Thursday, April 5, 2012

पार्टनर खोज्ने प्रवृत्ति

युवतीहरू,
सोझा युवकसँग फ्ल्र्ट गर्छन्

सुन्दर युवकसँग रमाइलो गर्छन्
आकर्षक युवकसँग मित्रता गर्छन्
बौद्धिक युवकसँग सम्पर्कमा रहन्छन्
विश्वासिलो युवकसँग प्रेम गर्छन्
र, धनी युवकसँग बिहे गर्छन् 

सामाजिक सञ्जाल फेसबुकमा फैलिएको माथिको स्ट्याटसले अहिले राम्रो संख्यामा सेयरिङ, लाइक्स र कमेन्ट पाइरहेको छ। युवकहरू 'होमा हो' मिलाइरहेका भेटिन्छन् भने युवतीहरूले 'सबै कहाँ त्यस्ता हुन्छन् र !' भनिरहेका देखिन्छन्। "त्यो त मान्छे अनुसार फरक पर्छ नि !" लिभरपुल इन्टरनेसनल कलेज, नयाँ बानेश्वरमा अध्ययनरत प्लस टूकी विद्यार्थी रञ्जु अधिकारी, १६, भन्छिन्, "तर पनि प्रेमका नाममा अचेल युवतीहरू पनि निकै स्वार्थी बन्न थालेको भने केही हदसम्म सही हो।" 

हुन पनि हो, अचेल कलेज छिर्दा नछिर्दै युवकयुवतीहरू आफ्ना लागि योग्य पार्टनर खोज्न थाल्छन्। मनोरञ्जन कम्पनी आइडिया फ्याक्ट्रीका म्यानेजर विष्णु सुवेदी भन्छन्, "पहिलेपहिलेजस्तो लभ अचेल आफैँ हुनुपर्छ भन्ने हुँदैन, यो त पार्नुपर्छ।" त्यसैले अचेल हुने धेरैजसो प्रेम आकर्षणबाट सुरु हुन्छन् र पछि मात्र एकअर्कालाई बुझ्न थाल्छन्। सुवेदी थप्छन्, "पछि मन मिल्यो भने त ठीकै छ, नत्र धेरै ब्रेकअप एकअर्काका भावनालाई बुझ्न नसकेरै हुन्छन्।" विष्णु स्वयंको प्रेम तीन महिनाअघि यस्तै कारणले टुंगिएको रहेछ। "मैले फोन गर्दा धेरैपटक लामो समय फोन व्यस्त हुन थाल्यो," उनी कारण खुलाउँदै भन्छन्, "एकपटक कोसँग छौ भनेर सोध्दा एक्लै भनिन् तर बाइक लिएर हेर्न जाँदा बाटोमा अर्को साथीसँग हिँडिराखेको देखेँ, जतिबेला ऊ आत्तिई।" यदि नियत राम्रो छ भने अरू युवकसँग हिँड्नै नहुने भन्ने आफ्नो धारणा नभए पनि उनीहरूका झूटले शंका बढाउने विष्णु ठान्छन्। 


तन्नेरीहरूले आपसमा आफ्ना पार्टनरलाई विश्वास गर्न नसक्दा यस्ता थुप्रै मतभिन्नता सिर्जना हुने गर्छन्। तर, व्यावसायिक मोडलका रूपमा काम गरिराखेकी ज्यास्मिन तामाङ, २०, भने त्यसमा युवकहरूको शंका मात्र गर्ने बानीलाई दोष दिन्छिन्। भन्छिन्, "पहिले उनीहरूकै नियत राम्रो हुँदैन र युवतीलाई मात्र बढी शंका गर्छन्।" प्रेमलाई 'टाइमपास' र मोजमस्तीकै रूपमा मात्र हेर्ने युवकहरू आफ्नी गर्लफ्रेन्ड साथमा हुँदासमेत सँगैसँगै अर्कीलाई पट्याउन माहिर हुन्छन् भने गर्लफ्रेन्डका साथीहरूतिर समेत आँखा गाडिरहेका भेटिने ज्यास्मिन बताउँछिन्। कलेजबाहेक बिहे/भोजजस्ता विभिन्न सार्वजनिक समारोहमा, क्लब र साथीहरूले गर्ने गेट-टुगेदर युवकयुवतीका लागि पहिलो जम्काभेट हुने स्थान र अवसर हुन्। फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमा पहिले भर्चुअल रूपमै साथी बनेर, पछि प्रत्यक्ष भेट्नेहरू पनि छन् अहिले। त्यसैले समाजशास्त्री मृगेन्द्रबहादुर कार्की दुई दशकयता खुला रूपमा ब्वायफ्रेन्ड/गर्लफ्रेन्ड बनाउने चलन बढेको ठान्छन्। भन्छन्, "हामीकहाँ पहिले प्रेमका लागि वातावरण बन्ने ठाउँ नै कम थिए। जमघटका लागि स्कुल थिएनन्। कार्यालयहरूमा अहिलेजसरी धेरै महिला हुँदैनथे।" 



अचेलका तन्नेरीहरू पहिलो भेटमै प्रेमको संकेत भेट्छन्। त्यतिबेला युवतीहरूमा युवकको ड्रेसअप र प्रस्तुतीकरणले फस्ट इम्प्रेसनको काम गर्ने ज्यास्मिन बताउँछिन्। तर पनि धेरैजसो युवती त्यस्तो अवस्थामा आफैँ गएर परचिय भने गर्दैनन्। त्यसो गरेको युवकहरूले समेत मन नपराउने उनीहरू ठान्छन्। ज्यास्मिन थप्छिन्, "त्यसको अर्थ जोकोही आएर बोलिदेओस् भन्ने पनि होइन, उसको परचिय गर्ने शैलीमै धेरै हदसम्म उसको नियतसमेत झल्किन्छ।" र, कतिपय अवस्थामा युवतीहरू स्वयंसमेत विभिन्न तरिकाले बोल्न चाहेको संकेत दिन्छन्। अचेल धेरै युवतीको रोजाइ अग्ला युवक हुन्। युवतीहरूले युवकमा हेर्ने अर्को प्रमुख गुण उसको ड्रेसअप हो। आफ्नो ब्वायफ्रेन्ड समय परिस्थिति अनुसार औपचारकि र रफटफ दुवै खाले पहिरनमा देखिन सकोस् भन्ने युवतीहरूको इच्छा हुन्छ। आइडियल कलेज, काठमाडौँबाट प्लस टू सकेकी समी श्रेष्ठ, १९, भन्छिन्, "मलाई त हिपहप ड्रेसअप गर्ने केटा कुल लाग्छ।" तर, ड्रेसकै मामिलामा युवकहरू भने युवतीजत्तिको धेरै नै चासो नराख्ने भेटिन्छन्। त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर गर्दै गरेका कमल कँडेल भन्छन्, "सिम्पल होस् तर राम्रो नि देखियोस् भन्ने हो। केटीहरू कसलाई के लगाउँदा राम्रो हुन्छ भन्नै सकिन्न।" त्यसबाहेक कमल युवतीको स्वभावलाई महत्त्वपूर्ण कुरा ठान्छन्, जसले  सुन्दरतालाई खुलाउँछ। उनी थप्छन्, "कोहीकोही युवती राम्री छु भन्दैमा बढी घमन्डी पनि हुन्छन्, जसले उनीहरूको सुन्दरता बिगार्छ।" त्यसैले अचेल युवकहरू सुन्दरता र सरलता दुवै भएकी युवतीलाई आफ्नो पार्टनरका रूपमा खोज्छन्। युवकहरूलाई सुरुमा युवतीको चञ्चलता खुबै मन पर्छ। तर, सम्बन्ध बढ्दै जाँदा त्यो त्यसै गरी मन नपराउने युवकहरू पनि हुन्छन्। "समय अनुसार चल्न जानेको होस्," विष्णु भन्छन्, "कहिलेकाहीँ केही समस्या र तनावमा हुँदासमेत युवतीहरूले उही चकलेटी पारा देखाउँछन्, जसले दिक्क पार्छ।"



बनावटी कुरा बोल्ने बानी युवक-युवती दुवैमा पाइन्छ, अचेल। सुरुसुरुमा त 'आकाशको तारा झार्छु' जस्ता भनाइसमेत उत्तिकै प्रयोगमा आउँछन् प्रेमी-प्रेमिकाहरूबीच। "त्यस्ता कुरा गर्ने पनि एउटा समय हुन्छ," क्यास्पियन कलेज, कुमारीपाटीका परीक्षा संयोजक सुरज पाण्डे, २४, को भनाइ छ, "कतिपयले यस्तो बानी सुधार गर्दै लैजान्छन् पनि।" भेटमा भन्न नसक्ने वा भन्न नचाहने कुराहरू रात परेपछि फोनमा लामो समय खर्चेर विनिमय गर्ने चलन पनि त्यत्तिकै बढ्दो छ। सुरजको अनुभवमा युवतीहरू फोनभन्दा मिसकल नै बढी गर्छन्। फोनकै मामिलामा युवकहरू अलि बढी नै 'क्रेजी' हुने बानीले रञ्जुलाई भने कहिलेकाहीँ दिक्क लाग्छ। उनी प्रश्न गर्छिन्, "मध्यरातमा मस्त सुतिराखेका बेला फोन गर्ने हो त ?" उनले त्यसो भनिरहँदा छेवैमा बसिरहेका कमल जोड्छन्, "तिमीहरूको बानी नि थाहा छ, कहिलेकाहीँ दिउँसो काममा हुँदासमेत मिसकलका ओइरो कम्ता बर्साउँछौ?" ज्यास्मिनलाई अचेल लाग्न थालेको छ कि साँचो प्रेम गर्ने मान्छे धेरै प्रेमको कुरा गर्दैन र आफ्नो कुरा पनि उत्तिकै बाँड्छ तर जो केही स्वार्थ लुट्न मात्र पल्केको छ, ऊ अलि बेसी नै प्रेमका कुरा गर्छ र आफ्ना कुरा राम्रोसँग बाँड्नसमेत खोज्दैन। स्वार्थका लागि मात्र प्रेम गर्नेहरू आश्वासनको कुरा बढी गर्छन् र खालि भेट्न मात्र खोज्छन्। युवतीहरू आफ्ना कुरा युवती साथीलाई नै कम सुनाउँछन्। कारण, आफ्नो मित्रतामा केही तलमाथि पर्दा युवतीहरूबीचबाटै त्यस्ता गोप्य कुरा बढ्ता बाहिरिन्छन् । त्यसकै कारण त्यस्ता कुरा सुनाउने पार्टनरको रूपमा आफ्नो ब्वायफ्रेन्डलाई रोज्छन् उनीहरू। यद्यपि, कहिलेकाहीँ प्रेमसम्बन्धमा नै समस्या आइपर्दा तिनै कुरालाई लिएर यस्ती/उस्ती भन्दै हिँड्ने युवकहरूको बानी साह्रै नराम्रो हुन्छ। अझ कोही त 'मेरो नभएपछि अरूको पनि हुन दिन्न' भन्दै नभएका कुरासमेत जोडेर बजारमा नानाथरी हल्ला गर्दै हिँड्छन्। 



समीलाई मन नपर्ने युवकहरूको अर्को बानी एकअर्कालाई बुझ्दै नबुझी 'प्रपोज' गर्न हतारिने हो। भन्छिन्, "त्यस्तो बेला स्वीकार कसरी गर्ने ? अस्वीकार कसरी गर्ने सोचेरै तनाव हुन्छ।" प्रेमका लागि एकअर्कालाई बुझ्न धैर्य नगर्ने क्षमता नै युवकहरूको कमजोरी ठान्छन् समीजस्ता युवतीहरू। धूमपान/मध्यपानको असर थाहा पाउँदापाउँदै त्यस मामिलामा पछिल्लो पुस्ता केही लचिलो बन्दै गएको छ। ज्यास्मिनकै कुरालाई आधार मान्दासमेत उनी कहिलेकाहीँ पार्टीहरूमा आफूले समेत डि्रंक्स गर्ने र आफ्नो पार्टनरको त्यस्तो बानीलाई ठूलो समस्या नठान्ने स्वीकार्छिन्। भन्छिन्, "यो त अब एउटा स्ट्यान्डर्डजस्तो नै भइसक्यो।" ज्यास्मिनझैँ कमलसमेत आफ्नी गर्लफ्रेन्डले त्यसो गर्दा केही फरक नपर्ने प्रतिक्रिया दिन्छन्। 



कतिपय युवक आफ्नी श्रीमतीले घरको काम मात्र गरोस् भन्ने चाहन्छन्। तर, नयाँ पुस्ताका युवतीहरू आफूलाई स्वतन्त्र भएको स्वीकार्ने पार्टनर खोज्छन्। केहीमा अझै पनि श्रीमान्ले नै सबै कुराको नेतृत्व गरोस् भन्ने भावनासमेत हुन्छ। तर पनि घरभित्र र बाहिर सबै खाले माहोलमा भिज्नसक्ने पार्टनर नै धेरैको रोजाइमा पर्ने रञ्जु बताउँछिन्। अहिलेको पुस्ताको प्रेमसम्बन्ध धेरै हदसम्म शारीरकि आवश्यकतासँग समेत जोडिएको हुन्छ। त्यसैले  तन्नेरीहरू 'लङ् डिस्टेन्स रलिेसनसिप'मा विश्वास राख्दैनन्। युवकयुवतीको प्रेम, मनोदशा र प्रवृत्ति देख्दा लाग्छ, तन्नेरी पुस्ता अलिक फास्टफुड शैलीको प्रेममा विश्वास गर्न थालेको छ। 


'एकैपटक खोज्ने बानी नराम्रो’


अचेलका अभिभावक आफ्ना सन्तानलाई स्वतन्त्र व्यक्तिका रूपमा हुर्काइरहेका छन्। यसले गर्दा नयाँ पुस्ता सानै उमेरदेखि प्रेममा पर्दैछ। तर, हामीकहाँ प्रेम वास्तविक मर्मभन्दा पनि फेसनका रूपमा बढी फैलिन थाल्यो। अहिलेको पुस्ता सूचनाप्रविधिको विकासले गर्दा निकै छिटो हुर्कन पायो। अझ यस मामिलामा युवतीहरूमा आएको परविर्तन झनै उत्साहपद छ। उनीहरू निकै खुलस्त हुन थालेका छन्। तर, यसमा समस्याहरू पनि देखिन थालेका छन्। यो पुस्तामा सबै कुरा एकैपटक खोज्ने नराम्रो बानी परेको छ। उनीहरू नाम, पैसा, मोजमस्ती, फेसन सबै एकैपटक होस् भन्ने सोच्छन्, जुन केही गरी पनि सम्भव हुँदैन। 



प्रेमको मामिलामा परिवार बुझ्ने खालको छ भने त्यस्ता परिवारका सदस्यले नहतारइिर्कन प्रेम गर्छन्, जुन दिगो र बलियो हुन्छ। हामीकहाँ सन्तान प्रेममा पर्‍यो भन्दैमा आकाश नै खस्यो भन्ने पनि छ। तर, राम्रो प्रेमले उसकै भलाइसमेत गर्छ भन्ने हामीले बुझ्नुपर्छ। उसमा केही समस्या आए गर्लफ्रेन्ड/ब्वायफ्रेन्डकै माध्यमबाट सुल्झाउनसमेत सहज हुन्छ। आफू कसैको प्रेममा पर्दा पार्टनरसमेत त्यसै गरी प्रेममा छ कि छैन भन्ने जान्नु निकै आवश्यक छ। नत्र पछि त्यही नै ठूलो समस्या बन्छ। सानैमा धेरैपटक प्रेममा असफल हुँदै गयो भने जोकोहीको आत्मविश्वास घट्न पुग्छ र जीवनसमेत डामाडोल हुन्छ। 



(लामो समयसम्म युवाहरूसँग काम गरेकी र हाल विश्व वन्यजन्तु कोषमा कार्यरत मल्लसँगको कुराकानीमा आधारित)


No comments:

Post a Comment