Friday, July 22, 2011

ह्यारी पोर्टर र डेनियल रेडक्लिफ



मुख्य कलाकारहरु:
डेनियल रेडक्लिफ, रुपेट ग्रिन्ट, इम्मा वाटसन, मिचेल ग्यामबन
निर्देशक: डेविड येट्स
विधा: काल्पनिक थ्रीलर
भाषा: अंग्रेजी
समय: २ घण्टा १० मिनेट
रेट: ३.५/५

‘ह्यारी पोर्टर एण्ड द देथ्ली हालोज–२’ को रिलिजसँगै ह्यारी पोर्टर सिरिजले अन्तत: बिट मार्दा आम दर्शकहरुको मनमा दुईथरी नयाँ प्रश्नहरु खेलिरहेका छन्, ‘के अब ह्यारी पोर्टरको नयाँ सिक्वेल नआउने गरी नै सकिएको हो त?’, ‘अब डेनियल रेडक्लिफ (ह्यारी पोर्टरका मुख्य पात्र) के गर्छन् ?’ निजी जीवनमा डेनियल अन्तरमुखी स्वभावका हुनाले पनि धेरैले उक्त प्रश्नको सहज उत्तर अनुमान गर्न सक्दैनन् ।


जेके रोलिङको प्रशिद्ध पुस्तक ‘ह्यारी पोर्टर’ मा आधारित ह्यारी पोर्टर सिरिजले पछिल्लो एक दशकमा ८ वटा चलचित्रसँगै (यो ७ औं चलचित्रको दोस्रो भाग हो) विश्व चलचित्र जगतमा एक प्रकारको तहल्का नै सिर्जना गर्‍यो । यसबिचमा फिल्मसँगै उत्तिकै चर्चामा रहने गर्थे ‘ह्यारी पोर्टर’ अर्थात ‘डेनियल रेडक्लिफ’ । पहिलो सिरिज ‘ह्यारी पोर्टर एण्ड द फिलोसफर स्टोन’ शुरु गर्दा उनी भर्खर एघार बर्षका थिए जतिखेर फिल्मका निर्माता डेभिड ह्याइमेनले उनका अभिभावकलाई ‘ह्यारी पोर्टर’ पात्र छान्ने अडिसनमा डेनियललाई सहभागि गराइदिन अनुरोध गरेका थिए । तर त्यस सिरिजको सम्पूर्ण सुर्टिङ अमेरिकाको क्यालिफोर्निया र लस एञ्जलसमा हुने हुँदा अभिभावकहरुले छोरो धेरै नटाढियोस भनेर उनलाई थाहा नै दिएनन् ।

अडिसन चलिराखेकै बखत एकसाँझ निर्देशक क्रिस कोलम्बसले डेनियलको पहिलो काम ‘डेभिड कोपरफिल्ड’  (चाल्र्स डिकिन्सको उपन्यासमा आधारित बिबिसी वानको नाट्य सिरिज) को भिडियो हेर्ने अवसर पाए । ८ महिनाको दर्जनौं अडिसनपछि त्यसबेला निर्माण टिमलाई लाग्यो, ‘दिस इज द ब्वाय वि वान्ट । दिस इज ह्यारी पोर्टर ।’ हाइमेनले आफ्नो फिल्मको ह्यारी पोर्टर भेट्टाउँदाको क्षण यसरी सम्झन्छन्, ‘निला आँखा भएको ऊ जिज्ञासु, फुर्तिलो र हाँसिमजाक गरिरहने स्वभावको थियो । उसमा रहेको उदारता र मिठासको समिश्रण साँच्चिकै पूर्ण देखिन्थ्यो । त्यसबखत उसमा नयाँ ज्ञान प्राप्तीको प्यास समेत उत्तिकै थियो । र, ‘रियल लाइफ’ मा ति सबै कुराको समिश्रणले गर्दा ऊ ‘रिल लाइफ’मा ह्यारी पोर्टर बनेको थियो ।’

अहिले उनै डेनियल २१ बर्षका पुगेका छन् । ह्यारी पोर्टर सिरिजको अन्त्यसँगै उनी २०१२ सुपरनेचुरल थ्रिलर फिल्म ‘द उमन इन ब्याक’ देखिँदैछन् । ‘म पट्यारलाग्दो प्रेमकथाका फिल्म रुचाउँदिन जहाँ केटा–केटी बिछोडिन्छन, जुट्छन् र खुसी हुन्छन्’, उनले भने, ‘मलाई संघर्षले भरिएका कथामा अभिनय गर्न मन लाग्छ जो धेरै हदसम्म रोचक हुन्छन् ।’ त्यसैले आफूबाट रोमान्टिक फिल्म अपेक्षा नगर्न दर्शकहरुलाई भनेका छन् (जसले सायद उनका हार्डकोर केटी फ्यानहरुलाई धेरै निराश पारेको हुनुपर्छ) । उनी आफै साना कथाहरु पनि लेख्छन्, क्रिकेटका फ्यान हुन, अन्डरग्राउण्ड र पंक संगितका पारखी हुन् ।

छोटो समयमा नै उनी कसरी लोकप्रिय र चर्चित भइसकेका छन् भन्ने जान्न केही उदहारणहरु काफी छन् । २००९ मा ‘फोब्र्स’ पत्रिकाले निकालेको ‘सबैभन्दा प्रभावशाली तन्नेरी सेलिब्रिटी’ को सूचिमा उनी एक नम्बरमा परेका थिए । सोही बर्ष ‘द टेलिग्राफ डेलि’ले निकालेको सूचिमा समेत उनी जम्माजम्मी ३ करोड अमेरिकी डलर आर्जन गरेर बेलायतको धनी युवाहरुको सूचिमा १२औं नम्बरमा परेका थिए । र, सोही पत्रिकाले नै ह्यारी पोर्टरको सिरिज सकिंदासम्ममा उनले ७ करोड अमेरिकी डलर आर्जन गर्ने अनुमान गरेको थियो जुन सहजै नाघ्ने पछिल्ला केही दिनमा ह्यारी पोर्टरले पाएको उच्च व्यावसायिक सफलताबाट अनुमान गर्न सकिन्छ ।

सिरिजको अन्य चलचित्रमाझैं ह्यारी पोर्टरको मुख्य भाव ‘ह्यारी पोर्टर एण्ड द देथ्ली हालोज–२’ मा पनि उही छ– ‘विपत्तिमा पनि विवेकले सहि काम गर्ने ।’ त्यसका अलावा प्रभावशाली प्रस्तुती, वजनदार डाइलगले फिल्मलाई आकर्षक बनाएको छ । र, सिरिजको अन्तिम फिल्म भएकै कारण यसको रोचक पक्ष हामीले पछिल्ला बर्षहरुमा देखेका पात्रहरुको मिलन गराउनु पनि हो ।

यस भागमा भने ह्यारी पोर्टर तन्त्रमन्त्र पढाई हुने ‘हगवाट्र्स स्कुल अफ विचकाफ्र्स एण्ड विजार्डी’ मा पढ्न जान्छन् । यद्यपि त्यसको लागि उनले कुनै निवेदन दिएका हुँदैनन् । तर त्यहाँबाट उनलाई दुईपटक (पहिलोपटकमा हावाले च्यात्तिन्छ) भर्नाको पत्र आउँछ । त्यहाँ गएसँगै उनले तन्त्रमन्त्र सम्बन्धी ज्ञान पाउँछन् भने आफूमा रहेको शक्तिको बोध समेत बिस्तारै हुनजान्छ ।


लर्ड भोलमर्ट नाम गरेको एउटा राक्षस कहिल्यै नमर्ने शक्ति प्राप्तीको बाटोमा हुन्छ । उसले त्यो शक्ति हाँसिल गरेमा मानवजाती माथि ठूलो संकट आइलाग्ने निश्चित हुन्छ । त्यसैले ह्यारी पोर्टर उनका साथीहरु रन (रुपेट ग्रिन्ट) र हर्मोनी (इम्मा वाट्सन) मिलेर उक्त राक्षसलाई समाप्त पार्न लाग्छन् । भोलमर्टको आत्मालाई सुरक्षित राखिराखेको हर्कसहरुलाई पहिले ध्वस्त पारे मात्र आफ्नो लक्ष्य हाँसिल गर्न सकिने जुक्ति पत्ता लगाउँछन् र अन्तत: सफल हुन्छन् पनि ।

‘ह्यारी पोर्टर एण्ड द देथ्ली हालोज–१’ मा निर्माण टिमले फिल्मलाई चल्दा चल्दै ‘पज’ गरेझैं लाग्थ्यो र दोस्रो भाग त्यहीँबाट ‘प्ले’ गरेको छ । त्यसैले पनि पहिलोपटक ह्यारी पोर्टर हेर्ने दर्शकलाई केही असहज हुन सक्छ । सिरिजलाई शुरुदेखि पच्छ्याएर हेर्नेले यसलाई सबैभन्दा बढि मन पराउन सक्छन् भने यो मात्रै हेर्नेले पनि कम्तिमा ७ औं सिरिजको पहिलो भाग हेर्नु राम्रो हुन्छ ।

सिरिजको यो अन्तिम भाग भनिएता पनि जेके रोलिङले अझै कथालाई लम्ब्याउन सक्ने ठाउँ छाडेको विश्लेषकहरु बताउँछन् । सायद त्यसले डेनियलका फ्यानहरुलाई उनी फेरी ह्यारीपोर्टरमै देखिन सक्ने झिनो आश पलाएको हुनसक्छ ।

This appeared in print at Hello Shukrabar (KANTIPUR) dated 22nd of July, 2011

No comments:

Post a Comment