Thursday, January 3, 2013

ह्याप्पी, मिस मोटी

गत नोभेम्बरमा लन्डनमा आयोजना भएको कमिका अर्थात लण्डन इन्टरनेसनल कमिक्स फेस्टिवलमा एउटा नयाँ पात्र एकाएक चर्चित भयो । सुपरहिरो, म्यांगाजस्ता कमिक्स जगतमा चल्तिका पात्रका बिचमा ‘मिस मोटी’ नितान्त फरक थिइन् । मिस मोटी न त हिंश्रक थिइन् न त देख्दैमा डरलाग्दी । त्यही सहि, अहिले उनका फ्यान कमिक्स जगतमा अहिले विश्वभरमा चुलिएका छन् । पत्रकार हुमा कुरेसीले बेलायती पत्रिका दी गार्डियनमा उनको प्रशंसासाथ लेखेकी छिन्, ‘मिस मोटी कुनै सुपरपावर होइनन् न त कुनै शक्तिशाली पात्र हुन्, तर उनी कमिक्स जगतमा अपत्यारिलो गरी एउटा प्रिय पात्र बनेकी छिन् ।’

मिस मोटीकी सर्जक काठमाडौं बागबजारकी कृपा जोशी हुन् । जसरी तन्नेरी युवतीमा ‘जिरो फिगर’ हुने होड चलिराखेको बेला ‘मिस मोटी’ धेरैमाझ प्रिय हुन्छिन् यसले दिन खोजेको सन्देस पनि त्यही चर्चा भित्रै लुकेको छ । नामबाटै थाहा हुन्छ कमिक्सकी मुख्य पात्र ठूलो जीउडालकी छिन् । र, कृपाले मोटो शरीरलाई समस्या देखेर जीवनमा अरु थुप्रै खुसीबाट टाढा बनिराखेका महिलालाई ‘मोटोपन समस्या होइन’ भन्ने सन्देश दिन खोजेकी छिन, मिस मोटीलाई आदर्श बनाएर । ‘यसको अर्थ अस्वस्थ तरिकाले मोटो हुनु ठिक हो भन्ने होइन,’ कृपा भन्छिन्, ‘त्यसका बावजुत पनि मोटो भइन्छ भने त्यसमा धेरै टाउको दुखाउनु बेकार छ ।’

मिस मोटी पात्र, कृपाको आफ्नै जीवनबाट जन्मिएको हो । बढ्दो उमेरसँगै उनी आफूलाई अरुभन्दा मोटो अनुभव गर्थिन् । त्यसबेलैदेखि उनले मोटो मानिसलाई जनावरका नामसँग जोड्दै जिस्काइने वा बोलाइने गरेको पनि नदेखेकी होइनन् । अर्कोतर्फ ठूलो ज्यान हुने उनका साथीहरु हरेक कुरामा आफूलाई त्यही शरीरसँग जोडेर दु:खी भेटिन्थे र हिनताबोध महसुस गर्थे । यसरी एकातर्फ उनी समाजबाटै कथाबस्तु बटुलिन भने अर्कोतर्फ उनको रंग र चित्रसँग सानैदेखि विचित्रको मोह थियो ।

‘त्यस्तो अनुभव गरिरहंदा म मेरी आमालाई देख्थें जोसमेत मोटी नै हुनुहुन्थ्यो तर वहाँमा कहिल्यै त्यसले नकारात्मक प्रभाव पार्दैनथ्यो,’ कृपाले हेलो शुक्रबारसँग भनिन्, ‘वहाँ सबैकी प्रिय हुनुहुन्थ्यो र समारोहमा निकै उत्साह र उच्च मनोवलका साथ प्रस्तुत हुनुहुन्थ्यो ।’ उनकी आमा रुपा आफ्नो मोटोपन सुहाउँदो गरी सान्टा क्लज जस्ता फन्नी पहिरनमा सजिंदी रहिछन् । आमा रुपाले सुनाएको एउटा घटना निकै रमाइलो छ ।

गतबर्ष द घोस्ट राइटरका अभिनेता इवन म्याग्रेगर युनिसेफको सद्भावना दूतको रुपमा नेपाल आएका थिए । उनी मोटरसाइकलबाटै बेलायतदेखि अस्ट्रेलियासम्मको ३५ हजार ९ सय ६० किलोमिटर यात्रा गरेका अभिनेता हुन् । खोपसम्बन्धी अभियानका क्रममा विहारबाट विराटनगर हुँदै काठमाडौ आएर नेपालगञ्ज, मुगु पुगेर त्यहाँकै एउटा विकट गाउँमा एक रात बसेका उनीबारे बिबिसीले एउटा वृत्तचित्र नै बनाएको थियो । रुपा भन्छिन्, ‘एकठाउँमा म स्वयं इवनसँग ठाडो उकालोमा उत्साहसाथ हिंडेको टिभीमा देखेर ऊ अचम्म परेकी रैछ ।’
..................

यसरी जन्मिएको मिस मोटी पात्र ‘मिस मोटी एण्ड कटन क्यान्डी’ र ‘मिस मोटी एण्ड दि बिग एप्पल’ शीर्षकमा पुस्तककार छ । त्यसबाहेक उनको कमिक्स छोटा कथाको संग्रह ‘मिस मोटी एण्ड हर सर्ट स्टोरिज’ केही महिनाअघि मात्र काठमाडौंमा सार्वजनिक भएको हो । 









कटन क्यान्डिमा मिस मोटी चडेको लिफ्ट बढि तौल भएर बिग्रंन्छ । जसका कारण ऊ सिंडी चडेर घरमाथि लाग्नुपर्ने हुन्छ । पसिना पसिना भएर सकिनसकी तेस्रो तलामा पुग्दा त्यहाँ एउटी केटी हातमा कटन क्याण्डिसाथ भेटिन्छिन् । उनी कल्पना गर्न थाल्छिन् जसमा त्यो कटन क्याण्डि ठूलो हुँदै जान्छ । र, उनी त्यसमा तैरंदै जान्छिन् । यतिसम्म कि उनको लुगाका बटम हुँदै लुगा समेत उड्छ । न्यूयोर्कमाथि त्यसरी उड्दा उनी स्नोनोम्यानलाई भेटिन्छन् । पछि उनको सोलमेट डेभिड भेट्छिन् । यसरी कल्पना गर्दैगर्दा उनी थाहै नपाई उनी ९ औं तल्लामा पुगिसकेकी हुन्छिन् ।

बिग एप्पलमा भने उनको एउटा रेल यात्राको कथा जोडिन्छ जहाँ उनको एउटा प्रिय संगीतकार अगाडि बसिराखेको हुन्छ । उसले खाँदै गरेको स्याउको एउटा बियाँ भुईंमा खस्छ । अनि उनको कल्पना शुरु हुन्छ जसमा त्यो बियाँ बढ्दै गएर रुख बन्छ भने त्यहाँ भएका मानिसहरु कोही सिंह, कोही हात्ती त कोही चरा बन्छन् । उनी ती संगीतकारसँग स्वर्गमा पुग्छिन् । त्यहाँ स्याउँ खाँदा उसको घाँटिमा अड्किन्छ जतिखेर उनी ब्युँझिन्छिन् । अगाडिको संगीतकार सांच्चैमा त्यस्तो समस्या झेलिराखेको हुन्छ । जसलाई मिस मोटीले सुल्झाउँछिन् । त्यसैबेला रेल स्टेसन आउँछ र ऊ त्यहाँबाट हराइसकेको हुन्छ । उनका त्यसपछिका थुप्रै कमिक्समा त्यो संगितकारको झल्को आइरहन्छ ।

मिस मोटी यतार्थ र सपनाको गज्जबको समिश्रण भएको कमिक्स हो । पछिल्लो कमिक्स  संग्रहको एउटा कथा ‘मिस मोटी एण्ड हर पार्नो नाइट्स’ मा उसलाई निदाउन नदिने छिमेकी पोर्न भिडियो जोडसँग बजाएपछि चुप लागेको कथा छ भने अर्को एउटा ‘मिस मोटी एण्ड द सी’ मा पेपरबोटमा समुद्री यात्राको कथा छ ।

एउटा कमिक्समा कथामा उनले खुम्बु क्षेत्रमा चर्पी बनेपछि कसरी त्यहाँ पर्यटकहरु ओहिरीन थाले भन्ने कथा छ जसमा भने मिस मोटी छैनिन् । उनका अधिकांश कथामा चित्रबाटै बुझाउन खोजिएका कारण शब्दको प्रयोग अत्यन्तै कम छ ।
...........

नेपाली समाज त्यस्तो हो जहाँ कसैको व्यक्तित्वबारे प्रतिकृया जनाउँदा उसको शरीरमै धेरै समय अझिन्छ । जसकारण तौल बढि हुनु यहाँका मानिसको लागि सबैभन्दा ठूलो समस्या लाग्छ । मानिसले मोटोपनलाई गिज्याउन हिप्पो (जलगैंडा) भन्छन् तर जलगैंडा आफ्नो शरीरबाट कहिल्यै दु:खी हुन्न । ‘मिस मोटी भलै ठूलो ज्यानकी छिन् तर त्यसले उनलाई जीवनमा खुसी हुन र त्यसकै कारण उनको रुचिको काममा अगाडि बढ्न रोक्दैन । कृपा भन्छिन्, ‘उनमा उसको शरीरभन्दा अरु गुण हावी भइदिन्छ र सबैको प्रिय हुन्छिन् ।’ ‘मोटी’ शब्दकै अर्को एउटा रोचक कथा छ । अंग्रेजीमा पढ्दा कतिले यसलाई ‘मोती’ उच्चारण गर्न सक्छ । ‘मिस मोटी उनको गुणको कारण मोती नै हुन्’, कृपाको भनाई छ ‘त्यसैले यो एउटा साधारण नारीको असाधारण कथा हो ।’
.............

काठमाडौंबाट एसएलसी सकेसँगै उनी भारत हान्निएकी त्यहाँको राजपुरस्थित महारानी गायत्रीदेवि गल्र्स स्कुलमा । आमा रुपाका अनुसार स्कुल कतिसम्म कडा थियो भने त्यसबेला उनले घर पठाउने चिठिमा आँशुका थोपा मसीमा खसेर लतपतिएका हुन्थे । तर त्यहाँको आर्ट शिक्षक निकै प्रतिभावान भएका कारण उनी अरु समस्या भुल्दै गइन् । उनी त्यहींको बडोदास्थित महाराजा सयाजिराओ विश्वविद्यालयबाट फाइन आट्र्समा स्नातक सकिन् । त्यतीखेरै उनले मानिसको तौलको बिषयमा ‘सोफा सो गुड’ थेसिस गरेकी थिइन् । जतिखेर उनले मानिसलाई उनीहरु बस्न बनाइएका सोफा र कुर्चीहरुको रुपमा देखाएकी थिइन् । एउटा पेन्टिङ ‘स्याडोज लाइ’ मा साँझपख एउटी मोटी युवती ठूलो सोफा अगाडिको छायाँमा आफू अग्लो र दुब्ली देखिंदा खुसी हुने देखाइएको छ जबकि वास्तविक जीवनमा त्यसो हुँदैन । उनले आफ्नो एउटा अनुभव भनिन्, ‘जब म सानो छंदाका आफ्ना तस्विरहरु हेर्थे तौल निकै कम हुँदा समेत त्यो मोटो लाग्थ्यो । त्यसबेलाको हेर्दा त म अहिले निकै मोटी छु । बडि इमेजले आफूलाई कहिल्यै सन्तुष्ट पार्दैन ।’

स्नातक सकेसँगै उनी नेपाल फर्केर ३ बर्ष रातो बंगला र मल्पी स्कुलमा फाइन आर्ट पढाएकी थिइन् । त्यसपछि भने फुलब्राइट स्कलरको रुपमा अमेरिकाको न्यूयोर्कस्थित स्कुल अफ भिजुअल आट्र्समा फाइन आट्र्स इन इलुस्ट्रेसनमा स्नातकोत्तर गरिन् । उनले कमिक्स बनाउन शुरु गरेकै त्यसबेलादेखि हो जसमा मैथली लोक कला र पौवा चित्रको प्रभाव धेरैतिर पाइन्छ । पौवा सिक्न नेपाल रहंदा उनी थुप्रै समय पाटनमा बिताउँथिन् । अहिले उनी बस्ने लण्डनमा समेत बालबालिकाका लागि चित्रकला सिकाउँछिन् भने काठमाडौं आउँदा समेत त्यसो गरेकी छिन् ।

उनका काम थुप्रै अन्तर्राष्ट्रिय कमिक्स एन्थोलोजिमा (कुनै निश्चित शीर्षकमा थुप्रै कलाकारको काम समेटिने संग्रह) समेत प्रकाशित छन् जुन एउटा कलाकार अन्तर्राष्ट्रियकरण हुनका लागि प्रमुख कुरा मानिन्छ । उनको भनाई छ, ‘मैले शहर, विराला, समय, त्रास, पोर्न, रोमान्सजस्ता शीर्षकका एन्थोलोजीमा मिस मोटीलाई प्रस्तुत गरेकी छु ।’ रब्बीट रब्बीट, सेक्रेट आइडेन्टिटिज, स्ट्रम्प्ट, इंकपेपर उनका काम प्रकाशित भएका केही चर्चित एन्थोलोजी हुन् ।

उनका काममा बिसौं शताब्दीको चर्चित कमिक्स पात्र ‘लिटल निमो’ का सर्जक विन्डोर म्याक्के, रोबर्ट ड्रिम्सकी सारा भरोन, हिल्डा सिरिजका लुक पिअरसन, क्रिस वेर, टम गौल्डजस्ता व्यक्तिका प्रभाव छन् । उनलाई आफ्नी ९७ बर्षे बुढिहजुरआमा चन्द्रकुमारी जोशीको जीवनबारे कमिक्स लेख्ने रहर छ जो आफ्नो बुड्यौलीमा समेत उस्तै फुर्तिली र रमाइली छिन् । भन्छिन्, ‘वहाँसँग निकै लामो एवं पुरानो बिगत छ भने अहिलेको दिनचर्या पनि उत्तिकै लोभलाग्दो छ ।’

कमिकामा सहभागि भएसँगै अहिले विश्वभरबाट चर्चित कमिक्स आटिस्टले उनीसँगै काम गर्ने रहर गरेका छन् । उनको पुस्तकको माग धेरैतिरबाट बढेको छ । आफ्नो कमिक्सलाई कि–रिङ, भाँडाकुँडा, पोष्टकार्ड, जस्ता रुपबाट पनि अगाडि लैजाने उनको योजना छ । ‘तर समस्या छ नि’, हेलो शुक्रबारसँगको अनलाइन वार्तामा उनले हाँस्दै भनिन्, ‘आटिस्टहरु व्यापार गर्नै जान्दैनन् नि त ।’ जे होस्, कतिपय अवस्थामा प्राप्तै गर्न नसकिने सुन्दरता खोजेर दु:खी बनिरहेका युवतीलाई भने कृपाले जन्माएको आदर्श पात्र मिस मोटीले पक्कै खुसी पार्नेछिन् ।

Originally published in Kantipur

No comments:

Post a Comment