Thursday, November 4, 2010

ब्लगर भेलाका भलाकुसारी

Picture:: via Aakar's facebook
बिहिवारको दिन छिपिँदै जाँदा काठमाण्डुको थापागाउँमा एउटा समूह भेलामा मस्त थियो । ‘एउटा समूह’ किन पनि भनिएको हो भने त्यो कुनै निश्चित पेशा, उमेर र रुचि भएका व्यक्तिहरु मात्र थिएनन् । उनीहरु ब्लगर थिए जुन स्वभावैले निकै फराकिलो दायरामा हुन्छन् । नेपालका पुराना ब्लगरहरु मध्येका एक उज्वल आचार्यले ठट्टा गरे, ‘जतिसुकै ठूला कामहरु पनि ब्लगरहरु बिच थोरै समझदारी हुँदा नि गर्न  सकिन्छ, कारण ब्लगिङ्ग गर्नेहरु एउटा निश्चित व्यावसाय गर्ने मात्र नै हुन्छन् भन्ने छैन ।’ उज्वलले भेलामा आफ्ना शुरुवाती दिनका ब्लगिङ्ग अनुभव पनि सुनाए । ‘त्यसबेला लोकतन्त्रको पक्षमा भिड्ने भन्दै ब्गगिङ्ग पनि एउटा आन्दोलनकै रुपमा थियो, तर लोकतन्त्र आएपछि ब्लगरहरु अब के गर्ने भन्ने मेसो नपाएका पो हुन् कि जस्तो देखिन थाल्यो’, उनी कस्तालाई ब्लगर भन्ने कुरामा पनि पहिल्यैदेखि  रहिआएको आफ्नो मत पोखे, ‘जस्तोसुकै अनलाइन साइटमा रहेर पनि केही न केही लेखिरहनेहरु ब्लगर हुन् ।’ उनका अनुसार सबै ब्लगरहरु राम्ररी भाषा मिलाएर लेख्नसक्ने पत्रकार वा साहित्यकार मात्रै पनि नहुन सक्छन् । त्यसैले आफूले जे जानेको छ त्यसैलाई आफ्नै पारामा अभिव्यक्त गर्नु नै ब्लगिङ्ग हो ।


ब्लगर भेला कुनै ठूलो तयारी र तामझामसँग भएको थिएन । केही ब्लगरहरुको फेसबुक, ट्विटर र ब्लगहरु मार्फत त्यसको  सूचना सम्प्रेषण गरिएको थियो । अझ पछिल्लो पटक पोर्न साइटमाथीको नियन्त्रणको बहानामा सरकारले केही दिन गरेको ब्लगस्पट सबडोमेन भएका साइटहरु माथिको प्रतिबन्धकै परिवेशमा भएको भेलाले आगामी दिनमा पनि पुनः यस्तै भएमा के कस्तो गर्न सकिन्छ भन्नेमा पनि छलफल गरेको थियो । एकजना तन्नेरी ब्लगर आकार अनिलले एक जुट भएर जसरी अनलाइन आन्दोलन हुनुपथ्र्यो, त्यो हुन नसक्नु दुर्भाग्य भएको प्रशंग झिकेका थिए । केही बर्ष अघिसम्म केही गन्न सकिने ब्लगहरु रहेकोमा अहिले दिनानुदिन त्यसको सङ्ख्या दू्रत गतिमा बढ्दो छ । त्यसलाई कसरी एउटा सञ्जालको दायरामा ल्याउन सकिन्छ भन्नेमा पनि भेला केहीबेर मोडियो । तर धेरैको मत ब्लगहरु कमजोर धरातलमा बन्ने हुँदा त्यो निकै खुकुलो सञ्जालमै राख्नु ठिक हुने बताए । अझ धेरै ब्लगहरु कुनैबेला उर्लेर आउने र पछि बिस्तारै हराउने ट्रेन्ड विश्वव्यापी नै हो ।

अर्का पाका ब्लगर दिलिप आचार्य भन्छन्, ‘नेपाली ब्लगहरु धेरै डायस्पोरामा रहेर संचालित छन् त्यसैले एउटा व्यवस्थित सञ्जालमा आउनु जटिल काम पनि हो ।’ यद्यपि उनी ब्लगलाई स्वतन्त्र रुपमा छाडिनुपर्ने विचार राख्छन् । उनको लागि त आजकल झनै  समय कटाउने एउटा सिर्जनशिल माध्यम नै बनेको छ ब्लग । उनकी श्रीमती समेत ब्लगिङ्ग गर्छिन् । उनी ब्लगमा साहित्यिक रचनादेखि प्रविधिका कुराहरु नियमित अपडेट गर्छन् । तर आजकल ब्लगिङ्ग गर्ने क्षेत्रमा समेत निकै व्यापकता आएको छ । टेलिभिजन पत्रकार सौरभ ढकाल भिडियो ब्लगिङ्ग गर्छन् । त्यस्तै फोटो÷/कार्टुन ब्लगिङ्ग गर्नेहरु उत्तिकै छन् ।

यसरी वेव २.० को बढ्दो प्रयोगसँग ब्लगहरु पनि बेलाबखत जुट्न पनि थालेका छन् । फरक फरक समयमा गरेर केही अनलाइन मार्फत र केही प्रत्यक्ष जुटेर ब्लगबारे छलफल पहिले पनि भइआएकै हुन् । ‘तर बढ्दो ब्लग सङ्ख्यासँगै सामाजिक मानसिकतामा नेपाली ब्लगजगतलाई शसक्त पानुपर्ने आवश्यकता आजका दिनमा झनै बढेको छ’, पेशाले इञ्जिनियर रहेका अर्का एक अनुभवी ब्लगर वसन्त गौतम भन्छन्, ‘जसमा मुलधारका मिडियाले सहयोग गर्नुपर्छ ।’ ब्लगर भेलाले यो भेलालाई तयारी वैठकको रुपमा मान्दै आगामी छिट्टै ब्लगरहरुको वृहत भेला गर्ने निर्णय पनि गरेको थियो । त्यसको स्थान र मिति तय गर्ने जिम्मा पाएकामध्येका एक सौरभ ढकालले आफ्नो फेसबुकमा लेखे अनुसार अर्को भेलाको मिति डिसेम्बर १८ तोकिएको छ, जसको बिस्तृत विवरण कार्यक्रमको कम्तिमा २० दिन अघि फेसबुक, ट्विटर, बज् र ब्लगसाइटहरुमा सावर्जनिक गरिनेछ ।

यसरी बेलाबखत भेटिने ब्लगरहरुको एउटा श्रृङ्खला पनि सकिएको छ । ब्लगरहरु भने आफ्नो भर्चुअल दुनियामा कुदिरहेकै छन्– रुपेश श्रेष्ठको एउटा कवितामा भनिएझैं निराशा र आशाको ओतसँगै ...


झरिको त्यो शिथिल बिहान
पुरानो मान्छे
निराशाको ताजा चुस्की लिन्छ
र आशाको ओत लाग्दै
बलेसी छिचोल्छ
नियमित आकस्मिकतामा
अनि
‌ओथारो बसेको बाँझो कोठा पस्छ
निथ्रुक्क साँझ ढलेपछि ।


सहभागि ब्लगरहरु :
  1. Aakar Anil (www.aakarpost.com)
  2. Alankar Aryal (www.gharaagan.blogspot.com)
  3. Bhoj Raj Dahal (www.nepaldiary.wordpress.com)
  4. Surath Giri (www.surathgiri.com)
  5. Rupesh Shrestha (www.blogstreet.wordpress.com)
  6. Ujjwal Acharya (www.nepalivoices.com)
  7. Saurav Dhakal (www.storycycle.com)
  8. Kamal Kumar (www.kamalkumar.com.np)
  9. Dilip Acharya (www.dacharya.blogspot.com)
  10. Kailash Rai (www.kailashkokuti.blogspot.com)
  11. Jotare Dhaiba (www.dhaiba.blogspot.com)
  12. Sweta Baniya (www.swetabaniya.wordpress.com)
  13. Prabesh Poudel (www.gufgaf.com)
  14. Manoj K.C (www.blogsamaya.wordpress.com)
  15. Saroj Koirala (www.sarojkoirala.com.np)
  16. Basanta Gautam (www.basantagautam.com)
  17. Sujan Sharma (www.sujanacharya.blogspot.com)
  18. Pushpa Raj Acharya (www.pushparajacharya.blogspot.com)
  19. Sabin Gyanwali (www.nepaliblogger.com)
  20. Pradeep Bashyal (www.pradeepbasyal.com.np)

2 comments: