Sunday, January 1, 2012

सम्झनामा ध्रुवराज भट्टराई

स्वदेशी जडीबुटीबाट उत्पादित 'सञ्चो' तेलले लोकपि्रयता पाइरहँदा यसका प्रवर्तक धु्रवराज भट्टराई अब रहेनन्। ९ मंसिरमा उनको निधनसँगै जडीबुटीको अध्ययन-अनुसन्धान र उत्पादनमा उनले दिएको योगदान स्मृतिमा सीमित भएको छ। २०५४ देखि ०५८ सम्म जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा लगातार दुई कार्यकाल महानिर्देशक भएका उनले त्यसयता जडीबुटीकै अध्ययन तथा प्रशोधनमै सबै समय खर्चेका थिए।

सिद्धार्थ जडीबुटी उद्योगका संस्थापक भट्टराई बाङ्ला-५, कोठफेरा, अर्घाखाँचीमा जन्मे र प्राथमिक शिक्षा उनले गाउँमै हासिल गरे। बनारसमा संस्कृत मध्यमासम्म पढेर फर्केपछि उनी चिकित्सामार्फत मानव सेवा गर्न चाहन्थे। चिकित्सा पढ्नकै लागि उनले विज्ञानमा स्नातक गरे। तर, उनले सोचेजस्तो भइदिएन। पुनः भारतको देहरादुन हान्निए, छात्रवृत्तिमा वनविज्ञान पढ्न। स्वदेश फर्केर वन अधिकृतबाट सरकारी सेवा सुरु गरे। पछि उनी विभिन्न जिल्लामा वन अधिकृतको जिम्मेवारी निर्वाह गरे। वन विभागमै उपमहानिर्देशक पनि भए। यसरी जीवनको लामो समय वन क्षेत्रमा काम गरे पनि जीवनको पछिल्लो चार वर्ष जडीबुटी क्षेत्रमा गरेको कामले उनलाई विशेष प्रसिद्धि दिलायो। "यद्यपि, सरकारी कर्मचारी छँदा पनि जडीबुटीसम्बन्धी काम उहाँ गर्नुहुन्थ्यो," भट्टराईकी बहिनी तथा नेकपा एमालेकी नेतृ शान्ता मानवी भन्छिन्, "उहाँमा वन र जडीबुटीबारे विचित्रको नशा थियो।" त्यसकै उदाहरणका रूपमा मानवी एउटा घटना सम्झन पुग्छिन्, जसमा भट्टराईले अर्घाखाँचीमा रहेको आफ्नो केही जग्गालाई निजी जंगलमा परिणत गराएका थिए।



'सञ्चो' उत्पादनको अन्तरकथा पनि रोचक छ। यसको उत्पादन हुनुअघि भारत र चीनबाट बर्सेनि झन्डै १० करोडको उस्तै प्रकृतिको 'स्विचुँ' आयात हुने गथ्र्यो, जुन अहिले पूर्णतः विस्थापित छ। बर्सेनि अहिले झन्डै ३५ लाखको संख्यामा सञ्चो उत्पादन हुन्छ, जसका लागि बारा, सुनसरी, मोरङ र कैलालीमा सरकारी स्वामित्वको जडीबुटी उत्पादन गर्ने र्फम छन्। कम्पनीका प्रशासकीय अधिकृत रेवतीराज अधिकारी भन्छन्, "अहिले कम्पनी धानिएको नै त्यही सञ्चोको सफलताले गर्दा हो।" त्यसलगत्तै उनी कपाल छिट्टै फुल्न रोक्ने स्याम्फु उत्पादनका लागि अध्ययनमा थिए, जसलाई बजारमा ल्याउन तत्कालीन सरकारी संयन्त्र सहयोगी नभएकाले सम्भव हुन नसकेको मानवीको गुनासो छ। उनले जडीबुटी मञ्जरी नामक पुस्तकसमेत लेखेका छन्।

This appeared in NEPAL magazine

No comments:

Post a Comment