Thursday, May 24, 2012

यो मन त मेरो नेपाली हो

"यी नेपाली विद्यार्थीहरु विश्वकै लागि नमूना बनेका छन्"


 PUKAR MALLA ।  Pic By: Ravi Manandar 
अमेरिकी हुँदोहुन् त अहिले उनी त्यहाँको कुनै राजनीतिक पार्टीको आँखामा परिसकेका हुन्थे । पत्रपत्रिकाले उनलाई पच्छ्याउन थाल्थे । त्यसपछि सायद उनको प्रदर्शन हेर्दै राजनीतिक भविष्यको अड्कलबाजी शुरु हुन्थ्यो । तर त्यहाँ नेपाली विद्यार्थी पुकार मल्ल, ३५, पुगे । गतसाल मात्र हार्वडबाट जनप्रशासनमा स्नातकोत्तर सकेका उनी विश्वका उत्कृष्ट लिडर उत्पादन गर्ने थलोमा विद्यार्थी वर्गको नेतृत्व गर्न पाउनाले चर्चामा रहे । सन् २०१०–११ का लागि हार्वड ग्रेजुयट काउन्सिलका अध्यक्ष हुन् मल्ल । 

हार्वडका विभिन्न १२ ग्रेजुयट स्कुलहरुको पनि केन्द्रिय निकायमा यसअघि कुनै पनि नेपालीले प्रतिनिधित्व गर्ने अवसर पाएका थिएनन् । त्यसै त हार्वडमा नेपाली विद्यार्थी निकै कम जान्छन् त्यसमाथि त्यहाँ यस्तो पद पाउनु कम चानचुने काम होइन । यो त्यस्तो पद हो जहाँ बाराक ओबामा हार्वड स्कुल अफ ल मा ‘हार्वड ल रिभ्यु’ मात्र को अध्यक्षमा पहिलो अफ्रिकन अमेरिकनको रुपमा निर्वाचित हुँदा उतिबेलै अमेरिकी सञ्चारमाध्यमा खुबै चर्चा भएको थियो । 

यता निर्वाचित भए लगत्तै नेपालमा समेत एकखाले बौद्धिक तथा नेटिजन पुस्ताले उनलाई, यहाँ चाहिएको राजनीतिक नेतृत्व पुकारजस्तो हुनुपर्ने भन्ने बहस चलाएका थिए । तत्काल राजनीतिमा लाग्ने/नलाग्ने त उनले निक्यौल गरिसकेका छैनन् । ‘तर’, उनले भने, ‘अबका केही बर्षमा देश फर्कनुपर्छ ।’ सामाजिक कार्यमा भिड्ने उनको योजना छ । विदेशी भूमिमा हुँदा समेत उनी देशकोबारे हरबखर चिन्तित रहने बताउँछन् ।

‘नेपालको युवा’ नामक एक सामाजिक संस्थाका सहसंस्थापक हुन् उनी जसले विदेशमा रहेका नेपाली युवाहरुलाई देशका लागि बौद्धिक तथा भौतिक रुपमै लाग्न अन्तर्राष्ट्रिय सञ्जालको रुपमा काम गरिराखेको छ । ‘सायद अहिललेलाई मैले गरिराखेका यी काम पनि राजनीतिक रुपमा नभएपनि आफूमा नेतृत्व क्षमता विकास गर्ने उत्कृष्ठ थलो हुन्’, उनी ठान्छन्, ‘हामीकहाँ शक्तिमा पुग्नुलाई मात्र नेतृत्व ठानिन्छ तर नेतृत्वकर्ताको भूमिका उसले त्यसपछि गर्ने कामसँग जोडिएको हुन्छ ।’


अमेरिकाकै कर्नेल विश्वविद्यालयबाट इलेक्ट्रिकल एण्ड कम्प्युटर इञ्जिनियरिङमा पीएचडी सकेका उनी अहिले विश्ववैंकमा भारत र चीनको लागि ‘सिनियर इनोभेसन पोलिसी कन्सलट्यान्ट’ छन् जहाँ उनले यी दुई मुलुकको रणनीतिक योजना निर्माणदेखि त्यसलाई लागु गर्न आपसी समन्वय गर्छन् । कर्नेलबाट पीएचडी सकेपछि नेपालमा उनले सन् २०१० को शुरुवाती ८ महिना रहेर उच्च स्तरिय सूचना प्रविधि आयोगका लागि काम गरे जतिखेर उनले ‘विश्वविद्यालय–उद्योग अध्ययन सम्बन्ध’, ‘इ–गर्भनेन्स’ एवं ‘लोकल इनोभेसन’ मा तीन महत्वपूर्ण रिसर्च गरेका थिए । त्यसैबखत प्रधानमन्त्री कार्यालयको नीति निर्माण तथा कार्यान्योयन ढाँचाबारे एक अध्ययन प्रतिवेदन समेत तयार पारेका थिए उनले । 

उता जोन हफिङ्स युनिभर्षिटी स्कुल अफ मेडिसिनका रिसर्चर ज्ञानु लामिछाने, ३५, अहिले विश्वभर चर्चामा छन् । मानिसहरु उनले गरिराखेको काम कहाँ पुगिराखेको छ भन्ने जान्न दिनानुदिन उत्सुक छन्  । उनी क्षयरोगको उपचारमा सफलताको नजिक छन् । जसले गर्दा गतसाल मात्र उनलाई अमेरिकी सरकारले थप ५ बर्ष अध्ययन अवधी थपिदिएको छ । 
   GYANU LAMICHANE    

सामान्यत: क्षयरोगी ६ महिना लगातार औषधीको सेवनबाट निको हुन्छ । ‘तर’, लामिछानेले अनलाइन वार्तामा भने, ‘कति असाधारण प्रकृतिको क्षयरोगको उपचारका लागि ६ महिनाभन्दा बढि औषधी खानुपर्ने हुन्छ र कतिपय क्षयरोगीमा यस्ता किटांणु हुन्छ जसलाई हालसम्म कुनै पनि आषधीले मार्न सक्दैन ।’ उनका हजुरबुवा क्षयरोगको यही पछिल्लो कारण बितेका थिए जतिखेर उनीहरु औषधीको अभावमा लाचार थिए । ज्ञानु सम्झन्छन्, ‘मेरो अध्ययनले यसरी सफलता हाँसिल गरिरहँदा म मेरा हजुरबुवालाई निकै सम्झिराखेको थिएँ ।’
...

गतसालको अन्त्यमा एकदिन प्रयोगशालामा भिडिरहंदा एउटा फरक खाले नतिजा निस्किएको थियो । क्षयरोगको किटाणुलाई फरक बनाएर हेर्ने क्रममा त्यस्तो भिन्न निश्कर्ष फेला पर्‍यो जुन त अपेक्षित थियो, तर लामो समयअघिदेखि एउटा सपनाजस्तो पनि । ‘मलाई विश्वास लागेन र दोहोर्‍याई/तेहराई गर्दा समेत उस्तै नतिजा आएपछि अन्य वैज्ञानिकहरुलाई समेत देखाएँ’, उनले भने, ‘लगत्तै त्यसैलाई आधार मानेर थप अनुसन्धान भए र त्यस किटांणुलाई नयाँ तरिकाबाट मार्न सकिने कुरा पत्ता लाग्यो ।’ उक्त अध्ययनका निश्कर्ष विश्वविद्यालयले प्रकाशित समेत गर्‍यो । जसले गर्दा अहिले वैज्ञानिकहरु त्यस अध्ययनकै आधारमा औषधी बनाउने प्रकृयामा छन् । लामिछाने आशावादी छन्, ‘सायद अबको केही बर्षभित्र अरु मेरो हजुरबुवाजस्तो उपचार नै नभएर ज्यान गुमाउने छैनन् ।’

एकथरी वैज्ञानिकहरु औषधी निर्माणमा जुटिरहंदा ज्ञानु भने अझै त्यस्ता किटांणु मार्ने थप नयाँ तरिकाको लागि जुटिराखेका छन् । औषधी बनाउने काम विश्वविद्यालयले नभई औषधी कम्पनीहरुले गर्ने हुँदा त्यसमा उनीहरुको व्यापारिक उद्देश्य बढि जोडिन्छ । र, अहिलेको आविस्कारले महंगोमा औषधी बन्ने छनक त्यस्ता औषधी उत्पादक कम्पनीहरुले दिइरहेका छन् । जसले गर्दा लामिछाने अझै नयाँ–नयाँ शैलीबाट यस अनुसन्धानमा पुन: पछाडि फर्कर समेत हेरिराखेका छन् । भन्छन्, ‘क्षयरोग प्राय: विपन्न परिवारका व्यक्तिहरुलाई लाग्ने हुँदा महंगोमा औषधी बनेमा कम्पनीहरु त्यसतर्फ राम्रोसँग आकर्षित नहुन पनि सक्छन् ।’ 

यस सफलतासँगै विश्वविद्यालयमा अहिले उनलाई हेरिने दृष्टिकोणमा नै फरकपन आइसकेको छ । पहिलेपहिले उनले स–साना कोर्सहरु समेत पढाउनुपथ्यो । रिपोर्ट लेख्नेदेखि आफ्नो डिपार्टमेन्टको अफिसियल कामहरु समेत उनले गर्नुपथ्र्यो । अहिले अध्ययनमा सफलता प्राप्त गर्दै गएपछि ती सबै कामबाट उनलाई छुटकारा दिएर अधिकांश समय उक्त अध्ययनका लागि छुट्याएको छ । 

अन्तत: उनी पनि स्वदेश नै फर्केर काम गर्न चहान्छन् । २०६२ सालमा पीएचडी सकेर काठमाण्डौ फर्की केहीबेर त्रिभूवन विश्वविद्यालय तथा काठमाडौं विश्वविद्यालयमा जीवविज्ञानबारे बुझ्दैथिए । देशमा आन्दोलन चर्कियो जसमा उनी समेत केही समय लागे । अन्तत: यहाँ बसेर आफ्नो लक्ष्यमा बाधा पुग्ने ठानी उनी एक बर्षमै अमेरिका फर्किए । अध्ययनले एउटा परिपक्व निचोड लिएपछि उनी पुन: स्वदेश नै फर्कर्ने सोच्दैछन् । भन्छन्, ‘क्षयरोगी यहाँ धेरै छन्, त्यसैले मेरो भूमिका आफ्नै देशले बढि खोजिराखेको छ ।’ 

सुवास घिमिरेको नाम यस्तै फरक युवाहरुको पंक्तिमा आउँछ जसले अमेरिकाको  अमेरिकाको मिनिसोटास्थित सेन्ट ओल्फ कलेजमा राजनीतिशास्त्रमा स्नातक सकेर गोरखाको विकट गाउँ आरुपोखरीमा पढाइराखेका छन् । 

उनको स्वभाव अलिक विचित्रको छ । कम बोल्छन्, खुलेर हाँस्दैनन्, सकेसम्म ‘यस/नो’ वा एक/दुई वाक्यमै कुराहरु टुङ्याउँछन् । अन्तरमुखी लाग्ने घिमिरेको ठ्याक्कै विपरित स्वभाव देखिन्छ जब उनी कुनै औपचारिक मञ्चमा हुन्छन् । वक्तृत्व र वादविवाद कलामा उनको गज्जबको प्रस्तुति कहिलेकाहीँ उनकै साथीहरुलाई समेत पत्याइनसक्नुको हुन्छ । सायद, त्यसैको प्रतिबिम्ब भएको थियो सन् २००७ मा अमेरिकामा आयोजना गरिएको ‘नमूना संयुक्त राष्ट्रसंघ’मा । 

स्नातक गर्दैगर्दा उनी नेतृत्वको टोली उक्त महासभाको लागि छानिएको थियो जसमा उनले प्यालेस्टाइनको रुपमा प्रतिनिधित्व गरेर प्रस्तुति र बहसमा सहभागि भएका थिए । अन्तत: उनको टोलीलाई उत्कृष्ठ प्रतिनिधिमण्डल घोषणा गरिएको थियो । सन् २०१० उनको स्नातक सकियो । र, उनी युरोपेली युनियनमा जागिरे भएर ब्रसेल्स गए जहाँ उनको काम दक्षिण एसियाली मुलुकका राजदूतहृरुसँग समन्वय गरेर नयाँ नीति तथा कार्यक्रमहरु बनाउने थियो । तर यी २५ बर्षेको मनमा कहिल्यै ती शान्दार ठाउँका जागीरले आकर्षित गरेनन् । ‘जति नै अन्तर्राष्ट्रिय स्तरका ठूल्ठूला योजना बनाएर वा राम्रै पैसावाल जागीर खाएर मात्र हुँदो रहेनछ’, हालैको एक मध्यान्न दरवारमार्गस्थित शेर्पा मलमा उनले भने, ‘बरु आफ्नै देशमा गरेको सानो कामले ठूलो सन्तुष्टि दिन्छ ।’ 
।  SUBHAS GHIMIRE । Pic By: Laxmi P Nakusi

अहिले गोरखा जिल्लाको आरुपोखरीमा उनको दश कोठे स्कुल छ । झण्डै २५० विद्यार्थी छन् जसमा धेरैजसो द्वन्द्वको मार खेपेका परिवारका बालबालिकाहरु छन् । उनी भन्छन्, ‘द्वन्द्वले बाल मस्तिष्कमा पारेको असर बिर्साउने एउटा रणनीतिको रुपमा पनि हो यो स्कुल खोलिएको ।’ जस निर्माणमा मात्र अहिले झण्डै ८० लाख रुपयाँ खर्च भइसकेको छ जसका लागि पूर्व अमेरिकी राष्ट्रपति विल क्लिन्टन संस्थापक रहेको क्लिन्टन फाउण्डेनले शुरुवाती दश हजार अमेरिकी डलरको सहयोग गरेको थियो । युरोपेली युनियनमा काम सकेर घर फर्कने बेलामा उनलाई स्वयं क्लिन्टनले धाप मार्दै ‘गुडलक’ भनेका थिए । यही अप्रिलमा समेत उनले पुन: क्लिन्टनसँग भेट्ने अवसर पाएका थिए । सन् ’१० मा भेट्दा जसरी उनमा शिक्षा क्षेत्रमा लाग्ने उत्साह थियो तर स्कुल स्थापना गरेर पछिल्लो २ बर्षमा यहाँसम्म ल्याइपुर्‍याउँदा उनले नेपाली समाजका अनेकथरी समस्या र हन्डर खेपे त्यसले केही मोडिदिएको पनि छ । ‘कति ठाउँमा त घुस नै समेत ख्वाउनुपर्‍यो’, घिमिरेले सम्झन्छन् । अनि पछिल्लोपटक भेट्दा उनले क्लिन्टनलाई भनेछन्, ‘राष्ट्रपतिज्यू, म अब स्वदेशमा राजनीति गर्नेछु ।’ क्लिन्टन मुसुक्क हाँसेछन् । 

उनी अबको केही महिनापछि पुन: दुई बर्षका लागि अमेरिकाकै हार्वड जाँदैछन् जहाँ उनले पब्लिक पोलिसीमा बार्षिक ७१ हजार अमेरिकी डलरको छात्रवृत्तिमा स्नातकोत्तर गर्दैछन् । भन्छन्, ‘सायद मेरो राजनीतिक करिअरका लागि हार्वडले धेरै सिकाउनेछ ।’ तर शिक्षा क्षेत्रमा रहेको सम्बन्ध उनले कहिल्यै तोड्न चहाँदैनन् । भन्छन्, ‘हाम्रो देशको समस्याको जड नै शिक्षामा सिर्जनशीलता नहुँदा हो ।’ हरेक पुस्तालाई पछिल्लो राजनीतिक घटनाक्रमसँग जोड्दै उत्प्रेरणा जगाउनु पर्छ भन्ने उनी ठान्छन् । ‘अमेरिकामा ९/११ को घटना लगत्तै त्यहाँका सम्पूर्ण शैक्षिक सामाग्रीमा परिवर्तन आएको थियो किनकि त्यसले अमेरिकाको एकखाले आयाम नै फेरिदिएको थियो’, घिमिरेको भनाई छ, ‘तर हामी सधै ’७ साल र पृथ्वीनारायण शाह मात्र घोकाएर अघि बढ्दैछौं, जसले गर्दा देशले अपडेटेड जनशक्ति कहिल्यै निर्माण गर्न सक्दैन ।’

This appeared at Hello Shukrabar (Kantipur). Click here for e-paper view

No comments:

Post a Comment