Sunday, January 13, 2013

नोटबुक #Pakistan

हिना क्रेज

पाकिस्तानी विदेशमन्त्री हिना रब्बानीको 'क्रेज' हामीमा मात्र हो कि भनेको त पाकिस्तानीमाझ झन् बढी रहेछ। इस्लामावादमा हालै सम्पन्न दक्षिण एसियाली युवा सम्मेलनमा दिनहुँ कोही न कोही मन्त्री आइरहन्थे। जब हिना आउने कुरा केही घन्टाअघि मात्र थाहा भयो, सम्मेलनस्थलको रौनक नै अर्कै भयो। एकाएक सुरक्षाकर्मी र सञ्चारकर्मी थपिए। ट्वीटरमा उनको नामको ह्यासट्याग चर्चित हुन थाल्यो। दुबई भ्रमण सकेर केही घन्टाअघि मात्र इस्लामावाद फर्केकी उनी अर्को दिन बिहानै ढाका जाने तालिकामा थिइन्। हिना त्यही व्यस्तताका बीच फुर्सद निकालेर अन्तरक्रिया तथा सम्बोधनका लागि आइन्। ट्वीटरमा उनको नाम र सम्मेलनको ह्यासट्याग विश्वव्यापी ट्वीटर ट्रेन्डमै पर्न सफल भयो। उनमा सुन्दरता मात्र होइन, कुशल कूटनीतिज्ञमा हुनुपर्ने थुप्रै गुण रहेछन्। काठमाण्डू पोस्टका पत्रकार साथी अंकित अधिकारीले फेसबुक स्ट्याटस लेखिहाले, 'रब्बानी अर्थात् सुन्दरता र कुशलताको निकै दुर्लभ सम्मिश्रण।'

बिरालोको तनाव

इस्लामावाद सहरमा झन्डै एक साता बित्यो। सन् १९६० मा कराँचीबाट राजधानी सार्नलाई विशेष योजना गरेर तयार पारिएको इस्लामावाद 'गामा वल्र्ड सिटी' अर्थात् विश्वको एउटा आदर्श सहरमा पर्छ। सडकहरू निकै फराकिला छन् र धेरैतिर सबवे र फ्लाइओभर भएका कारण यहाँ जाम विरलै हुन्छ। सडकछेउछाउ घरहरू कतै कतै मात्र देखिन्छन्। राजधानी भएर पनि यो सहर जनसंख्याका दृष्टिले कराँची र लाहोरपछि मात्र आउँछ। पाकिस्तानले यसलाई विशुद्ध प्रशासकीय राजधानीका रूपमा विकास गरेको छ। कराँची व्यापारकि राजधानी भएकाले कुल गार्हस्थ्य उत्पादनमा मात्र ०.८ योगदान दिन्छ भने शैक्षिक राजधानीका रूपमा लाहोर छ। अन्य ठाउँबाट राजधानीका लागि छुट्ने बससमेत इस्लामावाद नछिरी छेवैको जुम्ल्याहा सहर रावलपिन्डीमा रोकिन्छन्। यहाँको विमानस्थलसमेत पाकिस्तानको तेस्रो ठूलो हो।

यसरी बैगुन भेटाउन गाह्रो पर्ने सहरमा यात्रा गर्दा बिरालाहरूले भने तनाव दिए। प्रायः मुस्लिमले कुकुरलाई अपसकुनका रूपमा लिने हुँदा त्यहाँ कुकुर कम भेटिन्छन्, बिराला छ्यापछ्याप्ती। हरेक किलोमिटर यात्रा गर्दा दुई-तीनवटा बिरालाले बाटो काट्नु कुनै नौलो होइन। त्यसमाथि सबैजसो कालो रंगका। त्यसैले हरेक दिन होटलबाट सम्मेलन स्थलसम्म पुग्दा सहरको सुन्दरताले जति लोभ्याउँथ्यो, त्यसभन्दा बढी ती बाटो काट्ने बिराला सम्झेर केही अशुभ त हुँदै छैन भन्ने लागिरहन्थ्यो।


बिन्दास बस होस्टेस

प्लेन चढ्ने कि डेओ बस चढ्ने ? डेओ बस बढ्ता रुचाउँछु भन्दै पाकिस्तानी ठट्टा गर्छन्। साँच्चै रहेछ त्यो। हामीलाई पनि लाहोर-रावलपिन्डी रुटमा कोरयिन कम्पनीले सञ्चालन गरेको 'डेओ' चढ्ने अवसर जुर्‍यो। ६ लेनको अन्तर्राष्ट्रिय स्तरको राजमार्गमा डेओ चढ्दाको अनुभव हवाईजहाजको भन्दा कम रोचक रहेन। बरू त्यति धेरै सुविधासम्पन्न प्लेन आजसम्म चढ्ने अवसर जुरेको छैन। बस चढ्नुअघि हरेक यात्रुको विशेष सुरक्षा जाँच हुने रहेछ। चढ्नु र ओर्लनुअघि हरेक यात्रीको भिडियोसमेत लिइने रहेछ। हरेक सिट सोफाभन्दा कम थिएनन्। हरेक यात्रुका लागि छुट्टाछुट्टै गीत सुन्न मिल्ने गरी हेडफोन जोडिएका थिए। खाजा, सफ्टडि्रंक्स र पत्रपत्रिका तारन्तार आइरहन्थे। र, ती सर्भ गर्ने सुन्दरी अर्थात् बस होस्टेस मुख्य आकर्षण थिए। त्यसैले पाकिस्तान आएर डेओ बस चढिएन भने भ्रमण अपूरो हुन्छ भन्ने अर्को भनाइसमेत चर्चित रहेछ ।

क्या कवाली !

कवाली गाउने पाकिस्तानी सुफी उस्ताद नुसरत फतेह अली खानलाई चिनाउन शब्द खर्च गरिरहनु पर्दैन। झन्डै सात शताब्दी पुरानो कवालीलाई अन्तर्राष्ट्रियकरण गर्ने श्रेय उनैले पाएका छन्। उनी अहिले यस संसारमा छैनन् तर उनका दुई भान्जा रजिवान अली खान र मुज्जम अली खानको प्रस्तुति प्रत्यक्ष हेर्ने मौका मिल्यो । पाकिस्तान भ्रमण अविस्मरणीय पार्‍यो, त्यही कवालीले। १०-१२ जना मानिसको समूहमा बसेर गाइने कवालीमा एक मुख्य गायक र तीन/चार जना सहायक गायक हुन्छन् भने अन्य वाद्यवादक। तैपनि, उनीहरूले गाउँदा देखिने संयोजन अद्वितीय हुन्छ। कोही घाँटीदेखि स्वर निकाल्ने त कोही छातीदेखि स्वर निकाल्ने। ताली मात्रै पिटेर बस्ने पनि हुन्छन् तर त्यो निकै तालबद्ध हुँदो रहेछ। कवाली पहिले पनि सुनेकै हो तर प्रत्यक्ष सुन्दाको मज्जा भने आकाश-जमिनकै फरक हुँदो रहेछ। क्या रहेछ कवाली !

No comments:

Post a Comment