Monday, December 5, 2011

जनावरका साथी

Picture By: Ravi Manander 
सुमित सिग्देल, ३१, रेडियोकर्मी हुन्। आमरूपमा रेडियो कान्तिपुरका कार्यक्रम प्रस्तोताका रूपमा परिचित भए पनि उनको अर्को परिचय पनि छ, जो धेरैलाई थाहा नहुन सक्छ। हो, सिग्देल जनावर र चराचुरुंगीप्रति अलि धेरै नै क्रेजी छन् र विस्तारै उनले पशुपक्षीप्रेमीका रूपमा आफ्नो परचिय बनाउँदै छन्। "परिवारकै सदस्यजस्ता हुन्," सँगै बसेको झन्डै सुनौलो रंगको ल्याब्रोडर कुकुर सिजरलाई सुम्सुम्याउँदै उनी भन्दै थिए, "यस्तो अनुभूति नभए त उनीहरूप्रति वास्तविक प्रेम नै हुन सक्दैन।"

एकताका उनको घरमा एकैसाथ १२ वटा त कुकुर मात्रै थिए। अहिलेसम्म चार-पाँचवटा त कुनैबेला पनि घटेका छैनन्। त्यसबाहेक चिल, लाटोकोसेरो, सुगा, सेतो मुसा, हाँस, लौकाट, मैना, सर्प, बकुल्ला, गंगटो, लभबर्ड, माछा, कछुवा, कुखुराजस्ता अनेकथरी चराचुरुंगी र जनावरहरूसमेत पाले उनले। आफू बसिरहेको रविभवनको घर छाडेर सातदोबाटो सरेका कारण उनी अहिले जनावर र चराचुरुंगीहरूको नयाँ बासस्थानको तानाबाना बुन्दैछन्। त्यसैले अहिले केहीलाई आमाबुवा बस्ने महाराजगन्जको घरमा राखेका छन्। छिट्टै त्यहाँ रहेका तीनवटा कुकुर ल्याउँदैछन् भने थाइल्यान्डबाट एउटा ब्याकपज (सानो खेलौनाजस्तो कुकुर) मगाउँदैछन्। त्यसबाहेक उनले सेतो ढुकुर र अक्वेरयिमभित्र समूहमा हिँड्ने माछाका प्रजातिहरू टेर्रा, ब्याक बिँडो र टाइगर बर्ब पनि ल्याउँदैछन्। समयसमयमा उनले प्रजातिहरू फेररिाख्छन् पनि। भन्छन्, "अहिले ल्याउन लागेको सेतो ढुकुर पनि परेवाजस्तै आफ्नो बासस्थान वरपरै रमाउँछ, त्यसैले पाल्न सजिलो हुन्छ।"

सानैदेखि उनको यस्तो सोख थियो। बुबा हेटौँडा सिमेन्ट कारखानामा जागिरे छँदा सँगैको क्वार्टरमा बस्ने छिमेकी पनि जनावर पाल्नमा रुचि राख्थे। पछि काठमाडौँ आएर पढ्न थालेपछि पनि त्यो रोकिएन। स्कुलबाट र्फकंदा उनी कहिले झोलामा कुकुरका छाउरा, कहिले घाइते चरा त कहिले सर्प नै बोकेर आउने गर्थे रे ! एकपटक बाँसबारीस्थित साथीको घरमा सर्प देखिएपछि साथीले उनलाई बोलाएका थिए। भन्छन्, "त्यो विषालु नहुने गार्डेन स्नेक थियो, जसलाई मैले घरमा ल्याएर पालेँ।" तर, घरका अरू मान्छे आत्तिएपछि तीन महिना जति पालेर छाडिदिएछन्। 



त्यस्तै एकपटक घाइते अवस्थामा भेटिएको चिललाई समेत घरमा ल्याएर पाँच महिना पालेका थिए उनले। जसलाई चारो दिनेदेखि उड्नसम्म सिकाए। सम्झन्छन्, "अरूले घरमा चिलको छायाँ पर्‍यो भने अलच्छिन हुन्छ भन्थे तर मलाई मतलब थिएन।" त्यति धेरै हुर्काएपछि अन्ततः त्यो चिल उड्यो। एक-दुई दिनसम्म त र्फकन्छ कि भनेर समेत बाटो हेररिहे तर र्फकने कुरै थिएन। उनको मुहारमा मन्द मुस्कान छुट्यो, "तर पनि अर्कै खुसी लाग्दो रै'छ।"

अहिले उनी एक साथीले उपहार दिएको पुस्तक 'बर्ड, द डेफिनेटिभ भिज्युअल गाइड' पढ्दै छन्। उनलाई नजिकबाट चिन्नेहरूले समेत उनलाई जनावर र चराचुरुंगी नै उपहार दिन्छन् र उनी पनि। एकपटकको जन्मदिन र भ्यालेन्टाइन्स डेमा श्रीमतीलाई उनले कुकुर नै उपहार दिएका थिए।

आफूले पालेका जनावरहरूको रेखदेख उनी आफैँ गर्छन्। अहिले कामले अलि बढी व्यस्त भएकाले केही कम पालेका छन्। "काम गर्ने मान्छे राख्ने हो भने त होस्टेलमा छोराछोरी राखेजस्तो भैगो नि जहाँ सुविधा त हुन्छ, माया हुँदैन," उनी भन्छन्, "त्यसैले कसैले पैसा राम्रो दिन्छु भन्दैमा मैले मेरोमा हुर्केबढेको कुकुर लैजान दिन्नँ।" उनले राम्ररी चिनेका मान्छेलाई त्यसमा पनि राम्ररी स्याहार गर्ने कबोल गराएर मात्र कुकुरका छाउराहरू दिने गरेका छन् र बेलाबखत तिनलाई भेट्न पनि जान्छन्।

उनलाई सबैभन्दा गाह्रो पनि आफूले हुर्काएका कुकुर अरूलाई दिँदा हुन्छ। एकपटक एउटा माउ कुकुरलाई गाडीले ठक्कर दिएपछि त्यसका तीनवटा बच्चालाई उनले आफ्नै सन्तान जसरी बचाए। अर्को एउटा कुकुर मध्यरातमा सुत्केरी हुन नसकेपछि राती नै अस्पताल दौडाए। तर, जनावर अस्पताल खुला नपाएपछि आधा निस्किएको बच्चालाई साथीसँग मिलेर साधारण अपरेसन गरी जन्माउन सफल भए।

उनी काठमाडौँको सानो गौचरणमा विभिन्न प्रजातिका कुकुरहरू समेटेर एकदिने 'डग्स डे आउट' गर्दैछन्। विगतमा दुई वर्ष उनले रेडियोमै 'एनिमल इन्स्िटङ्क्ट' कार्यक्रम चलाएका थिए भने केही साताअघि चितवन राष्ट्रिय निकुञ्ज पुगेर चराहरूसम्बन्धी एक टीभी कार्यक्रम तयार पारेका छन्। भन्छन्, "धेरैले मेरो यो सोखलाई व्यावसायिक रूप दिन सुझाउँछन् तर त्यसो गर्दा जनावरप्रतिको प्रभाव हराउने डरले गर्न सक्दिनँ।"

This appeared originally in NEPAL Magazine Dec 4, 2011 issue

No comments:

Post a Comment