Sunday, January 13, 2013

यी पढन्ते लाहुरे

बलिउड ब्लकबास्टर ‘वीर–जारा’मा पहिलोपटक लाहोर देखेका थिए, अजय जायसवालले । फिल्ममा देखिएको शहर र  त्यहाँका भवनका आर्किटेक्चरले प्रभावित पारेता पनि फिल्मले दिएको समग्र इम्प्रेसन भने त्यति राम्रो थिएन, लाहोरको । बिबिसी र सिएनएनमा देखिने पाकिस्तानका दर्दनाक दृश्यका त कुरै भएन । दिनहुँजसो हेडलाइन बन्ने तिनका समाचार सधै हत्या, हिंसा र विस्फोटनका खबरले भरिएका हुन्थे । त्यही सहि, गजलगायक गुलाम अली र पपगायक आतिफ अस्लमका ‘डाइहार्ट फ्यान’ उनलाई उनीहरुकै गृहनगर पुग्नबाट कसैले रोक्न सकेन । त्यसबाहेक जुनुन, नुरी, जलजस्ता चर्चित पाकिस्तानी पप ब्याण्डका कन्सर्ट उनीहरुकै शहरमा हेर्ने उनको एउटा पुरानो धोको छ जुन भने अहिलेसम्म पूरा हुन सकेको छैन । ३ बर्षयता यहींको पञ्जाब विश्वविद्यालयमा फार्मेसीमा स्नातक गरिराखेका छन्, अजय ।

लाहोर अहिले जति विरानो ठाउँझैं लागेता पनि यससँगको नेपाली साइनो निकै पुरानो र नजिकको छ । भारत–पाकिस्तान छुटिनुअघि नेपालीहरु काम गर्नका जाने एउटा गतिलो गन्तव्य त्यसबेलाको भारतको पञ्जाब प्रान्त थियो । र, पञ्जाबको राजधानी लाहोरबाटै लाहुर जन्मिएको हो । स्वतन्त्रतापछि पनि अहिले दुवैतर्फ पञ्जाब प्रान्त छन् । नेपालमा लाहुर शब्द अझै मरिसकेको त छैन । तर, अब लाहोर जानेलाई मात्र नभई पैसा कमाउने विदेशीनेलाई कहिंकतै लाहुरे भनिन्छ । तर असली लाहुरेहरु भने अब काम गर्न नभई पढाईका लागि लाहोरमा छन् । अहिले झण्डै २ सय ५० नेपाली विद्यार्थीहरु विभिन्न संकायमा यहाँका विभिन्न विश्वविद्यालयत तथा कलेजमा अध्ययनरत छन् । 

राजविराजका दिनेशकुमार नेपाल विश्वविद्यालयमा स्वागत हुदाको क्षण सम्झन्छन् । ‘वेलकम टु दि सिटी अफ लिभिङ हाट्र्स’, कसैले उनलाई भनेको थियो । पछि उनले थाहा पाए लाहोर पूर्वको पेरिस, पाकिस्तानको मुटु, बंगैचाको शहर, चाडपर्वको शहरजस्ता अनेकौं नामबाट चिनिंदो रहेछ । ‘लिभिङ हाट्र्समा भने निकै दम छ’, हालैको एक मध्यान्न पञ्जाब विश्वविद्यालयको क्यान्टिनमा उनले अनुभव साटे, ‘लाहुरीहरु सांच्चिकै जीउंन जानेका छन् । काम, मनोरञ्जन  र अनुसाशनको समिश्रण यिनमा निकै गज्जबको छ ।’
मनोरञ्जन कतिसम्म भने मध्यरातसम्म त लाहोर दिउसोजत्तिकै जागेको हुन्छ । सपिङ, खानपिन र घुमघाम साझ परेपछि लाहुरीहरु शुरु गर्छन् । ‘विहान ढिलो उठ्छन् र मध्यान्नमा बल्ल लन्च गर्छन्’, नवलपरासीका अक्तर अंसारीले सुनाए, ‘त्यसको असर हाम्रौ होस्टेलसम्म पर्छ ।’ त्यसकै कारण विहानको खाना धेरैजसो नेपालीहरु मेसमा नभई विश्वविद्यालयको क्यान्टिनमा खान्छन् । त्यसै त खानपिनका सौखिन पाकिस्तानीहरु खानामा मासु सकेसम्म छुटाउँदैनन् । ‘तरकारी त यहाँ चट्नीजस्तै हो, त्यो पनि त्यतिसारो खोज्दैनन्’, आमसञ्चारमा स्नातकोत्तर गरिराखेका दीपेन्द्र सापकोटाले नाक खुम्च्याउँदै भने, ‘भेजिटेरियनलाई त गाह्रै छ भन्नुपर्छ ।’ उनीहरु बेलाबखत जिस्किंदा रहेछन्, भेजिटेरियनलाई ननभेजिटेरियन बनाउने हो भने पाकिस्तान ल्याएर छाड्दा हुन्छ, भन्दै । खानामा धेरैजसो बिर्यानी हुने हुँदा समेत एउटा–दुईटा परिकारमै खाना पूर्ण भइदिन्छ । यद्यपि साँझपख घुम्न निस्कंदा स्ट्रिट सपमा निकै कलात्मक तरिकाबाट तयार पारिएका थुप्रै परिकार भेटिन्छन् । ‘पाकिस्तानी खाना देख्दैमा आकर्षक र रंगीचंगी हुन्छन्’, युनिभषिर्टी अफ इञ्जिनियरिङ एण्ड टेक्नोलोजीका मघु पौडेलले भने, ‘हरेक खाना स्वादिष्ट हुन्छन् कारण लाहुरीहरु खानपानमा निकै मिहिनेत र समय लगाउँछन् ।’

बाहिरबाट हेर्दा पाकिस्तान जति संकुचित लाग्छ त्यहाँ पुग्दा त्यस्तो छैन । मधु भन्छन्, ‘फरक यत्ति हो, उनीहरु आधुनिक छन् तर आफ्नो संस्कृति भुलेका छैनन् ।’ उनीहरु आफ्नो धर्म/संस्कृतिलाई नै आफ्नो सबैभन्दा ठूलो सम्पत्ति मान्छन् र त्यसबाटै निर्देशित छन् पनि । विश्वविद्यालयभित्र झन् बढ्ता खुलापनको महसुस गर्न पाइन्छ । भारत वा अन्य देशमा नेपाली विद्यार्थीले झेल्ने र्‍यागिङजस्ता समस्या पाकिस्तानमा बन्दैनन् । धेरैमा विदेशी विद्यार्थीको लागि मात्र भनेर छुट्टै होस्टेलको व्यावस्था छ । ‘आफ्ना पाहुनालाई सम्मान गर्नुपर्छ भन्ने संस्कार सबैभन्दा बढि छ यहाँ’, फातिमा जिन्नाह मडिकल कलेजमा एमविविएस पढ्दै गरेकी सिर्जना केसी भन्छिन्, ‘चोरी लुटपाट पनि त्यही धर्मबाट निर्देशित भएकै कारण हुनसक्छ, यहाँ निकै कम छ ।’

नेपालमा जस्तो केटी जिस्क्याउने कुराको त लाहोरमा कल्पनासम्म पनि हुन्न । उनीहरुलाई सम्मान उत्तिकै गरिन्छ र कडाई पनि । लाहोरको नाइट मार्केट केटीहरुले राम्रोसम्म अनुभव गर्नै पाउँदैनन् जति केटाहरुले गर्छन् । ब्वाइज होस्टेलबाट जतिखेर पनि बाहिर निस्कन पाइन्छ तर गल्र्स होस्टेल राती ८ बजेपछि बन्द हुन्छ । विश्वविद्यालयका क्यान्टिन भने १८ घण्टासम्म खुल्छन् । लाहोरमा न त खुल्लम खुल्ला मदिरा नै विक्री हुन्छ ।

यद्यपि छुट्टिको बेला भने नेपाली विद्यार्थीहरु बाहिर रेष्टुराँमा गेटटुगेदर गर्छन् । ‘गेट टुगेदर हुने भनेकै पाकिस्तानमा स्थानिय पर्वहरु हुँदा हो । नेपालमा चाडपर्व चलिरहंदा खाली यहाँ त इग्जाम परिराखेको हुन्छ’, फातिमा जिन्नाह मेडिकल कलेजकै एञ्जिला राई भन्छिन्, ‘हाम्रो चाडपर्वको अवसरमा कहिलेकाहीं जमघट गरेता पनि टिका लगाउने काम चाहीं गर्दैनौं ।’ धर्मका नाममा धेरै कट्टर समाज रहेकोले नेपाली विद्याथीहरु सकेसम्म त्यसबारे कुरै गर्दैनन ।’ हिन्दू भन्दैमा उनीहरुलाई त्यसै नराम्रो सोच्ने त गर्दैनन् तर धेरैमा त्यसै एकखाले त्रास रहँदो रहेछ र बुद्धधर्मी भन्दा रहेछन् । पछिल्लो समय म्यानमारमा मुस्लिम र बुद्धमार्गीबिच झडप भएपछि उनीहरु धर्मका कुरा जोडिने गफतर्फ सकेसम्म प्रवेश नै गर्न खोज्दा रहेनछन् ।

‘चाडपर्व मनाउन नपाउँदाको यान्त्रिक जीवन नै लाहोरको सबैभन्दा नमज्जाको पाटो हो’, किङ एड्वार्ड मेडिकल युनिभसिर्टीमा एमडि गरिराखेका अरुण कुमार सिंह भन्छन्, ‘यद्यपि प्राविधिक विषयका लागि यहाँको पूर्वाधार निकै उत्कृष्ठ छन् भने निकै पुराना विश्वविद्यालयहरु भएका कारण प्राध्यापकहरु समेत निकै खारिएका हुन्छन् ।’ किङ एड्वार्डलाई नै हैर्ने हो भने यो सन् १८६० मा स्थापना भएको हो भने पञ्जाब विश्वविद्यालय १८८२ मा । एक शताब्दीभन्दा पुरानो इतिहास बोकेका कलेज तथा विश्वविद्यालय त यहाँ थुप्रै छन् । यद्यपि मानविकि क्षेत्रमा भने नेपाल नै ठिक हुने सुझाउँछन् विद्यार्थीहरु । पञ्जाब विश्वविद्यालयमा आमसञ्चारका विद्यार्थी दीपेन्द्र कक्षाकोठाका एक्ला विदेशी रहेछन् । त्यसमाथि नेपाली विद्यार्थीहरु पाकिस्तानीजस्ता देखिंदा प्राध्यापकहरु कहिलेकाहीँ उर्दूमै बोलिदिने अर्को समस्या पनि छ । हिन्दीसँग मिल्दोजुल्दो भएको कारण केही नयाँ शब्द सिकेमा उर्दू समस्या त बन्दैन यहाँ तर त्यसले एकप्रकारको खल्लो अनुभव गराउँछ उनीहरुलाई । इञ्जिनियरिङ, मेडिकलजस्ता प्राविधिक बिषयमा भने लाहोरमा नेपालजस्तै सिरिया, यमन, सुडान, सोमालिया, इरान, अफ्गानस्थान, प्यालिस्टाइनका विद्यार्थीहरु छन् । पाकिस्तानमा इस्लामावाद, मुल्तान, कंराची, क्वेटा, हैदरावादजस्ता सहरमा समेत नेपाली विद्यार्थी केही मात्रामा रहेता पनि पाकिस्तानको शैक्षिक राजधानी र सबैभन्दा बढि विश्वविद्यालय भएको ठाउँमा भएको कारण लाहोरमै सबैभन्दा धेरै नेपाली छन् । ‘पढाईको गुणस्तरियताले गर्दा अन्य समस्या भुल्न विवस छन् नेपाली विद्यार्थीहरु’, विश्वव्यापी नेपाली विद्यार्थी संगठन, पाकिस्तान शाखाका अध्यक्ष समेत रहेका सिंह भन्छन्, ‘फेरी पाकिस्तानमा पढेर त्यहाँ नबसीकन स्वदेश नै फर्कने मनस्थिति पहिल्यै बोकेर धेरै विद्यार्थी आउने हुँदा उनीहरु जसोतसो एड्जस्ट हुन्छन् ।’

विदामा घुम्ने ठाउँको कमी छैन लाहोरमा । हरेक १०–१५ मिनेटमा ठूल्ठूला बगैंचा भेटिन्छन् यहाँ । प्राचिन एसियाली व्यापार मार्गमा लाहोर परेको कारण यहाँ विभिन्न कालखण्डमा विभिन्न धर्म एवं सप्रदायका राजाहरुले राज गर्न पाए जसले निर्माण गरेका विविधता झल्कने थुप्रै पुरातात्विक धरोहरहरु छन् । यहाँ कोलकातापछिको दक्षिण एसियाकै ठूलो ‘लाहोर चिडियाखाना’ पनि छ लाहोर झण्डै ४ हजार बर्ष पुरानो शहर भएको बताइन्छ जसमध्ये २ हजार बर्ष पुरानाका त प्रमाण नै छन् यहाँ । जनसङ्ख्याको उच्च चाप भएका विश्वका प्रमुख शहरहरुमध्ये भएर पनि यहाँ ट्राफिकको समस्या त्यतिधेरै छैन । पाकिस्तानमा सबैभन्दा धेरै ‘अण्डरपास’ भएको शहर हो यो । सडक ६ लेनसम्मका फराकिला छन् जसमध्ये धेरैतिर बिचमा नहर र ठाउँठाउँमा बगैंचा छन् । लाहोर क्लासिक भइकन पनि मोडर्न पनि उत्तिकै छ भन्ने यहाँ देखिने म्याकडोनल्स, पिज्जाहट, डोमिनोज पिज्जा, सववे स्याण्डविचजस्ता अन्तर्राष्ट्रिय फुडचेनले बताउँछन् । जे होस् लाहुर जाने नेपाली परम्पराको साख बाचइराखेका छन्, नेपाली तन्नेरीले । मात्र, शैली फेरिएको छ । यी हुन् पढन्ते लाहुरे । 

First appeared in KANTIPUR

No comments:

Post a Comment