Tuesday, May 17, 2011

उपन्यासजस्तो एउटा जीवन ‘सिक्लेसको ठिटो’


कुनै दुःखद अन्त्य बोकेको सीनेमाको प्लटझैं चन्द्र गुरुङको जीवन कथा ‘सिक्लेसको ठिटो’ शुरु हुन्छ– ताप्लेजुङको घुन्सा दुर्घटनाको घटनासँगै । २०६३ को घटस्थापनामा पूर्वी नेपालस्थित ताप्लेजुङ जिल्लाको घुन्सामा गाउँ नजिकैको एउटा पहाडमा ठोक्किएर हेलिकप्टर दुर्घटना हुँदा नेपाल र विश्वकै संरक्षण क्षेत्रका हस्तीहरुको निधन भएको थियो । जसमध्येकै एक चन्द्र गुरुङ पनि थिए । उनै गुरुङ्ग ‘सिक्लेसको ठिटो’ का पात्र हुन् । जसको जीवनी ‘फ्यासब्याकमा’ पुस्तकमा अघि बढ्छ ।

मूल अंग्रेजीमा लेखिएको मञ्जुश्री थापाको अंग्रेजी पुस्तक ‘अ ब्वाय फ्रम सिक्लेस’ को नेपाली अनुवादको रुपमा ‘सिक्लेसको ठिटो’ आइतबार काठमाडौंमा सार्वजनिक गरिएको हो  । भृकुटीमण्डपमा चलिरहेको पन्ध्रौं नेपाल शैक्षिक तथा पुस्तक प्रदर्शनीको अवसर पारेर हिमाल किताबद्वारा बजारमा ल्याइएको उक्त पुस्तकलाई पत्रकार दीपक अधिकारीले अनुवाद गरेका हुन् । फिचर लेखनमा आफ्नो बेग्लै छवि स्थापित गरिसकेका अधिकारीले यस पुस्तकमार्फत आफूलाई पुनः एकपटक अब्बल सावित गरेका छन् । मैले पढेका धेरै अनुवादीत पुस्तकहरुमध्ये कमै उत्कृष्ठमा सिक्लेसको ठिटो पनि पर्छ । संरक्षणविद तीर्थबहादुर श्रेष्ठले त उनको त्यस कामलाई लोर्कापण समारोहमै मुक्तकण्ठले प्रशंशा पनि गरे । भने, ‘धन्य हुन् मञ्जुश्री र दीपक ।’ अर्का संरक्षणविद् जगमान गुरुङ्ले त यस पुस्तकमार्फत मञ्जुश्री  र दीपकले चन्द्रसँगै आफ्नो परिचय पनि दिन सफल भएको बताए । 

पुस्तकलाई उनै डा तीर्थबहादुर श्रेष्ठ र डा जगमान गुरुङले संयुक्त रुपमा लोकार्पण गरेका थिए । आयोजित लोर्कापण कार्यक्रममा बोल्दै चन्द्र गुरुङकै गाउँ सिक्लेसका स्थानियबासी समेत रहेका जगमानले यस पुस्तकले नेपाली साहित्यमा एउटा गाथा थपेको बताए । ‘यो गैरआख्यान भएता पनि साहित्य र प्राविधिक दुवै बिषयको समिश्रणले उत्कृष्ट भएको छ’, उनले भने, ‘चन्द्र गुरुङको जीवनसँगैसँगै पाठकले नेपालको ग्रामिण बिकासका चुनौती र सफलताका कथाहरु नजिकबाट जान्न सक्नेछ ।’ 


THT
घुम्सा दुर्घटनाको स्मरण पुस्तक लोकार्पणको समयमा दुवै अतिथि वक्तहरुले गरे । नेपालको माटोलाई नजिकबाट चिनेका निकै कम व्यक्तिहरुमध्येका एक चन्द्र गुरुङ पनि हुन् भन्दै डा जयमानले उनलाई ‘द म्यान अफ दि फिल्ड’ को सङ्ग्या दिए । भने, ‘नेपालको संरक्षण क्षेत्रमा हर्क गुरुङको सिर्जनशील दिमाग र चन्द्र गुरुङको सीप निकै मिसिएको छ ।’ त्यसैले पनि यस पुस्तक ग्रामीण भेगका गाउँदेखि नीति निर्माण हुने सिंहदरवारसम्म सबैका लागि राम्रो सन्दर्भ सामग्री हुने उनको तर्क थियो । 

तीर्थमान श्रेष्ठले ‘सिक्लेसको ठिटो’ नेपालका आरक्ष, वन्यजन्तु निकुञ्जहरुदेखि लिएर राजारानीको शिकारका कुरासम्मको उल्लेख भएकाले यो प्रकृति संरक्षणको इतिहास झल्काउने अभिलेख भएको बताए । नेपालको संरक्षण अभियानमा स्थानिय जनताको मन जित्नैपर्ने चन्द्र गुरुङको धारणा आजका दिनमा झनै बढि सान्दर्भीक हुँदै गइराखेको उनको विचार थियो । ‘यसमा चन्द्र गुरुङको व्यावसायिक जीवनका अनेकौं हर्ष र विस्मात समेटिएका छन्’, उनको भनाई छ, ‘त्यसैले यो जीवनी नै भएता पनि पढ्दैजाँदा उपन्यासजस्तो लाग्छ ।’ तीर्थमानले पुस्तकको अनुवाद उत्कृष्ठ रहेको बताउँदै यसले यसको अंग्रेजी अनुवाद नै नभएको झल्को दिने बताए । 

अनुवादक अधिकारीले भने चन्द्र जीवित छँदा कहिल्यै भेट्ने अवसर नपाएता पनि पछि उनकै जीवनी अनुवाद गर्न पाउँदा निकै गर्व लागेको बताए । ‘आम नागरिकजस्तै चन्द्र गुरुङका समेत जीवनमा सकारात्मक र नकारात्मक दुवै पक्षहरु पुस्तकमा झल्किएका छन्’, उनी भन्छन्, ‘तर पनि मान्छे महान सकारात्मक र नकारात्मक दुवै कुराको मिश्रणबाट बन्छ भन्ने कुरा यो पुस्तकले बताउँछ ।’ १ बर्ष लगाएर सकिएको पुस्तकलाई अनुवाद भन्दा पनि भावानुवादको रुपमा आफूले काम गरेको अधिकारीले बताए । 

Blogger with Deepak Adhikari 
१८४ पृष्ठको पुस्तकमा विभिन्न १८ सन्दर्भहरु छन् जसले उनको व्यक्तिगत जीवन, कार्यशैली र घुन्सा दुर्घटनासम्मका धेरै कुरा बताउँछन् । एउटा प्राविधिक क्षेत्रका व्यक्तिको काम; साहित्यकार वा राजनेताको जसरी जीवनीमा उतार्न सजिलो छैन । तर मञ्जुश्रीको क्षमता यहाँ अझ राम्ररी उजागर भएको छ । उनले चन्द्र गुरुङको जीवनीलाई एउटा रोचक उपन्यासभन्दा कमको बनाएकी छैनन् । किताब पढ्दैजाँदा पाठकले नेपालको वास्तविक प्राकृतिक अवस्थाको झल्को त पाउँछ नै, समस्या कहाँनेर छ भन्ने पनि उसैगरी थाह पाउँछ । किताबको शुरुवात चन्द्रको मात्र नभएर पृथ्वीको भौगोलिक विकासक्रमसँगै शुरु गरिनु यसको महत्वपूर्ण पक्ष हो । यस्ता प्राविधिक बिषयमा अंग्रेजीमा लेख्नु जति सहज छ नेपालीमा त्यो उत्तिकै जटिल काम पनि हो । तर अनुवादकले यस मामिलामा पनि आफूलाई सफल तुल्याएका छन  । ति शब्दका नेपाली अनुवाद, कोष्टकमा केही थप अर्थ दिने वाक्यकहरु र आम रुपमा प्रचलित शब्दहरुको मिश्रणले त्यो उत्कृष्ठ भएको छ । सायद अधिकारीको अखबारी लेखनको प्रभाव यहाँ झल्किएको हो । 

News on Nagarik
पुस्तकले लेकमा बस्ने मगर÷गुरुङ समुदायको सामाजिक चेतना र बिकासक्रमलाई पनि रोचक रुपमा उजागर गरेको छ । चन्द्र स्वयं त्यसका उदहारण हुन् । उनका कतिपय साथीहरु अहिले पनि त्यही भेँडागोठाला गर्छन् भने चन्द्र विश्वव्यापी नागरिक बनिसकेका थिए । नेपालको कर्मचारीतन्त्र, चाकरी, नातावाद, कृपावादको कारण पनि पछाडि परेको हो भन्ने उनको जीवनबाटै झल्किन्छ । चन्द्रको व्यक्तिगत जीवन अर्को रोचक पाटो हो जसलाई सकारात्मक वा नकारात्मक केही नभनिकन प्रत्येक आम मानिसको जीवनको एउटा हिस्साकै रुपमा चित्रण गर्नु ठीक हुन्छ । 

News on Republica
News on Kantipur
पुस्तकका कमजोर पक्ष पनि थोरबहुत नभएका होइनन् । बर्णविन्यास वा टाइपिङमा कतिपय ठाउँमा हतार गरेको देखिन्छ । कहिँकतै भाव अर्को लाग्ने वाक्यहरु पनि परेका छन् जसको सुधार आगामी संस्करणमा गर्नुपर्ने देखिन्छ । यद्यपि पुस्तकका राम्रा पक्षहरुका बिच ती नगन्य छन् । यस पुस्तक आख्यान वा गैरआख्यान दुवै भिन्न भिन्न बिषय रुचाउने दुवैले रुचाउन सक्ने पुस्तक बनेको छ । पुस्तक प्रदर्शनीको तेस्रो दिनसम्म आइपुग्दामै झण्डै पाँच सय प्रति बिक्री हुनुले पनि पाठकमा परेको यसको छापको केही हदसम्म प्रतिबिम्ब पाइन्छ । चन्द्रको जीवनी देशलाई माया गर्ने र देशको लागि केही गर्न खोज्ने सबैले एकपटक पढ्नुपर्ने पुस्तक हो । उनको जीवनले दिएको पाठ यो या त्यो भन्दा पनि चन्द्र गुरुङको जीवन आफैमा एउटा प्रेरणा र पाठ हो ।


News on the Kathmandu Post
Translator with Jhalak subedhi, tilak pathak and others


Photo Credit: Nirmal Adhikari




Photo Credit: Nirmal Adhikari


1 comment: