Monday, January 14, 2013

परको पाकिस्तान

पछिल्लो समय पाकिस्तानीहरू एक्लिएको महसुस गर्न थालेका छन् । त्यो उनीहरूको देशभित्र र बाहिर दुवैतर्फ छ । लन्डनस्थित ब्रुनेल विश्वविद्यालयमा पढिरहेका पाकिस्तानी युवा मोहम्मद अली शाहले आफ्नो अनुभव साटे, 'पाकिस्तानी भन्नेबित्तिकै मानिसहरू ठूलो आँखा पारेर हेर्छन् । सकेसम्म संगत गर्न खोज्दैनन् ।' त्यसैले कतिपय सकेसम्म आफ्नो राष्ट्रियता नखुलाउने र भन्नै परे भारतीय भनेर उम्कँदा रहेछन् । पश्चिमा देशमा भिसा पाउन अन्य देशका नागरिकलाई जस्तो सहज छैन पाकिस्तानीलाई । पाकिस्तानमै विदेशी कम आउँछन् । अझ पासपोर्टमा पाकिस्तानको भिसा लाग्दा युरोप, अमेरिका जान चर्को कडाइ खेप्नुपर्ने ठानेर उसका छिमेकीसमेत पाकिस्तान जान खोज्दैनन् । मुख्य छिमेकी भारत र अफगानिस्तान दुवैसँग कटुतापूर्ण सम्बन्ध छ उसको । त्यसैले उसकै छिमेकीका लागि पनि पाकिस्तान परको झैँ भएको छ ।

सरासर जाने हो भने जमिनबाटै यात्रा गर्दा काठमाडौँदेखि डेढ दिनमा पाकिस्तानको राजधानी इस्लामावाद पुगिन्छ । हवाई जहाजमा समेत सोभन्दा बढी समय लाग्ने अमेरिका हाम्रा लागि नजिक होला तर पाकिस्तान टाढा लाग्छ । पाकिस्तान किन टाढा भयो त ? सार्कको एउटा सदस्य नेपालको नजिककको छिमेकी भइकन पनि प्रायः नेपालीका लागि पाकिस्तान किन टाढाको चिज भयो ?

हाम्रो मनमा पाकिस्तान भन्नेवित्तिकै पश्चिमा सञ्चार माध्यममा तारम्तार आउने समाचार नाच्न थाल्छन् । आतंकवादीले भिडियो सार्वजनिक गर्दा अक्सर लगाउने कमिज-सुरवालले हामीमा सबै त्यस्ता कपडाधारीमा आतंकवादीको शंका भर्छ । सायद, टाढाबाट बनेका धारणालाई ग्रहण गर्नाले नै पाकिस्तान टाढाको जस्तो लाग्ने भएको हो कि ! 

दक्षिण एसियाली युवा सम्मेलनमा भाग लिन म पाकिस्तान पुगेको थिएँ । यात्राको उत्साहसँगै मनमा जानी-नजानी एउटा डर गडेको थियो । पाकिस्तानको लाहोर र इस्लामावाद पुग्नु थियो, जमिनकै बाटो हुँदै । तर, निकै कमले मात्र त्यसरी यात्रा गर्न सुझाउँथे । अरू कहीँ कतै जाँदा आदि/इत्यादि उपहार ल्याइदिन दबाब दिने मेरा थुप्रै शुभेच्छुकले जानुअघि भनेका थिए, 'सुरक्षित र्फकनु ।' अर्काथरी भन्थे, 'नेपाली भएकै कारण तिमीहरूलाई झन् बढी असुरक्षा हुनेछ ।' त्यसो भन्नुमा उनीहरूको कारण थियो, 'भारतीय भन्दा शंका गर्छ भनेर तिमीहरूलाई जासुस बनाएर पठाएको ठान्न सक्छन् पाकिस्तानीहरूले ।' उनीहरूसँग जुध्ने मेरो तर्क पाकिस्तान सरकारसमेत सहआयोजक भएको सम्मेलनको चिठी हुन्थ्यो । पाकिस्तान प्रवेश गरिसकेपछि भने मलाई यो ठाउँ पहिले सोचेजस्तो डरलाग्दो लागेन । त्यसमाथि ट्याक्सी ड्राइभरले नेपाली भन्नेबित्तिकै 'डाक्टर साहेब बन्ने आए हो, शिवाके देश से ?' भनेर सोधे । लाहोरमा एमबीबीएस पढ्ने नेपाली विद्यार्थीको संख्या धेरै नै भएकाले उनले हामीलाई पनि डाक्टरी पढ्न आएको ठानेछन् । यो प्रश्नसँगै उनले भनेको 'शिवा के देश से ?' भन्नेले पनि एकछिन अचम्भित तुल्यायो । पछि थाहा भयो ८० को दशकमा नेपाली फिल्मका हिरो शिव श्रेष्ठले पाकिस्तानी फिल्ममा तहल्का मच्चाएका रहेछन् । र, यता उनलाई शिवा भनिदो रहेछ । त्यो समयमा शिवसँगै पाकिस्तानी फिल्म खेल्ने हिरोइन सुष्मा शाही त लाहोरमै घरजम गरेर बसेकी रहिछन् । बेलाबेला नेपाली विद्यार्थीको गेटटुगेदरमा सहभागी भएर उनले नेपाली समुदायलाई जोड्ने काम गरेकी रहिछन् ।




 

 

अहिले लाहोरमा विद्यार्थी र त्यहाँका अस्पतालमा काम गर्ने नेपालीको संख्या तीन सयजति मात्र छ । तर, कुनै बेला नेपालीका लागि विदेशको पि्रय गन्तव्य लाहोर थियो । नेपाली समाजमा एउटा चल्तीको शब्द 'लाहुरे' यही लाहोरबाट आएको थियो । अंग्रेजसँगको लडाइँमा पराजित भएपछि बलभद्र कुँवरलगायतका केही नेपाली पन्जाब आर्मीमा भर्ना भएका थिए । सन् १८७९ को शिख-अफगान युद्धमा पन्जाब आर्मीका तर्फबाट यो लाहुरे बटालियन लडेको थियो । त्यसबेलाको एउटा नेपाली पुस्ता अहिले पाकिस्तान-अफगानिस्तानको सीमामा पर्ने पेसावरनजिक रहेको बताइन्छ, जहाँ एउटा 'बहादुर गाउँ' छ ।

भनिन्छ, लाहोरमा पूर्व र पश्चिम जोडिन्छ । प्राचीन एसियाली व्यापारको मुख्य मार्गमा पर्ने यो सहरमा अहिले दर्जनौं अन्तराष्ट्रिय फुट चेन खुलेका छन् । मुगलकालको रेडलाइट एरिया 'हिरा मन्डी' पनि अझै छ, जो नृत्य र संगीतका लागि पनि प्रसिद्ध छ । पाकिस्तानका पुराना सम्भ्रान्तहरूले आफ्ना सन्तानलाई संगीत र नृत्यको प्रशिक्षण दिनका लागि त्यहीँबाट प्रशिक्षकहरू लाँदा रहेछन् ।

पाकिस्तानी परिकार कबाब, नान, तन्दुरी, बिरयानी आदि नेपालमा निकै लोकपि्रय छन् । पाकिस्तानी संगीतका पारखी उस्तै छन् । पुराना गुलाम अलीदेखि यसै साता काठमाडौंमा कन्सर्ट गरेका आतिफ असलमसम्मका पाकिस्तानी गायकका पmयान नेपालमा टन्नै छन् । नेपालसँग यस्ता यावत कारणले पाकिस्तानको गैरराजनीतिक क्षेत्रमा पनि सम्बन्ध छ । तैपनि, लाग्छ पाकिस्तान निकै टाढा छ । पाकिस्तानसँग अन्तरक्रियाको कमी र भारतीय सञ्चार माध्यम र फिल्महरूको 'नजर'बाट पाकिस्तानलाई हेरिनु यसको एउटा कारण हुनसक्छ । ७० को दशकमा भारत र पाकिस्तानका बीच भएको युद्धपछि पाकिस्तान भारतका लागि मात्र होइन, नेपालका लागि पनि अलि पर पुगेजस्तो लाग्छ ।

पाकिस्तानका युवाहरुमा भने आपmनो सरकारले संसारका अघि देशको गतिलो छवि निर्माण प्रयास नगरेकोमा रोष छ । अन्य देशका नागरिकलाई ओहोरदोहोरमा सहज माहोल निर्माण गर्न नसक्नुलाई पाकिस्तानको कमजोरी मानिदो रहेछ । कराँचीका एक व्यापारी युवा मोहम्मद आसितले आफ्नो ब्लगमा लेखेका छन्, 'जब पाकिस्तान स्वतन्त्र थियो, हाम्रो देश, यहाँका नेता र हामी सबै महान् थियौँ । अहिले हाम्रो देश गरिब छ, हामी गरिब छौँ, मात्र नेताहरू अर्बपति बनेका छन् ।' बेनजिर भुट्टोको हत्याभन्दा केही महिनाअघि प्रसिद्ध समाचार म्यागजिन न्यूजविकले पाकिस्तानलाई इराकभन्दा पनि खतरनाक संसारकै सबभन्दा खतरनाक ठाउँका रुपमा कभरस्टोरी गरेको थियो । त्यस लगत्तै एउटा राजनीतिक सभामा भुट्टोको हत्या भएको थियो । यस्ता केही प्रसंगले पनि पाकिस्तानको खराब छवि बनाउन मद्दत गरेका छन् । पछिल्लो समय भने पाकिस्तानकी विदेशमन्त्री हिना रब्बानीको राष्ट्रपतिका छोरा विलावलसँगको अफेयरले पाकिस्तानलाई अन्तर्राष्ट्रिय प्रेसमा चर्चामा ल्याएको थियो ।

पूर्वाधारका हिसाबले पाकिस्तानका सहरहरू निकै सानदार लाग्छन्, मानिसहरू उत्तिकै मिनलसार र पाहुनाको सम्मान गर्ने छन्, हिन्दू, बौद्ध र शिख धर्मावलम्बीका महत्त्वपूर्ण धार्मिक स्थलसमेत यहाँ छन् । बाहिरबाट हेर्दा सोच्नेजस्तो अस्थिरता पनि छैन पाकिस्तानमा । तर, धेरैवटा राजनीतिक 'कु' र धार्मिक अतिवादी संगठनहरुको प्रभावले गर्दा होला पाकिस्तानको राजनीति स्थिर पनि छैन । 

1 comment: