Thursday, November 4, 2010

पीडाले दिएको शक्ति

गत आइतबार काठमाण्डुको शंकर होटलमा सम्पन्न एउटा सम्मान कार्यक्रम औसत त्यस्ता कार्यक्रमको दाजोमा भिन्न थियो । महिला अधिकारकर्मी जानुका भट्टराई, ३४, लाई बेचिएका, शोशित र हिंसा पीडित महिलाको लागि काम गरेबापत ‘अन्नपूर्ण एक्टिभिस्ट अवार्ड– २०१०’ दिइरहदा हलमा उपस्थित धेरैका आखा रसाएका थिए । कारण उनी स्वयंमा एउटा हिंसा पीडित अनुहार थिइन जसले आफूले पाएको पीडालाई नै शक्तिमा बदलेर अन्य त्यस्तै महिलाको लागि काम गरिन् ।

All pictures By: Usha Titikshu
उदयपुर जिल्लाको एउटा निम्नवर्गिय कट्टर ब्राहम्मणवादी परिवारमा जन्मिन उनी । त्यसै त आर्थिक रुपमा बिपन्न, त्यसमा पनि आमाबुवाका अन्य ९  सन्तानका बीच हुर्कनु कम्ता कठिन थिएन । बुवाआमा जस्तै उनीहरु पनि अरुको घरमा गएर काम गर्नुको बिकल्प हुदैनथ्यो । यद्यपि उनी सबै काम सकेर स्कुल पढ्न पुग्थिन् । जसोतसो जीवन चल्दैथियो तर कक्षा ८ मा पढ्दैगर्दा (जतिखेर उनी १४ बर्षकी थिइन्) उनको विवाह भयो । बाल विवाहको सिकारस“गै उनी घरेलु हिंसाबाट समेत प्रताडित भइन् । दाइजो नल्याएको भन्दै दिनहु  सासुससुरा र श्रीमानबाट पाउने यातनाले चरम रुप लिएपछि अन्ततः उनी ७ महिनामै घरबाट भागेर काठमाण्डु आइन् । कक्षा ८ मात्र पढेकी १५ बर्षेका लागि काठमाण्डु झनै सहज थिएन । त्यसैले उनी घरेलु कामदारकै रुपमा फरक फरक समयमा गरेर काठमाण्डुका ७ वटा घरहरुमा काम गरिन् । त्यहा“ उनलाई निकै कम ज्याला दिइन्थ्यो (कहिलेकाही त दिइदैन्थ्यो पनि) त्यसैले उनले त्यो काम छाडेर काठमाण्डुकै ‘चाउमिन फ्याक्ट्री’मा काम गर्न थालिन् । एउटै कामका लागि त्यहा पुरुषलाई पच्चिस सय दिइन्थ्यो भने महिलालाई सात सय रुपया“ मात्र । त्यसको विरोध गर्दा उनलाई जागीरबाट निकालिएन मात्र तीन महिना काम गर्दा पनि एक महिनाको मात्र ज्याला दिइयो ।


त्यसै क्रममा उनी एउटा  पुर्नस्थापना केन्द्रको सम्पर्कमा आइन् जहा बेचिएर फर्काइएका, घरेलु हिंसा, यौन दुव्यवहारबाट पीडित महिलाहरु बस्नेगर्थे । त्यहा“ उनी तिनै महिलाहरुलाई ‘साक्षरता कक्षा’ पढाउने गर्थिन् र पढाई छाडेको ५ बर्षपछि त्यहीबाटै पुनः पढ्न शुरु गरेर एसएलसी पास गरिन् (अहिले विए अन्तिम बर्षमा समाजशास्त्र पढ्दैछिन्) । जानुका लामो सास फेर्दै भन्छिन्, ‘त्यसपछि ममा केही हिम्मत बढेर आयो ।’ पछि उनलाई महिला पुर्नस्थापना केन्द्रबाटै कामको सिलसिलामा उदयपुर पठाइयो । त्यहा झण्डै ७ बर्षे कामको दौरानमा विभिन्न जिल्लामा उनले आफूजस्तै चरम हिंशा र दुरव्यवहारबाट पीडित महिलाहरुसग भेट्ने अवसर पाइन । ‘उनीहरुलाई देखेपछि मलाई लाग्यो मजस्ता पीडित महिलाहरु त धेरै रहेछन् जसको पक्षमा बोलिदिने पनि कोही हुदैन’, भनिन्, ‘त्यसैले उनीहरुका लागि केही गर्नुपर्ने आवश्यकता महसुस गरें ।’ त्यति नै बेला (सन् १९९७) भारतमा विभिन्न देशबाट बेचिएर आएका झण्डै ५०० महिलाको उद्दार गरिएको थियो र उद्दार गरिएका महिलाहरुका देशका सरकारले फिर्ता लैजान भनिएको थियो । ‘तर’, उनले भनिन्, ‘त्यस्ता महिलाको स्वदेश फिर्तीले देशमा यौन रोगहरु र विकृति फैलने भनेर होला नेपाल सरकारले कुनै चासो दिएन ।’ जसलाई चुनौती दिदै नेपालका ७ महिला अधिकारवादी संस्थाहरुले फिर्ता ल्याएर पुर्नस्थापना केन्द्रमा राखेका थिए । ‘ती महिलाहरु मानसिक रुपबाट निकै कमजोर भइसकेका थिए’, जानुका सम्झिन्, ‘दुःख, पीडा नै हाम्रो शक्ति हो भन्ने उनीहरुलाई बोध गराउनु थियो ।’ त्यसरी नै ‘शक्ति समूह’को स्थापना भयो जसको संस्थापकमध्ये उनी पनि एक हुन र विगत १३ बर्षयता शक्ति समूह मार्फत उनी महिला हक र अधिकारको यात्रालाई अघि बढाइरहेकी छिन् । अहिले उनी शक्ति समूहकै प्रोजेक्ट संयोजक छिन् जसले हिंसा, बेचबिखन र दुरव्यवहारबाट पीडित महिलाहरुलाई संगठित पार्ने, सीप सिकाउने र पुर्नस्थापना गर्ने (काठमाण्डौमा २ र पोखरामा १ पुर्नस्थापना केन्द्र छन्) देखि लिएर जनचेतना जगाउने काम गर्छ ।

आफू अवार्डसगै पाएको एक हजार अमेरिकी डलरबाट पचास प्रतिसत उनी त्यस्तै महिलाहरुको लागि कोष खोल्ने घोषणा गरिन् जसलाई तुरुन्तै अर्की स्वतन्त्र महिला महिला फोटोग्राफर उषा तितिक्छु ले पनि २ लाख रुपया थपिदिने घोषणा गरिन् । उनीहरुको शक्ति र हिम्मत अझै बढोस् । हेलो शुक्रबारको शुभकामना ।


Click Here for the e-paper view. #Hello Shukrabar (KANTIPUR)

No comments:

Post a Comment