२०६७ ले कोरेको बाटोमा हिंड्दै २०६८ लाई प्रस्थान विन्दू बनाएका तीन पात्रहरुसँगको भलाकुसारी
![]() |
Aastha B |
![]() |
Rohit Chand |
उनले ‘शारीरिक अभिनय’मा राष्ट्रिय नाचघरबाट दक्षता हाँसिल गरेका हुन् । फलस्वरुप गुरुकुलमा उनका ४० बढि नाटकहरु प्रदर्शन भइसकेका छन् । केही समय अघि मात्रै ‘द फेमस एण्ड ट्यालेन्ट २०११’ मा उनले लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ लाई एकल अभिनयमा देखाएका थिए । गुरुकुलमा उनी आफैले लेखन, निर्देशन तथा एकल अभिनय गरेको मध्ये ‘बाँकी उज्ज्यालो’ र ‘सहिद नं २००६’ निकै रुचाइएका काम हुन् ।
नेपाली चलचित्रहरु बर्षेर्नी खस्किंदै गइरहेको आरोप आइरहँदा राजनजस्ता केही सिर्जनशील व्यक्तिहरु नयाँ प्रयोग ल्याउन कस्सिएका छन् । ‘तर त्यो एकैपटकमा सम्भव छैन्’, उनले सुनाए, ‘हाम्रा यी प्रयोगहरु मन्द बिषजस्तै हुन् जुन थाहै नपाएकन केही बर्षभित्र पूर्ण काम गर्न थाल्छन् ।’
राजनजस्तै चल्तीको ढर्राभन्दा फरक प्रयोग गर्दै अघि बढ्नेमै पर्छिन गायिका आस्था बि । आजभन्दा ४ बर्षअघि नै भुषण दाहालद्वारा निर्देशित ‘आँखामा आँशु’ बोलको म्युजिक भिडियोमा यी १८ बर्षेले स्वर दिएकी थिइन् । २०६८ को शुरुवातसँगै अहिले उनको दोस्रो एकल ‘एल्बम’ बजारमा ल्याउँदैछिन् । ‘नाम चाहीँ अहिल्यै नभनिहालौं’, आस्थाले मन्द मुस्कानसाथ भनिन्, ‘तर यो युवाहरुदेखि बुढापाकाहरुसम्मले रुचाउने खालको हुनेछ ।’ शुरुमा ‘पपरक’ बढि गाउने उनले अहिले मेलोडि, रक एण्ड रोल, पपजस्ता धेरै विधामा आफ्नो कला देखाएकी छिन् जसमा बुनिएका गीतहरु पनि प्रेमदेखि राष्ट्रियतासम्मका छन् । यसअघि उनको ‘आस्था’ एल्बम बजारमा आएको थियो जसको ‘तिमी नै छ्यौ’ बोलको गीतले ‘पप रक फिमेल भोकलिस्ट’ तर्फ इमेज अवार्ड पनि जितायो । त्यस एल्बमकै ३ गीतहरुका म्युजिक भिडियो पनि बनेका थिए जसमा उनी स्वयंले मोडलिङ गरेकी थिइन् ।
हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेज, नयाँबानेश्वरमा ब्यावस्थापनमा कक्षा १२ को अन्तिम परीक्षाको तयारी गरिराखेकी उनी त्यसपछिको फुर्सदमा कन्सर्टहरु गर्दै आफ्ना गीतहरु प्रबद्र्धन गर्ने सोचमा पनि छिन् । ‘नेपाली युवाहरुको अहिले पश्चिमा संगीतमा निकै चाख बढेको छ’, उनको भनाई छ, ‘त्यसैले पनि पश्चिमा र नेपाली संगीतको फ्युजन गर्दै मैले गायन करिअरलाई बढाइराखेकी छु ।’
उता नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्डर रोहित चन्द, २०, सानै उमेरमा राष्ट्रिय टिममा प्रवेश पाई धेरैले रुचाएका खेलाडि मध्येका एक हुन् जसबाट २०६८ मा हुने महत्वपूर्ण अन्तर्राष्ट्रिय फुलबल खेलहरुमा निकै आशा राखिएको छ । भारतको ‘युनाइटेड एयरनोटिक लिमिटेड स्पोर्ट क्लब’ बाट ब्यावसायिक फुटबल खेलिरहेका उनी अहिले भइरहेको एएफ्सी च्यालेञ्ज कपका लागि काठमाण्डुमा छन् । राष्ट्रिय टिमका म्यानेजर कृष्णभक्त मानन्धर उनलाई ‘अलराउन्डर’ खेलाडि मान्छन् । भन्छन्, ‘ऊ एकनाशले खेल खेल्छ र हरेक पोसिनमा राम्रो छ ।’ रोहितको अर्को विशेषता भनेको दुवै खुट्टाले खेल खेल्न सक्नु पनि हो ।
भारतीय सेनामा जागिरे उनका बुवा स्वयं फुटबलर थिए जसको प्रभाव आफूमा सरेको मान्छन् रोहित । कक्षा ८ मा पढ्दैगर्दा सुर्खेतबाट छानिएर काठमाण्डु छिरेका उनी त्यसयता आफ्नो खेल करिअरमा दिनानुदिन अब्बल साबित गरिरहेका छन् । ५ बर्ष एन्फा एकेडेमीमा रहेर खेलमा थप निखारता ल्याएका उनको तत्कालको सपना नेपाललाई विश्वकप खेल्नका लागि छनौट चरण पार गराउनु छ जसको लागि यसैबर्ष भाग्यपरीक्षा हुँदै छ । ‘हाम्रो टिम राम्रो खेल्दाखेल्दै पनि स्कोरिङमा चुकिरहेको छ जसलाई हामी सक्दो मिहिनेतले मेटाउने प्रयासमा छौं’, उनले भने, ‘त्यसबाहेक फुटबललाई सुधार्न देखभित्र खेलको नाममा राजनीति पनि रोकिनु पर्छ ।’ २०६८ मा नेपालले खेल्ने प्रमुख अन्तर्राष्ट्रिय खेलहरु ‘दक्षिण एसियाली फुटबल (साफ)’, ‘दक्षिण एसियाली खेल (साग) को फुटबल’ र विश्वकप छनौट खेलहरु हुन् । २००९ मा राष्ट्रिय टिममा प्रवेश पाएका उनी अब आफ्नो भूमिका देखाउने बेला आएको ठान्छन् ।
राजन, आस्था र रोहित फरक फरक क्षेत्रका प्रतिभा भएता पनि बेग्लै सिर्जनशीलता र क्षमता बोकेका तन्नेरीहरु हुन् जसले बितेका कयौं बर्ष आफ्नो मिहिनेत एउटा सुन्दर सपनाकै लागि गरेका थिए । ति सपनाप्राप्तीको बाटोमा २०६८ झनै फलदायी होस् । हेलो शुक्रबारको शुभकामना ।
This was originally appeared in Hello Shukrabar (KANTIPUR) dated 2nd of Baishak, 2068.
No comments:
Post a Comment