Sunday, December 11, 2011

सम्झनामा शरदप्रसाद अधिकारी

शरदप्रसाद अधिकारीको निधनसँगै नेपालले एक ज्येष्ठ हावापानी विज्ञानविज्ञलाई गुमाएको छ। जल तथा मौसम विज्ञान विभागको स्थापनाकाल विसं २०४५ देखि ०५० सम्म उनी महानिर्देशक थिए। त्यति मात्रले उनको वास्तविक परचिय खुल्दैन। उनी मौसम तथा हावापानी क्षेत्रका प्रथम सरकारी कर्मचारी पनि हुन्। त्यसैले पनि नेपालमा हावापानी र मौसम क्षेत्रमा भएका सांगठनिक विकासको मुख्य श्रेय उनलाई नै जान्छ। अमेरिकाको पर्डिउ विश्वविद्यालयबाट हावापानी विज्ञानमा पीएचडी सकेपछि उनले विसं ०२२ मा आफ्नो व्यावसायिक जीवन सुरु गरे। उनलाई धेरैखाले जलवायु विविधता भएकै कारण आफ्नै देश नेपाल नै 'युनिक' लाग्थ्यो र त्यस कुरामा उत्तिकै घमण्ड पनि गर्थे। त्यसैले उनी अन्य देशको आकर्षक जागिर छाडेर नेपालमा काम गर्न हौसिए। यद्यपि, त्यसबेला देशमा यस विषयको अस्तित्व नै थिएन। न त्यससम्बन्धी काम गर्ने सरकारी संयन्त्र थियो, न हावापानी विज्ञान पढाइ हुने विश्वविद्यालय नै। 

त्यसबेलाको सिँचाइ तथा ऊर्जा मन्त्रालय अन्तर्गत जलस्रोत सर्वेक्षण विभाग थियो, जहाँ एउटा 'हावापानी विज्ञान शाखा' स्थापना गरियो, जसको उनी प्रमुख भए। यद्यपि, त्यसको काम के भन्ने नै स्पष्टता थिएन त्यसबेला। त्यसैले उनकै पहलमा ०२९ सालमा सिँचाइ तथा जलवायु विज्ञान विभागको स्थापना गरियो र उनी विभागीय उपप्रमुख तथा हावापानी शाखा प्रमुख भए। उनी हावापानी विज्ञान शाखामा प्रवेश गरेको एक वर्षभित्रै ०२३ सालमा नेपालले विश्व हावापानी संगठन (डब्लूएमओ)को सदस्यता पाएको थियो, जसको अवधारणा उनकै थियो। त्यसयता विस्तारै नेपालको हावापानीसम्बन्धी विविधता विश्वको आँखामा पर्न थाल्यो र देशलाई खुला अध्ययन केन्द्रका रूपमा विकसित गर्न थालियो।

देशभित्रै भने त्यसका लागि जनशक्ति अभाव थियो। उनले त्रिभुवन विश्वविद्यालयसँग विभागको सहकार्य गराएर जलवायु विज्ञान विभाग स्थापना गराए। उक्त विभाग स्थापना हुनुको श्रेय अधिकारी र त्रिविका प्राध्यापक सुरेशराज चालिसेलाई जान्छ। विश्वविद्यालयलाई आवश्यक पर्ने प्रयोगशालासमेत सिँचाइ तथा जलवायु विज्ञान विभागकै प्रयोग गर्ने र विभागकै कर्मचारी गएर पढाउने व्यवस्था मिलाइयो। पछि हावापानी तथा मौसमलाई गम्भीरतापूर्वक लिनुपर्ने ठानेर उनले छुट्टै एवं पूर्ण आकारको विभागको परकिल्पना गरे, जसकै आधारमा ०४५ सालमा अहिलेको जल तथा मौसम विज्ञान विभाग स्थापना भएको हो। ०५४ सालमा सेवानिवृत्त हुनु चार वर्षअघि उनी जल तथा शक्ति आयोगको कार्यकारी निर्देशक भए भने त्यसपछि नेपाल तथा हिमालय क्षेत्रको हावापानीसम्बन्धी अध्ययन गर्ने उद्देश्यले स्थापित हिमालयन क्लाइमेट सेन्टरको संस्थापकका रूपमा सक्रिय भए। जल तथा मौसम विज्ञान विभागका महानिर्देशक केशवप्रसाद शर्मा उनलाई एक आदर्श कर्मचारी मान्छन्। भन्छन्, "उच्च प्राविधिक दक्षता र व्यवस्थापन सीप मिसिएको उहाँजस्ता मान्छे नेपाली कर्मचारीतन्त्रले कमै पाएको छ।" 

No comments:

Post a Comment