Saturday, September 1, 2012

फिक्सन फन


टेस्ट परीक्षा भर्खर सकिएको थियो । एसएलसी सुरु हुनुअघिको डेढ-दुई महिने छुट्टीमा सहपाठीले पढाइको रफ्तारलाई सकेजति बढाएका थिए । तर अमर न्यौपानेको रफ्तार बढ्यो, उपन्यास लेख्नमा । 'एक महिनामा एउटै मोटो कापी भरेको थिएँ,' उनी सम्झन्छन्, 'त्यसमा उतिबेलाका फिल्मी प्रभाव थियो ।' 

त्यतिखेरै वसन्ती, सेतो बाघजस्ता उपन्यास पनि पढेका थिए उनले । महाभारत र स्वस्थानीको प्रभाव उनमा सानैदेखिको थियो । त्यसबेला सम्झँदा अमर आजकल एक्लै मुस्काउँछन् । अहिले उनी बजारका चर्चित कमै लेखकमा गनिन्छन् । बाल विवाहको पृष्ठभूमिमा हुर्केकी विधवाको कथामा बुनिएको उपन्यास 'सेतो धरती' प्रकाशनको तीन महिना नकट्दै दुई हजार प्रति बिक्री भइसकेको छ । 

आफ्नै हजुरआमा (बुवाकी माइजू) को कथा सेतो धरतीमा छ । त्यसमा कति उनले भोगेका त कति हजुरआमालाई देख्दा अनुमान गरेका छन् । 'उपन्यासका लागि मैले कुरा गर्न नपाउँदै उहाँ बित्नुभो,' अमर भन्छन्, 'उहाँले संन्यासी जीवन बिताउनुभएको देवघाटमा एक महिना बसेर हजुरआमाजस्ता थुप्रैको मन पढ्न खोजेको थिएँ ।' 

कुनै बेला डायमनशमशेरले जस्तो ऐतिहासिक एवं विश्वेश्वरप्रसाद कोइरालाजस्तो मनोवैज्ञानिक शैलीले खुबै तान्थ्यो उनलाई । पारिजात र गोविन्दबहादुर मल्लका समेत उस्तै फ्यान थिए अमर । भन्छन्, 'कुनै राम्रै कथाले समातेपछि शैली भन्ने अरूको प्रभावले भन्दा पनि कथा स्वयंले तय गर्दोरहेछ ।' 

यसअघि उनले 'पानीको घाम' प्रकाशित गरेका थिए । खण्डखण्डमा पढ्दा कथाजस्तो लाग्ने र पुस्तक सकिसक्दा उपन्यासजस्तो हुने यसलाई उनले हुँदा 'आख्यान' मात्र भने जसले २०६६ सालको पद्मश्री पुरस्कार पाएको थियो । नेपालगन्जका दलित बस्ती घसियारा, चिडिमारा, पथ्थरकट्टा, किन्जरियन, मगन्ताका कथाहरू संगृहीत छन् यसमा । 
अमरभन्दा केही वर्ष अघिदेखि चर्चामा आएका 'कर्नाली ब्लुज' का लेखक बुद्धिसागर खासमा कवि हुन् । राष्ट्रिय कविता पुरस्कार हात पारिसकेका उनको कृति 'हजारौं पृथ्वी, हजारौं आकाश' निकाल्दा आफैंले आठ पाना लामो भूमिका लेखेका थिए । 'धेरैका लागि मेरा कविताभन्दा उक्त भूमिका रोचक भइदिएछ,' उनी सम्झन्छन्, 'त्यसपछि आएका उक्साहटले गर्दा कविताबाहेकका विधामा मैले हात बढाएँ ।' 

कर्नाली ब्लुज जन्मनुमा उक्त कविता संग्रहको ठूलो हात मान्छन् उनी । अठार हजार प्रति बिक्री भइसकेको उनको उपन्यासमा उनले ठेठ नेपालीदेखि लिएर चल्तीका आगन्तुक एवं अपभ्रंस भएका शब्दसमेत छन् । जसलाई तन्नेरीदेखि बुढापाकासम्मले उत्तिकै मन पराए । कतिले त भाषाको दृष्टिले बेग्लै महत्त्व भएको किताबसमेत अथ्र्याए यसलाई । 

'कवितामा पनि म सरल लेख्ने मान्छे हुँ,' बुद्धिसागर भन्छन्, 'उपन्यास त झन् बढी सरलता चाहिने विषय हो । त्यो त्यस्तो सरलता चाहिन्छ जसभित्र गहिरो अर्थ लुकुन् ।' उपन्यास लेख्दै गर्दा आधाजसो सकेपछि उनले यस्तो भाषा दिन्छु भन्ने निर्णय गरे र लेखिसकेकालाई समेत त्यही शैलीमा मोडेका थिए । 

उनको कथा यति धेरैले पढेका छन् कि उनी सेलिबि्रटी लेखकका रूपमा छन् । 'त्यसैले अर्को काम बाहिर ल्याउन आफैंबाट निकै चाप झेलिराखेको छु,' उनको भनाइ छ, 'लेखकहरू कायर हुन्छन् भन्ने सुनेको थिएँ, आजकल बल्ल राम्ररी बुझ्दैछु ।' उनले एउटा उपन्यास लेखिसकेपछि चित्त नबुझेर थन्काए भने अहिले संस्मरणमा काम गरिराखेका छन् । भन्छन्, 'एउटै पुस्तकमै जीवन सकिन पनि सक्छ ।' 

ऋचा भट्टराई कथा संग्रह 'फिफ्टिन एन्ड थ्री क्वाटर्स' की लेखक हुन् । अंग्रेजीमा 'फिक्सन' लेख्ने निकै कम नेपाली लेखकमध्ये पर्नाले पनि उनको चर्चा बढी छ । उनी पहिले कविता लेख्थिन् । एकपटक अंग्रेजी पढाउने शिक्षकले कक्षामा सबैलाई कथा लेख्न लगाउँदा उनको निकै प्रशंसा गरेछन् जसले प्रेरणाको काम गर्‍यो ऋचामा । 

'हुन त म कथा/उपन्यास पढ्न पहिल्यैदेखि रुचाउँथें,' ऋचा भन्छिन्, 'सायद त्यसको प्रभाव थाहै नपाईकन ममा परेको पनि हुन सक्छ ।' उनका कथामा कल्पना र यथार्थका बरोबरी विषय बनिराखेका हुन्छन् । कुनैमा बालुवाको कण नै पात्र बन्छ त कतै सपनाका कुरा कथामा बुनिन्छन् । भन्छिन्, 'कथा लेखनको सबैभन्दा सुन्दर पक्ष आफूले चाहेको संसार बनाउन सक्नु हो ।' कथा कहिलेकाहीँ लेख्न सुरु गर्दा एक तरिकाले सोचिएको हुन्छ, अर्कै तरिकाले अन्त्य भइदिन्छ । उनी कहिलेकाहीं कुनै विषयमा कथा लेख्ने सोच्छिन्, केही दिन लेखिएन भने मनभित्रै कथाले फरक मोड लिइराखेको हुन्छ । ऋचाको भनाइ छ, 'त्यसैले कथामा अनेकखाले प्रयोग भइराखेको हुन्छ ।' यो हरेकको आफ्नो भावना, सोचाइले फरकपन ल्याउने विषय भएको उनी ठान्छिन् । 

त्यसैले उनी अरूबाट सम्पादन गराउने कुरामा त्यति धेरै विश्वास राख्दिनन् । किताब छाप्नुअघि उनका फुटकर कथा राष्ट्रिय दैनिकमा छापिन्थे । भन्छिन्, 'तर वास्तविक लेखकको परिचय पुस्तक छापेपछि मात्र हुने भन्दै धेरैले सुझाएपछि यता मोडिएकी हुँ ।' अंग्रेजीमा लेखिएकै कारण उनका कथा पढेर थुप्रै विदेशीले पनि कमेन्ट गरेका छन्, जतिखेर कथाको भाव फरक परिवेशका व्यक्तिसम्म सञ्चार भएकोमा उत्तिकै खुसी लाग्छ रे उनलाई । 

आन्विका गिरीले तीन वर्षअघि कथा संग्रह 'कम्युनिस्ट' प्रकाशन गरेकी थिइन् जसको चर्चा अझै बजारमा छ । पाँच वर्ष लगाएर लेखिएका १७ कथाको संग्रहमा राजनीतिक कथा बढ्ता छन् । 'घरमा राजनीतिक गफ बढी चल्थ्यो, देश राजनीतिक माहोलले तातेको थियो,' आन्विका भन्छिन्, 'त्यसले नै सबैभन्दा ठूलो विषयवस्तु दिन्थ्यो ।' 

कम्युनिस्टमा माओवादी युद्ध, मधेस आन्दोलनजस्ता पृष्ठभूमिमा बुनिएका कथा बढी छन् जसलाई उनले चौतर्फी कोणबाट लेखेकी छन् । 'मैले युवा पुस्ताको प्रतिनिधित्व गर्छु भन्दैमा उनीहरूकै भावमात्र पनि समेटेकी छैन,' संग्रहबारे उनी थप्छिन्, 'यो एउटा कालखण्डको कथाहरूको संग्रह हो ।' धेरैजसो पहिलो कथनमा लेखिएका उनका कथामा कतै उनी किशोर छिन् कतै वृद्ध पनि । 

भन्छिन्, 'मेरी दिदी साहित्यमा रुचि राख्नुहुन्न तर मेरो कथा मन पराउनुभयो भने बल्ल त्यसलाई कथा मान्छु म ।' किताबले यसबीचमा राम्रै चर्चा बटुल्यो । पुस्तक छापिएपछि लेखकको काम सकियो भनेर सोच्ने उनी प्रवर्द्धनका लागि धेरै भिडिनन् । यद्यपि अहिलेसम्म उनलाई त्यसका प्रतिक्रिया आउँछन् । सम्भिmन्छिन्, 'एकपटक बिनापरिचय गफ चल्दा एक जनाले मेरै कथा संग्रह पढ्न सुझाएका थिए ।'

सुविन भट्टराई 'कथाकी पात्र' कथा संग्रहका लेखक हुन् । पछिल्लो पुस्ताका व्यक्तिलाई कथाका पात्र बनाएका उनले प्रेम, मनस्थिति र प्रवृत्तिमै खेलेका छन् । साहित्य जटिल र गम्भीर कुरामा मात्र बुनिँदैन, यो उत्तिकै सरल र साधारण विषयवस्तुमा समेत गहन हुन्छ भन्ने ठान्छन् उनी । भन्छन्, 'सरल कुरालाई घुमाउरो पाराबाट गर्न मन पर्छ जसले त्यसबीचका स-साना तर महत्त्वपूर्ण कुरासँग साक्षातकार गराउँछ ।' 

दुई वर्षअघि छापिएको उनको पुस्तक अहिले तेस्रो संस्करण बजारमा आउने क्रममा छ । साथसाथै 'समर लभ' उपन्याससमेत अब छिट्टै सार्वजनिक हुने क्रममा छ । भन्छन्, 'मेरो पुस्ताका भाव आफ्ना रचनामा पोख्न खोजेको छु ।' 

यी युवा लेखकका कृति धेरैबाट रुचाइनुमा ती आम मानिसका आफ्नैझैं लाग्ने कथावस्तु हुन् । उनीहरू जसरी सोच्छन्, त्यसरी लेख्छन् । त्यसैले चलेका प्रकाशन गृहले उनीहरूबाट राम्रै सम्भावना देखेर विश्वास गर्न थालेका छन् ।

1 comment:

  1. कतिको बिनिता कतिको रमिता
    अब लेख्छु म यहिँ बसी कविता......(भैरब अर्याल) जय युवा

    ReplyDelete