Thursday, July 14, 2011

जुकिपरका केभिन

"केभिन जेम्स आफ्नो छिप्पिँदो उमेरमा पनि सायद बढि रोमाञ्टिक र ‘फन्नी’ बन्न चहान्छन जुन उनको पछिल्लो फिल्म ‘जुकिपर’मा देखिन्छ"


केभिन जेम्सलाई २०११ को अप्रिलमा तेस्रो सन्तानको रुपमा पुत्रलाभ भएको थियो । यो खुसी सेलाउन नपाउँदै अहिले उनको २०११ कै तेस्रो काम, चलचित्र ‘जुकिपर’ रिजिल भएको छ जसमा उनी आफै प्रमुख अभिनेता, कथाकार र निर्माता छन् । त्यसैले यी ४६ बर्षे मोटाघाटा कलाकार अहिले आफ्नो व्यक्तिगत र सार्वजनिक दुवै छविका कारण बजारमा चर्चामा छन् । 

यद्यपि जुलाई शुरुमा रिलिज भएको हास्यप्रधान हलिउड चलचित्र ‘जुकिपर’ सबैखाले दर्शकको लागि भने होइन । तर जेम्सका ‘कोर दर्शक’ र ‘कमेडि’ का फ्यानले भने पक्कै यसलाई बढि नै रुचाउनेछन् । चलचित्र, उनले अक्सर प्रयोग गर्ने ‘हँसिमजाकका वाक्यहरु’, फिल्मको कथालाई सुहाउने ‘आकर्षक शारिरीक अपिल’ र ‘असल व्यक्तिको चरित्र’ वरपर घुमेको छ जसले उनको अभिनय र चलचित्रलाई उत्कृष्ठ बनाएको छ ।

चलचित्रमा ग्रिफिन किजले (केभिन जेम्स) एउटी महिला स्टेफिनलाई (लेसाइल बिब) प्रेम प्रस्ताव राख्छन् जुन किजको जीवनको पहिलो प्रेम हुन्छ । तर स्टेफिनको इच्छा भने आफूलाई एउटा व्यावसायिक मोडलको रुपमा स्थापित गर्ने हुन्छ जुन एउटा साधारण चिडियाखानामा जनावरहरुको रेखदेख गर्ने व्यक्तिको श्रीमती भएर सम्भव हुने देखिन्न र उनले प्रस्ताव अस्विकार गर्छिन् । तर किज जनावरहरुप्रति बढि नै स्नेह राख्ने कोमल मन भएका व्यक्ति हुन्छन् र उनी आफ्नो कामसँग रमाइराखेका पनि हुन्छन् । 


पाँच बर्षपछि किजको स्टेफिनसँगको भेटघाट उसको दाईको बिहे भोजमा हुन्छ । उसको  स्टेफिनप्रतिको मोह अझै परिवर्तन भइसकेको हुँदैन र पुन: प्रेम प्रस्ताव राख्ने सोच्छ । अचम्मले यसपटक भने स्टेफिनले किजको प्रस्तावलाई स्विकार्ने छाँटकाँट देखाउँछिन् । अब उसले स्टेफिनसँग रमाइलोसँग जीवन बिताउने कल्पना गर्न थाल्छ । चिडियाखानाको काम स्टेफिनले नरुचाउने हुँदा उनलाई खुसी पार्न त्यो जागिर समेत छाड्ने योजना बनाउन थाल्छ ।

चलचित्रको रोचक भाग यतिखेर आउँछ जब चिडियाखानाका जनावरहरु किजलाई सघाउन थाल्छन् । जनावरहरु मानिसहरुझैं बोल्छन् । उनीहरुले किजको प्रेम सफल पार्न अनेकथरी जुक्ति सुझाउँछन् । विभिन्न जनावरका फरक–फरक प्रकृतिका आवाजले चलचित्रलाई रमाइलो गराउँछ, विशेषगरी बालबालिका र किशोरकिशोरीहरुका लागि । एडम्ड स्याण्डरले चलचित्रमा सधै प्रफुल्लित रहने बाँधर ‘डोनाल्ड’ को स्वर दिएका छन् जसले सबैभन्दा बढि दर्शकलाई हसाउँछ । अर्को लामो हाँसो त्यतिखेर छुट्छ जतिखेर किजले गोरिल्ला (वनमान्छे) ‘बर्नी’ लाई लिएर सप्ताहन्तमा शहर घुम्न निस्कन्छन् । जनावरहरुको स्वर र हाउभाउ चलचित्रको रोचक पक्ष भएता पनि कथा भने किजले आफ्नो प्रेम स्टेफिनलाई पाउन गरेको कसरतमा केन्द्रीत छ ।

जनावरहरुले सुझाए अनुसार आफ्नो दाजुको विहेमा उसले चिडियाखानाकी डाक्टर केटलाई (रोसारियो डन्सन) आफ्नो गर्लफ्रेन्डको रुपमा निम्त्याउँछ । त्यसो गरेर स्टेफिनमा किजको प्रेमप्रति ईष्र्या उत्पन्न गराउने उनीहरुको योजना हुन्छ । तर त्यसरी अभिनय गर्दागर्दै रातभरमा किज र केट पो एकअर्कालाई मन पराउन थाल्छन् । र, त्यसबखत किज ठूलो दोधारमा पर्छन्, कुन केटी खासमा उनको लागि बनेका हुन् भन्ने सोचेर । स्टेफिन–जसलाई पाउन उनले बर्षौ प्रतिक्षा र सपना देखे तर त्यो उनको ‘केमेस्ट्री’ मिल्दो थिएन । उता केटसँग बर्षौ सँगै काम गरेर पनि अन्त्यमा थाहा पाए कि उनीहरुका भावना एक अर्कासँग खुबै मिल्छ भनेर । 


कथाबस्तुका दृष्टिले ‘जुकिपर’ साधारण कथामाथि आधारित रहेर बनाइएको फिल्म हो । मात्र यसको प्रस्तुति रोचक पक्ष हो । त्यसैले पनि यो फिल्म बालबालिकाहरुको लागि बढि रमाइलो हुन सक्छ । कथा कमेडि भइकन पनि यसले दिन खोजेको पाठ गहकिलो छ– ‘आफ्नो मनलाई ढांट्न सकिँदैन, अरुले कस्तो देख्न चहान्छ भनेर आफूलाई परिवर्तन गर्न सकिँदैन ।’

This piece was appeared in print at Hello Shukrabar (KANTIPUR) dated 15th of  July, 2011

No comments:

Post a Comment