Wednesday, January 11, 2012

मातराको मज्जा

'दक्षिण एसियाली परिवेशमा द्वन्द्वको नजिकबाट अध्ययन गर्ने भए श्रीलंका स्वर्णभूमि हो।' त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकले भनेको यस वाक्यले श्रीलंका पुग्नुअघि नै राजेन्द्र सेन्चुरी, २५, लाई अझ बढी उत्सुक बनाएको थियो। श्रीलंकाको दक्षिणी छेउको तटीय सहर मातरा पुगेकै दिन त्यहाँको शान्त वातावरण र समुन्द्री किनारा देखेर सेन्चुरी छक्कै परे। उनमा कौतहूल थियो, शान्तिपूर्ण वातावरणको समाज कत्तिको शान्त होला ? रुहाना विश्वविद्यालयमा द्वन्द्व, शान्ति र विकासमा स्नातकोत्तर पढ्न पुगेका सेन्चुरीले विस्तारै यहाँको अध्ययन/अध्यापन शैली, तरिका र समाजका बारेमा भेउ पाउन थाले। 


सन् २००९ मा अन्त्य भएको झन्डै तीन दशक लामो जातीय द्वन्द्वपछि पनि त्यहाँका मानिसमा अझै आपसी द्वन्द्वको अवशेष भेटे उनले। विश्वविद्यालयमा पढ्न आएको एउटा तामिल साथीलाई सिंहालीको बहुसंख्या रहेको मातारा सहरमा डेरा खोज्न निकै सास्ती खेप्नुपरेछ। "साथीको सास्तीमा हामी नेपाली विद्यार्थीले सहयोग गर्‍यौँ," सेन्चुरी भन्छन्, "अन्ततः नेपालीहरूको रोहवरमा मात्र यहीँको नागरकि रहेको त्यो साथीलाई डेराको बन्दोबस्त भयो।" 




रुहाना विश्वविद्यालयमा अहिले नेपाली विद्यार्थीको राम्रो जमात बनिसकेको छ। र, मातरा सहरमा भेटिने नेपालीहरू पनि विद्यार्थीहरू मात्रै हुन्। बिरानो भूमि भईकन पनि नेपाली विद्यार्थीलाई त्यतिधेरै एक्लोपना महसुस गर्न पररिहेको छैन। "हामी त बुद्ध जन्मेको देशका नागरकि पर्‍यौँ नि !" प्रज्ञा गुरुङ, २२, भन्छिन्, "त्यसैले श्रीलंकालीहरू त हामीलाई गौतम बुद्ध नै आएजस्तो सम्मान गर्छन्।" श्रीलंकालीहरूले नेपालीहरूसँग गर्ने व्यवहार डेरा खोज्दादेखि नै झल्किन्छ। काठमाडौँमा महिनादिन डुल्दा पनि डेरा नभेटिने नियति खेपेका नेपाली विद्यार्थीलाई आफ्नो घरमा लैजान एकप्रकारको हानथाप नै हुन्छ यहाँका बासिन्दाबीच। "त्यसैले हामी यहाँ छिटोछिटो डेरा सररिहन्छौँ," प्रेमबहादुर विक मुसुक्क हाँस्दै भन्छन्, "मस्ती नै छ भन्नुपर्छ यहाँ।" विकले भनेझैँ चाडपर्वकै समयमा झन् मस्तीको सीमा नाघ्छ नेपाली विद्यार्थीहरूको। 'के के खान मन छ' भन्दै पहिल्यै सूची टिप्न आइपुग्छन् घरभेटीहरू। 


त्यही आत्मीयताले गर्दा बेलाबखत उनीहरूलाई विदेशी भूमिमा छु जस्तो नै लाग्दैन। मातरामा नेपाली युवकहरू दोन्द्रा स्टि्रटमा बस्छन् भने युवतीहरूको समूह बीचरोडमा। कोहीकोही नेपाली विद्यार्थी श्रीलंकाली विद्यार्थीहरूसँग डेरामा मिलेर बसेका छन्। कतिपय कुरामा नेपाली विद्यार्थीहरूको बानी नै फेरिएको छ मातरा बसाइले। सुरुसुरुमा केशव दाहाललाई आफ्नै कोठाबाट समुद्र देख्दा खूबै मज्जा लाग्थ्यो रे ! केही महिनासम्म दिनहुँ समुद्र किनारसम्म मर्निङ् वाक्मा जान्थे उनीहरू। त्यसैबेला उनीहरूले धेरै स्थानीयसँग परचिय गर्न पाए। र, अहिले त यहाँको पान पसलेदेखि अटोबालासँग समेत उनीहरूको उधारो चल्नेसम्मको सम्बन्ध बनिसकेको छ। बिहानै पाउरोटी बोकेर सानो भ्यान (चुम्पान) मीठो धुन बजाउँदै नेपाली विद्यार्थी बसेको स्थानमा आइपुग्छ। प्रायः विद्यार्थीले ब्रेकफास्टमा यही पाउरोटी लिन्छन्। बिहानको खाना भने प्रायः युनिभर्सिटीमा त साँझको घरमा पकाएर खान्छन् यिनीहरू। श्रीलंकामा तरकारी निकै महँगो छ। त्यसैले कतिपय विद्यार्थीले नेपाली खानाको स्वादका लागि बाहेक अरूबेला बाहिरको खाना नै सस्तो पर्छ। सुरुसुरुमा करिलिप्स (धनियाँजसरी प्रयोग गरिने पात) र नरविल तेलको स्वादमा अभ्यस्त हुन गाह्रो पथ्र्यो उनीहरूलाई। "तर, विस्तारै बानी पर्ने रहेछ," प्रतिभा भुसाल भन्छिन्, "कति नेपालीले नेपालबाटै मसला बोकेर ल्याउँछन्।" फुर्सदमा उनीहरू घरमै समोसा र मःम पनि बनाउँछन् र नेपाली परिकारको स्वाद फेर्छन्।


अस्मिता पौडेललाई श्रीलंका आएपछि सबैभन्दा राम्रो लागेको कुराचाहिँ आफूले सोचेजस्तो तरिकाले पढ्न पाउनु हो। कारण, नेपालमा जस्तो दैनिक कलेजले छुट्याउने समयमा कलेज पुगेर जबरजस्ती पढ्नैपर्ने नियम यहाँ छैन। उनी थप्छिन्, "कक्षाको समयतालिकादेखि कसरी पढ्ने भन्ने योजना हामी नै बनाउँछौँ।" जस्तो गृहकार्यहरू धेरै हुँदा सातामा कहिलेकाहीँ जम्मा दुई दिन मात्र पनि पढाइ हुन सक्छ भने कहिलेकाहीँ आइतबारसमेत छुट्टी हुँदैन। कक्षाहरूसमेत कहिलेकाहीँ पाँच घन्टासम्मका लामा हुन्छन्। "सायद द्वन्द्व पढ्न आएका विद्यार्थीहरू शान्तसँग पढून् भनेर यसो गरिएको होला," ममिता तामाङ भन्छिन्, "यहाँ पढ्ने र पढाउने तरिका विद्यार्थीको योजनामा भर पर्छ। नेपालमा भन्दा बिल्कुल फरक छ यो।"


द्वन्द्वको पढाइ विचित्रको लाग्थ्यो राजेन्द्र सेन्चुरीलाई काठमाडौँमा पढ्दा। न ठ्याक्कै यही भन्ने पाठ्यक्रम छ, न त यो नै पढ्ने भन्ने पुस्तक। "साइको बनाउँथ्यो," उनी ती दिन सम्झन्छन्, "तर, यो विषय पढ्ने कसरी रै'छ भन्ने बल्ल बुझ्दैछौँ।" केही समयअघि त्यही अध्ययनका लागि उनीहरू तमिल युद्धताका सबैभन्दा बढी क्षति बेहोरेको मध्येको एक पूर्वी प्रान्तको बाटिकोलावा पुगेर सातादिन बिताएका थिए। त्यसबेला गरिएको स्थानीयहरूसँगको साक्षात्कारले उनीहरूलाई एउटा बेग्लैखाले द्वन्द्वसँग परिचित बनायो, जसलाई उनीहरूको भाषामा 'भर्टिकल द्वन्द्व' भनिन्छ। यस्तो प्रकारको द्वन्द्वमा साना नागरकिदेखि उच्च तहका व्यक्तिहरूसम्म निसानामा पर्छन्। तामिल र सिंहालीबीच भाषिक असमानताबाट सुरु भएको श्रीलंकाली द्वन्द्वलाई समयक्रममै वैज्ञानिक ढंगबाट समाधान गर्न नसक्दा त्यसले ठूलो नरसंहारको रूप लिन पुग्यो। त्यही जातीयताको मुद्दाले गर्दा तमिलहरू नाजीपछिका सबैभन्दा खतरनाक सैनिकका रूपमा दरिए पनि। "जब द्वन्द्वका यस्ता पक्षको नजिक भएर अध्ययन गरिन्छ, आँफै थप अध्ययनका लागि उत्प्रेरणा जाग्न थाल्दो रहेछ," विक अनुभव सुनाउँछन्, "यसका कतिपय पक्षबाट नेपालले पनि पाठ सिक्न सक्छ। हामी पनि पुनःसंरचनाको सँघारमा छौँ।"


अलिक लामो छुट्टी भयो भने नेपाली विद्यार्थी श्रीलंकाका विभिन्न ठाउँ चहार्न हिँड्छन्। सानो देश, त्यसमाथि चुस्त रहेको बस यातायातले झनै श्रीलंका घुम्नुको रौनकता थप्छ। झन्डै एक दिन वा एक रातको यात्रामा श्रीलंकाको जुनकुनै ठाउँ पुग्न सकिन्छ। श्रीलंकालीहरू त्यसैले बस चढ्न बढी रुचाउँछन्। निगोम्बोको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाहेक देशभित्र अन्य केही स्थानीय विमानस्थल भए तापनि धेरैजसो सैन्य प्रयोजनमा लगाइएका छन्। कोलम्बोको विमानस्थलबाट झन्डै दुई सय किलोमिटर दक्षिणमा रहेको विश्वविद्यालय पुग्न बसले पाँच घन्टा मात्र लगाउँछ। पूणिर्मा बस्नेत, २२, भन्छिन्, "नेपालभन्दा बढी घुमिसकियो श्रीलंका। सायद पढाइ सक्दासम्ममा लगभग पूरै घुमेर सकिएला।" सप्ताहन्तमा धेरैजसो नेपाली विद्यार्थी समुद्री किनारमा रमाउँछन्। उनी भन्छिन्, "हाम्रो देशमा समुद्र नभएर पनि होला, किनारमा हामी बहुत खुसी हुन्छौं।"

त्रिभुवन विश्वविद्यालयले सन् २००७ मा द्वन्द्व, शान्ति तथा विकास अध्ययन विभाग स्थापना गरेपछि नर्वेको युनिभर्सिटी अफ लाइफ साइन्स र श्रीलंकामा सोही विषय पढाइ हुने दुई विश्वविद्यालयहरू इस्टर्न युनिभर्सिटी, बाटीकोलावा र रुहाना युनिभर्सिटी, मातरासँग मिलेर यस विषयलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पढाउने अभ्यास थालिएको थियो। यसकै फलस्वरूप बर्सेनि सात/सात जनाले पूर्ण छात्रवृत्तिमा नेपाल र श्रीलंकाबाट स्नातकोत्तरको दुई सेमेस्टर साझेदार मुलुकमा गएर पढ्न पाउँछन्। यसबाहेक बाँकी रहेको सिट संख्यामा समेत आफ्नै खर्चमा नेपालबाट श्रीलंका आएर पनि यो विषय पढ्न सकिन्छ। "सशस्त्र द्वन्द्व झेलिसकेका दक्षिण एसियाका दुई मुलुकहरू अहिले शान्ति प्रक्रियामा गएसँगै झन् यस विषयको सान्दर्भिकता बढेको छ," त्रिवि अन्तर्गतको यस विभागका प्रमुख हेम सुवेदी भन्छन्, "यी फरक-फरक पृष्ठभूमिमा भएका दुई देशका ठूला आन्तरकि द्वन्द्वहरूको सन्देश बाहिरी दुनियाँलाई दिनसमेत यसरी विद्यार्थी र प्राध्यापकहरू साटासाट गरेर पढ्ने काम प्रभावकारी हुन्छ।" 

जे भए पनि मातरामा नेपाली विद्यार्थीले नयाँ तरिका सहित द्वन्द्व विषय पढिरहेका मात्र होइन, लामो युद्धबाट गुज्रेको श्रीलंकाली समाजलाई बुझ्ने मौका पनि पाएका छन्। 

No comments:

Post a Comment