Thursday, June 14, 2012

(सर्ट) मुभि टाईम


काठमाण्डुको बौद्धका चिया पसलहरुमा ‘बिग पट’ निकै चर्चित छ । यो झण्डै एक लिटरजती चिया अट्ने भाँडो हो जसका साथ चियाको चुस्किसँगै लामो समय बिताउँछन्, ग्राहकहरु । निश्चल पौडेल, २४, समेत त्यस्तैमध्येका एक थिए जसले त्यहाँ दिनहुँ अनेकथरी कारणसाथ निराशा बोकेर आउने तन्नेरीहरुलाई देख्ने/भेट्ने गर्थे । जसलाई अन्तत: उनले आफ्नो एउटा छोटो चलचित्रको कथाबस्तु बनाए ‘बिग पट’ नाम दिएर ।

बेरोजगार चार युवाहरुमध्ये तीनजना क्रमश: व्यापारी, लेखक तथा कर्मचारी बन्ने लक्ष्य राख्दाराख्दै पनि सफलता चुम्न सकिराखेका हुँदैनन् भने चौथो चाहीँ लक्ष्यहिन भइकन पनि आफ्नो जीवनप्रति उत्तिकै चिन्तित छ । र, उनीहरुकै त्यही चियागफमा फिल्म बुनिन्छ, बाह्र मिनेटमा । ‘यो एउटा नो बजेट फिल्म थियो’, निश्चल भन्छन्, ‘यद्यपि त्यसले काठमाडौंका चिया पसलमा अक्सर देखिने युवाहरुको मनोभावनालाई समेटेको हुँदा निकै राम्रो प्रतिक्रिया समेत पाएको थियो ।’

पछिल्लो समय निश्चलजस्ता थुप्रै युवाहरु सर्टफिल्ममा आकर्षित भएका छन् । निश्चलकै शब्दमा भन्नुपर्दा फिचर फिल्म एउटा उपन्यास हो भने सर्टफिल्म त्यसभित्रको कुनै एउटा कथामात्र । त्यसैले चलचित्र क्षेत्रमा आफ्नो करिअर सोच्नेहरुले यसलाई पूर्वअभ्यासका रुपमा लिनेगर्छन् । हालसम्म ८ विभिन्न विधाका सर्टफिल्म बनाइसकेका निश्चलको भनाई छ्, ‘यसले पछि ठूलो चलचित्र बनाउँदा स–साना कुराहरुमा समेत उत्तिकै मिहिनेत र महत्व दिएर काम गर्न सिकाउँछ ।’

यद्यपि सर्टफिल्मको आफ्नैखाले महत्व समेत छ । सिर्जनशीलताको वास्तविक प्रयोग देखिने काम ठान्छन्, धेरै प्रयोगकर्ताहरु, यसलाई । अभिमन्यु दीक्षित, २४, को बुझाईमा निकै कम बजेट र सीमित प्रविधिको बिचमै पनि बनाउन सकिने भएकोले चलचित्र क्षेत्रमा आफै आफूलाई डेब्यु गराउन सक्ने मञ्च हो यो । भन्छन्, ‘त्यसमाथि ठूलो विषयबस्तुलाई कमभन्दा कम समयमा देखाउनु झनै कठिन काम हुन्छ ।’ उनी स्वयंले निर्माण तथा योगदान गरेका झण्डै एक दर्जनफिल्म मध्ये अधिकांश दश मिनेटभन्दा कमका छन् ।

छोटो चलचित्रले समाजका पछिल्ला घटनाक्रमहरुलाई तत्कालै देखाउन सक्छ जुन फिचर फिल्ममा गर्ने हो भने लामो गृहकार्य, लगानी र टिमवर्क चाहिन्छ । झण्डै ३ बर्षअघि नेपालमा मोवाइलको क्रेज उत्कर्षमा रहेको बेला गोविन्द सिवाकोटीले, २४, ले ७ मिनेट २० सेकेण्डको ‘एसएमएस’ निर्माण गरेका थिए जहाँ गर्लफ्रेन्डले एसएमएस मार्फत अप्रिल–फुल मनाउँदा व्वायफ्रेन्डको मोटरसाइकल दुर्घटनामा निधन भएको घटना थियो ।
‘सर्टफिल्ममा हुने कथाबस्तु तिनै हाम्रो समाजमा देखिआएकै हुन् तर समयको पावन्दीले गर्दा यसमा प्रस्तुतिकरण, संगित र सम्पादन पक्षको भूमिका निकै सकृय हुनुपर्छ’, सिवाकोटी ठान्छन् । सायद त्यसैले हो, धेरैजसो सर्टफिल्म निर्माणकर्ताहरु क्यामेरा, स्क्रिप्ट, मेकअपदेखि लिएर सम्पादनसम्मको काम आफै गरिराखेका हुन्छन् । गोविन्द थप्छन्, ‘सर्टफिल्म बनाउनेहरु स–सानो कुरालाई ठूलो देखिराखेका हुन्छन् कि कसैले काम नलाग्ने भनेर फ्याँक्न लागेको भिडियोको फुटेजको निकै सानो अंश समेत उनीहरुको लागि ठूलो महत्वको हुन्छ ।’

Govinda Siwakoti
यसरी बन्ने छोटा चलचित्रहरु कहाँ र कसरी प्रदर्शन हुने भन्ने समस्या केही बर्षअघिसम्म निकै ठूलो थियो । त्यसबेला व्यक्तिगत रुपमा ‘स्क्रिनिङ’ नगरे अन्य विकल्प थिएन । अहिले विस्तारै विभिन्न विधामा स्वदेश र विदेशमा ‘फिल्म फेस्टिवल’हरु क्रम बढेको छ । त्यसबाहेक सबैलाई प्रदर्शनको लागि सघाएको भनेको भिडियो साझेदार वेवसाइट ‘यु–ट्युब’ले नै हो । धेरैका यु–ट्युब च्यानल छन् जहाँ उनीहरुले आफ्ना फिल्महरु राखिराखेका हुन्छन् । फिल्म फेस्टिवलहरुमार्फत कुनै बिषयबस्तु माथि आयो भने त्यसले ‘एक्सपोजर’ समेत उत्तिकै पाउँछ । कतिले इन्टरनेसनल डिस्टब्युटर्स भेटाउँछन् त कतिले किनेर आफ्नो टेलिभिजनमा प्रशारण गर्छन् ।

अनुप पौडेल, २३, को ‘अनुपमिमोसा’ नामको यु–ट्युब च्यानलमा झण्डै ९ वटा चलचित्रहरु प्रदर्शन भइराखेका छन् । झण्डै ३ बर्षअघि बनेको एक मिनेट तीस सेकेण्ड लामो उनको एउटा सर्टफिल्म ‘डेमोक्रेसी इज ब्याक’ पछिल्लो २ बर्षमा झण्डै एक लाख पच्चिस हजारले हेरिसकेका छन् जसले अमेरिकी सरकारले आयोजना गरेको ‘डेमोक्रेसी भिडियो च्यालेन्ज–२०१०’ मा अवार्ड समेत जितेको थियो । मौसम परिवर्तनबारे एसियाली विकास बैंकले आयोजना गरेको अर्को त्यस्तै प्रतिस्पर्धामा ‘माई ग्रिन होम’ चलचित्र प्रथम भएको थियो जसमा अनुपले तीन मिनेटको अवधीमा वातावरण मैत्री घर निर्माण गर्नमा त्यहाँको एउटा बालकले पुर्‍याइराखेको योगदान वर्णन गरेका थिए । तर उनलाई आफूले बनाएका मध्ये सबैभन्दा राम्रो लागेको चलचित्र भने ‘ह्वाट मोर डु आइ वान्ट ?’ हो, जसमा उनले कुपण्डोलस्थित सुकुम्बासी बस्तीको एउटा दाजुभाईको कथा, गुरिल्ला शैलीमा (उनीहरुलाई थाहा नदिइकन) खिचेका थिए । एउटा बाह्र बर्षे किशोरले आफ्नो काखे भाईलाई लिएर दिनभर माग्न हिंड्थे र साँझ घर फर्कन्थे । तर उनमा त्यो भाइप्रतिको बोझ कत्ति देखिँदैनथ्यो ।

अनुपझैं गुरिल्ला शैली पछिल्लो समय सिर्जनशील युवाहरुमा विस्तारै फस्टाउँदैछ जहाँ कथाबस्तु र पात्र दुवै मौलीक हुनेछन् तर उनीहरुलाई थाहा नदिइकन त्यसको निर्माण गरिनेछ । तर यसका लागि क्यामेराहरु निकै सुविधायुक्त हुनुपर्ने हुन्छ जुन निकै खर्चिलो पनि छ । त्यसैले सबै खाले सर्टफिल्ममा गुरिल्ला शैली प्रयोग गर्न सक्ने अवस्थामा नेपाली सर्टफिल्म मेकरहरु अझै पुगिसकेका छैनन् ।

उता नाममा सुनिएजसरी सर्टफिल्म छोटो समयमै मात्र बन्छ भन्ने पनि हुँदैन । सिवाकोटीले देशका विभिन्न ठाउँमा भित्तामा लेखिएको प्रश्नवाचक चिन्ह सहितको ‘खोज’ देखेपछि ‘यो के रहेछ’ भनेर रहस्य पत्ता लगाउन जुटेका थिए । ‘खोज’ नै नाम दिइएको उक्त सर्टफिल्म अन्तत: ३ बर्षपछि त्यसको अभियानकर्तालाई भेटेपछि ३८ मिनेटमा टुंगिन्छ । उमेरले ८० नाघिसकेका भीमबहादुर थापाले यसरी विगत चालिस बर्षयता देशभरमा गरेर ८० लाख वटा त्यस्तो पेण्टिङ गरेका रहेछन् । परिवारले धेरैपटक फर्काएर ल्याउँदा समेत उनले त्यो छाडेनन् जसको अर्थ ‘तिमी को हौ ? खोज’ भन्ने रहेछ ।

त्यस्तै अर्को एउटा सर्टफिल्म ‘इन थ्री इयर्स’ मा उनले एउटा परिवारमा ३ बर्षबिचमा आएको परिवर्तनको कथालाई बुनेका छन् । आफ्नो बुवा गैरकानुनी रुपमा अमेरिकामा काम गरिराखेको अवस्थामा भेट्न नपाउँदा उनीहरुमा कस्तो मनोवैज्ञानिक असर परेको हुन्छ भन्ने कुरा ३५ मिनेट लामो सर्टफिल्ममा छ । जसबिचमा देश राजतन्त्रबाट गणतन्त्रमा प्रवेश गर्नेजस्ता ठूल्ठूला राजनीतिक परिवर्तनहरु हुन्छन् जसले उक्त घरभित्रको परिवेशमा ल्याएको परिवर्तन सिवाकोटीले उक्त चलचित्रमा समेटेका थिए । भन्छन्, ‘म तीन बर्षजति उक्त घरमा ट्युसन पढाउन जान्थें जसले मलाई यो चलचित्रको कथाबस्तु दियो ।’

मूलधारको चलचित्रहरु व्यापारमुखी हुनेहुँदा त्यसमा कतिपय ‘नयाँ’ तथा ‘राम्रा’ प्रयोगहरु गर्न निर्देशकहरु चहेर पनि सक्दैनन् । तर सर्टफिल्मको क्षेत्र यस्तो हो जहाँ नौला अभ्यासहरु बढि हुने गर्छन् । आलोक घिमिरे, २२, त्यस्तै नौलो प्रयोग गर्नेमध्येका हुन् जसले ‘एक्टिन्ट’ मा एउटा युवा जुन कुरासँग अलिक बढि नजिक हुँदै गयो, त्यो हराउँदै जाने कथा छ । जसमा उनले सेतो पृष्ठभूमिको प्रयोगले चलचित्रलाई मनोवैज्ञानिक ढांचा दिएका थिए । चलचित्रको अन्त्यमा थाहा हुन्छ कि उसको बुवालाई सानैमा अपहरण गरेर अझैसम्म पनि छाडिएको हुँदैन । त्यसले उसमा मनोवैज्ञानिक असर त्यस्तो गरी परेको हुन्छ कि जो उसँग सबैभन्दा बढि नजिक हुन्छ, ऊ हराउँदै जान्छ ।

मूलधारको चलचित्र हेर्ने बानी परेकाहरु उनको उक्त चलचित्रलाई ‘साइको’ भन्न समेत पछि नपर्लान् । तर आलोक भन्छन्, ‘त्यहि सही, किनकि यो मेरो प्रयोग हो ।’ आलोकले भनेझैं अनुपलाई समेत कहिलेकाहीँ लाग्छ अधिकांश सर्टफिल्महरु सबैखाले दर्शकका लागि बनेका हुँदैनन् । उनको भनाई, ‘सर्टफिल्म बनाउनेहरुझै हेर्नेहरु समेत उत्तिकै क्रियटिभ हुनु जरुरी छ ।’ त्यसैले फिल्म हेर्नमा नै रुचि नभएका थुप्रै व्यक्तिहरु सर्टफिल्मका ‘क्रेजी’ समेत हुनेगरेको बताउँछन्, सर्ट फिल्म निर्माणकर्ताहरु ।

नयाँ प्रयोग प्रविधि, कथा र प्रस्तुतिमा मात्र नभएर हाम्रो समाजमा स्थापित भएका कतिपय मान्यताहरुलाई नै चूनौति दिने खालका समेत भेटिन्छन् पछिल्ला सर्टफिल्महरु । प्रतिमा श्रेष्ठ, ३४, ले पछिल्लो समय बनाएको चलचित्र ‘इक्वेल बट नट सिमिलर’ त्यस्तैमध्येको एक हो । चलचित्रमा नारी–पुरुष हरेक कुरामा समान हुन् भन्नु वैज्ञानिक नभएको कथा छ । दश मिनेटको उक्त चलचित्रमा नारी, पुरुषहरु अधिकार प्राप्तीका हकले समान भएता पनि उनीहरु वास्तमै एकैखाले नभएको बताइन्छ । घरको सामान खोज्नेजस्ता काममा जसरी महिलाहरु पोख्त हुन्छन् पुरुषहरु नक्सामा बाटो खोज्ने कामका लागि सिपालु हुन्छन् । प्रतिमाको भनाई छ, ‘वास्तमा यस्तै स–साना कुराहरुलाई आत्मसाथ गर्न नसक्दा हाम्रो समाजमा सम्बन्ध विक्षेदका घटनाहरु हुने हुन् ।’

निश्चल सर्टफिल्मको यो लहर नेपालमा बढ्नुमा देशभित्र सहजै पाइने विदेशी फिल्मका ‘पाइराइटेड’ चक्काहरु हुन् जसले फिल्मका नयाँ–नयाँ आयामसँग युवा पिडिलाई परिचित बनाउँदै लगेको छ । र, उनीहरु त्यही प्रभावले अनेकन नौला प्रयोगहरु फिल्म क्षेत्रमा गर्न सकेका छन् । त्यही लहर बढ्न थालेपछि नै अहिले छोटा चलचित्रहरु समेत ‘नो बजेट’, ‘लो बजेट’ हुँदै ‘हाई बजेटसम्म’ आइपुगेका छन् । र, यस्ता चलचित्रहरु जति ‘सर्ट’ हुँदै गइराखेका छन् उत्तिकै ‘स्विट’ समेत बन्दैछन् । त्यसैले सर्टफिल्म मेकरहरु स–साना कुराहरुमा आफू मात्र रमाइरहेका छैनन्, अरुलाई समेत रमाउन सिकाइराखेका छन् ।

This appeared at Hello Shukrabar (KANTIPUR). Click here for e-paper view

No comments:

Post a Comment