Friday, August 17, 2012

निशानामा निमुखा

एक्लैको ज्याला मजदूरीले २ सन्तान र एक जड्याहा श्रीमान पाल्न धौधौ भइराखेका बेला बुटवल नगरपालिका १३ की शकुन्तला विक सामु कसैले कुवेत लगिदिने सपना बोकेर पुग्यो । सपना देखाउने दलालले उनलाई लगातार तीन हप्तासम्म पच्छ्याउँदै विभिन्न आश्वासन देखाएपछि अन्तत: उनी राजी भइन् । उक्त दलालले भन्ने गरेको शकुन्तला सम्झिन्छिन्, “यहाँ गर्ने दु:ख विदेशमा गर्‍यौ भने त तिम्ले तेब्बर बढि पैसा आरामले कमाउँछ्यौ ।” हुन पनि हो, उनले सोचिन्, “यहाँ बसेर नै के पो सुख छ र, त्यहाँ गए नर्क नै भएपनि यहाँभन्दा त बेसै होला ।” त्यस्तो विशेष सीप र शैक्षिक योग्यता केही नभएकी उनलाई मासिक २८ हजार तलब पाइने भन्दै कुवेत पुगिन् । तर कुवेत ‘यहाँभन्दा कठिन नर्क’ बन्यो शकुन्तलाका लागि । शरिरले थेग्नेभन्दा बढि काम र मालिकको यौनतृप्तीको शिकार बनिन् । अन्तत: काम गर्न नसक्ने भन्दै घर फिर्नुपर्‍यो ।

रूपन्देहीकै दयानगरकी माया शर्मा भने बुटवलका स्थानिय दलाल दीपेश क्षेत्रीमार्फत साउदी अरबको रियाद शहरमा २ बर्ष काम गरेता घर फर्कंदा रित्तो हात भइन् । सामान्य साक्षर मायाको तलब घर पठाइदिएको भन्दै घरमालिक आफैंले राखेपछि उनको यस्तो हविगत भएको हो । उनको तलब मासिक नेपाली झन्डै ३२ हजार रुपयाँ भनिएको थियो जसको मुखै हेर्न पाइनन् मायाले ।

शाकुन्तला र मायाको हविगत झेल्ने महिलाहरु अहिले थुप्रै छन् । वैदेशिक रोजगारलाई प्रयोग गरेर यसरी अनुचित फाइदा उठाउने दलालहरुको अहिले देशभर ठूलो सञ्जाल विस्तार छ । तर यसमा मध्यमवर्गिय व्यक्तिहरु विस्तारै सचेत हुन थालेपछि दलालहरुको निशाना आर्थिक र सामाजिक रुपले कमजोर अवस्थामा रहेका महिलाहरुमाथि पर्न थालेको छ । जसले उनीहरुको आर्थिक अवस्था सुधार्न त परै जाओस् झन् बढि मर्कामा पारेको छ । पैसा कमाउने आशामा विदेश पुगेका थुप्रैको फर्कंदा उल्टो ऋण चुलिएको छ । दलालहरु मोटाउँदै छन् भने महिलाहरु उनीहरुको निशानाका शिकार बनेका छन् ।

गरिबीमाथि खेलिराखेका दलालहरुका लागि अहिले महिलाको कोमलता र अज्ञानता सबैभन्दा बढि फाइदाकर बनेको छ । आफ्नो घरमा राम्ररी पालिन नसकेपछि घर झापाको दमकबाट मावली विर्तामोड पुगेकी रीता नेपाली, २३, उता झन् चर्को अभाव झेलिन् जसलाई देखिराखेकी स्थानिय दलाल सुधा राईले फाइदा उठाइन् । वैशालु उमेरमा अभावका थाक बोकर बाँचिराखीकी रीताको लागि सुधाले बाँडेको आश्वासनले सहजै काम गर्‍यो । रीता साउदी त पुगिन् तर अहिले उनी के गर्दैछिन् पत्तो नभएको डेढ बर्ष भइसक्यो । एक बर्षअघि भएको पछिल्लो फोनमा रीताले आमालाई भनेकी थिइन्, “म अपराधीको फन्दामा परें ।”
वैदेशीक रोजगारीका यस्ता दलालहरु अहिले सिंगै बस्तीलाई आफ्नो काम पूरा गर्ने भूमि बनाइराखेका छन् जहाँ त्यसलाई सही गलत भनिदिने अर्को मान्छे समेत कोही नहोस । दलित एवं विपन्न आदिवासीको बाहुल्यता रहेको नवलपरासीको दाउन्नेदेवि गाविसस्थित पृथ्वीबस्ती यस्तै एक हो तस्करले राम्रै रजाईं गरेको । यहाँका झण्डै ८ सय घरपरिवारमध्ये २ सय बढिका महिलाहरु विदेशमा छन् ।

पृथ्वीबस्तीकै आइतीमाया तामाङ्ग, ४४, फरक फरक तीन समयमा गरेर ६ बर्ष साउदी अरबमा बिताएर फर्केकी हुन् । उनको सम्बन्ध विगत एक दशकदेखि श्रीमानसँग छैन । सम्बन्ध विच्छेद नभएपनि भारतको भोपालमा बस्ने श्रीमानले घरको हेक्का राख्न छाडेका थिए । जसलाई नजिकबाट देखिराखेका स्थानिय दलालले नै उनलाई निशाना बनाए र उनी पनि मुम्बईकै बाटो हुँदै विदेशिइन् । दलालले उनलाई पासपोर्ट बनाइदिनेदेखि लिएर टिकेट खर्च समेत आफै हालिदिने र पछि उनको कमाईबाट काट्ने बताए । बिना आम्दानी चुलिराखेको ऋणले थलिएकी उनी त्यसलाई सहजै स्विकारेकी थिइन् । तर त्यतिका बर्ष बाहिर हुँदा समेत उनले गरेको उल्लेख्य काम भएको एक लाख पचास हजारजति ऋण तिर्न सक्नु मात्र हो ।

“महिलाहरुको कमजोर र आह्त पारेको अवस्थालाई प्रयोग गर्दा उनीहरुलाई प्रलोभनमा पार्न सहज छ”, वैदेशिक रोजगारबाट फर्किएर आएका महिलाहरुको संस्था पौरखीकी अध्यक्ष मञ्जु गुरुङले भन्छिन्, “र, निम्न आर्थिक अवस्था भएकामाझ पुग्दा उनीहरु जसरी र जस्तोमा पनि जान तयार हुने भएकोले दलालहरुले बढ्तै कमिसन प्राप्त गर्न पाउँछन् ।”

यस्ता गाउँबाट कामका लागि युवकहरु पनि जान नखोज्ने होइनन् तर दलालहरु उनीलाई लैजाँदा निकै बढि खर्च लाग्ने बताउँछन् जसले श्रीमान वा दाजुभाई छाडेर नचाहँदा नचाहँदै समेत महिला नै बाहिर जान बाध्य छन् । “कामका लागि लाने भए हामीलाई लैजाओ भनेर रोकेको थिएँ”, कञ्चनपुरको कृष्णपुर गाविसस्थित गुनियाल फाटाका गीता वादीका श्रीमान प्रकाश वादीले भने, “तर म मुम्वई गएको मौका छोपेर लगेछन् उसलाई ।” महिलामा पनि कम उमेरका बढ्तै निशानामा छन् । उनको गुनासो छ, “मिठु भन्ने दाललले त तन्त्र मन्त्र गरेजस्तो गरी हामी सबैलाई फकाएर फुत्काउन सफल भईछ ।”

घटनाक्रमहरु हेर्दा यस्ता दलालहरु विशेषगरी खान लाउनै हम्मेहम्मे हुने परिवारसम्म पुग्छन् जसको खर्च समेत शुरुमा आफैले हालिदिएर सहयोग गरेझैं गरेर पछि उनीहरुको तलबबाट असुल्छन् । थुप्रै अवस्थामा हाउसमेड, केयरटेकरजस्ता कामका लागि विदेशबाटै टिकेट र भिसाको खर्च रोजगारदाताले नै तलबबाट नकाट्ने गरी व्यहोरिदिने गर्छन् । तर त्यसलाई नै सहयोग गरेजस्तो गरेर कतिले आफूले पैसा हालिदिएको भन्ने गर्छन् त कतिले तलवबाट उक्त रकम काट्ने बताउँदै उताबाट कमिसन खाँदै निकै कम तलवमा महिला कामदारहरु पठाउँछन् । यसरी कमिसनको खेलो गर्ने दलालको ठूलै अखडा खाडी मुलुकमा र यहाँबाट लैजाने क्रममा मुम्बईजस्ता ठाउँमा छन् जसको सम्बन्ध कानुनी रुपबाट कामदार लैजाँदा दिनुपर्ने सेवा सुविधालाई छलेर सस्तोमा कामदार खोज्नेहरुसम्म हुन्छ । यसरी जाने सबै फन्दामै पर्छन् भन्ने पनि होइन तर समस्यामा परिहालेमा त्यसको कानुनी उपचार निकै असहज भइदिन्छ भन्नेबारे त्यसरी जानेहरु बेखबर छन् ।

नवलपरासीको ठुठिबारी सीमाबाट गत बर्ष यसरी जान लागेका झण्डै तीन दर्जन महिलाको उद्दार गरिएको थियो जसमध्ये अधिकांश दलित समुदाय, सुकुम्बासी बस्ती र छिट्टै विधवा भएका एवं सम्बन्धविच्छेद भएका महिलाहरु पाइएका थिए । सीमामा भेटिएका कतिपय त अर्कैको पासपोर्टमा हिंडेको समेत पाइएका थिए । माइती नेपाल नवलपरासी कार्यक्रम संयोजक सोलिमायाँ अधिकारी भन्छिन्, “उनीहरुलाई आफ्नो पासपोर्टमा के छ भन्ने समेत थाहा हुँदैन ।” तराईमा बन्दै गरेका नयाँ बस्तीहरुमा समेत अहिले दलालहरुले आँखा गाडेका छन् जहाँ दलालहरु पुरानाबस्तीम भन्दा सहजै सम्बन्ध स्थापना गर्न सक्छन् ।

दर्तावाल म्यानपावरहरुले नै आफ्नो सञ्जाललाई गैरकानुनी रुपबाट समेत प्रयोग रोजगारदातासम्म सस्तोमा कामदार मिलाइदिने काम गर्छन् । यस्तो गर्दा उनीहरुले पाउने कमिसनको मात्रा बढि हुन्छ र बढि मात्रामा कामदारको माग समेत हुनेगर्छ । यसमा तत्लो तहका दलालहरुलाई सबैभन्दा बढि प्रयोग गरिराखेको घटनाक्रमहरुले देखाउने रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्रनाथ रेग्मी बताउँछन् । उनी भन्छन् “भारतीय भूमि हुँदै खाडीसम्म पठाउनेमा सबै फाइदा आफूले लिने भन्दा पनि दस/बिस हजार कमिसनकै भरमा काम गर्नेहरु बढि भिड्छन् जसलाई आफू कोसँग काम गरिराखेको छु भन्ने समेत थाहा हुँदैन ।” थुप्रै दलालले आफ्नो परिचयसंगै कागजात र म्यानपावरसमेत नक्कली देखाउने गर्छन् जसको प्राय: अशिक्षीत हुने निम्नस्तरका महिलाहरुले पत्तै पाउँदैनन् । अझ नातामा दिदी, मामा, सानीमा, काका, भिनाजु पर्ने पनि कमिसनको लोभमा दलाल बनिराखेको कटुसत्य देख्न पाइन्छ । प्रहरी उपरीक्षक रेग्मी ठान्छन्, “सम्भावित जोखिम नबुझिकन उसलाई नि हुने, आफूलाई नि हुने ठानेर त्यसरी आफन्तहरु नै दलाल बनेका छन् ।”

थुप्रै त्यस्ता पनि छन् जो शुरुमा कामदारकै रुपमा गएर पनि पछि दलाल बनेका । नवलपरासीको सुनवल–५, विसासयकी चन्द्रकला कुँवर, ४०, त्यस्तैमध्येकी एक हुन् जो २ पटक साउदी अरब र एक पटक कुवेत गएर फर्केपछि अहिले दलाल बनेकी । हालसम्म उनले ५० बढि महिलालाई त्यसरी साउदी अरब र कुवेत पठाएकी छिन् त्यो पनि मुम्बईकै बाटो प्रयोग गरेर । पछिल्लो समय चेन्नई समेत राम्रो ट्रान्जिट बन्न थालेको छ । कञ्चनपुरको गुनियाल फाटाबाट थुप्रैलाई विदेश पठाएकी मिठु वादी समेत एक बर्ष साउदी अरब बसेर फर्केकी हुन् । 

मिठुजस्ता थुपै वादी महिला गुनियाल फाटामै बुझेर/नबुझेर दलाल बनेका छन् । यहाँ जग्गाको नाममा १/२ क्ठ्ठा भन्दा बढि कसैको छैन । त्यसमाथि यहाँका युवाहरु थुप्रै कामकै लागि भारततिर हुनेहुँदा फन्दामा पार्न सहज भएको छ । कमजोर आर्थिक अवस्थामा रहेका कञ्चनपुरका तामाङ्ग बस्तीहरु कालिका, त्रिभुवनवस्ती र परासनमा अहिले महिलालाई निशानामा पारीराखेका छन् दलालहरु ।

नाम नखुलाउने सर्तमा २ सय बढि महिलाहरुलाई यसरी पठाइसकेका नवलपरासीको बञ्जरियाका एक दलाल भन्छन्, “जति कम उमेरका केटी पठायो, त्यती नै बढि कमिसन मिल्नेगर्छ ।” उनका अनुसार २१ देखी २८ उमेर समूहका महिलालाई मुम्बईसम्म पुऱ्याउने वित्तिकै ८० हजार रुपयाँ र त्योभन्दा बढि उमेरका महिलालाई पठाउनेले ६० देखी ६५ हजार रुपयाँसम्म पाउँछन् । जसले पाँचदेखि बीसहजारसम्म प्रतिव्यक्ति कमिसन दिनेगरी उनीहरुलाई सहजै विश्वास गर्ने खालका स्थानिय दलाललाई प्रयोग गर्छन् । यसरी सीमा कटाउनेसम्म कुँवरजस्ता ‘भिजिवल’ दलाल प्रयोग हुन्छन् जो सीमा कटेपछि ‘इन्भिजिवल’ दलालको सम्पर्कमा आउँछन् ।

मुम्बई, चेन्नईजस्ता ट्रान्जिटमा पुगेपछि ति ‘इन्भिजिवल’ दलालको काम सकिन्छ र महिलाहरु त्यसैगरी नेपाल, बंगलादेश, भुटानबाट त्यसैगरी त्यहाँ जम्मा भएका महिलाहरुसँग भेट हुन्छन् । त्यहाँ केही समय अद्यागमनमा गर्ने व्यावहारबारे सिकाएपछि उनीहरुलाई तय गरिएको गन्तव्यतर्फ पठाइन्छ । एकथरी अर्का दलालहरु पनि छन् जसले आफन्त वा साथीभाई भेट्ने बहानामा भिजिटिङ भिसा पठाएर आफ्ना चिनाजानका मान्छेकोमा काम लगाइदिन्छन् जसको समेत वैधानिक हैसियत हुँदैन ।

मुख्य तस्करहरुले दलालहरुलाई दिने पैसा निकै सीमित हुन्छ जसबाटै भिजिवल दलाल, पासपोर्ट, मुम्बई र त्यहाँबाट खाडी गन्तव्यसम्मको टिकेटखर्च र कतिपय अवस्थामा लैजान लागेको महिलाका परिवारलाई फकाउन समेत केही हजार खर्चनुपर्ने हुन्छ ।  त्यसरी जाने क्रममा महिला दलालहरु नै प्राय: साथमा हुने हुँदा उनीहरु सीमाका सुरक्षाकर्मीलाई सहजै झुक्याउन धेरै सफल छन् ।

सात बर्ष कुवेत र चार बर्ष साउदी अरब बसेर आएकी नवलपरासीकै पृथ्वीबस्तीकी कमलादेवि मल्ल भन्छिन्, “यसरी गैरकानुनी रुपमा जाने भनेको सबै नसिवकै भर परेर हो न त्यहाँ त्यसको कुनै लिखित विवरण हुन्छ न चाहेको बखत घर फर्कन पाइन्छ ।”

सबैभन्दा समस्या त त्यसबेला हुन्छ जब कतिपयले हाउडमेडकै रुपमा भनेर आफ्नो गलत यौन उद्देश्य पूरा गर्न खोजेका हुन्छन् । नवलपरासीको बञ्जरियामा भेटिएका दलाल समेत कम उमेरका केटीहरुलाई बढि पैसा खर्च गर्नुको उद्देश्य त्यही हो भन्ने स्विकार्छन् । भन्छन्, ‘नत्र काम त कम उमेरकाले भन्दा उमेर पुगेकाले नै राम्ररी गर्न सक्थे नि ।’

“कहिल्यै घरबाट बाहिर ननिस्केका र नेपाली अक्षरसमेत नचिन्ने महिला विदेश पुग्ने हतारोमा छन् जसले स्वभाविक रुपमै समस्याहरु बढाउँछ”, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद पोखरेल भन्छन्, “त्यसमाथि उनीहरु आफ्नो विवेकभन्दा बढि अरुकै भर र आश्वासनकै भरमा हुन्छन् ।” सिन्धुपाल्चोकको मध्य र पश्चिमी भेगका गाउँबाट महिलाको ठूलो सङ्ख्या विदेशीएको छ जसमध्ये सिम्पालकाभ्रे, गोल्चे, गुम्बा, भोताङ, थाङपालकोट, धाप, बरुवा, हेलम्बु, बाँसखर्क, पाल्चोक, गुन्सालगायतका गाविस बढ्तै निशानामा परेका छन् । थाङपालकोट गाविस यस्तो छ, जहाँ ६ सय धुरीका महिला खाडिमा छन् । अझ यहाँ कस्तोसम्म छ भने असुरक्षित तरिकाले वैदेशिक रोजगारीमा लैजाने मात्र होइन कि त्यसैलाई माध्यम बनाएर सिधै बेचबिखन गर्नेहरु पनि छन् ।

यसले कम उमेरका थुप्रै युवतीहरुलाई उमेर बढाएर विदेश लैजाने रणनीतिमा दलालहरुलाई अग्रसर गराएको छ पछिल्लो समय । वैदेशिक रोजगार प्रबद्र्धन विभागका निर्देशक सूर्यप्रसाद भण्डारी भन्छन्, “अद्यागमनमा अनुगमनकै क्रममा थुप्रै त्यस्ता कम उमेरका युवतीहरु भेटिन्छन् तर उनीहरुको पासपोर्ट हेर्दा उमेर कानुन बमोजिम पुग्ने नै बनाइएको हुन्छ र हामी केही गर्न सक्दैनौं ।” थुप्रै त्यस्ता दलालहरु लैजाने महिलाका आमाबुवासम्म मनोवैज्ञानिक पकड जमाएका हुन्छन् कि उनीहरु स्वयं गाविस सचिवहरुसम्म आएर ‘बच्चा मेरो कि तिम्रो’ भन्दै उमेर बढाएर जन्मदर्ता वा नागरिकताको लागि सिफारिस गराउन दबाब दिन्छन् । सिन्धुपाल्चोकका प्रजिअ पोखरेल भन्छन्, “धेरै काम गरेर थिचिएको भन्छन ।”

वैदेशीक रोजगारीमा यसरी गएर फर्केका थुप्रै महिलाका घरपरिवारमा बिग्रेका छन् । गएपछि लामो समय टेलिफोन सम्पर्क पनि नहुने र उनीहरुले पैठाइदिएको पैसा पनि घरसम्म नआइपुग्नाले धेरैका श्रीमानले अर्को विहे गरेका छन् । त्यसबाहेक कमजोर सामाजिक अवस्थाका उनीहरुमा न पैसा न सम्पर्क हुँदा रोजगारीका लागि गएर दु:ख पाएर बीचमै फर्कने महिलाको समस्या अझ कहालीलाग्दो छ । खाडी मुलकुमा महिलामाथि यौन र शारीरीक शोषण हुने भन्दै घरपरिवार र समाजले उनीहरु धेरैको चरित्रमाथि शंका गर्ने गरेका छन् ।

वैदेशीक रोजगारसम्बन्धी काम गरिराखेको ‘साथी’का कञ्चनपुर जिल्ला संयोजक विनोद उपाध्यायका अनुसार यहाँ रेकर्ड भएका वैदेशीक रोजगारका घटनामध्ये २० देखि २५ प्रतिसत महिलाका छन् । जसमा ९० प्रतिशत भारतको बाटो भएर जान्छन् । त्यसरी खाडी मुलुक पुग्नेमा आधाजसो दु:ख पाएर फर्केका भेटिएका छन् । उपाध्याय थप्छन्, “अझ यसरी बैदेशिक रोजगारीको चाहना बोकेर जान चाहनेहरु मध्ये १० प्रतिशत जानु अगावै ठगिएका पनि छन् ।”

साथमा बेचु गौंड/परासी, चित्रांग थापा/धनगढि, अमृता अनमोल/बुटवल, चेतन अधिकारी/झापा, ऋषिराम पौडेल/सिन्धुपाल्चोक

No comments:

Post a Comment