Saturday, September 25, 2010

काबुलको कथा


सलले टाउको ढाकेकी उनको मुहार निकै हसिलो थियो । ‘मुस्काइरहने उनी खुलेर हासिन् भने झन् कस्ती देख्दीहुन् ?’, म  सोच्दैथिए, ‘गालामा डिम्पल पो देखिन्छ कि !’ तर शुरुमै हसाउन त्यसबेला मसग कुनै ‘चुट्किला’ तयार थिएन । अन्तरवार्ताको लागि लिएको झण्डै डेढ घण्टाबिचमा कुनैबेला त उनी  हास्लिन् भन्ने मलाई लागेको थियो । 

तर पनि ब्रिस्ना अस्होरजादासग हुन गइराखेको मेरो कुराकानी कुनै रमाइलो बिषयसग जोडिनेवाला थिएन । एउटा द्वन्द्वग्रस्त मुलुककी नागरिकको रुपमा उनको पीडादायी अनुभवलाई प्रतिनिधि कथाको रुपमा मैले यस स्तम्भमा समेट्दै थिए । अहिले उनी अफगानिस्तानको एक अन्तर्राष्ट्रिय गैरसरकारी स“स्थामा काम गर्छिन । र, त्यसको एउटा  कार्यक्रममा सहभागि हुने क्रममा काठमाण्डुमा छिन् । यी २२ बर्षियालाई नेपालमा भेट्नेहरु देशको नाम सुन्नेबित्तिकै एक पटक झस्कि“दा रहेछन् । ‘अफ्द्रगानस्तान π’ भन्दै धेरैले आङ सिरिङ्ग पार्छन । ‘बम–बारुद र ‘हत्या हिंसा’ को पर्यायको रुपमा मेरो देशको नामले विदेशमा समेत मानिसहरुलाई तर्साउदो रै’छ’, पहिलोपटक यसरी विदेश आएकी उनले भनिन्, ‘तपाईं अनुमान मात्र गर्नुस् न, म त अझ त्यही हुर्केबढेकी !’

उनले नेपालमा भेटेका धेरैले अफगानिस्तानलाई ‘न्यूज च्यानल’ र ‘फिल्म’ मा देखिने दृश्यहरुस“ग जोडेर सोध्ने गर्छन्, ‘के अफगानिस्तान सा“च्चै त्यस्तो डरलाग्दो छ ?’ संयोगले मेरो कुराकानीको शुरुवात पनि त्यस्तै भएछ । अफगानिस्तानबारे बनेको हिन्दी फिल्म ‘काबुल एक्सप्रेस’को आड लिएर म अघि बढ्न खोज्दैथिए“ । त्यसबाहेक टाइम म्यागाजिनको एउटा पछिल्लो अंकमा ‘ह्वाट ह्यापन्स इफ वि लिभ अफगानिस्तान’ लेखेर तालिवान विद्रोहीले नाक काटिदिएकी एउटी अफ्गान महिलाको ‘कभर  स्टोरी’ को प्रशंग पनि जोडेको थिए“ । र, अन्ततः मेरो जिज्ञाशा पनि अरुकोझैं त्यही नै हुन्थ्यो, ‘के अफगानिस्तान.....?’

काबुल एक्सप्रेसले त अफगानिस्तानमा तालिवानको पतनपछिको स्थितिलाई समेटेको छ । तर एउटा द्वन्द्वग्रस्त मुलुकको नागरिकको रुपमा उनको दुःखदायी विगत भने फिल्मले समेटेको  समयभन्दा धेरै अघि नै शुरु भएको थियो । ‘म त्यती राम्ररी सम्झन त सक्दिन’, उनले आफ्नो रामकहानीको शुरुवात गरिन्, ‘त्यसबेला सायद म ९/१० बर्षकी थिए।’  काबुलमा त्यतिखेर एउटा प्रजातान्त्रिक सरकार ढलेर धार्मीक कट्टरपन्थीहरु (जसको साठगा“ठ धेरै आतंककारीहरुसग थियो) को हातमा सत्ताको बागडोर पुगेको थियो । ‘जहा“सम्म मलाई सम्झना छ, त्यसबेला सबैतिर अस्तव्यस्त छाएको थियो’, उनी सम्झन खोज्दैछिन्, ‘हामीहरु स्कुल जान पनि बन्द गरेका थियौं ।’ उनका अनुसार कानुनको कुनै अर्थ नरहेको जस्तो छाडातन्त्र विकसित हु“दैथियो त्यसबेला अफगानिस्तानमा । गोली चलेका र बम बिस्फोटनका आवाज सामान्य भइसकेका थिए । भन्छिन्, ‘जब सरकार नै आतंकवादको पक्षमा हुन्छ, देश बिग्रन र भत्कन कुनै लामो समय नै चाहिदैन ।’

त्यस्तो अवस्थाका बिच एकदिन सबेरै उनका बुवाले एउटा निर्णय लिनुभयो– देश छाड्ने । ‘तर हामीहरुलाई केही थाह थिएन’, भनिन्, ‘केही नराम्रो हुन लागेजस्तो गरी हामीहरु मात्र एकोहोरो रोइरहेका थियौं ।’ बुवाआमासाथ दुई दिदी र दुई भाइहरुस“ग उनी पनि गन्तव्य थाह नभएको स्थानतर्फ हान्निदै थिइन् । ‘बुवाले द्वन्द्वले हाम्रो बाल मस्तिष्कमा असर नगरोस भनेर सायद त्यसो गर्नुभएको थियो’, उनका आ“खा रसाउन थालिसकेका थिए“, ‘त्यो तातो मरुभूमिको बाटोमा पहिलोपल्ट हामी ४ घण्टा हि“ड्नु परेको थियो ।’ अन्ततः उनीहरु पाकिस्तानको पेशावर शहर पुगे, शरणार्थीको रुपमा । भनिन्, ‘धन्न हामी भाग्यमानी थियौं कि अन्य शरणार्थीजस्तो शिविरमा बस्नु परेन ।’ त्यस्तालाई पाकिस्तानमा ‘इन्भिजिवल रिफ्युजी’ भनिन्थ्यो । पहिल्यैदेखि नै पेशावरमा बस्ने एकजना काकीले शुरुवाती दिनमा सहयोग गरिन् उनीहरुलाई । ‘बुवा दिनभर कोठा र काम खोज्न भौतारिनुहुन्थ्यो’, भन्छिन्, ‘तर धन्य हुन् मेरो बुवा कहिल्यै समस्याहरु हाम्रो अगाडि राख्नु हुदैनथ्यो ।’ तर पनि मुहारको भावले उनीहरु बुझ्थे । भन्छिन्, ‘पछि बुवाले ट्याक्सी चलाउन पाउनुभयो र हामीले कोठा भाडामा पनि पायौं ।’ बिस्तारै परदेशको जीवन सामान्यतर्फ मोडियो । ‘अरु अफगानीहरुले जस्तो हामीहरुले पाकिस्तानी बिद्यालयमा पढ्नु पनि परेन’, थपिन्, ‘जहा अफगानीहरुलाई हेपिन्थ्यो ।’ कारण संयोगले त्यहा एउटा अफगानीहरुलाई मात्र पढाउने एउटा छुट्टै बिद्यालय थियो । 

तालिवानको शासनताका मात्र उनीहरुझैं अफगानिस्तानबाट ६२ लाख अफगानीहरु छिमेकी पाकिस्तान र इरानमा शरण लिन पुगेका थिए । जसमध्ये झण्डै ४२ लाख तालिवान शासनबाट हटेपछि स्वदेश फर्किए । ‘तिनै ४२ लाखमध्ये हाम्रो परिवार पनि एक थियो’, ब्रिस्नाले लामो सास फेरिन् र भनिन्, ‘सायद त्योभन्दा बढ्ता खुसीको दिन मेरो जीवनमा सायदै आउला ।’ उनीहरु काबुल एयरपोर्टमा उत्रदा सबैका मुहारमा फेरी खुसी फर्किएको थियो । ध्वजापताका र नाराजुलुसले आफन्तहरुले स्वागत गरे । 

अहिले उनी उत्तरी अफगानिस्तानको बाख प्रान्तमा बसोबास गर्छिन् जहा उनको घर छ । ‘यद्यपि अफगानिस्तानको सुरक्षा व्यवस्था अझै कमजोर छ’, ब्रिस्नाको तर्क छ, ‘कसैले पनि बन्दूकको भरमा शान्ति फर्काउन सक्दैन ।’ अफ्गान सरकारले त्यसैले सबैको कुरा सुन्नुपर्ने उनी बताउ“छिन् । भन्छिन्, ‘अफ्गान सरकारले आफ्ना नागरिकको भन्दा बढ्ता विदेशीको विश्वास गरिराखेको छ, यसले हिंसा झन् बढाउन सक्छ ।’ एउटा भावुक कथाले भरिएको अन्तरवार्ता सकिसक्दा म भने“ उनको हासो देख्न नपाएकोमा पछुतो मान्दैथिए । उनको दुःखद विगत खोतल्दा त्यसबिचमा कतै पनि खुलेर हास्ने क्षण नै आएन । ‘हास्दा उसको गालामा खाल्टो पर्छ या पर्दैन’ हेर्ने मेरो धोको अधुरै रह्यो ।  

Click here for its e-paper view

No comments:

Post a Comment