Monday, June 11, 2012

एउटा कालखण्डको कथा

डियर कल्याण भनेपछि धेरैको मनमा रेडियोमा बज्ने उनको चर्चित कार्यक्रम ‘मेरो कथा’ को झल्को आउँछ । तर उनै कल्याण अहिले रेडियो कार्यक्रम प्रस्तोताबाट उपन्यासकारको फरक परिचयमा देखा परेका छन्, आफ्नो पछिल्लो ऐतिहासिक उपन्यास ‘रेडियो छाप सलाई’ मार्फत ।

नेपालमा रेडियो भित्रिएदेखि पछिल्लो समय एफएमहरुको बढ्दो लहरसम्मको झण्डै ८ दशकलामो सेरोफेरोमा उपन्यास लेखिएको छ । विसं १९८९ मा मुख्तियार रुद्रशमशेर जबराको बिग्रिएको रेडियोबाट शुरु भएर उपन्यास नेपालमा रेडियो स्टेशनहरुको विकाससँगै त्यस सेरोफेरोमा भएका ऐतिहाँसिक तथा सामाजिक घटनाक्रमलाई जोड्दै अघि बढ्छ । र, यसको एउटा गज्जबको विशेषता भनेकै काल्पनिक पात्रहरुसँगै हाम्रो आम जीवनमा देखेभेटेका पात्रहरु जोडिन आइपुग्छ । जतिखेर पाठकले यो उपन्यान नभई उपन्यासजस्तो लाग्ने कसैको जीवनवृत्त त होइन भन्ने प्रश्न आफैलाई सोध्न सक्छ ।

माओवादी कार्यकर्ताबाट पत्रकारितामा प्रवेश गरेकी अरुणा रायमाझीको पछिल्लो संघर्षशील यात्राबाट उपन्यास शुरु हुन्छ । पत्रकार उमा सिंहको हत्या भएको परिवेशमा त्यस्तै ‘रिक्स’ लिएर अरुणाले रेडियो पत्रकारिता गरिराखेकी हुन्छिन् । र, उनको पत्रकारिताका गुरु काठमाडौंको बुढानिलकण्ठ स्कुल पढेका भुषण हुन्छन् जो छापा र रेडियो पत्रकारिता दुवैमा जमेका व्यक्ति हुन्छन् । उनै भुषण अमेरिकाबाट नेपालको रेडियोबाट एउटा चलचित्र बनाउने उद्देश्यले आएकी वर्ड कलेजकी प्राध्यापक डा लाउखा कुनरेथरको कुराकानीले कथालाई एक्कासी ९० को दशकतिर मोड्छ ।

काठमाडौंको चारबुर्जा दरबारमा रहेको आलमाडिजत्रो रेडियो बिग्रिएपछि हल्लीखल्ली मच्चिन्छ । त्यसबेला रेडियो हुनु नै यति बहुमूल्य कुरा हुन्छ कि जसको मर्मतका लागि समेत जुद्धशमशेरसँग अनुमति लिनुपर्ने हुन्छ । त्यसबेला नेपालका रोलवाला राणाहरुले समेत श्री ३ बाट अनुमति लिएर मात्र रेडियो राख्न पाउँथे । भारतमा स्वतन्त्रता संग्रामको आन्दोलन उत्कर्समा रहेको बेला थियो यो । त्यसकारण पनि राणाहरु जनतालाई त्यसको जानकारी रेडियो मार्फत हुन सक्ने भयले रेडियोमा पहुँच दिएका थिएनन् ।


सरकारी कामकाजका लागि भारत गइरहने क्रममा नासु पूर्ण नारायण प्रधानले एउटा रेडियो गोप्य रुपमा ल्याएपछि उनलाई मृत्युदण्द तोकिन्छ भलै उनी एउटा संयोगले त्यसबाट मुक्ति पाउँछ । तर त्यसले ’७ सालको निरंकुश परिवेश दर्शाउँछ जसमा प्रजातन्त्रका लागि लडेका ४ नेपाली सहिदहरुको मृत्युसम्मको घटना समेत उपन्यासमा जोडिन आइपुग्छ । त्यसबिचमै नेपालकी पहिलो आधुनिक गायिका भनेर चिनिएकी मेलवादेवि पनि एउटी पात्र हुन्छिन् जसलाई राणाहरुले आफ्नो स्वार्थमा भरपुर उपयोग गरेर अलपत्र छाडिदिएपछि कलकत्ता पुगेर रेडियोमा काम गरेको उनको एउटा संघर्षशील कथा छ ।

रेडियो नेपालको स्थापना हुनुपूर्व नै यहाँ आकासवाणी सेटहरु झिकाइएका थिए जसले रेडियो स्टेसनको रुपमा काम गथ्र्यो । सात सालको क्रान्तिमा नेपाली कांग्रेसको मुक्ति सेनाले त्यस्ता केही सेट कब्जा गरेर सरकारविरुद्ध उत्रिन्छ । त्यसैबेला यता काठमाडौंमा राजा त्रिभुवन दरवारभित्रै दयनिय अवस्था झेलिराखेका हुन्छन् । उनको अवस्था यतिसम्म दयनिय हुन्छ कि उनी आफ्नो तलब बढाइदिन राणाहरुसमक्ष अनुनय विनय समेत गर्न पुग्छन् । सात सालको क्रान्तिमा त्रिभुवन भारत छिरेपछि उपन्यासमा विपी, गणेशमान र सूवर्णशमशेरजस्ता सजिव पात्रले प्रवेश पाउँछन् जसको टकराव पछि महेन्द्रसँग जोडिंदै ’१७ सालको राजनीतिक घटनाक्रमका भित्री पाटो जोडिंदै जान्छन् । कहिंकतै उपन्यासकारले ऐतिहासिक तथ्यहरुको उत्खनन गरेका छन् भने कतै त्यसलाई काल्पनिक रुपमा रोचक बनाउने कोशिस गरेका छन् । टंकप्रसाद आचार्यको हिरक जन्मोत्सवलाई राजाको भन्दा भव्य रुपमा मनाएर जनताहरुको प्रजातन्त्रको चाह पनि देखाइएको  छ ।

मदन भण्डारीको दासढुङ्गा काण्ड समेत कालान्तरमा जोडिन आइपुग्छ । पछि पात्र बन्ने क्रममा कमलरीबाट सभासद् बनेकी शान्ता चौधरी आउँछिन् जतिखेर अघिल्ला ऐतिहासिक घटनाक्रमले रोचक बनाइराखेको पाठकहरुमा केही नैरास्यता ल्याउँछ ।

यहाँसम्म आइपुग्दा उपन्यास फगत ऐतिहासिक तथ्यहरुको थुप्रो जस्तो मात्र पनि लाग्न सक्छ । तर उपन्यासको नाम अनुसारको पात्रको प्रस्तुति भूषणको प्रवेशबाट हुन्छ जो रहरले पत्रकारिता र साहित्यको विद्यार्थी हुन्छ तर उसको पेट पाल्ने काम सरकारी गुप्तचरको रुपमा बढ्छ । भूषणको स्वच्छन्द स्वभावमा आएको पैसामुखी मानसिकताले एउटा पात्रको विकासक्रमको राम्रो प्रस्तुति दिन्छ ।

काठमाडौंका पूर्व मेयर केशव स्थापितको सहयोगमा त्यसबेला युद्धरत माओवादीसम्म रेडियो सेटहरु पुग्छन् जसको सुइको सरकारले समेत पाएपछि उनलाई मारिने योजना बन्छ र उनी त्यसबाट बच्न अमेरिका पुगेर केहीबेर लुक्छन् र दरबारको इच्छा बमोजिम प्रजा परिषद् स्थापना गर्ने उद्देश्यले फर्कन्छन्, पाप पखालेजसरी ।

अरुणा तिनै भूमिगत रेडियोमा काम गर्ने क्रममा छद्भेषी भएर पत्रकारिता पढ्न काठमाडौं आउँदा भूषणसँग भेटिएकी हुन्छिन् जतिबेला उनको लागि भूषण एउटा आदर्श बनेको हुन्छ । तर उपन्यासको अन्त्यसम्म आइपुग्दा जनयुद्ध समेत रोकिन्छ र पुनः भुषणको पत्रिकामा काम गर्ने क्रममा ऊ नैतिकतामा बिकेर गरेको काम अरुणालाई मन पर्दैन । भूषण भन्छन्, ‘तिम्रा लागि क्रान्तिका लागि रगत बग्नुपर्छ भन्ने होला तर मेरो परिभाषामा सफल मान्छेको जीवनमा अप्रत्यासित रुपमा आउने परिवर्तन नै क्रान्ति हो ।’

जसकै कारण उक्त काम छाडेर रेडियो छाप सलाईको कारखानामा काम गर्न थालेकी उनको जीवन पुनः कष्टकर बन्न पुग्छ । किनकि त्यसबेलासम्म बजारमा उक्त सलाईको माग घटिसकेको हुन्छ । र, व्यापारीहरु उनलाई काम त्यहि भए पनि ‘ग्यामरस’ ब्राण्ड राखेर काम गर्न सुझाउँछन् । र, उनी अन्ततः आफ्नै पत्रकारिता पेशामा फर्कन्छिन् ।

चार खण्डमा लेखिएको उपन्यासको लयमा धेरैतिर समस्या देखिन्छ । कतिपय अनावश्यक पात्र तथा कथ्यहरुले लम्मे उपन्यास बनाएको छ । गृहकार्य अझै पुगेको भए विषयका हिसाबले यो उच्च कोटीको हुनसक्ने उपन्यास हो । त्यति हुँदा हुँदै पनि आख्यान र गैरआख्यानको समिश्रण भएको यस्तो उपन्यास नेपाली पाठकका लागि रोचक हुनसक्छ ।


लेखकः डियर कल्याण
प्रकाशकः एमके पब्लिसर्स
पृष्ठः ३६१
मूल्यः ३५० रुपिया  


1 comment:

  1. समिक्षा नै भन्न अलि मिल्दैन कि यसलाई प्रदीप । पुस्तक परिचयजस्तो भयो । हैन र ? लेखाई चैं ठिक छ ।

    ReplyDelete