Thursday, April 28, 2011

टिसर्ट ट्रेन्ड


‘तन्नेरीहरु आजकल मौसमलाई फेसनेवल बन्ने अवसरको रुपमा लिन थालेका छन्, जसरी अहिलेको गर्मीमा ‘टिसर्ट फेसन’ लोकप्रिय छ’
.............................................................

बिस्तारै बढ्दै गरेको वायुमण्डलीय तापक्रमले तपाईं स्पष्ट संकेत गरिरहेको हुनुपर्छ– यो गर्मी पनि कम चुनौतिपूर्ण हुनेछैन । तर तआत्तिनुस् ‘फेसन कन्सियस’ जमानाले तपाईँलाई त्यससँग जुध्न  सिकाउँदै नयाँ नयाँ फेसनसँग पनि अपडेट गराउनेछ, जसरी अहिले ‘समर स्पेसल’को रुपमा तन्नेरीहरुमाझ टिसर्ट लोकप्रिय बनेको छ । 

एउटा समय थियो जतिखेर एउटा बर्ष किनेको टिसर्ट अघिल्ला केही बर्षसम्मलाई काम गथ्र्यो । ‘तर, अहिले मेरै बहिनीले मैले एउटा सिजन लगाएको राम्रै टिसर्ट पनि लगाउँदिन’, प्लसटु सकेर विदेश अध्ययनको तयारी गरिराखेकी प्रिथा कार्की, २०, भन्छिन्, ‘त्यसबिचमा बजारमा नयाँ फेसनको टिसर्ट आइसकेको हुन्छ ।’ उनले भनेजस्तै अहिले बजारमा फिटिङ टिसर्टको लहर बढ्दो छ जसमा हुने कल्लर, चित्र पेन्टीङ, रंग, शब्दहरु, पथ्थर लगायतका चिजहरुले फेसन निर्धारण गरिराखेको हुन्छ । प्रिथाको टिसर्ट रोजाईमा पनि अहिले परिवर्तन भइरहने यिनै चिजहरुले भूमिका खेलिराखेको छ ।  उनले लगाउने टिसर्ट एकैनासको पनि हुँदैन । साथीहरुबिच हुने डान्स प्रार्टीहरुमा जाँदा कम्मर मुनीसम्मै फैलने ‘लङ्ग टिसर्ट’ उनको रोजाइमा पर्छ जसलाई ‘लेगिङस्’सँग लगाउँदा राम्रो देखिन्छ । यस प्रकारको टिसर्टमा बेल्ट लगाउन पनि मिल्छ । ‘फर्मल कार्यक्रमहरुमा भने ‘वान सोल्जर टिसर्ट’ लगाउन राम्रो लाग्छ जसले उखरमाउलो गर्मीमा ‘रिर्‍याक्स’ गराउँछ ।’

तर नम्रता दाहालको भने टिसर्ट रोजाईको तरिका अर्कैँ छ । उनी माथिदेखि तलसम्मै एउटै रंगको पहिरनमा सजिन्छिन् । ‘त्यसैले मैले लगाउने ‘डाउनवेयर्स’ले पनि मैले लगाउने टिसर्ट निर्धारण गरिराखेको हुन्छ’, युनाइटेड एयरलाइन्सकी २३ बर्षे एयर होस्टेज भन्छिन्, ‘त्यसबाहेक फर्मल पाइन्टसँग खुकुलो टिसर्ट लगाउँछु भने स्कर्टसँग फिटिङ ।’ प्रिथालाई जस्तो उनलाई पनि ‘वान सोल्जर टिसर्ट’ उत्तिकै मन पर्छ तर त्यसमा हुने उनको थप रोजाई भनेको पथ्थरहरु जडित हुनु हो । आजकल फैलिएको यस्ता अनेकथरी फेसनले गर्दा नै उनको प्रिय पोसाक बनेको छ टिसर्ट । भन्छिन्, ‘त्यसैले म हप्तैपिच्छेजसो टिसर्ट किनिराखेकी हुन्छु ।’ 

केटीहरुलाई ‘राउन्ड नेक’ र कल्लर भएको भन्दा पनि ‘भि–नेक’ र ‘यु नेक’ टिसर्टहरु बढ्ता मन पर्छ । त्यसबाहेक लगाइने गहनाको म्याचिङ्ग पनि टिसर्टसँग हुनुपर्ने उनीहरु बताउँछन् । लङ्ग टिसर्टसँग झुम्काहरु र सर्ट र फिटिङसँग ‘इयर–टप’ सुहाउँछ । त्यसैगरी लुज टिसर्ट ‘चौडा चप्पल’ सँग र फिटिङ्ग र टाइट टिसर्टहरु ‘प्वाइन्टेड सुज’, ‘वेग हिल’ र ’ र ‘पेन्सिल हिल’ सँग पनि लगाउँदा पर्फेक्ट देखिने प्रिथा र नम्रताको साझा अनुभव छ ।

उता ‘बजाज बाइक’ विज्ञापनका मोडल अमरसिंह राठोर, २४, भने केटाहरुलाई टिसर्टमा सजिनको लागि पहिले शरीरको फिटनेस ठिक हुनुपर्ने ठान्छन् । भन्छन्, ‘फेसन र ब्रान्डको कुरा त्यसपछि मात्र आउँछ ।’ अमरको अनुभवमा बढि मोटो र दुब्लो दुवैलाई टिसर्ट सुहाउँदैन । ‘धेरैले टिसर्ट लगाउनुलाई निकै हाइट हुनुपर्ने ठान्छन्’, उनी थप्छन्, ‘तर मुख्य कुरा त छाती र आम्र्स हो । हाइट भइदिए राम्रो, नभए नि त्यो समस्या हुँदैन ।’ यदि शरीर मिलेको छ भने टिसर्टसँग स्याण्डो नलगाउन उनी सुझाउँछन् । उनको अनुभव छ, ‘त्यसले शरीरको वास्तविक फिटिङ्ग देखिँदैन ।’ कालो र नीलो जिन्ससँग त्यसलाई सुहाउने रंगको टिसर्ट उनको छनौटको आधार हो । ‘राउन्ड नेक’ उनको रोजाइमा बढ्ता पर्छ भने कहिलेकाहीँ ‘भि नेक’ पनि कहिलेकाहीँ लगाउँन रुचाउँछन् । उनका अनुसार केटाहरुमा बढि ‘भि–नेक’ टिसर्ट लोकप्रिय हुनुको कारण त्यसमा सजिलै चश्मा अड्काउन सकिनु पनि हो । ‘फेरी आजकल गोजी भएको टिसर्ट लगभग हराइसकेको छ’, भन्छन्, ‘बरु कसैका भनाई लेखिएका टिसर्ट लोकप्रिय हुन थालेका छन् ।’ उनी स्वयं त्यसका पारखी हुन जसले सादा टिसर्ट किनेर त्यसमा आफूलाई मन परेको शब्दहरु पेन्ट गर्न लगाउँछन् जसलाई ४ सय देखि ५ सयको हाराहारीमा काठमाण्डुका ब्रगेल्ती ठाउँमा तयार गर्न सकिने उनको अनुभव छ । ‘द ब्याड ब्वाय इन द प्लानेट’, ‘बर्न अगेन’ उनले पेन्ट गर्न लगाएका टिर्सका केही नमूना हुन । त्यसबाहेक अफिसियल हेयर स्टाइलमा टिसर्ट त्यतीधेरै सुहाएको जस्तो लाग्दैन उनलाई । उनको भनाई छ, ‘अलिकती रफ्टफ र हल्का भिजेको कपालमा टिसर्ट बढि सुहाउँछ ।’

त्रिभुवन विश्वविद्यालयमा रसायनशास्त्र ‘थेसिस इयर’ का बिद्यार्थी जमिन थापा, २४, लाई भने चाहेर पनि आफूलाई मन पर्ने सेतो रंगको टिसर्ट लगाउन नसक्ने गुनासो छ । काठमाण्डुमा यात्रा गर्दा सेतो रंगको टिसर्ट लगाए छिट्टै मैलने उनको अनुभव छ । भन्छन्, ‘त्यसैले हाम्रो टिसर्ट रोजाई वातावरण मैत्री हुनुपर्छ ।’ त्यसैले उनी खैरो, रातो टिसर्ट रोजाइमा पार्छन् । त्यसबाहेक गर्मीमै पनि बाइकमा र विहान–साँझ हिंड्दा उनी ‘विन्डचिटर्स’ वा ‘लाइट ज्याकेट’ साथमा लिन्छन् । ‘टिसर्ट– गर्मीमा मेरो प्रिय पहिरन भएता पनि मेरो बढिरहेको तौलले गर्दा अझै मज्जा आइरहेको छैन’, उनी भन्छन्, ‘त्यसैले आजकल शारीरिक अभ्यासमा बढि नै जुटिरहेको छु ।’ उनलाई टिसर्ट मन पर्नुमा यसले गराउने सहजता र समयको बचत पनि हो । भन्छन्, ‘अलिअलि खुम्चँदा नि बाल भएन ।’
तन्नेरीहरुमा ‘टिसर्ट फेसन’ बढ्नुमा ‘फेसन टिभी च्यानलहरु’, ‘फेसन म्यागेजिनहरु’ र इन्टरनेटले बाहिरी दुनियाँसँग बढाएको हेलमेल प्रमुख हो जसलाई काठमाण्डुमा पछिल्लो समय खुलेका मलहरुले त्यसै अनुसार सपिङ्गको वातावरण तयार पारेर ‘फेसन कन्सियसनेस’ लाई झन् बढाइरहेका छन् । 


कसरी फैलन्छ फेसन ?


Matin Khan
बिगत १५ बर्षदेखि पहिरनको क्षेत्रमा काम गरिरहेका मतिन खान, ३२, तन्नेरीहरुको फेसन ट्रेन्डलाई नजिकबाट नियालीरहेका एक ‘ड्रेस एक्पर्ट’ हुन् । ‘मेरो एउटा साथी छ’, ‘ब्याच नम्मर सिक्टिन’ जस्ता चर्चित नेपाली चलचित्रमा ड्रेस डिजाइनर्सको रुपमा काम गरिसकेका उनी पछिल्लो केही बर्ष यताको ट्रेन्ड हेर्दा सामान्यत: एउटा फेसन नेपालमा २ बर्ष टिक्ने गरेको उनको अनुभव छ । एउटा बर्ष एउटा निश्चित वर्गका व्यक्तिले त्यसको शुरुवात गर्छन् भने अर्को बर्ष त्यसैलाई देखेर अरुले पच्छ्याउँछन् र त्यही नै चक्र चलिरहेको छ । उनका अनुसार एउटा जमाना यस्तो पनि थियो जतिखेर युरोपमा चलेको फेसन ६ महिनापछि  सिंगापुर, मलेसियातिर आइपुग्थ्यो र अर्को ६ महिनामा नेपाल । तर अहिले सूचनाप्रविधिले यसलाई निकै साँघुरो पारिसकेको छ । धेरैजसोका आफन्तहरु अहिले विदेशमा पनि हुनाले त्यसरी उनीहरु पनि उनीहरु चल्तीको समयमै त्यस फेसनलाई आफ्नै मुलुकमा अनुभव गर्छन् भने चहाना हुनेले अब नेपालमा नपाउँदैमा त्यसबाट बंचित भइहाल्नु पर्दैन । अर्डर अनुसार केही फेसन स्टोर्सहरुले मगाइदिन्छन् । नेपाल भित्र अहिले ओरिजिनल ब्राण्डका टिसर्टहरु सामान्यत: १५ सय देखि ३ हजारभित्रमा पाइन्छन् । खान सुझाउँछन्, ‘कम उचाइ हुनेहरुले फिटिङ टिसर्ट लगाउने हो भने केही अग्लो पनि देखिन्छ ।’ तर जसरी कोरियन टिसर्टको पनि खुबै सिको भइराखेको छ, त्यो धेरै नेपालीको शरीर अनुकुल नहुने उनको धारणा छ ।

नेपालमा धेरैजसो चीन, हङकङ, भियतनाम, कम्बोडिया, सिंगापुर, थाइल्याण्ड र बंगलादेशबाट टिसर्ट आउँछन् । ओरिजिनल ब्राण्डका ‘सरप्लस’ (ओरिजिनल ब्राण्डले उत्पादन गर्दा आवश्यकता भन्दा बढि उत्पादन भएका बस्तुहरु जो अधिकतम छुटमा हामीमाझ आइपुग्छन्) र ‘डिजाइनर्स’ (ठ्याक्कै ओरिजिनल होइन तर हाम्रो किन्ने क्षमता हेरेर ओरिजिनलजस्तै बनाइएको) उत्पादनहरु हामीमाझ आइपुग्छन् । उनी थप्छन्, ‘नेपालमा आउने अधिकांश ओरिजिनल र ब्राण्डेड भनिएका पहिरनका सामाग्रीहरु पनि तिनै हुन् । 


ड्रेस डिजाइन: मतिन खान/पकेट स्टोर्स (सिटी सेन्टर)

This appeared in print at hello Shukrabar dated 29th April, 2011. Click here for the E-PAPER view


No comments:

Post a Comment