Sunday, April 29, 2012

अश्लिल साइटको यात्रा


अमेरिकी पोर्न उद्योगकी स्टार सन्नी लियोन, ३०, टेलिभिजन सो ‘बिग बोस’मा सहभागि हुन भारत आउने हल्ला चल्न थालेदेखि नै त्यहाँ एकखाले तहल्का शुरु भएको थियो । तर त्यसको असर छिमेकी देशहरुमा समेत उस्तैगरी पर्‍यो । बंगलादेश र पाकिस्तानमा सबैभन्दा बढ्ता गुगलमा खोजिएको सेलिब्रेटी बनेकी लियोनको सर्चदर नेपालमा समेत पछिल्लो झण्डै साढे ३ महिनामा १५० प्रतिसतले बढ्यो । यसरी नेपाली नेटिजन्समा लियोनप्रति आकासिएको मोह नेपालीको पोर्न रुचि दर्शाउने राम्रो सूचक हो । 

नेपालमा इन्टरनेट भित्रिएको दुई दशक (सन् १९९४ मा भित्रिएको हो) पनि भएको छैन । अझ त्यसमाथि साधारण नेपालीले सर्वसुलभ ढंगबाट इन्टरनेट चलाउन थालेको इतिहास एक दशकभन्दा कमको छ । तर पनि यसबिचमा इन्टरनेट चलाउने गति यति दू्रत गतिले बढ्यो कि पोर्नको स्वाद चाख्ने कुरा नेपालीहरुको लागि समेत अब ठूलो रहेन । विश्वबैंकले सन् २०११ म सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०१० सम्ममा नेपाललमा कुल जनसङ्ख्याको ६.८ प्रतिसतमा इन्टरनेटको सहज पहुँच पुगेको छ जुन सन् २००९ बाट २०१० सम्ममा आइपुग्दा १६० प्रतिसतले बढेको थियो भने सन् २०१० बाट सन् २०११ म ७४ प्रतिसतले । यो जमात भनेको मुलत: शिक्षित युवा र शहरीया अधबैसे वर्ग हो जसकै जुन इन्टरनेट सञ्जालमा पोर्न सामाग्रीको उपभोक्ता हो । 
त्यसैले पछिल्लो समय इन्टरनेटमा पोर्न सर्चको मामिलामा नेपाल समेत अगाडि देखिन थालेको छ । गुगल इन्साइटको विवरणका अनुसार सन् २०११ लाई हेर्ने हो भने सबैभन्दा बढि गुगलबाट खोजिएका सेक्सजडित कि–वर्डहरुमा ‘फ्रि–सेक्स’, ‘नेपाली सेक्स’, ‘सेक्स भिडियोज’, ‘इण्डियन सेक्स’, ‘सेक्सी’, ‘सेक्सगर्ल’, ‘हटसेक्स’, ‘पोर्न सेक्स’ पाइन्छन् । त्यसबाहेक नेपालबाट समग्र सर्चदर बढिरहेका कि–वर्डहरुमध्ये समेत दशमध्ये आधाजसो पोर्न सामाग्री हेर्ने उद्देश्यबाट प्रेरित छन् । ‘सेक्स फार्मर’, ‘सेक्स टोय’, ‘सन्नी लियोन’, ‘सेक्स डटकम’ र ‘सेक्सीयेष्ट भिडियो’ सर्चदर बढिराखेका त्यस्ता शब्दहरु हुन् । त्यसबाहेक अर्को रोचक तथ्य के छ भने सन् २००४ यता नेपालमा यसरी सेक्ससँग जोडिएका सामाग्री खोज्ने दर निरन्तर बढिमात्र रहेको छ । स्मार्टफोनको प्रयोगसँगै झन् इन्टरनेटमा पोर्न सर्च बढेको हो । घरमा वा सार्वजनिक ठाउँमा हेर्न असहज हुनेका लागि अहिले यो सबैभन्दा राम्रो विकल्प बनेको छ । प्लसटुका विद्यार्थी किरण महत (नाम परिवर्तन) भन्छन्, ‘शिक्षक नहुँदा त्यसैले कक्षाकोठाभित्रै समेत पोर्न साइट हेरिन्छ ।’

यस्ता सामाग्री बढि हेर्ने जमात प्लसटु पुस्ता हो । कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान) का पूर्वअध्यक्ष विप्लवमान सिंह यसलाई यौन आवश्यकता पुरा गर्न नपाउँदा मानिसहरुले रोज्ने विकल्पको रुपमा हेर्छन् । भन्छन्, ‘हाम्रो समाजमा यसलाई सहज रुपमा लिन नसकिएको मात्र हो ।’ यौन दबाएर रोकिने कुरा होइन । विप्लव स्वयं आफ्ना कलेजका दिन सम्झन्छन् जतिबेला उनीहरु लुकेर काठमाडौंको गुच्चाटोल, मखन र महाबौद्धमा पोर्न भिडियोहरु हेर्न जान्थे । यी भेग उतिबेलादेखि नै घरको कोठाभित्र टेलिभिजन राखेर फिल्म हेर्ने ठाउँका रुपमा चर्चित थिए । भिसिआर चक्काहरु चल्ने जमानाको कुरा हो यो । त्यस्ता ठाउँलाई राम्रै फिल्म देखाउने ठाउँको रुपमा चर्चित गराइएता पनि युवाहरु जम्मा भएपछि बिचमा थप पैसा लिएर पोर्न चलचित्र देखाइन्थ्यो । त्यस्ता ठाउँमा यसरी ब्लु फिल्म देखाइन्छ भन्ने थाहा पाएपछि तन्नेरीहरु आफै समूहमा समेत हेर्न आउँथे । अझ त्यसबेला त्यस ठाउँका गल्लीहरुमा थुप्रै एजेन्टहरु समेत हुन्थे जसले त्यता आएर एकैछिन टोलाउने युवाहरुलाई आँफै ‘हेर्ने हो ?’ भन्दै लैजान्थे । सिंह भन्छन्, ‘मात्र डिजिटल प्रविधिमा कुराहरु रुपान्तरण भएका हुन्, नत्र सेक्समोह भन्ने कहिल्यै बढि वा कम हुने होइन ।’

ब्लु फिल्मका चक्काहरु समेत आइनसकेको बेला काठमाडौंका सम्रान्त परिवारका व्यक्तिहरु विदेशबाट नाङ्गा पोस्टकार्डहरु मगाउँथे । यौनसम्बन्धी भारतिय उपन्यासहरुको बजार समेत काठमाडौंमा राम्रो थियो । पहुँच हुने थुप्रै महिलाहरुको नाङ्गा तस्विर समेत हुने अमेरिकी म्यागेजिन ‘प्लेब्वाय’को ग्राहक बनेका थिए । 
तर अहिले कुनै निश्चित साइटको वेवलिंक समेत थाह हुनु नपर्ने ‘सर्च इन्जिन’को जमाना आइसकेको छ जहाँ आफूले कस्तो प्रकृतिको पोर्न सामाग्री हेर्ने हो त्यससम्बन्धी ‘मिल्दाजुल्दा’ शब्द हालेकै भरमा लाखौं अप्सनसाथ नतिजाहरु तपाईसम्म आइपुग्छ । सर्च इञ्जिनमार्फत पोर्न सर्च गर्नु सहजता मात्र कारण नभईकन त्यसले हरेक सेकेण्ड अपडेट र चर्चित भइराखेका नयाँनयाँ र फरक स्वादका पोर्न सामाग्रीसम्म लैजानु पनि हो । उता गुगल ट्रेन्डले दिने तथ्यांकले गुगलमा खोजिएका किवर्डहरुको कुन देशबाट बढि खोजिए भन्नेमा मात्र केन्द्रित हुन्छन् जसले उक्त देशको जनसङ्ख्या अनुपातलाई हेर्दैन त्यसैले बढि नै मात्रामा पोर्न सर्च भएता पनि ससाना देशहरु अग्रपंक्तिमा देखिन्नन् । तर पनि सेक्ससँग जोडिएका कतिपय किवर्डहरुमा नेपाल नै अग्रपंक्तिमा छ । ‘भेजिना’, ‘न्याकेड’ जस्ता केही किवर्डहरु विश्वभरमा सबैभन्दा बढि नेपालबाटै सर्च भएका देखिन्छन् । 

गुगल ट्रेन्डको नतिजाको अर्को रोचक पक्ष के छ भने कुनै देशबाट सर्च हुने किवर्डहरुको प्रकृतिले त्यस देशका व्यक्तिहरु कस्तोखाले सेक्समा अभ्यस्त छन् वा रुचाउँछन् भन्ने जानकारी दिन्छ । नेपालबाट सर्च हुने शब्दहरु भने धेरैजसो यौनाङ्ग हेर्नमै केन्द्रित पाइन्छ । त्यसबाहेक सेक्सका शैलीहरुमा जसरी पश्चिमा मुलुकहरु र विकसीत एसियाली मुलुकहरु सेक्सभित्र पनि विशिष्ठ कुराहरु खोज्छन् जुन हाम्रोमा भने साधारण सेक्समै केन्द्रित छ । पश्चिमा मुलुकहरुबाट अधिकतम प्रयोग गरिएका किवर्डहरु हेर्दा उनीहरुको रुचि अलिक अराजक वा ‘वाइल्ड’ सेक्समा पाइन्छ । अमेरिकामा हेर्ने हो भने समलिङ्गी सेक्ससँग जोडिएका कि–वर्डहरु समेत उत्तिकै चर्चित छन् भने उनीहरु सेलिब्रिटीका सेक्सकथा जान्न समेत बढि उत्सुक देखिन्छन् । त्यस्तै बेलायतमा सेक्सगेम समेत उत्तिकै बढि सेक्ससँग जोडिएर आउने किवर्ड हो । उनीहरु विभिन्न खाले सेक्स आसनका लागि समेत पोर्न सर्च बढ्ता गर्छन् । तर नेपालबाट भने महिलाहरुसँग जोडिएका पोर्न सामाग्री बढि खोजिएका पाइन्छन् जसको कारण इन्टरनेटसम्म पहुँच भएको ठूलो नेपाली जमात पुरुषहरु हुनु पनि हो ।
पोर्न सामाग्री युवा जमातमा आफ्नो प्रेमी/प्रेमिकाबिच ‘यौन सम्पर्कका लागि आग्रह’ गर्ने शैलीको रुपमा समेत बढिराखेको छ जहाँ यस्तै सामाग्री एकअर्कालाई देखाएर सेक्स अपिल गर्ने शैली बढ्दो छ । 

युवा जमात मात्र होइन  उमेर छिप्पीसकेका व्यक्तिहरुमा समेत यसको प्रभाव पाइन्छ । उनीहरुमा समेत आफ्नो पार्टनरका लागि विभिन्न यौन आसनको जानकारी दिने उद्देश्यमा यस्ता साइट हेरिन्छन् । चर्चित सेलिब्रेटीका ‘सेक्सी’ तस्विर हेर्ने रहरले हुने सर्च सबै उमेर समूहका व्यक्तिहरुमा रहने यौन मनोविज्ञहरु बताउँछन् । गुगल सर्चमा सेलिब्रिटीका नाङ्गा तस्विर खोजिने क्रम बढेपछि अहिले थुप्रै त्यस्ता पोर्न साइटहरु समेत इन्टरनेट सञ्जालमा आएका छन् जसले त्यस्ता सेलिब्रेटीको टाउको जोडेर बाँकी नङ्गो शरीर उस्तै उचाइ र मोटाई भएको व्यक्तिको राखिदिन्छन् जुन सहजै फरक छुट्याउन गाह्रो पर्छ । नेपालीहरु इन्टरनेटमा पोर्न सामाग्री हेर्ने मामिलामा भिडियोमा भन्दा तस्विरहरुमा बढि केन्द्रित हुने गर्छन् । जसका लागि यहाँको इन्टरनेटको ‘स्पिड’ र सहज क्रेडिटकार्ड सेवा नहुनु हो । यद्यपि पैसा तिर्नु अगावै त्यस्ता पोर्न साइटहरुको ‘टुर’ नि:शुल्क गर्ने पाइन्छ जसमै प्राय: नेपाली नेटिजन्सहरु सन्टुष्ट हुनेगर्छन् । 

पछिल्लो समयमा थुप्रै नेपाली पोर्न साइटहरु पनि इन्टरनेट सञ्जालमा भेटिन थालेका छन् । नेपालबाट आधिकारीक रुपमा डोमेन लिएर पोर्न साइट चलाउन नपाइने हुँदा धेरै नेपाली पोर्नसाइटहरु ब्लगस्पट, वर्डप्रेसजस्ता सबडोमेन भएका साइटमा भेटिन्छन् जुन इमेल एकाउण्ट खोलेजसरी सहजै खोल्न सकिन्छ । त्यसमा थुप्रै स्वदेशी अश्लिल शब्दहरु प्रयोग भएका भेटिन्छ जसले गर्दा त्यस्ता स्वदेशी भाषाका किवर्ड समेत चर्चित भइसकेका छन् जसमार्फत समेत प्रशस्त अश्लिल सामाग्रीहरु भेटिन थालेका छन् । गुगल ट्रेन्डमै त्यस्ता केही स्वदेशी अश्लिल शब्दहरुको सर्च अवस्था हेर्दा त्यसमा स्वभाविक रुपमा नेपाल पहिलो त हुने नै भयो, त्यसबाहेक त्यस्ता किवर्डहरु सर्च हुने अन्य हुने दश शीर्ष मुलुकहरुमा समेत नेपालीहरु ठूलो मात्रामा श्रम गर्न जाने मलेसिया, संयुक्त अरब इमिरेट्स, कतार, बहराइनजस्ता मुलुकहरु छन् । 
तर यौन मनोविज्ञहरु पोर्न साइटको मामिलामा सबैभन्दा ठूलो समस्या बालबालिकालाई प्रयोग गर्नु र बालबालिकालाई देखाउनु मान्छन् । बालबालिकालाई प्रयोग गर्दा बालअधिकार हननसँगै हेर्नेहरुले बालबालिकाप्रति गर्ने व्यावहारमा यौनभाव जोडिने र बलात्कारका घटनाहरु घट्ने गर्छन् । त्यसबाहेक उनीहरुले पोर्न सामाग्री हेर्दा अपरिपक्व मस्तिस्कमा त्यस्ता कुराहरु मात्र जोडिने समस्या हुनेगर्छ । ‘यसले धेरै किशोर/किशोरीहरुमा त्यसमै डिपेन्डेन्सी बढाएको पाइन्छ जुन मनोवैज्ञानिक रुपबाट हेर्दा समस्याको जड बन्नपुग्छ’, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका मनोचिकित्सक डा सरोज ओझा भन्छन्, ‘यसले यौनशिक्षाको रुपमा समेत कतिपय अवस्थामा काम गर्नेगरेता पनि किशोरावस्थामा हेर्नेले त्यसरी लिंदैन र विकृत दिशातर्फ उन्मुख हुन्छ ।’ पारिवारिक घुलमेल र जमघटहरु कम हुने र अभिभावकको स्याहारसुसार राम्रोसँग नपाएका तन्नेरीहरुमा नै यस्ता साइटप्रति लत बसालेका हुन्छन् । जसले पछि घूमपानतर्फ समेत मोड्ने सम्भावना हुने मनोचिकित्सक ओझा बताउँछन् । त्यसैले कतिपयले हाम्रो यौन शिक्षा सानैदेखि डिजिटलाइज हुनुपर्छ भन्ने तर्क राख्नछन् जसले गर्दा अब हुर्कने पुस्ताले यसलाई ‘त्यतिधेरै ठूलो कुरा’ नसोचोस ।

त्यसैले नेपालमा बेलाबखत यस्ता साइटमाथि प्रतिबन्ध (ब्लक) गरिनुपर्ने कुराहरु समेत उठ्छन् । तर त्यसो गरिहालेमा पनि विभिन्न प्रोक्सी सर्भर र प्रोक्सी साइटको माध्यमबाट त्यस्ता साइटहरु चलेका उदहारण विश्वका विकसित देशहरुमा समेत भएको कारण नेपाल त्यसका लागि प्राविधिक रुपमा सक्षम नभएको विज्ञहरु बताउँछन् । प्रोक्सी साइट त्यस्ता वेवसाइटहरु हुन् जसको माध्यमबाट कुनै अर्को साइट खोलेर त्यसभित्र ती प्रतिबन्धित साइटहरु खोल्न सकिन्छ भने अर्काको इनटरनेट परिचयमा चलाउने प्रविधि प्रोक्सी सर्भर हो । कम्प्युटर इञ्जिनियर ध्रुव अधिकारी भन्छन्, ‘त्यसैले अलिकति पनि टेक्निकल्ली दक्ष व्यक्तिका लागि माथिका कुनै पनि बन्देझले समस्या सिर्जना गर्दैन ।’

साइट ब्लकको अपरिपक्वता 

गतसाल कात्तिकमा नेपाल सरकारले गृह मन्त्रालयमार्फत जारी गरेको एउटा सुचनामा ‘विद्युतिय सञ्चारमाध्यममा सार्वजनिक नैतिकता र शिष्टाचार विरुद्धका अश्लिल सामाग्री प्रशारण र प्रवाह हुने गरेको पाइएको र त्यस्ता सामाग्रीले समाजमा विकृति र विसंगति फैलाउनुका साथै अपराधिक गतिविधि समेत बढाउने’ भन्दै ६० वटा पोर्न वेवसाइटहरु बन्द गरेको थियो । पछि सरकारले १५० वटा सम्मलाई ब्लक गर्‍यो । विद्युतिय कारोवार ऐन–२०६३ अनुसार जारी गरिएको उक्त सुचनामा उक्त ऐनले निषेध गरेका त्यस्ता सामाग्रीहरु इन्टरनेट सेवा प्रदायकहरुले रोक लगाउनु पथ्र्यो । तर त्यसबेला सरकारले त्यस्तो निर्णय गर्दा सरकारसँग के कस्तोलाई अश्लिलको दाँजोमा राख्ने र तिनलाई कसरी कारवाही गर्ने भन्ने वैज्ञानिक आधार थिएन । जसले गर्दा नेपाल टेलिकमको एडिएसएल सेवामा मात्र त्यो लागु भयो । 

अहिले त एडिएसएलबाटै त्यसबेला प्रतिबन्ध लगाइएका त्यस्ता साइटहरु खुल्न थालेका छन् । विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता केदार न्यौपाने भन्छन्, ‘त्यसबेला भएको विरोध र त्यसले सिर्जना गरेका अन्य समस्याहरु देखेर यो निकै जटिल काम रहेछ भन्ने निश्कर्षमा हामी पुगेका छौं ।’ प्रवक्ता न्यौपाने त्यसको लागि छुट्टै कानुन बनाएर अघि बढ्नुपर्ने ठान्छन् भने महानगरिय प्रहरी अपराध महाशाखा प्रमुख देवेन्द सुवेदी यो प्राविधक रुपमा जटिल बिषय भएकोले कानुन मात्र सबथोक नहुने ठान्छन् । तर पछिल्लो समय सरकारी अधिकारीहरु  एउटा के कुरामा स्पष्ट भइसकेका छन् भने यो नियन्त्रणबाहिरको काम हो जुन पूर्णत: असम्भव नै नभएपनि उनीहरुको काबुबाहिरको काम बनिसकेको छ । ‘त्यसैले अब पोर्न साइट हेर्नै नहुने होइन कि त्यसले सामाजिक मर्यादा र शिष्टाचार नबिगारोस भन्नेमा केन्द्रित हुनुपर्ने अवस्था छ’, प्रवक्ता न्यौपाने थप्छन् । त्यसैले अब छिट्टै सरोकारवाला सबै निकाय बसेर एउटा आचारसंहिता निर्माणमा सरकारी पक्ष लागेको छ जसले सार्वजनिक स्थलहरुमा यस्ता साइटहरु हेर्न बन्देझ लगाइनेछ न कि साइट नै बन्द गर्ने । 

इन्टरनेटमा त्यस्ता साइट प्रतिबन्ध लगाउने थुप्रै तरिकामध्ये एउटा त्यस्ता वेवसाइटहरुको पहिचान गरी रोक्नु हो जुन लाखौं त्यस्ता वेवसाइटहरुको जालोबाट गर्नु निकै जटिल काम मानिन्छ । त्यसबाहेक अर्को, सफ्टवेरको प्रयोगबाट गर्न सकिन्छ जसको ‘डोमेननेम’मा वा उक्त वेवसाइटमा प्रयोग भएका शब्दहरुमा सेक्सजडित शब्दहरुको पहिचानबाट गर्न सकिन्छ । नेपालमा गतसाल यो दोस्रो प्रयोग गर्दा थुप्रै राम्रा वेवसाइटहरु समेत बन्द भए । सांगितिक समूह ‘सेक्सपिस्टोलअफिसियल’, न्यूजसाइट ‘हफिङटनपोष्ट’ जस्ता आमउपयोगी साइटहरु बन्द भएका थिए । यस्ता प्रयोगले थुप्रै यौनस्वास्थ्यसाग जोडिएका साइटहरु मर्कामा पर्न थालेपनि यसलाई समेत कम उपयोगी मान्न थालिएको छ । 

केही तथ्यहरु:

  • विश्वमा इन्टरनेट चलाउनेमध्ये ४३ प्रतिसतले पोर्न सामाग्री हेर्नेगरेको पाइएको छ जहाँ हुने कुल डाउनलोडमध्ये ३५ प्रतिसत पोर्न सामाग्रीहरु हुन्छन् । किशोरावस्थाका व्यक्तिहरुको यसमा बढेको मोह जान्न गरिएको एउटा अनलाईन विश्लेषण अनुसार ‘सेक्स’ र ‘पोर्न’ १८ बर्ष मुनिका बालबालिकाले खोज्ने मुख्य पांच किवर्डभित्र पर्ने गरेको पाइएको थियो । 
  • अमेरिकाको सानफ्रान्सीस्कोबाट ९० प्रतिसत पोर्न चलचित्र निस्कन्छन् जहाँ हरेका ३९ मिनेटमा एउटा पोर्न चलचित्र बन्छ । विश्वभर बर्षेनी ९७ अर्ब अमेरिकी डलर राजश्व पोर्नोग्राफीबाट उठ्छ । सबैभन्दा बढि इन्टरनेटमा सेक्सजडित सामाग्री खोजिने मुलुक पाकिस्तान हो । 

No comments:

Post a Comment