Sunday, December 11, 2011

स्टिमरमा सरर...


स्याङ्जाको मिर्मी पुगेपछि जलयात्रा गरिएन भने भ्रमण अपूरो हुन्छ। नेपालकै हालसम्मको सबैभन्दा ठूलो जलविद्युत् परियोजना कालीगण्डकी 'ए' बन्ने क्रममा मिर्मीनजिकै बाँध बाँधिएपछि नदी तालमा परिणत भएर त्यहाँ जलयात्रा सम्भव भएको हो। मिर्मी ड्यामसाइटबाट स्टिमरले गुल्मी जिल्लाको सेतीबिनीसम्मको साढे सात किलोमिटर दूरी ४५ मिनेटमा तय गर्छ, जसमा एकपटकमा ६० जनासम्मले यात्रा गर्न सक्छन्। सेतीबिनी पुगेर विश्वको सबैभन्दा ठूलो शालिग्राम शीलाको अवलोकन गरेर र्फकन सकिन्छ। अहिले त्यहाँ १२ वटा स्टिमर चालू अवस्थामा छन् । स्टिमर घन्टैपिच्छे छुट्छन्। 

स्टिमरमा यात्रा गर्नेले जल यातायातको अनुभव मात्र गर्दैनन्, यात्रा अवधिभर दुवैतर्फ रहेका घना जंगललाई पृष्ठभूमिमा राखेर तस्बिर खिच्नसमेत पाउँछन्। नदीको दुवैतर्फ अवस्थित पहाडका खोँचमा रहेका स-साना प्वालहरू र जमिनमुनिबाट रसाउँदै निस्कने पानीका फोकाहरूसमेत उत्तिकै हेर्नलायक हुन्छन्। स्टिमर चालकले कतिपय ठाउँमा एक्कासि नदीको किनारतर्फ लैजान्छन्, जतिखेर छेउको पहाडमा रहेका अग्ला रूखहरूबाट निरन्तर झर्ने पानीका थोपाले यात्रीलाई आनन्द दिन्छन्। यसमा एकतर्फी यात्रा गर्न ५० रुपियाँ लाग्छ। मिर्मी पुग्न पोखरा वा बुटवलबाट स्याङ्जाको जिरो भन्ने ठाउँमा पुगेर त्यहाँबाट २० किलोमिटर पश्चिमको जिप यात्रा गर्नुपर्छ।



This appeared in NEPAL magazine


Related Post:: Steamers a boon

No comments:

Post a Comment