Sunday, December 23, 2012

लक्की लेखक

‘ठूलो निधार हुने भाग्यमानी हुन्छन्’ भन्ने नेपाली आहान प्रज्ज्वल पराजुलीमा मेल खाएजस्तो छ । अक्सर मुण्डन तालुमा भेटिने पराजुलीको निधार कहाँसम्म छ, छुट्याउन सकिन्न । २७ बर्षे उमेरमा यी सिक्किमेली तन्नेरी ‘बुक वल्र्ड’मा भारत, नेपाल, भुटानदेखि लण्डनसम्म हट केक बनेका छन् । त्यो पनि नेपाली भाषीको कथा बोकेको आफ्नो छोटा कथाको संग्रह ‘द गुर्खाज डटर’ का कारण । गुर्खाज डटर उनको पहिलो कृति हो । र, त्यसअघि पनि उनी कुनै चल्तिका लेखन थिएनन् । यद्यपि उनको पहिलो काम नै प्रशिद्ध बेलायती प्रकाशक कोकर्स बुक्सले बजारमा ल्यायो, ‘पाँच अंके पाउण्ड स्टिर्लिङ’ प्रज्ज्वललाई बुझाएर । जसलाई भारतमा पेइङगुइन बुक्सले ल्याएको छ । कोकर्सले नै उनको उपन्यास ‘द ल्याण्ड ह्वेर आइ फ्ली’ अर्को बर्ष यसै समयमा निकाल्ने सम्झौता गरिसकेको छ, पुस्तक नहेरिकनै । उनको भाग्यलाई प्रट्स्याउन सायद यो भन्दा बढि भनिरहनु पर्दैन ।

सिक्किम, गान्तोकका यी लेखक पुस्तकको ‘लोकापर्ण भ्रमण’का क्रममा गतसाता काठमाडौंमा आउँदा एकसाझ नेपालसँग लाजिम्पाटस्थित बारिस्टा रेष्टुराँमा साटे । देशी/विदेशी सञ्चारमाध्यममा तारम्तार  प्रशंशासाथ छाउँदा जोकोहीमा उनीबारे एकखाले धारणा बन्न सक्छ, उनी त्यस्ता छैनन् । अघिल्लो दिन नेपाल–भारत पुस्तकालयमा पत्रकार नारायण वाग्लेसँग आफू र आफ्नो पुस्तकबारे बोलिरहंदा उनको व्यक्तित्वले धेरैको मन जितेको थियो । उनी केटाकेटीजस्तो मनमा जे छ ‘ड्याङडुङ’ बोलिहाल्छन् । बत्तिसपुतली, काठमाडौंमा मामाघर भएका कारण उनी सानो छंदा थुप्रैपटक काठमाडौं घुम्न आउँदाका सम्झना साटेका थिए । गान्तोकका यी तन्नेरीलाई त्यसबेला विशालबजारको हिंड्नेसिंढीले खुबै आकर्षित गर्दो रहेछ । “अहिले मबारे पत्रिकाले हावामा केके लेख्छन हो, म त्यत्तिसारो नि छैन”, पूर्वेली भाकामा उनले भने, “अझै पनि म आफूलाई पत्रिकाले भनेजस्तो लेखक ठान्दिन ।” त्यसो भए प्रश्न उठ्छ, के उनी ‘राइटर बाई लक’ हुन् त ? 

***
१३ बर्षे उमेरमा जतिखेर उनी कक्षा ९ मा पढ्थे, गान्तोकबाट साप्ताहिक रुपमा ‘द विकेन्ड रिभ्यु’ पत्रिका छापिन्थ्यो जसमा उनले स्तम्भ लेख्ने अवसर पाएका थिए । “जतिखेर लेख्दा निकै मज्जा आउँथ्यो”, प्रज्ज्वलले मुस्काउँदै भने, “अहिले ती पढ्दा भने लाज लाग्छ । ममात्रै जान्ने छु, पाठक सबै बुद्धु हुन् जसरी लेखिएका ।” गाङतोकबाट कक्षा १२ सकेपछि उनी अमेरिकाको ट्रुम्यान स्टेट युनिभर्सिटीमा मिडिया कम्युनिकेसन पढ्नका लागि हान्निए जसबिचमै उनी विश्वविद्यालयले सन् १९९६ यता प्रकाशन गरिराखेको स्वतन्त्र ट्राभल म्यागेजिन ‘डिटोर’को सम्पादक भए । सम्पादक हुनुमा समेत उनी आफ्नो भाग्यले बाजी मारेको मान्छन् किनकि  त्यसबर्ष अचम्म गरी उनका प्रतिद्वन्दी निकै कमजोर निस्किए । उनी सम्झन्छन्, “अर्को बर्ष पूर्व सम्पादकका हैसियतले म स्वयं छनौट मण्डलमा परेपछि आफैलाई कसरी छानिएछु भन्ने सोचेर अचम्म लाग्यो ।” डिटोरले मध्यपश्चिम अमेरिकाका मिजोरी, आयोवा र इलिनियस क्षेत्रका यात्रा कथा तथा फिचरहरु प्रकाशन गथ्र्यो ।

“जसको अर्थ म पहिल्यैदेखि सिरियस राइटर थिएँ भन्ने चाहीँ होइन नि”, उनी आफ्नो जटिल जीवनलाई साधारण तरिकामा भन्न खोज्दैछन्, “त्यत्ति हो कि म लेख्न सक्छु भन्ने चाहीं कताकता थियो ।” तुर्मानबाट स्नातक सकेर उनी न्यूयोर्क आए जहाँ उनी साप्ताहिक रुपमा प्रकाशित हुने न्यूयोर्कको पहिलो ट्याबलोइड ‘द भिलेज भ्वाइस’मा काम गरे, पत्रकारका रुपमा नभई एड्भटिजमेन्ट एक्जुकेटीभका रुपमा ।“पत्रकारिता मलाई सुहाउने काम होइन, भइहालेको भए म सबैभन्दा करप्ट पत्रकार हुन्थें होला”, उनी भन्छन्, “त्यसमाथि न्यूयोर्कमा पत्रकार भएर बाँच्नु गरिबीमा बाँच्नुझैं हो ।” भिलेज भ्वाइसमा दिनमा कम्तिमा ३ वटा अपोइन्टमेन्ट गर्नुपर्ने हुन्थ्यो । धेरैजसो, उनी त्यसका लागि भनेर कार्यालयबाट निस्कन्थे र दिनभर सिनेमाघर र पुस्तक पसलमा बिताउँथे । थप्छन्, “धन्न नतिजा नआउँदासम्म अफिसले केही सोध्दैनथ्यो ।” ३ बर्ष त्यसरी काम गरेपछि उनलाई दिक्क लागेछ र त्यो काम छाडे । उनी लन्डन र अफ्रिकी टापु सिचिलसमा केही महिना बिताएर भारत फर्किए । भारतमा, ट्रुम्यान पढ्दाको उनको साथी समेत भेटिए जोसँग विना योजना घुम्न निस्किए उनी । उनीहरु दिल्ली, गोवा, मुम्बई, कोलकाता, दार्जलिङ, गाङतोक, काठमाडौ, पोखरा हुँदै पुन आग्रामा पुगेर आफ्नो यात्रा छुङ्ग्याए । त्यसपछि साथी मोरक्कोतिर लाग्यो । उनी भने हिमाञ्चलको मनाली पुगे । गान्तोक फर्कंदा के–कसो गरिराखेको सोध्छन् भनेर उनी मनाली पुगेका थिए । “त्यहाँ एक हप्ताजति बिताउँदा मैले आफ्नो पहिलो कथा लेखें जुन कालिङपोङमा मुस्लिमबारेमा थियो”, उनी भन्छन्, “पछि घरै फर्किएँ र थप पाँचवटा कथा लेखें ।”
यो झण्डै ३ बर्ष अघिजतिको कुरा मात्र हो । उनी आफैलाई जीवनमा के गरिएला भन्ने थाहा थिएन । त्यैपनि उनी भारतबाट अमेरिकाका लागि रवाना भए । बेलायतमा आफ्नो दिदी–भिनाजु भएकै कारण उनी सधै अमेरिका जाँदा आउँदा एक हप्ताजसो लन्डनमा बिताउँथे । त्यसबेला सायद उनको स्वभाव बुझेरै हुनसक्छ दिदीले अक्फोर्डमा क्रियटिभ राइटिङमा मास्टर्सको लागि आवेदन खुलेको बताइन् । उनी अमेरिका फर्केर आवेदन दिए र विश्वविद्यालयबाट अन्तरवार्ताको लागि समय दिइयो । उनी फाल्तु नै थिए । सोचे, “फोनबाट भन्दा म अक्सफोर्ड नै पुगेर प्रत्यक्ष अन्तरवार्ता दिएं भने पढाईप्रति गम्भिर सोच्नसक्छन् ।” उनी लन्डन त पुगे तर अन्तरवार्ताको दिन नजिकिंदै जाँदा उनी आत्तिन थाले, न त यसअघि क्रियटिभ राइटिङ पढेको न त उनमा साहित्यबारे नै राम्रो ज्ञान थियो । “लास्ट आवरमा म विकिपेडिया र गुगलमा एकोहोरिन थालें”, त्यसो हुनु नै सायद उनको टर्निङ प्वइन्ट थियो, “मैले लण्डन बुक फेयरको बारेमा थाहा पाएँ जहाँ बुकरविजेता हिलारी मेन्टल प्रवचन दिनेवाला थिइन ।” बाटोमा पढ्नका लागि चिकित्सक दिदीकोमा रहरलाग्दा पुस्तक थिइनन् जसकारण उनले आफ्नै एउटा कथा बोकेर निस्किए ।

ज्वालामुखीको धूंवा आकासमा मडारिराखेको त्यसबेला युरोपमा हवाईयात्रा नराम्ररी बिग्रिएर दशौं हजारका टिकट रद्द भएका थिए । र, ट्रेनमा उनीसँगै ‘लिटेरी एजेन्ट’ सुसान इयरउड भेटिइन् । परिचय र गफगाफकै क्रममा उनको पहिलो कथा इम्पेसन बन्यो । उनीहरुबिच कथा साटासाट हुन थाले । सुसानले धेरैतिर प्रज्ज्वलका कथा पठाइछन् र थुप्रैबाट ति रुचाइए पनि । यद्यपि कोकर्सका सम्पादक जोन रिल्लीले उनलाई ब्रेकफास्टका लागि बोलाएर प्रकाशनका लागि एक कदम बढि रुचि देखाए । फेबर एण्ड फेबर प्रकाशन गृहमा सम्पादक छंदा देखिनै रिल्लीलाई जानेका प्रज्ज्वल त्यसपछि अरु कतैतिर मन डुलाएनन् । अन्तत: एउटा सुन्दर सपना जसरी ‘गुर्खाज डटर’ यही डिसेम्बरमा बजारमा आयो । नेपालीभाषीको कथा अंग्रेजीमा छाप्दा हरेक शब्दशब्दमा जसरी समस्या झेल्नुपर्ने उनले सुनेका थिए जोनसँग काम गर्दा भने त्यसो भएन । जसक्रममा उनलाई अक्सफोर्ड डिक्सनेरीका सहसम्पादक इडमण्ड वाइनरले समेत थुप्रै ठाउँमा सघाएका थिए ।

गोर्खा सैनिकका सुख–दु:ख, भुटानी शरणार्थी र डायास्पोरामा विभिन्न सपना र संघर्षसाथ बसेका नेपालीभाषीका कथा पुस्तकमा संग्रहित छन् । भुटानी शरणार्थी बारेको कथा ‘नो ल्याण्ड इज हर ल्याण्ड’ लेख्दा उनी झापाको शिविरदेखि धेरैलाई स्तानान्तरण गरिएको अमेरिकाको कोलोराडोस्थित डेनभर सम्म पुगेका छन् । ‘गुर्खाज डटर’ लेख्दा गोर्खा सैनिककै घरमा बास बसेका छन् । अन्य भने सामान्यत: देखे/सुनेकैलाई आधार मानेर लेखिएका हुन् । “मैले भुटानी शरणार्थी, नेपालका माओवादी वा गोर्खाल्याण्ड आन्दोलनलाई चिनाउन कथा लेखेको भने होइन”, उनले भने, “यी मानिसका कथा बुनिएका पवित्र फिक्सन हुन् । तिनका मुद्दाबारे लेख्ने भए म अन्य विधा अपनाउँछु ।” रोमान्स, चल्तिका मायाप्रेम भने उनका कथामा निकै कम छन् । “लभ–सेक्स नभएर पिर मान्नेलाई भने उपन्यासले क्षतिपूर्ति दिनेछ”, उनी लजाउँदै भन्छन्, “जसको नेपाली अनुवाद भने गुर्खाज डटरमा गरेजस्तो बुवाआमाबाट गराउन गाह्रो छ ।”

***
Pradeep & Prajwal
कोकर्सले उनीसँग सम्झौता गरेसँगै उनीबारे चर्चा चुलिएको थियो । पुस्तकबजार समेत आर्थिक मन्दिमा गुज्रिराखेको बेला एक त नवप्रवेशी लेखकसँग विरलै हुने सर्टस्टोरीको बुक डिल ठूलो समाचार थियो । त्यसमाथि अक्सफोर्डमा उदाउँदो क्रियटिभ राइटिङ विभागले प्रज्ज्वललाई जोडेर आफ्नो कोर्सको ब्राण्डिङ गर्ने सोच्यो । अर्कोतर्फ कोकर्सले सबैभन्दा कान्छो लेखकसँग बुक डिल गरेको यो नै पहिलो पटक थियो भने यति छिट्टै बहुर्राष्ट्रिय बुक डिल पाउने उनी पहिलो भारतिय पनि थिए । यसरी उनी चारैतिरबाट सबैको आँखामा परे र पुस्तक आउनु अगावै प्रशिद्धि बटुले र उनीप्रति धेरैको इमप्रेसन सकारात्मक भइदियो । अक्सफोर्डमा दोस्रो बर्षको फाइनल प्रोजेक्टको रुपमा अमेरिकामा ग्रीन कार्ड सपना बोकेर बसिराखेका दुई नेपालीभाषी युवाको कथा ‘इमिग्रेन्ट्स’ उनले फिल्मका लागि समेत ढालेका थिए । क्रियटिभ राइटिङ पढ्दैगर्दा नै उनले अमेरिकामा ‘राइटर्स इन रेजिडेन्ट’ कक्षा लिन्थे जसको अर्थ विद्यार्थीलाई केही कक्षाहरु लिने र आफ्नो काममा लाग्ने हुन्थ्यो । बौद्धिक जगत्मा यसरी विद्यार्थी छंदै भिजिटिङ फ्याकेल्टी हुन पाउनु निकै विशेष मानिन्छ  । सम्झन्छन्, “एकातर्फ आफूले विद्यार्थीलाई डेडलाइन दिइन्थ्यो उता आफ्नै डेडलाइनको चिन्ता हुन्थ्यो ।”

शुरुमा उनले उपन्यास लेख्ने आँट नगरेर छोटा कथा लेखेका थिए । तर एउटा उपन्यास लेखिसकेर अहिले पुन: कथा लेख्न भने उनलाई गाह्रो परिराखेको छ । भन्छन्, “उपन्यासमा लेखक बढि आरामले अघि बढ्न पाउँछ भने कथामा लेखक शब्दको दासी बनिराखेको हुन्छ ।” 

एउटा साधारण ठिटो एकाएक अन्तर्राष्ट्रिय सेलिब्रिटी बन्दा अहिले प्रज्ज्वलको निन्द्रा बिथोलिएको छ । यद्यपि उनले फेसबुक स्टाटस बाहेक केही नलेखेको थुप्रै महिना भइसक्यो । आफ्नो नाम गुगल गर्दा उनका प्रशंसामा भेटिने दर्जनौं लेख पढ्दा कहिलेकाहीं उनी आफैलाई लाज लाग्दो रहेछ । उनलाई अब नेपाली समुदायबाट बाहिर निस्केर कथा लेख्न मन छ । त्यसो भनिरहंदा उनी त्यही भाग्यरुपि आफ्नो तालु सुम्सुम्याइरहेका थिए ।

No comments:

Post a Comment