Wednesday, September 14, 2011

टिसर्टमा तन्नेरी मन

Anupama, Khem & Sarose (from left)


 एकवर्षअघिसम्म खेम पौडेलको रोजाइमा सेलिबि्रटीका तस्विर वा कुनै ब्रान्डका लोगोअंकित टिसर्टहरू पर्थे। वर्षदिनयता उनको रोजाइले 'यूटर्न' लिएको छ। उनी अहिले सादा टिसर्ट किन्छन्। आफूले मन लागेको कुरा प्रिन्ट वा इम्ब्रोइडरी (बुट्टा भर्नेकाम) गर्न लगाउँछन्। हालैको एक साँझ पोटला इम्ब्रोइडरी, ठमेलमा भेटिएका २४ वर्षे पौडेलले ठट्यौलो भावमा भने, "मेरो मनको कुरा कसरी टिसर्ट कम्पनीले बुझोस्, त्यसैले आफैँ भिडिराछु।" यसो भनिरहँदा उनले लगाइरहेको टिसर्टमा लेखिएको थियो, 'दाल-भात, पावर ट्वान्टी फोर आवर।' उनी थप्छन्, "म प्राय: फन्नी कुराहरू लेखिएको टिसर्ट मन पराउँछु, जसले अरूको ध्यान मतर्फ केन्द्रीत गरोस्।"


अहिले प्रिन्टेड टिसर्टको लहर चलेको छ। कसैले चर्चित एवं महान् व्यक्तिका भनाइलाई टिसर्टमा पि्रन्ट गराउँछन् त कसैले तिनै भनाइका 'रिमिक्स' तयार पार्छन्। आफ्नै मनमा फुरेका भावनालाई टिसर्टमा प्रिन्ट गर्नेहरू उत्तिकै छन् अचेल। ठमेलकै हिमालय इम्ब्रोइडरीका अमल लामा भन्छन्, "प्रिन्टेड टिसर्ट अहिले फेसनमा छन्।" पश्चिमा देशहरूमा विभिन्न अर्थ र प्रकृतिका भनाइ प्रिन्ट गरिएका थरीथरीका टिसर्ट बजारमा सहजै किन्न पाइन्छन्। तर, नेपालमा अझै त्यस्तो अवस्था आइसकेको छैन। लामा थप्छन्, "युवा त्यस्ता टिसर्ट इन्टरनेटमा देख्छन् र बनाउन आइपुग्छन्।" भनाइ प्रिन्ट भएका धेरै त्यस्ता टिसर्ट नेपालमा थाइल्यान्डबाट आउँछन्। तुलनात्मक रूपमा केटाहरूका लागि यसरी नेपाल आउने टिसर्टहरूमा बढी विकल्प भेटिन्छन्।


प्राय: अनौपचारकि समारोहमा युवकयुवतीहरू यस्ता टिसर्टमा देखिन्छन्। औपचारकि समारोह वा कार्यक्रममा लगाएर जाँदा कहिलेकाहीँ देख्नेलाई समेत यस्ता टिसर्टले बिनासित्ती अप्ठ्यारोमा पार्न सक्छन्। हनुमानढोकामा आधा घन्टा मात्रै टहलिएर हेर्दा टिसर्टमा देखिएका केही भनाइहरू यस्ता थिए : '९९ परसेन्ट अफ अल वुमन आर बिउटिफुल, द रिमेनिङ वान परसेन्ट आर इन माई अफिस; डू नट डिस्टर्ब, आई एम डिस्टर्ब अलरेडी; गुड गल्र्स गो टू हेभेन, ब्याड गल्र्स गो एभि्रव्हेर; इफ यू वान्ट ब्रेकफास्ट इन बेड, स्लिप इन किचन; सरी इफ आई लुक्ड इन्ट्रेस्टेड, आई एम नट।' मनोविज्ञहरूका अनुसार यस्ता टिसर्टहरूले केही हदसम्म मानिसका रोजाइ, स्वभाव र बेहोरासमेत झल्काउँछन्। सेन्ट जेभियर्स कलेजमा स्नातकोत्तर गरिराखेका जयजंग महत, २३, कै प्रसंगलाई एकैछिन केलाऔँ। इन्टरनेट (विशेष गरी सामाजिक सञ्जालहरू)का बिछट्टै क्रेजी उनले पछिल्लोपटक थाइल्यान्ड जाँदा 'युट्युब, माइस्पेस, आई विल गुगल योर याहु' लेखिएका टिसर्ट किने। भन्छन्, "कहिलेकाहीँ नयाँ मान्छेसँग भेट हुँदा टिसर्टहरुबाटै उसको स्वभाव बुझेर थप कुरा गर्न सकिन्छ।" आफ्नो स्वभाव झल्काउने प्रसंगमै एउटा टिसर्टमा यस्तो लेखिएको थियो, 'आई गिभ अप स्मोकिङ, डि्रंकिङ् एन्ड सेक्स, द वर्स फिफ्टिन मिनट्स अफ माई लाइफ।'

टिसर्टमा लेखिएका प्राय: भनाइको भाषा भने अंग्रेजी हुने गर्छ।पोटला इम्ब्रोइडरीका कृष्ण विसुंखे नेपालमा टिसर्ट प्रिन्टको ट्रेन्ड यहाँ घुम्न आउने पर्यटकले भित्र्याएको बताउँछन्। भन्छन्, "उनीहरूले नेपालको सम्झनास्वरूप माउन्ट एभरेस्ट, लुम्बिनीजस्ता आफू गएको ठाउँको नाम टिसर्टमा पि्रन्ट गरेर लैजान थालेपछि विस्तारै त्यो लहर सुरु भएको हो।" उसो त अहिले ट्रेकिङ् जाने पर्यटकलाई लक्षित गरेर टिसर्टमै अन्नपूर्ण, एभरेस्ट ट्रेकिङ्जस्ता चर्चित रुटको नक्सा नै प्रिन्ट गरिएको पाइन्छ। धेरैका टिसर्टमा नेपालको नक्साभित्र आफू घुमेका ठाउँहरू जोड्ने गरेको पनि पाइन्छ। विसुंखे थप्छन्, "पर्यटकले आफूलाई सम्झन सजिलो होस् भनेर नमस्ते, धन्यवाद, माफ गर्नुहोलाजस्ता आदरार्थी शब्दहरू पनि टिसर्टमै प्रिन्ट गर्छन्।"

ठमेल, न्युरोड, अनामनगर क्षेत्रमा टिसर्ट पि्रन्ट तथा इम्ब्रोइडरी गर्ने थुप्रै पसल छन्। सामान्यत: तीन सयदेखि एक हजार रुपियाँसम्ममा यस्ता टिसर्ट (पि्रन्टेड वा इम्ब्रोइडरीसहित) पाइन्छन् वा आफैँले टिसर्ट किनेर लेखाउन पनि पाइन्छ। त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी स्नातकोत्तरका विद्यार्थी सरोज जिसी, २४, हिजोआज टिसर्ट प्रिन्ट गर्नु फेसबुकमा स्टाटस अपडेट गरेझैँ ठान्छन्। भन्छन्, "केही नयाँ वा रोचक कुरा भेटियो भने टिसर्टमै प्रिन्ट गर्नुको मजा अर्कै हुन्छ।" उनले धेरैपटक कसैले फेसबुक र ट्वीटरमा लेखेका स्टाटस मन परेर तिनैलाई प्रिन्ट गर्न लगाएका छन्। कसैकसैले आफ्नो नामै पनि टिसर्टमा पि्रन्ट गर्ने गर्छन् त आफ्नो व्यक्तिगत वेबसाइट वा ब्लग हुनेले तिनै वेब लिंकलाई टिसर्टमा प्रिन्ट गर्छन्। सरोज थप्छन्, "मेरा कतिपय साथीले आफूले मन पराएकी केटीलाई टिसर्टमै आफ्नो प्रेमभाव समेटिएको वाक्य प्रिन्ट गराएर दिएका पनि छन्।"

टिसर्टमा के लेख्न मिल्ने, के नमिल्ने भन्ने जाँचपास कसैले गर्दैन। त्यसैले ग्राहकले जे लेख्न लगायो टिसर्ट पसलेले त्यसै गरिदिन्छन्। पोटला इम्ब्रोइडरीकै विशुंखे थप्छन्, "ठाडै कसैमाथि गाली गरेको वा असभ्य कुरा त छाप्दैनौँ तर कतिपय अवस्थामा सांकेतिक रूपमा अलि अपाच्य कुराहरू पनि ग्राहकको मागबमोजिम लेख्नुपर्ने हुन्छ।" युवतीका लागि तयार पारेर पसलमा झुन्ड्याइएको एउटा टिसर्टमा स्तनलाई इंगित गर्दै लेखिएको थियो, 'आई विस दिस वेर ब्रेन्स।' अर्को एउटा त्यस्तै टिसर्ट ठमेलमा देखियो, जसका छेउमा सँगै उभिएको व्यक्तितर्फ औँलाले इंगित हुनेगरी लेखिएको थियो, 'आई एम मुभिङ् विथ फुलिस।' सरोजको तर्क छ, "यसलाई राम्रो या नराम्रो भन्दा पनि कसले कसरी लिइरहेको छ भन्ने हो, हाँसो-मजाकका रूपमा लिनेलाई त ठीकै छ तर कसैले यसलाई गम्भीर रूपले लियो भने समस्या पनि पर्न सक्छ।"

पहिले पहिले टिसर्ट बनाउने कम्पनीले मात्रै टिसर्टमा यस्ता नारा या अभिव्यक्तिहरू प्रिन्ट गर्थे। विस्तारै म्युजिकल कन्सर्टमा यस्ता अनौपचारकि टिसर्टहरू लगाउने फेसन देखियो। अहिले त कसैप्रति समर्थन वा विरोध गर्नेसम्मका अभियानमा टिसर्ट प्रयोग हुन थालेको छ। अहिले चलेको भ्रष्टाचारविरुद्धको इन्टरनेट अभियानको नारा 'भ्रष्टाचारीलाई कीरा परोस्' पनि टिसर्टमा निकै फैलिएको छ।

संसारभर जताततै फैलिएको फेसबुकको प्रभाव टिसर्टमा अछुतो रहने कुरै भएन। 'आई थिंक आई नो यू फ्रम फेसबुक; नो लाइक्स, प्लिज कमेन्ट'जस्ता वाक्य अहिले फेसबुकमा अनगिन्ती छन्, जुन कुरा टिसर्टका पि्रन्टमा अनूदित हुन थालेका छन्। काठमाडौँको गणबहालस्थित लाइफटाइम जेन्सस्टोर्सका उज्ज्वल काफ्लेका अनुभवमा रेडिमेडतर्फ सबैभन्दा बढी बिक्ने टिसर्ट भनेका फन्नी र सेक्सी वाक्य भएका हुन्। केही समयअघिसम्म उनकामा 'वार इज ओभर' लेखिएको टिसर्ट पनि खूबै बिकेको थियो। अहिले उनकामा चलेका टिसर्टहरूमा 'स्टुडेन्ट+डाइङ् = स्टडिङ्, नट टुनाइट लेडिज, एम जस्ट हिअर टू डि्रंक, एभाइलेभल टुनाइट' केही प्रमुख हुन्। टिसर्ट कस्तो पि्रन्टको लगाउने भन्ने कुरा स्थान र परिवेश अनुसारमा पनि भर पर्छ। उपरोक्त वाक्य सामान्यत: डिस्को वा क्लबतर्फ जाँदा तन्नेरीले लगाउने गर्छन्। त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्रकी विद्यार्थी अनुपमा पराजुली, २३, सँग फेसबुकको टिसर्ट लगाएर हिँड्दा धेरैले उनीसँग फेसबुकसँग सम्बन्धित कुराकानी गरेको अनुभव छ।

कतिपय अवस्थामा केटाकेटीबीच टिसर्टमै 'वाक्युद्ध' पनि हुने गर्छ। पुस्तक विज्ञापनदेखि सिनेमा, व्यापारकि संस्थालगायतको प्रचारमा पनि टिसर्ट लेखनको चलन बढ्दो छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले पनि विविध सामाजिक सन्देश प्रवाह गर्न टिसर्टमा लेख्ने गरेका छन्। तर, तन्नेरीले टिसर्टलाई मनको वह पोख्ने माध्यम पनि बनाएका छन्, जुन पछिल्लो समय निकै रोचक शैलीमा चलेको छ।



This appeared in Print in NEPAL magazine dated 11, Sep 2011 issue. 

No comments:

Post a Comment