Sunday, October 31, 2010

बिक्रिमा थेसिस

‘एक्जाम, थेसिस, प्राक्टिकल, रुटिन, एसेसमेन्ट,..’ काठमाण्डौंमा मेरो बासस्थान कीर्तिपुर हुनाले मैले दिनहू धेरैपटक सुन्ने शब्दहरु हुन् यी । सायद कीर्तिपुरमा सबैभन्दा बढि उच्चारण पनि यिनै शब्दहरु हुनेगर्छन् । बिद्यार्थीको शहरमा मैले यसैगरी सुन्ने शब्दहरुमा आजकल ‘थेसिसको दर’ पनि थपिएको छ । साथै रहेको त्रिभुवन विश्वविद्यालय हातादेखि चिया पसलहरु सम्ममा थेसिसहरु किनबेचको कुराहरु बढ्तै हुनु त छंदैछ, विश्वविद्यालयको विभिन्न विभागहरुका नोटिस बोर्ड र भित्ताहरुमा समेत ‘थेसिस थाहिएमा यो नम्बरमा फोन गर्नुहोला’, ‘यहा थेसिस बनाइन्छ’ जस्ता विज्ञापन टासिएका हुन्छन् । विद्यार्थीहरुमा (सबैलाई भन्न खोजिएको होइन) पनि अब थेसिस अध्ययन र अन्वेशण गरेर भन्दा किनबेच र चोरचारमै टुङ्ग्याउने कुरा हो भन्ने मानसिकता बढ्दो छ जुन आफैमा शैक्षिक विकृतिको एउटा ताजा उदहारण हो ।

पश्चिमा मुलुकहरुमा विश्वविद्यालयको पढाई सक्नु त्यती ठूलो कुरा मानिदैन जति उसले अन्त्यमा कुन विषयमा थेसिस गरेको छ भन्नेले अर्थ लाग्छ । उनीहरुलाई थेसिस गर्न विश्वविद्यालयले धेरै सहयोग पु¥याउछ पनि–– थेसिस ‘के बिषयम गर्ने’ भनेर पहिल्यै नै प्राध्यापक–विद्यार्थीको घनिभुत छलफल हुन्छ, एउटा प्राध्यापकलाई धेरै विद्यार्थीको चाप नपर्ने गरी गाइड तोकिदिन्छ, आर्थिक र प्राविधिक सहयोग चाहिएमा त्यो पनि जुटाइदिन्छ, आदि । अन्ततः तिनै थेसिसहरु त्यहाका राष्ट्रिय सम्पत्ति मानिन्छन् । जसलाई सरकारी निकायदेखि धेरै क्षेत्रले उत्पादक क्षेत्रमा प्रयोग गर्छन् । तर नेपाली परिवेश ठ्याक्कै उल्टो छ, यहा“ सायद कतै काम नलाग्ने बस्तुहरुको पंक्ति बनाउने हो भने ‘थेसिस’ पनि कतै पर्छ ।

विद्यार्थीले बर्षौं लगाएर गरेको अध्ययन सकिदाको समय उसले विश्वविद्यालय वा देशलाई दिने अमूल्य उपहार हुनुपर्ने थेसिस दिनानुदिन यसरी बिक्रिको बस्तु हुनु राम्रो संकेत कदापी हुन सक्दैन । थेसिस आफैमा अमूल्य हुन्छ । शब्दकोशहरुमै हेर्ने हो भने पनि स्पष्ट हुन्छ कि यो ‘ओरिजिनल रिसर्च’ हो जहा विश्वविद्यालयमा बन्ने हरेर थेसिसले नया–नया महत्व बोक्नुपर्ने हुन्छ । तर यहा थेसिसहरु अक्सर एउटै विषयलाई तोडमोड पारेर, त्यस्तै अन्य पहिल्यै गरिएका थेसिसहरुबाट चोर–चार पारेर वा अन्यलाई गर्न लगाएर सकिन्छ जसले गर्दा थेसिस अन्ततः ‘झारा टार्ने काम’ बाहेक अन्य केही हुदैन । आखिर किन यस्तो हुन्छ त ? थेसिसहरु किन बिद्यार्थीले महत्व दिएर गरिरहेका छैनन् । कि यहा थेसिस तयार गर्ने प्रकृया नै ठिक छैन ? प्राध्यापक/बिद्यार्थीहरुको कमजोरी कहानेर छ ? थेसिस सकेपछि किन त्यो पुस्तकालयमा थन्क्याउने भन्दा बढ्ता कामको हुन सक्दैन ? यी र यस्ता धेरै थेसिससग जोडिएका प्रश्नहरु छन् जसबारे सम्बन्धीत धेरैले समयमै सोच्नुपर्ने भइसकेको छ । नत्र देश विकासमा सहायक हुन विश्वविद्यालयले उत्पादन गर्ने विद्यार्थीहरुमा उच्च अंक सहितको मार्कसिट बाहेक अन्य अर्थपूर्ण कुराहरु केही हुनेछैन ।

आफ्नो थेसिस किनबेचबाटै सकेका र गर्दैगरेका त्यस्ता धेरै विद्यार्थीहरु मैले भेटेको छु । कोही उपत्यका बाहिर रही घरमै बसेर पढ्छन्, कतिका आफ्नै जागीर/व्यावसाय छन् जसले प्रयाप्त समय दिएर वा रिसर्च गरेर थेसिस गर्न भ्याउदैनन् । अर्का यस्ता पनि छन् जसको एउटा डिग्रीकै अभावमा जागीरको बढुवा रोकिएको हुन्छ । तेस्रो यस्ता छन् जसरी डिग्रीसम्म चिट र अन्य चोरचारकै भरमा पढे र पूरा पढाइ सक्दासम्म त झन् त्यसको लत परेको हुन्छ । यिनै माथि उल्लेख गरिएका तीनथरी विद्यार्थीकै कारण थेसिसको किनबेचको बिकृति शुरु भएको हो जसको मारमा सिर्जनशील र लगनशील विद्यार्थीहरु पनि परिराखेका छन् ।
कारण यसमा विश्वविद्यालयको अंक दिने प्रणाली दोषी देखिन्छ । मैले भेटेका धेरै विद्यार्थीहरुको गुनासो थियो, ‘जब किनेको र सारेकै थेसिसले मैले जत्तिकै नम्बर (कहिलेकाही बढि नै पनि) पाउछ, म किन बिथ्यामा मिहिनेत गरौं ।’ उनीहरुका कुरा सुन्दा लाग्थ्यो राम्रा बिद्यार्थीहरु पनि तिनै अघिल्ला तीन प्रकारका विद्यार्थीका कारण मिहिनेत गर्न छाडेका छन् । न त कसैले उत्कृष्ट थेसिस गरेमा त्यसलाई पुस्तककार रुप दिने चलन नै छ यहा । विशेष अध्ययन गरेर विशेष निश्कर्ष निकालिएका थेसिसहरु सबैमाझ पुग्नेगरी पुस्तकाकार रुप दिनु त पर्छ नै साथै पुरस्कृत गर्ने व्यवस्था पनि हुनुपर्छ । मात्र यसलाई स्नातकोत्तरको १०० अंकसग (शिक्षा संकायमा ५० अंकको हुनेगर्छ) जोडेर हेरिनु हुदैन । अर्को समस्या थेसिस गर्ने विद्यार्थीहरु पनि आवश्यकताको समयमा गाइड प्रोफेसरस“ग अन्तरक्रिया गर्न सक्दैनन् कारण एउटै प्रोफेसरको भागमै धेरै विद्यार्थीहरु हुनेगर्छन् । सबैभन्दा बढि थेसिसको चोरचार तथ्याङ्कसग जोडिने बिषयहरुमा हुन्छन् जहा तिनै पुराना तथ्याङ्कलाई तोडमोड पारेर तयार पारिन्छ जुन सहि/गलत नाप्ने कुनै संयन्त्र नै विश्वविद्यालयसग छैन ।

यस्ता विकृतिका पछाडि त्रिभुवन विश्वविद्यालयको पढाइमा ‘रिसर्च कल्चर’ विकास हुन नसक्नु हो । स्नातकोत्तर सकिन लाग्दा विद्यार्थीले लेख्ने थेसिस सायद धेरैको पहिलो त्यसप्रकारको लेखाई हुनसक्छ । स्नातकोत्तर पढ्ने भएर पनि धेरै बिद्यार्थीहरुमा सामान्य कम्प्युटरको साक्षरता पनि छैन जसले गर्दा उनीहरुसग अन्यत्र टाइप गर्न दिनुको बिकल्प हुदैन जहाबाट ‘थेसिस चोरी’ धेरै भइराखेको हुन्छ । न त थेसिसको ढाचामा नै विश्वविद्यालयले समयानुकुल परिवर्तन गर्छ जसले गर्दा स्नातकोत्तर सक्न लागेको विद्यार्थीले भन्दा थेसिस बनाउने काम गरिराखेको साधारण व्यक्तिले अझ राम्रो थेसिस बनाइदिन सक्छ । यसका लागि थेसिस लेख्नु पहिल्यै बुझाइनुपर्ने ‘प्रपोजल’ को भाइभाकै क्रममा विद्यार्थीलाई प्राध्यापकहरु चनाखो हुनुपर्छ । अहिले १० देखि २० हजार खर्चनेहरुले सजिलै कीर्तिपुरका थेसिस टाइप गर्ने पसलहरुबाट थेसिस किनिरहेका छन् । उनीहरु ‘कुन बिषयमा थेसिस गर्दा ठिक हुन्छ ?’ भनेर प्राध्यापकहरुस“ग भन्दा बढ्ता तिनै कम्प्युटर पसलका मानिसहरुसग छलफल गर्छन् ।

थेसिसको किनबेचले देशका राम्रा बिद्यार्थीहरुको सिर्जनशीलता पनि बिगार्दै लगिरहेकोतर्फ सबैले सोच्नुपर्छ किनभने त्यसको प्रत्यक्ष/अप्रत्यक्ष असर भोलिका दिन पूरा देशले भोग्न तयार हुनुपर्छ ।

via KANTIPUR:: Click here for the e-paper view.

No comments:

Post a Comment