Sunday, January 13, 2013

मिसन सीए

अघिल्लो दिनदेखि सुवास बराल, सजिव न्यौपाने र सुवर्ण भण्डारीले आंखा झिमिक्क पारेका छैनन् । दिउसो २ बजेदेखि उनीहरुको सीएको परीक्षा छ । दिनको चार–पांच घण्टा भन्दा कम सुत्न थालको त एक महिना अघिदेखि नै हो । त्यसैले नयां दिल्लीमा चिसो शुरु भइसक्दा समेत उनीहरुको ज्यान नमज्जाले तातेको छ । जति पढे पनि केही थाहा छ जस्तो नलाग्ने समस्या सबैको साझा छ । सीए पढ्ने जुनियर विद्यार्थीहरु हरेकपटक कुनै विषय पढ्न थाल्दा उनी किताबका थाक देखेरै आत्तिन्छन् र लामो सास फेरेर पढ्न शुरु गर्छन् । परीक्षाका बेला हुने रिभिजन त सबै पन्ना पल्टाउन समेत भ्याउंदैनन् उनी । सुवास भन्छन्, “त्यसैले हरेक इग्जाम भगवानकै भरमा दिनुपर्छ ।” कुन पाठबाट कति प्रश्न सोध्ने भन्ने नै हुंदैन ।

सुवास, सजिव र सुवर्णजस्ता थुप्रै नेपाली विद्यार्थीहरु एउटा कठिन मानिएको पढाई सीए अर्थात चाटर्ड एकाउन्टेन्ट पढ्न भारतको राजधानी नयां दिल्लीमा जुटेका छन् । धेरैजसो यहींको लक्ष्मीनगरमा बस्छन् । त्यसै त विरानो ठाउं त्यसमाथि पढाईको उच्च चाप र अनौपचारिक शैलीले नयां दिल्लीमा सीए पढ्ने नेपाली विद्यार्थीको जीवनशैली अन्य विद्यार्थीको तुलनामा निकै फरक छ ।

अहिले लक्ष्मीनगरमा मात्र झण्डै ५ हजार सीए पढ्ने नेपाली विद्यार्थी रहेको बताइन्छ । अधिकांशले सीए पढिने ३ चरणमध्ये पहिलो ६ महिने सिपिटी (कमन प्रोफिसियन्सी टेस्ट) नेपालमै सकेर दिल्ली हान्निएका छन् । दिल्लीमा उनीहरुको पहिलो काम ९ महिने आइपिसिसी (इन्ट्रिगेटेड प्रोफेसनल कम्पिटिसेन्स कोर्स) सक्ने हुन्छ भने त्यसलगत्तै झण्डै ३ बर्षे आर्टिकलसिप सकेर परिक्षा उतिर्ण गरेपछि सीएको सर्टिफिकेट बोकेर घर फर्कन्छन् । तर जुनकुनै देशको नागरिकको लागि सीए सोचेजसरी भइदिंदैन । “सीए बन्ने सपना बोकेर लाखौं दिल्ली छिर्छन्, अन्तिमसम्म पुग्ने हजारौंमा हुन्छन् र केही सयले मात्र पूरा गर्छन्”, सीएको अन्तिम परीक्षा दिने तयारीमा रहेका सविनय घिमिरे भन्छन्, “गारो त गारो छ ।” 


त्यसैले दिल्लीमा सीएलाई अथ्र्याउन विभिन्न तरिकाका शब्दहरु प्रयोग हुन्छन् । कसैले यो अर्को ग्रहका मानिसहरुको पढाई त कोही जवानी भुलेर पढ्ने पढाई ठान्छन् । नर्क कस्तो हुन्छ भन्दा सीए पढ्दा जस्तो भन्ने भनाई समेत निकै चलेको छ यहां । हुन पनि हो, झिसमिसेमै उठेर कक्षा लिन शुरु गर्दा सकिंदासम्म रात छिप्पिसकेको हुन्छ । सीए विश्वविद्यालय वा कलेजले पढाउने कोर्स होइन । त्यसैले ट्युसन इंस्सिच्युटकै भर पर्नुपर्छ । तनहुं, भिमादका सन्तोष सुवेदीसंग एउटै शिक्षकको ४ देखि ७ घण्टा लामो कक्षासम्म लिएको अनुभव छ । त्यसमाथि एउटै कक्षा धेरैजसो सिनेमाहलभन्दा ठूलो हुन्छ, १ हजारभन्दा बढि अट्ने । “शुरुशुरुमा यही देखेरै आत्तिन्छन् धेरैजना”, सुवेदीले सुनाए,  “नेपालमा पढ्दा शिक्षकमै पूरै भर पर्ने बानी परेकाको लागि त त्यो झन् नमज्जाको भइदिन्छ ।” त्यसमाथि नेपाली विद्यार्थीको लागि स्याटलाइट कक्षा समेत दिल्लीमा नयां बन्छ । यो एउटा भर्चुअल कक्षा हो जुन देशविदेशका सयौं ठाउंमा राखिएका स्क्रिनमा एकैपटक लाइभ भइराखेको हुन्छ । बिचमा कसैलाई प्रश्न सोध्न मन लागेमा कागजको टुक्रामा लेखेर दिएपछि कक्षाकोठामा रहेका सहयोगिले अनलाइनमार्फत त्यो सिस्टममा हालि दिन्छन् । चितवनका रमेश खरेल भन्छन्, “सयौं ठाउंबाट त्यसरी जम्मा हुने त्यस्ता प्रश्नका बिच आफ्नो जिज्ञासाको उत्तर पाउनु त ठूलै चिठ्ठा पर्नुझैं हो ।”

यद्यपि भारतमा सीए पढ्नुको सबैभन्दा राम्रो विशेषता नै त्यहां गुणस्तरका शिक्षक भेटिनु हो । “शिक्षकहरु यतिधेरै खारिएका हुन्छन् कि उनीहरुले पढाउने शैलीले ५ घण्टा नै कटेको पनि पत्तो हुुंदैन”, काठमाडौंकी दिपा शर्माले सुनाइन् । उनीहरु अनावश्यक डराउन पनि दिंदा रहेछन् भने ठट्टा समेत कहिलेकाहीं विद्यार्थीकै तहसम्म उत्रेर गर्छन् । उनीहरुका उदहारण र भिडियो क्लिप्स पनि निकै रोचक तरिकाले बनाएका हुन्छन् । दिपा थप्छिन्, “तर पनि चार पांच घण्टा कम हो त ? थाहा नपाइकन झुपुझुपु पारिहाल्छ ।”

सीएमा आर्टिकलसिप सबैभन्दा महत्वपूर्ण पाटो हो, जहां उनीहरु किताबभन्दा बाहिर निस्केर सिकिराखेका हुन्छन् । दिल्लीमा राजीव चोक, नेहरु प्लेस, राजेन्द प्लेस, करोल बाग, लाजपथ नगरजस्ता थुप्रै ठाउंमा हुने अडिट फर्ममा काम गर्छन् उनीहरु । यो सीपिटी र आइपिसिसी सकेपछि हुने ३ बर्षे इन्टर्नसिपजस्तो हो । ससानादेखि ठूल्ठूला कम्पनीसम्मका अडटिङ हुने दिल्लीका फर्मले नै हो व्यावहारिक तहका ज्ञान सिकाउने । “यहां सीएको एसिस्टेन्ट जसरी काम गर्ने अवसर मिल्छ”, पोखराका हेमन्त कोइराला भन्छन्, “सीएले नै सबै ससाना फाइल पल्टाएर त हेर्दैनन्, त्यसैले ति सबै काम हाम्रो भरमा हुन्छ ।” साना अफिसका काम फर्ममै बसेर गर्नुपर्छ भने ठूलाका हकमा उनीहरुकै कार्यालयमा समेत जान्छन् आर्टिकलहरु ।

३ बर्षे आर्टिकलसिप राम्ररी गर्नेहरु “सेमि सीए” भनेर चिनिन्छन् । उनीहरुको हस्ताक्षर त विक्दैन तर अन्तिममा सीए पास नभएको हकमा समेत फर्म वा बैंकमा कामको लागि अवसर मिल्छ । आर्टिकलसिपले पछि आफ्नो फर्म खोलेको खण्डमा त्यसको मार्केर्टीङ गर्ने शैली समेत सिकाउंछ ।  त्यही आर्टिकलसिप सकेपछि ८ वटा बिषयको परीक्षा हुन्छ र त्यसमा पास भइएमा मात्र सीए भइन्छ । हेमन्त भन्छन्, “आर्टिकलसीपकै कारण त्यसबेला पहिलेजसरी पढ्न भ्याइंदैन र फाइनलमा चाप बढ्ता हुन्छ ।” त्यसो भनेर आर्टिकलसीपलाई लत्याइहाल्न पनि मिल्दैन् । गतबर्ष इन्स्चिस्युट अफ चाटर्ड एकाउन्टेन्स इन इण्डिया (आइसिएआई) बाट उच्च अंक ल्याउने एक युवती यहांको ठूलै कम्पनीमा सीए त बनिन् । तर फाइनल परीक्षालाई मात्र प्राथमिकतामा हाल्दा  आर्टिकलसीप नै नगरिकन फर्मबाट सर्टिफिकेट लिएकी थिइन् । जसको समस्या काम गर्नेबेला देखियो र उनी सीए बनिसकेपछि अहिले पुन: आर्टिसिपमा फर्कनुपरेको छ, कारवाही स्वरुप । त्यस्तो गर्नेलाई यहां डमी भनिन्छ । “डमी बनेर अरुलाई झुक्याउन वा त्यही समय पढाइमा लगाएर धेरै नम्बर ल्याउन त गारो हुंदैन तर त्यसले हानी आंफैलाई गरिराखेको हुन्छ”, दिपा भन्छिन्, “सीएमा त्यसैले निरन्तर मिहिनेत गर्नुपर्छ र हरेक पक्षमा राम्रो हुनुपर्छ ।” कुनै बिषयमा पास हुन ४० प्रतिसत अंक ल्याए पुग्छ तर समग्रमा ५० प्रतिसत नआएसम्म पास भइंदैन । 

आर्टिकलसीप गर्दा आइसिएआईले मासिक कम्तिमा १ हजार २ सय ५० भारतिय रुपियांसम्म दिनुपर्ने नियम बनाएको छ जुन हरेक बर्ष कम्तिमा १ हजारका दरले बढ्नुपर्छ । तर धेरैले मासिक ३ देखि ५ हजार रुपियांसम्म बुझछन् भने कहिलेकाहीं ठूलै कम्पनीको अडिटमा पर्दा त्यो भन्दा पनि तलबको मात्रा बढ्छ । आर्टिकलसिपमा राम्रो गरियो भने दिल्लीमा मोटो रकम दिएर सीए राख्ने फर्महरु पनि थुप्रै छन् । हेमन्तले काम गर्ने गरेको फर्म गोपाल राव एण्ड कम्पनीमा मात्र ५ जना नेपाली आर्टिकलसिप गरिराखेका छन् ।
ग्रिन कैलाशस्थित आरके रेलम एण्ड कम्पनीमा आर्टिकलसिप गरिरराखेका सविनयको दिमागमा धेरैजसो सेन्ट जेभियर्स कलेज काठमाडौंमा विज्ञान पढ्दाका दिनका सम्झना हुन्छ जहां रातभरको मिहिनेत भन्दा पनि पढ्ने सिर्जनशील तरिकाकै भरमा उनले राम्रो गर्थे । तर सीए क्रियटिभ भएर मात्र चल्दैन, यो मिहिनेतले नै राम्रो बनाउने क्षेत्र हो । सुवास थप्छन्, “अहिले सीएको दलदलमा फसिसकेपछि लाग्छ मैले यो मिहिनेत अर्को कुनै क्षेत्रमा गरेको भए धेरै प्रगति गरिसक्थें ।” उनीहरुको एउटा साझा पीडा क्याम्पस जीवन नहुनु पनि हो । नवलपरासीका वीपी कोइराला भन्छन्, “फेसबुक खोल्यो, संगै पढेका साथीहरु कलेज ड्रेसमा क्याम्पस जीवन रोमाञ्चका तस्विरहरु राखिराखेका हुन्छन्, आफ्नो भन रातदिन पढ्दा समेत साथी, क्याम्पस जीवन भन्ने केही हुंदैन ।” यहां सबै “वान मेन आर्मी” हुन् जसको लागि सबै काम आफैले गर्नुपर्छ । विपिको भनाई छ, “न होमवर्क, न टिचरको टर्चर न त कलेजले नै केही भन्ला भन्ने हुन्छ तर सीए नबनिएला भन्ने पीरले नै सबैभन्दा धेरै गाइड गरिराखेको हुन्छ ।” दिल्लीमा थुप्रै बर्ष लगाएर सीए सक्नेहरु पनि भेटिन्छन् । हेमन्त थुप्रैपटक इन्च्सिचुटमा कसैले आफ्ना छोराछोरी भर्ना गर्न ल्याएजस्तो ठानेका थिए जो पछि अभिभावक नभई विद्यार्थी नै थिए ।

लक्ष्मीनगरमा आफ्नै गाउंठाउंबाट आएका वा एउटै फ्याटमा बस्ने बाहेक अरुसंग त्यतिधरै भेटघाट नै हुंदैन । तरकारी किन्न निस्कंदा होस् वा ललितापार्क मैदानमा सांझपख टहलाउन निस्कंदा भने धेरै नेपाली विद्यार्थी भेटिन्छन् । विपि थप्छन्, “समय नै नहुने हुंदा बाहिर घुम्ने काम त्यति हुंदैन ।” त्यसैले उनीहरु फुर्सदमा धेरैजसो घरभित्रै इन्टरनेटमा झुम्मिन्छन्, कोठाभित्रै जसोतसो फुटबल, बासकेटबल खेल्न खोज्छन्, गितार बजाउंछन् । दिल्ली सीए सर्कल, हातेमालो जस्ता केही सीए विद्यार्थीका संगठन समेत छन् दिल्लीमा तर ति भर्चुअल नेटवर्कमै बढ्ता सिमित छ । हेमन्तले भने, “तर सीए पढ्ने विद्यार्थी स्वभावैले समूहमा भन्दा एक्लै काम गर्न रुचाउने स्वभावका हुने हुंदा संगठनमा त्यति रम्दैनन् ।”

परीक्षा नजिकिंदै जांदा विरामी पर्नु धेरै नेपाली सीए विद्यार्थीको समस्या बन्नेगर्छ । सुवासलाई त आजकल परीक्षाको समय सानोतिनो विरामी परिएन भने आफूले पढ्दै पढेनछु कि जस्तो लाग्दो रहेछ । अझ केटीहरुमा बढि नै होमसिकनेस को समस्या हुन्छ । हरेकपटक परीक्षा आयो या दिल्लीमा चाडपर्वको माहोल शुरु भयो उनीहरुलाई घरको सम्झनाले सताउंछ । “परीक्षाको बेला नुवाईधुवाई गर्नु समेत फाल्तु काम गरेझैं हुन्छ”, दिपा भन्छिन्, “इग्जाम हुंदा घरमा ममीले रातीराती उठेर चिया पकाएको क्षण निकै मिस हुन्छ ।” कतिले विहानसांझ खाना पकाउने कामका लागि मेड राखेका छन् जो विहानसांझ आएर खाना पकाइदिने र भांडाकुंडा सफा गरिदिने गर्छन् । सीए, रहर वा बाध्यता जसरी नै भएता पनि नेपाली विद्यार्थीको नयांदिल्ली बसाईले उनीहरुलाई पढाईको तपस्या कस्तो हुन्छ भन्ने चाहीं राम्ररी सिकाइराखेको छ ।

First Appeared in NEPAL Magazine

No comments:

Post a Comment