Sunday, July 17, 2011

आहा ! दाल,भात तरकारी

मैतीदेवीका राज रिजाल, २१, दुई वर्षअघि काठमाडौँको दरबारमार्गमा केएफसी र पिज्जाहट खुल्दा घन्टौँ लाइनमा बसेर स्वाद चाख्ने सयौँमध्येका एक थिए। बहुराष्ट्रिय फास्टफुड ब्रान्डहरू केएफसी र पिज्जाहट मात्र नभई उपत्यकामा अहिले चिनियाँ, थाई, इटालीयन, जापानी र इन्डियन खानाका प्रशस्त रेस्टुराँ खुलिसकेका छन्। जसले काममा व्यस्त हुने र नयाँ स्वादको पारखीलाई यस्ता रेस्टुराँले राम्रै गरेका छन्। तर, रिजालजस्ता युवा पनि छन्, जसलाई नेपाली परिकार पनि कम स्वादिला र स्वस्थ लाग्दैनन्। रिजाल भन्छन्, "हामीले हाम्रा ब्रान्डलाई स्थापित गर्न सकिरहेका छैनौँ।"


दाल, भात र तरकारी बहुसंख्यक नेपालीको प्रमुख खाना रहे पनि नेपालका विभिन्न जातजाति, संस्कृति र भौगोलिक जनसंख्याका विभिन्न परिकारहरू छन्। "हाम्रो खानाको प्रवर्द्धनका लागि पहिले यसबारे पर्याप्त अनुसन्धान आवश्यक छ," होटल द्वारिकाजका फुड एन्ड बेभरेज म्यानेजर अर्जुनराज गिरी भन्छन्, "कतिपय खाना भने होटलहरूले आफ्ना मेनुमा समेटेका छन्। प्रयास यत्तिमा मात्र सीमित हुनु हुँदैन।"

द्वारिकाजभित्र नेपालका विभिन्न जातजाति र संस्कृतिका खानपिन पाइने रेस्टुराँ 'कृष्ण अर्पण' छ, जसमा नेवारी, गुरुङ, थारू र तामाङ जातिका रैथाने परिकारहरू पाइन्छन्। त्यहाँ ६ देखि २२ कोर्ससम्ममा नेपाली खानाहरू उपलब्ध छन्। गिरी भन्छन्, "नेपाली खानाको प्रवर्द्धनका लागि पहिले दाल र भातलाई केन्द्रमा राखेर लबिङ् गरिनुपर्छ।"

ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसनका प्रमुख कार्यकारी खेम लकाई, ३५, ले ५० भन्दा बढी देशको भ्रमण गरसिकेका छन्। उनको अनुभवमा खानपिनको विविधताका आधारमा नेपाल विश्वका उत्कृष्ट मुलुकको सूचीमा पर्छ। "हाम्रा हरेक जातजाति वा जिल्लाका आफ्नै मौलिक परिकारहरू छन्," भन्छन्, "तर, तिनको प्रवर्द्धन गर्न सकिएको छैन।" नेपालमा आएका पर्यटकलाई विदेशी खाना खुवाएर आकषिर्त गर्छु भन्नु मूर्खता हो भन्ने उनको ठम्याइ छ। भन्छन्, "उनीहरूले स्थानीय खाना नै खोज्छन्।" विदेशमा पकाएर नेपाली खानाको वास्तविक स्वाद पाउन नसकिने हुँदा पनि नेपालमै यसको सबैभन्दा बढी सम्भावना रहेको लकाई बताउँछन्। 


मुख्य रूपमा नेवारी र थकाली खाना चल्तीका परिकार हुन्। मनाङ, मुस्ताङ र लमजुङतिरका थकाली समुदायले धेरै पहिलेदेखि नै खानपिन व्यवसायमा हात हालेकै कारण थकाली खाना बढी लोकपि्रय भयो। नेवारी खानाको साइनो उपत्यकाका नेवार समुदायसँग हुनुले नै यसको लोकपि्रयता बढेको हो। अहिले काठमाडौँमा मात्र दर्जनौँ थकाली भान्सा र नेवारी रेस्टुराँहरू छन्। यस्ता रेस्टुराँले नेपाली खानालाई नै ब्रान्ड बनाएर आफ्नो व्यवसाय गररिहेका छन्। र, तिनीहरू सफल पनि छन्। "विदेशीहरू नेपाल आउँदा कि सुरुमै या र्फकनुअघि कम्तीमा एकपटक नेपाली खानाको स्वाद लिन चाहन्छन्," लाजिम्पाटमा रहेको नेपाली चुलोका म्यानेजर नवराज थापा भन्छन्, "त्यसैले पनि हामीकहाँ आउने ग्राहकहरू ९० प्रतिशतभन्दा बढी विदेशी हुने गर्छन्।"


नेपाली खाना खुवाउने काठमाडौँका चल्तीका रेस्टुराँको अर्को विशेष पक्ष खानासँगै नेपाली नाचगानको प्रस्तुति पनि हो। जस्तोः नेपाली चुलोमा खानपिनकै बीचमा भोजपुरी, मैथिली, झिझिया, तामाङ, कौरा, लाखे, मञ्जुश्री, लठुवा, धिमेजस्ता नेपाली संस्कृतिका नाच प्रस्तुत गरन्िछन्। त्यहाँ छिर्नेबित्तिकै ग्राहकका पाइला भुइँमा ओछ्याइएका गुन्द्रीमा पर्छन्। नेपाली भाँडाकुँडा र चुलो पनि प्रदर्शनका लागि राखिएका छन्। नेपाली चुलोका प्रबन्धक निरञ्जन भट्टराई थप्छन्, "नेपाली खानाको प्रवर्द्धनका लागि नाचगान र सांस्कृतिक कुराहरूलाई पनि साथसाथै लैजानुपर्छ।"


विदेशीलाई नेपाली खाना, खानपिनको व्यवहार, स्वागत/सत्कारको संस्कृति र भाँडाकुँडा मन पर्छन् नै। त्यसमाथि नेपाली खानाको वास्तविक स्वाद दिन अर्गानिक तरकारी र स्थानीय मसलाहरू प्रयोग गर्ने हो भने त सुनमा सुगन्ध थपिन्छ। कमलादीस्थित भान्छाघरका प्रबन्धक राजुध्वज थापा भन्छन्, "पर्यटकहरूको नेपाल बसाइ सम्झनलायक बनाउन स्थानीय खानपिनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ।" धेरै विदेशीले नेपाली खाना पकाउने विधि सिक्न खोजेको अनुभवसमेत छ उनीसित।


नेपाली खानाको सम्भावना राम्रो हुँदा पनि किन धेरै रेस्टुराँहरू छैनन् त ? दरबारमार्गको त्यस्तै अर्को रेस्टुराँ उत्सवका म्यानेजर कुमारविक्रम राणा भन्छन्, "यसरी नेपाली खानाको व्यवसाय गर्नु निकै संवेदनशील काम हो। नेपाली परिकार भए पनि विदेशीको स्वाद अनुसार तयार पार्न सक्नुपर्छ। नत्र त्यसले उनीहरूको नेपाल बसाइ नै बिगार्न सक्छ।"


नेपाल भित्रिने विदेशीले नेपाली मौलिक खानाप्रति चाख देखाए पनि स्वयं नेपालीहरू भने आफ्ना ब्रान्डप्रति उदासीन बन्दै गइरहेका छन्। खेम लकाई भन्छन्, "विश्वव्यापीकरणको जमानामा देशको राजधानीमा यत्तिको हुनु स्वाभाविकै हो तर त्यससँगै हाम्रो नेपाली खानालाई प्रतिस्पर्धामा ल्याउनुपर्छ। त्यसको सम्भावना पनि देखिन्छ।" उनी नेपाली खानालाई प्रवर्द्धन गर्न त्यसमा धेरै सुधार गर्नुपर्ने बताउँछन्। "हामी मकै, भटमासलाई हेला गर्छौं तर त्यसैलाई परिमार्जन गरेर बनाइएको खानेकुरा विदेशबाट आयात गररिहेका छौँ," लकाई थप्छन्, "त्यसमाथि हाम्रो परिकार पकाउन धेरै समय लाग्छ, जसलाई हामी छोटो बनाउने सिर्जनशील तरिका निकाल्न सक्छौँ।"


अहिले नेपाली सामग्री प्रयोग गरेर विदेशी परिकार पनि बनाउन थालिएको छ, नेपालमा। जस्तोः विस्तारै काठमाडौँमा चनाको बर्गरले बजार ओगट्दै छ। नेवारी परिकार चटामरी नेपाली पिज्जाका रूपमा लोकपि्रय भइसकेको छ। त्यसैगरी, शंखमूलस्थित सनसेट भ्यु होटलमा मुस्ताङको फापरबाट चाउचाउ तयार गरिनुपर्छ। नेपालमा पछिल्लो समय सुरु गरिएका खानपिनका नयाँ प्रयोगमध्ये तीते फापरको चिया (ग्रीन टि) पनि एक हो।


रेस्टुराँमा पुगेर नेपाली खाना खान भने त्यति सस्तो छैन। केही रेस्टुराँले विदेशीलाई केन्दि्रत गरेर मूल्य निर्धारण गरेकाले नेपाली परिकारहरू महँगा भएको तर्क गर्छन् उत्सवका म्यानेजर राणा। थकाली रेस्टुराँहरू भने यस मामिलामा अपवाद छन्। त्यसबाहेक दिउँसोको खाजाका रूपमा नेवारी परिकारहरू भने सस्ता छन्। नेपाली चुलोले पनि नेपालीलाई केन्दि्रत गरेर नेपाली खानाको लन्च मेनु ल्याएको छ, जसको मूल्य विदेशीलाईभन्दा दुई भाग कम छ। यति गर्दा पनि सो रेस्टुराँमा नेपाली ग्राहकले प्रतिसेट ३ सय ५० रुपियाँ तिर्नुपर्छ।


समाजशास्त्री डिल्लीराम दाहाल नेपाली खानाको लोकप्रियता घटेको वा प्रभावित भएको भन्नेमा सहमत छैनन्। भन्छन्, "सहरीकरण बढिरहेको समयमा यो केही सुरुवाती चरण मात्र हो।" उनका अनुसार पढ्न र काम गर्न जाने क्रममा नेपालीहरू बाहिरी विश्वसँग नजिकिएसँगै त्यसका धेरथोर प्रभाव देखिएका मात्र हुन्। "तर, सहरबजारका केही वर्गका व्यक्तिहरूमा त्यसको प्रभाव देखियो भन्दैमा अवस्थालाई सामान्यीकरण गर्न हुँदैन," दाहाल भन्छन्, "नेपाली खाना सबैभन्दा सन्तुलित खाना हो र यो हाम्रो आर्थिक-सामाजिक अवस्था अनुकूल पनि छ।"


विश्वमै उत्कृष्ट
अमेरिकामा बस्दै आएकी ज्योति पाठकद्वारा लिखित नेपाली खानपानसम्बन्धी पुस्तक टेस्ट अफ नेपालले सन् २००८ मा उत्कृष्ट विदेशी भोजन पुस्तकको उपाधि पाएको थियो । गर्मन्ड वल्र्ड कुकबुक अवार्ड समितिले दिएको सो उपाधि पाउन पाठकले १ सय २ मुलुकका पुस्तकलाई उछिनेकी थिइन् ।

नेपाली खानपानलाई बाँकी विश्वसँग जोडेको भन्दै उक्त पुस्तकलाई लन्डन र प्रmयांकर्फट पुस्तक मेलामा समेत प्रदर्शन गरिएको थियो । विश्वभर पाइने उक्त पुस्तकलाई एसियामा आदर्श बुक इन्टरप्राइजेजले वितरण गर्छ भने अमेरिकालगायत पश्चिमा देशहरूमा अमेजन डट कमले अनलाइन अर्डरका आधारमा बिक्री गरिरहेको छ । काठमाडौँमा यो पुस्तक ठमेल क्षेत्रमा सजिलै किन्न पाइन्छ ।

पश्चिमा देशहरूमा पुस्तक बढी बिक्री भएकाले पनि नेपाली खानपानको बजार विश्वमै राम्रो हुनसक्ने पाठक बताउँछिन् । उक्त पुस्तकमा लेखिकाले नेपाली खानपान संस्कृतिदेखि विभिन्न क्षेत्र एवं जातिमा प्रचलित परिकार पकाउने तरिकासमेत उल्लेख गरेकी छन् । "६ वर्षको अध्ययन-अनुसन्धानबाट पुस्तक तयार पारिएको हुँदा यसले नेपाली खानाको स्वाद चाख्न साधारण व्यक्तिदेखि ठूल्ठूला सेफहरूसम्मलाई सघाउँछ," पाठक भन्छिन्, "नेपाली खाना अन्यको तुलनामा बढी सहज, हलुका र स्वस्थ छ ।" ठेट नेपाली खानामा मसलाहरूको कलात्मक संयोजन र ताजा सामग्रीहरूबाट बन्ने हुँदा स्वास्थ्यका दृष्टिले पनि उत्कृष्ट मानिने पाठकको भनाइ छ । थप्छिन्, "खाँचो छ त यसको विश्वव्यापी प्रचारप्रसार र प्रवर्द्धनको मात्रै ।" 

No comments:

Post a Comment