Sunday, June 17, 2012

वैकल्पिक पेशातिर


Simple Khanal
कहिलेकाहीँ धेरै योजना गर्दा पनि नजुरेको भेट सहजै भइदिन्छ । पिपुल्स कलेज, काठमाडौंमा विबिएस गर्दै गरेका पविन भट्टराईलाई हालैको एक साँझ त्यस्तै भइदियो । कीर्तिपुरको नयाँ बजारस्थित एक रेष्टुराँ ‘सुकु छ्ये ग्रीन हाउस’मा बफ छोइला खाइराखेको बेला अचानक कोही उनको अगाडि आएर बसे । खाइलाग्दो त्यस तन्नेरीले मुस्कानसाथ उक्त खाजाबारे प्रतिक्रिया माग्दा एकैछिन उनी नाजवाफ हुनुमा उक्त व्यक्ति पप गायक कमल मान सिंह हुनु थियो । स्कुल पढ्दादेखि नै सिंहका ‘कत्ति चोखो माया’, ‘पर्खाइको पीडा’ जस्ता दर्जनौं गीतहरु ओंठमा झुण्ड्याउँदै हिँड्ने बानी परेका पविनलाई त्यसबेलादेखि नै लाग्थ्यो ‘उनलाई भेटेर सँगै फोटो खिचाउन, अटोग्राफ लिन पाए’ भन्ने । त्यस दिन बाल्यकालदेखि मनमा जमेर रहेका ती पुराना रहरहरु मेट्ने अवसर पाए उनले ।

हो, उनै सिंहले अहिले कीर्तिपुरमा नेवारी खानाहरुको रेष्टुराँ खोलेका छन् । त्यसअघि नै उनको अर्को रेष्टुराँ ‘बारा’ त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा छ । ‘तर यसलाई क्लासिक रेष्टुराँको रुपमा लैजाने सोचेर खोलिएको हो’, ३३ बर्षे गायकले कुराकानीमा व्यापारिक स्वाद थप्दै भने, ‘जहाँ मौलिक नेवारी खाना व्यावस्थित तरिकाले खान पाइनेछ ।’ झण्डै डेढ दशक अगाडि पहिलो पप गीत रेकर्ड गराएर सांगीतिक क्षेत्रमा प्रवेश गरेका उनी एउटा ‘लक्की’ पुस्ताका गायक हुन् जतिखेर अहिलेजस्तो ब्रगेल्ती गायक थिएनन् । त्यसमाथि पप संगीत भर्खर उठ्दै थियो जसलाई नेपाली समाजमा राम्रैसँग रुचाउन थालिएको थियो । ‘हजारौं क्यासेटहरु बिक्री हुन्थे’, उनले त्यसबेलाको परिवेश सुनाए, ‘कन्सटर्स र स्टेज शोबाट उत्तिकै आम्दानी हुन्थ्यो ।’ तर, सधै त्यो त्यस्तो रहिदिएन । डिजिटलमा रुपान्तरण भएको प्रविधिले मानिसलाई जति सहज बनायो, उत्तिकै धक्का दियो गायकहरुको रोजीरोटीलाई पनि ।
त्यसैले केही बर्षअघि गायनकर्मलाई केही थाती राख्दै जग्गा व्यापारमा लागेर ७ बर्ष बिताए उनले । त्यसमा समेत त्यति सोचेजस्तो नभइदिएपछि उनले बाटो मोडे, रेष्टुराँतर्फ । त्यसबिचमा घरजग्गाको कारोबारले उनलाई यतिसम्म जीर्ण बनाएछ कि म्युजिक क्षेत्र नै बिर्सेजस्तो भइदियो जुन उनले खोजेको कुरा थिएन । त्यसैले ७ बर्षपछि आफ्नो सोलो एल्बम ‘समय र साथ’ निकाल्ने तयारीमा जुटेका छन् उनी अहिले । भन्छन्, ‘म्युजिक त नशा हो जसको विकल्पको रुपमा व्यापारलाई लानै सकिंदैन ।’ 

सिंहजस्तै व्यापार गरिआएको पेशाको विकल्पको रुपमा नभई त्यसो गर्नु जीवनको अर्को सोख ठान्छिन् मोडल, अभिनेत्री तथा टेलिभिजन प्रस्तोता सिम्पल खनाल । उनको अहिले नागपोखरीमा लेडिज वेयर्सहरुको पसल ‘क्याट्र्स’ छ । ‘म जीवनमा धेरैखाले एक्सपेरिमेन्टर्स गर्न रुचाउँछु’, कान्तिपुर टिभीको विहानी कार्यक्रम भविष्यदर्पणबाट चर्चामा आएकी खनालले भनिन् । गृहजिल्ला झापामा छंदै झण्डै ७ बर्षअघि ‘माझी दाई’ चलचित्रबाट फिल्म क्षेत्रमा डेब्यु गरेकी उनको मनले चर्चाकै बिचमा अर्को एउटा एक्सपेरिमेन्ट गर्न चाह्यो र कान्तिपुर टिभी छाडेर २ बर्षका लागि सिंगापुर पुगिन् । ‘शुरुवाती थोरै समय क्रुजमा काम गरें र पछि एक डेटाबेस कम्पनीमा छिरें’, झण्डै चार दर्जन म्युजिक भिडियोमा मोड्लिङ गरिसकेकी खनालले भनिन्, ‘त्यता पनि सबै राम्रै थियो तर मेरो मनले फेरी अर्कोखाले काम गर्न खोज्यो ।’ त्यही सही, उनी नेपाल फर्किन् र अहिले अर्की मोडल नम्रता सापकोटासँगको पाटर्नरसिपमा क्याट्र्स चलाइराखेकी छिन् । 

झण्डै १८ लाख खर्चेर खोलिएको उक्त पसलमा छिट्टै बुटिकसमेत खोल्नका लागि तानाबाना बुनिराखेकी छिन् उनी । व्यापारमा हात हालेपछि बल्ल उनलाई आफू निकै परिपक्व भएको जस्तो अनुभव हुन थालेको छ  । अहिले ‘अध्याय’ फिल्म र केही म्युजिक भिडियोहरु साथसाथै गरिराखेकी छिन् उनले । ‘तर सुर्टिङका लागि बाहिर कतै जानु परेपनि दिनहुँ साँझ फोन गरेर पसलको अपडेट्स लिन्छु’, उनले हाँस्दै भनिन्, ‘पसलमा आउँदा मलाई चिन्ने ग्राहकहरुले कहिलेकाहीँ तपाईंले नै छानिदिएको लाउँछु भन्छन् ।’

उता डिजे राजु, ३७, को योजना केही बर्षअघिसम्म आफ्नै ‘क्लब’ खोल्ने थियो । तर क्लब नभई उनी रेष्टुराँ खोल्न पुगे । लाजिम्पाटमा रहेको ‘भुटु’ उनकै हो । गीत संगीतलाई बङ्ग्याई–चौडाई चर्को स्वरमा बजाएर मानिसहरुका हुललाई रमाउन हाल्ने काममा पोख्त बनेका उनको रेष्टुराँ भन्ने शान्त छ । भन्छन्, ‘आजकल रेष्टुराँहरुमा म्युजिक धेरै हावी हुनथाल्यो त्यसैले शान्त ठाउँ खोज्नेहरु पनि छन् ।’ 

काठमाडौंको रात्री जीवनमा पछिल्ला सरकारहरुले कडाई गरेपछि धेरै डिजेहरुको काम सुस्ताएको छ । कति त बिस्तापित नै भइसके । यसरी माहोल बिग्रन थालेपछि डिजे राजुले ‘सेवा क्षेत्र’कै मिल्दोजुल्दो विकल्प सोचेका थिए । उनी स्वयं पकाउनका सोखिन हुन् । अहिले लगभग आफ्नो मुख्य समय रेष्टुराँमै दिइराखेका उनी कहिलेकाहीँ आँफै पकाउनेदेखि सर्भ गर्ने काममै समेत जुट्छन् । त्यसबाहेक रेष्टुराँले राम्रो जनसम्पर्क बनाइदिएपछि उनी झन् दंग छन् । 

‘डिजे पेशा त मेरो रगतमै आइसकेको छ जुन छाडेर व्यापार मात्र गर्न सकिंदैन’, उनको गुनासो छ, ‘तर सरकारले रात्री जीवनबारे व्यावहारिक कदम नचालेसम्म चाहीँ त्यति मात्रैले बाँच्न गाह्रो छ ।’ यद्यपि अझै पनि उनी कहिलेकाहीँ आउने विहे/भोजमा पुग्छन् भने विहानी केही घण्टा डिजे बन्न चहानेहरुलाई नियमित प्रशिक्षण दिन्छन् । त्यसबाहेक बेलाबखत उनले काठमाडौं बाहिर युवाहरुलाई लगेर ‘नाइट आउट’ इभेन्टहरु गरिराख्छन् । उनको जीवनको एउटै मन्त्र बनको छ, ‘जे गर तर पूरा सन्तुष्टि आउने गरी पूरा मिहिनेत गरेर गर ।’ सायद, बिग्रंदो रात्री जीवनको माहोलले डिजेइङमा उनले आफ्नो पूरा शक्ति देखाउन पाएनन् र बाटो मोडेका हुन् । 

DJ Raju
‘सानो संसार’, ‘लुट’ जस्ता आधा दर्जन बढि नेपाली चलचित्रका अभिनेता कर्म, २७, को समेत लाजिम्पाटमा नारायणहिटी राजदरबारको उत्तरढोका नजिकै ‘एटिक’ रेष्टुराँ छ जहाँ उनी केही साथीहरुसँग मिलेर आफ्नै घरमा व्यावसाय शुरु गरेका हुन् । रंगमञ्चबाट उठेर सिनेमा क्षेत्रमा जमेका उनले आफ्नो रेष्टुराँमा समेत अभिनयको स्वाद समेत थपेका छन् । त्यहाँ नाटक तथा सांगीतिक प्रस्तुतिका लागि भनेर सोही अनुसारको मञ्च नै तयार भएको छ जसमा बेलाबखत कर्म स्वयंले समेत प्रस्तुति दिन्छन् । यद्यपि यस व्यावसायमा लाग्नुको अर्थ भने अन्यजस्तो आफ्नो मुख्य पेशा कलाकारिताले आर्थिक साथ नदिएर भन्ने चाहीँ होइन भन्छन् उनी । उनको भनाई छ, ‘पैसाले त जति गरे पनि पुग्दैन ।’ त्यसमाथि उनी पैसाकै लागि भनेर पाएजत्ति सिनेमा खेल्दै समेत नहिंड्ने भएको हुँदा आफ्नो जीवनमा ‘सिनेमा’ र ‘व्यापार’को आफ्नो–आफ्नै ठाउँमा उत्तिकै महत्व भएको ठान्छन् । 

उनका बुवा महेन्द्र शाक्यको काठमाडौंमा थुप्रै ठाउँमा म:म पसल थियो जसको प्रशिद्धिले गर्दा ‘म:म किङ’ को रुपमा समेत चिनिन्थे उनी । सायद त्यसको केही व्यापारिक गुण समेत आफूमा सरेको हुनसक्छ कर्मको हकमा । उनी छिट्टै रेष्टुराँसँगै अर्गानिक खेतीमा समेत आफूलाई लैजाने सोचमा छन् । तर, सेलिब्रिटी भएकै कारण व्यापारमा लाग्दा भने फाइदासँगै कहिलेकाहीँ ‘इग्नोर’ गरिनसक्नुको समस्या आइदिन्छ । उनले हाँस्दै भने, ‘कहिलेकाहीँ त ग्राहकहरुलाई अटोग्राफ र फोटो खिच्दैमा समय बित्छ ।’ 

अब एकैछिन ललितपुरको ढोचें पुगौं जहाँ रहेको एक बुङ्गुर फर्ममा हास्य टेलिचलचित्र ‘मेरी बास्सै’ का कलाकार/सह–निर्माता धुर्मुस अर्थात सीताराम कट्टेल, २८, भेटिन्छन् । पछिल्लो ८ महिनायता उनी आफ्ना साढुभाई र साढुदाईसँग मिलेर ‘नेपाल एग्रिकल्चर फर्म हाउस’ खोलेका हुन् जहाँ ८ रोपनी जग्गामा अहिले एक सय बढि सङ्ख्यामा बुङ्गुरहरु छन् । त्यसमध्ये ५२ अहिले गर्भवती छन् जसको लागि छुट्टाछुट्टै खोरहरु बनाउनुपर्छ, जसमा अहिले जुटिराखेका छन् धुर्मस । 

हालसम्म तीन सय तेहिस श्रृङ्खला नाघिसकेको मेरी बास्सै सफल टेलिचलचित्रमध्ये पर्छ । जसकै प्रभावस्वरुप विदेशमा कार्यक्रमहरु गर्न समेत धेरै पुग्नेमध्ये पर्छन् उनी । ‘त्यसैले यो काम कलाकारिताले पैसाले नपुगेर शुरु गरिएको भन्ने होइन्’, हालैको एक साँझ नेपालसँगको कुराकानीमा धुर्मुसले भने, ‘म कलाकार हुनुभन्दा अगाडि नै किसान हुँ ।’ त्यसैले खेतीपाती तथा बस्तुभाउ हेर्नु आफ्नो पुरानो रहर भएको उनी बताउँछन् । सोलुखुम्बुको, नेचाबेदघारीमा जन्मेहुर्केका उनले एसएलसी दिँदासम्म दिनहूँ गोठालो गर्नेगर्थे । उनको भनाई छ, ‘भाग्यले अहिले धुर्मुस भनेर परिचित भएँ, नत्र मेरो जीवनको मुख्य पेशा नै अहिले त्यही खेतीकिसानी हुन्थ्यो ।’
तर बुङ्गुर फर्म खोल्नु पछाडिको कथा भने बेग्लै छ । कार्यक्रमहरुको क्रममा विदेशी भूमि चहार्दा उनले थुप्रै नेपालीहरु भेट्थे जो त्यहाँ निकै कम ज्यालामा निम्नस्तरको काम गरिराखेका भेटिन्थे । यसले कताकता उनको मनमा लाग्थ्यो ‘यहि मिहिनेत देशभित्र यिनीहरुले गरेको भए’ भन्ने । ‘त्यसैले मेरो इच्छा र उनीहरुलाई समेत प्रेरणा बन्न सकोस भनेर आफै यो काम शुरु गरें’, उनले बताए, ‘काम भन्ने सानो ठूलो हुँदैन, तर सम्मानसाथ काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।’

Dhurmus
फर्म शुरु गर्ने निर्णय गरेर उन्नत जातका बुङ्गुरका पाठा लिन सातदोबाटोस्थित सरकारी कार्यालय पुग्दा शुरुमा त्यहाँका कर्मचारीले ‘यी हाँस्य कलाकार यहाँ नि हसाउन थाले’ भन्ने सोचे । ‘विश्वास दिलाउनै केही समय लाग्यो’, उनी सम्झन्छन्, ‘अन्तत: त्यहाँबाट ४ वटा मात्र पाठा लैजान पाइनेमा वहाँहरुले कदरस्वरुप मलाई ८ वटा दिनुभो ।’ 

उनको घरबाट फर्म २ किलोमिटरको दूरीमा छ जहाँ सुटिङबाट फुर्सद पाउनसाथ उनी पुगिहाल्छन् । भन्छन्, ‘कहिलेकाहीँ लामो समय विदेश बसियो भने पनि फर्मको समेत उत्तिकै चिन्ता हुन्छ ।’ अहिले उनीहरु त्यस क्षेत्रलाई दोब्बर ठूलो  (१६ रोपनी) बनाउने योजनामा छन् जहाँ माछा पालन तथा अर्गानिक खेती शुरु गरिँदैछ । अहिले उनलाई जिल्ला–जिल्लाबाट पाठाहरु राख्दिन भन्दै मानिसहरु फोन गर्छन् भने काठमाडौं बाहिर कार्यक्रम लिएर जाँदा समेत कतिपय ठाउँमा कृषकहरुले उनीसँग अन्तरक्रिया गर्न आइपुग्छन् । 

गायककार तथा म्युजिक भिडियो निर्देशक बादल प्रसाई, २७, को पिङ्गलास्थान, गौशालामा ‘नक्षेत्र गेष्ट हाउस’ छ जुन उनले अन्य दुईसँगको सहकार्यमा पच्चिस लाखको लगानीमा खोलेका थिए । ‘म बादल तिमी बर्षा’का गायक प्रसाई यसमा रहरभन्दा पनि बाध्यता बढि रहेको बताउँछन्, ‘अहिले क्यासेट सेल्स ठप्प छ, सिआरबिटी हो अलिअलि कमाउने त्यो पनि अब सुस्ताउन थालिसक्यो ।’ त्यसैले गायककार हुँ भनेर बाँच्नकै लागि पनि अर्को ‘सपोर्टिङ’ व्यावसाय हुनुपर्ने अवस्था आएको उनी ठान्छन् । तर त्यसो भन्दैमा गीतसंगीत क्षेत्रलाई बिर्सेरै अन्यतर्फ लाग्न नसकिने प्रसाई ठान्छन् । ‘बादल’ एल्बम श्रोताले राम्ररी रुचाइदिपछि अहिले ‘झिल्के बादल’ लिएर आउने अन्तिम तयारीमा रहेका उनले भने, ‘मान्छेको सोख एउटा भइकन पनि त्यसलाई बचाउन कहिलेकाहीँ सोखको पेशाभन्दा अर्कोलाई बढि माया गर्नुपर्ने हुन्छ ।’ 

जे होस्, कसैको रहर त कसैको बाध्यताले समाजमा नाम चलेका थुप्रै सेलिब्रिटीहरु अहिले आफ्नो नाम चलेको पेशासँगै अन्य व्यावसायमा समेत साथसाथै हात हालेका छन् । 

र, यी पनि 

सेलिब्रिटीहरुमा विशेषगरी युवकहरु रेष्टुराँमा र युवतिहरु ब्युटीपार्लर/बुटिकजस्ता व्यावसायमा हात हाल्ने क्रम बढि छ नेपालमा । रेष्टुराँ व्यावसायमा हात हाल्नेहरुमा गायककार विजय लामा, बाबु बोगटी आदि पनि थिए जसले अहिले छाडिसकेका छन् भने नायक मोहित आचार्यले समेत अहिले ‘ब्रिक्स क्याफे’ खोलेका छन् । गायक निमा रुम्बाले अहिले आफ्नी श्रीमतीसँग मिलेर घरमै नर्सरी व्यावसाय गरिराखेका छन् भने यस कुमारको मैतिदेविमा सुन–चाँदीको पसल छ । बाबु बोगटी, यस कुमार, रामकृष्ण ढकालजस्ता थुप्रै सेलिब्रिटीहरु केही अघि घरजग्गा व्यावसायमा समेत लागेका थिए जसले कतिलाई उकास्यो त कतिको लगानी अझै त्यसमा फसेको छ । नायकहरुतर्फ जीवन लुइँटेलले अभिनयबाहेक विदेशमा इभेन्ट म्यानेजमेन्टको काम गर्छन् भने विमलेश अधिकारीको कपडा पसल छ । धिरेन शाक्यले फिल्मका लागि प्राविधिक सामाग्रीहरुको व्यापार समेत गर्छन् । 

उता पूर्व मिस नेपालहरुमा रुवि राणाको व्युटिपार्लर छ भने उषा खड्की र माल्भिका सुब्बाको बुटिक व्यावसाय छ । नायिका सिर्जना बस्नेतले अर्की नायिका अनुस्का ढकालसँग मिलेर बौद्धमा ‘पल्स ब्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टर’ खोलेका थिए जुन बन्द भयो । 


No comments:

Post a Comment