्झनलायक क्षण हुने बताइन् । बुवाआमालाई थाह नै नदिई बञ्जी गर्न तम्सिएकी थिइन् उनी । ‘हिड्ने दिन केही घण्टा अगाडि मात्रै भने’, उनी सम्झिन्छिन्, ‘एकैछिन त सबै आत्तिए तर रोक्न भने सकेनन् ।’ जुन फुर्तीसाथ उनी भोटेकोसी हान्निएकी थिइन, त्यो अजयझैं बाटोमै सेलाईसकेको थियो । ‘अठहत्तरौं पटक बञ्जी जम्प गर्न गइरहेको एउटा भारतिय ठिटो पनि आत्तिरहेको देखेर मेरो मुटु अनायसै ढुकढुक गरिरहेको थियो’, भन्छिन्, ‘तर कोही मरेको त छैन नि भनेर सम्हालिए ।’ उत्साहित हुदै भनिन्, ‘फाइनल्ली आई डिड इट ।’ अजय र आभा त त्यस्ता तन्नेरीहरुका केही प्रतिनिधि पात्र हुन् जसको छुट्टि मनाउने मेनुमा आजकल ‘साहसिक खेलहरु’ पर्नेगर्छन् । छुट्टि मनाउने परिपाटीमा परिवर्तन आइसकेको पनि उनीहरुस“गको कुराकानीले झल्काउछ । ‘एसएलसी सकेपछि पहिलोपटक मनकामना घुम्न भनेर काठमाण्डौं छाडेको थिए’, नोकिया मोवाइलका एरिया सेल्स म्यानेजर सुविर श्रेष्ठ, ३२, सम्झन्छन्, ‘हल्काफुल्का घुमघाम, सानोतिनो पिक्निकहरु मात्रै त हुन्थे त्यसबेला छुट्टीमा ।’ उनका अनुसार ति सब उमेर छिप्पिएपछि गर्ने कुराहरु हुन् । ‘तन्नेरी जोशमा त एड्वेन्चरको अनुभव पो लिने त’, हालैसालै पोखराको आकासमा १ घण्टे प्याराग्लाइडिङ्ग गरेर फर्केका उनी उत्साहित भावमा अनुभव साट्दै थिए, ‘सारकोटको डा“डाबाट हाम फाल्दा कसले बाचिएला भन्ने सोच्छ त, तर पनि मरिदैन भन्ने मनमा खेलाइरहेको थिए ।’ भन्छन्, ‘तल खसेको केही सेकेन्डमै प्यारासुटले माथि तान्यो ।’ त्यसबेला उनले लामो सास फेरका थिए, त्यसअघि कहिल्यै नफेरेझैं । त्यो क्षण मानसपटलबाट सायद कहिल्यै नहट्ने उनी बताउछन् । लामो हा“सोसाथ भने, ‘पछि छोराछोरीलाई गफ दिन नि मज्जै आउला ।’ पाइलटस“ग राम्रै दोस्ती हुन सके केही बढ्तै समय पनि उड्न सकिने रहेछ । उनी बढ्तै ‘एक्साइटेड’ देखिएपछि पाइलटले आकासमै केही राउण्ड ‘स्पाइनिङ्ग’ गराएको थियो रे । सम्झनछन्, ‘सधै जमिनमा टेक्ने खुट्टाहरु आकासमा झुण्डिरहदा त एकैछिन चरा नै भएको अनुभव नि गरियो ।’
सुवीरका अनुसार साहसिक खेलको विशेषता भनेकै एकपटक शुरु गरेपछि अर्को साहसिक ‘स्टेप’ मा जान खोज्नु हो । त्यस्तै भएछ, पाटन क्याम्पस, ललितपुरमा अर्थशास्त्रमा एमए गर्दैगरेकी ईला पन्त, २४,लाई । त्रिशुलिमा २१ किलोमिटर ¥याफ्टिङ्ग गरेकी उनलाई रुटको आधा दूरी सकिसक्दा डुङ्गा ‘तल–माथि’ नहु“दा झ्याउ लाग्यो रे । भन्छिन्, ‘बोटमै पनि सबैभन्दा अगाडि र पछाडि बस्नेलाई पानीको फोर्सले गर्दा बढ्ता डर लाग्नेरै’छ ।’ अर्कोपटक जादा उनी त्यही बस्ने योजनामा छिन् । ‘त्रिशुली त तुलनात्मक रुपमा सजिलो रुट हो, मलाई अब बढि अप्स एण्ड डाउन र खोचहरु भएको भोटेकोसीमा ¥याफ्टिङ्ग जाने मन छ’, अरुलाई सुझाउछिन्, ‘असुरक्षित नै हुने भए सरकारले अनुमति पनि त दिदैनथ्यो होला नि ।’ उनको एडवेन्चर गर्ने बानी सानैदेखिको रहेछ । ‘सेन्ट मेरिजमा पढ्दा खुबै हाइकिङ्ग र क्याम्पिङ्ग गइन्थ्यो’, भन्छिन्, ‘हाइकिङ्गमा बाटो बिराएर धेरैबेर हराएपछि अन्तिममा बाटो फेला पर्दा खुबै मज्जा आउथ्यो ।’ तर अहिले एडवेन्चर गर्ने धेरै विकल्पहरु आइसकेकोले उनीजस्ता तन्नेरीहरुलाई छुट्टी मनाउने रोमाञ्चक अवसरहरु जुटेको हो । भन्छिन्, ‘यत्तिकै लागि विदेशबाट त मानिसहरु आउन मरिहत्ते गर्छन । हामी आफ्नै देशमा भएपछि त झन् गर्नुप¥यो नि ।’ उसो त मनिष श्रेष्ठ, २७, स“ग आफ्नो ‘च्यालेन्जर’ साइकलमा कयौं एडवेन्चरस यात्रा गरेको अनुभव छ । ‘नेपालको पूर्वपश्चिम र उत्तर दक्षिण दूरी साइकमै नापिसकेको छु’, न्यू समिट स्कुल, मैतिदेविका शिक्षक भन्छन्, ‘बाटो भएको ठाउ“मा भन्दा आफै नया“ रुट खोज्दै हिड्नु नै माउन्टेन बाइकिङ्गको मज्जा हो ।’ आजभन्दा झण्डै ५ बर्षअघि वीपी राजमार्ग बन्दै थियो । त्यसबखत नै उनी पहाडको खोचहरु, गोरेटोहरु र रोशी, सुनकोसी नदि किनार हुदै ‘धुलिखेल–सिन्धुली–जनकपुर–रक्सौल’ को यात्रा तय गरेका थिए । दू्रत गतिमा साइकल हाकिरहदा कहिलेकाही अचानक बाटो सकि“दा धेरैपटक चोटपटक पनि लागेको छ उनलाई । ‘अझ कहिलेकाही“ रातीमा साइकल चलाउदा त्यो झनै एडवेन्चर हुनेगर्छ’, उनी भन्छन्, ‘गन्तव्य खोज्दै भोकप्यासमा यात्रा गर्नु नै माउन्टेन बाइकिङ्गको मज्जा हो ।’ पछिल्लोपटकको उनी मुक्तिनाथ साइकलमा पुगेका थिए, जोमसोमसम्म हवाइजहाजमा पुगेर त्यहाबाट साइकलमा । साथीहरुस“ग गएता पनि फर्कंदा ‘एडवेन्चर’ गर्न भन्दै अर्को लामो बाटो एक्लै फकदै थिए । जसक्रममा दाना गल्छीनेर साइकलको चेन टुट्यो । ‘रिपेयरिङ्ग टुल्स’ साथीहरुस“गै थियो जसले गर्दा उनी १५ किलोमिटरको सुख्खा एवं सुनसार दूरी शरीरलाई अगाडितर्फ झुकाएर चेनबिनै तय गरेका थिए । भन्छन्, ‘त्यस्तो समस्या पर्दा हाम्रो दिमागमा अनायसै नयानया आइडिया आउ“छन् किनकि त्यसबेला हाम्रो ध्यान त्यही समस्या सुल्झ्यानेमा मात्रै केन्द्रीत हुन्छ ।’ पछि जोमसोम पुग्दा साथीहरु पोखरा फर्किसकेका थिए । त्यसदिनको रात्रीबस पकड्न नसके भोलिपल्ट नेपाल बन्द थियो । चेन बनाएर फकिदा बाटोमा फेरी पछाडिको टायर पन्चर भयो । पन्चर साइकलमा पनि अगाडि लोड पारेर उनी एउटा सडकमार्ग भेट्टाए र सोहीरात काठमाण्डौं फर्किन सके । ‘हो..एडवेन्चरको मज्जा नै तपाईंले त्यस्ता धेरै दुःख पाएर गन्तव्यमा पुग्दा पाउनुहुन्छ ।’ 

बञ्जी : रु २५०० ¥याफ्टिङ्गः रु ११०० प्याराग्लाइडिङ्गः रु ५००० पदयात्रा: माउन्टेन वाइकिङ्ग आफ्नो खर्च गर्ने तरिका र रुट अनुसार

Click here for e-paper view

No comments:

Post a Comment