Friday, February 15, 2013

हाम्रा विद्यार्थी नेता


प्रेम श्रेष्ठ, वर्ष २५ । थुप्रै विद्यार्थीसँगै झिसमिसेमै कलेज पुग्छन् । फरक यत्ति छ, अरू कक्षा कोठा छिर्छन् । उनी भने क्याम्पस परिसरमै व्यस्त हुन्छन् । आफूजस्तै भेटेजतिका विद्यार्थीलाई 'गुडमर्निङ' भन्दै हात मिलाएर भ्याउँछन् । उनीहरूका पीरमर्का सुन्छन् । क्याम्पस प्रशासनसम्म तिनलाई लैजान्छन् । बीबीएस सकेर बसेका उनको आफ्नै कक्षा भने एक वर्षअघिसम्म यस्तै दैनिकीका बीच साँझ मात्र सुरु हुन्थ्यो । कारण उनी सरस्वती बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) का अध्यक्ष हुन् । सरकारी कलेजका विद्यार्थी नेताको दैनिकी प्रायः प्रेमकै जस्तो हुन्छ । उनीहरूको खानपानकै समेत ठेगान हुँदैन । 

उनीहरूका झोलामा थुप्रैका भर्नाका र्फम, छात्रवृत्तिका निवेदनजस्ता विभिन्नखाले कागजपत्र हुन्छन् । ठूला-साना आन्दोलन/विरोध विद्यार्थी शक्तिकै भरमा हुने हुँदा त्यसको बोझसमेत उनीहरूमै हुन्छ । लाग्छ, कलेजहरू त्यहाँका प्रशासनका आडमा होइन, विद्यार्थी नेताकै भरमा चल्छन् । 'तर,' श्रेष्ठ त्यसलाई मान्न तयार छैनन्, 'हाम्रा कमजोरी बढी देखिएका मात्र हुन् । 

विद्यार्थी संगठन नभए त बरु सरकारी कलेज बन्दझैं नै हुन्छन् ।' 

कसरी त ? 

उनको भनाइलाई आधार मान्दा हरेकजसो कलेजमा शिक्षक, कर्मचारीका समेत संगठन छन् । त्यहाँ उनीहरूको राजनीतिको अर्को पाटो छ, जसलाई 'ब्यालेन्स' गर्ने काम विद्यार्थी संगठनले गर्ने गरिराखेको छ । अहिले सरकारी कलेजका थुप्रै शिक्षकका आफ्नै निजी कलेज छन् । 

'त्यही शिक्षक निजीमा पढाउँदा राम्रो गर्छन् सरकारीमा गर्दैनन्,' प्रेमको भनाइ छ, 'हामीले केही वास्ता नगर्ने हो भने त उनीहरू नियमित कलेज आउने वा कक्षामा जानेमा समेत हेलचेक्य्राइँ गर्छन् ।' एकैछिन त्रिचन्द्र कलेजका अनेरास्ववियुका अध्यक्ष उमेश आचार्य, वर्ष २५ तर्फ लागौं । उनका भनाइमा एकातर्फ सरकारी कलेजमा केही सिस्टम छैन । त्यसमाथि पुराना ढर्राका कर्मचारीको कार्यशैली पुरातन एवं असहयोगी छ । त्यसले कलेज छिरेकै दिनदेखि विद्यार्थीलाई पिरोल्न थाल्छ । जस्तो, कर्मचारीका ढिलासुस्ती, असहयोगी शिक्षक एवं कलेज पूर्वाधार एवं शैक्षिक सामग्रीमा कमी । उमेशको भनाइ छ, 'कति त प|mस्टु भएर कलेज नै आउन छाड्छन्, कति क्याम्पसभन्दा ट्युसन इन्स्िटच्युटको भर पर्न थाल्छन् ।' 

त्यस्तो अवस्थामा विद्यार्थी नेताले सघाइराखेका हुन्छन् । उनको कलेजमा त्यसैले भर्नाको समय 'हेल्प डेस्क' राखिएको हुँदोरहेछ । भलै, त्यसबेला सघाएकै भरमा विद्यार्थी आफ्नै संगठनतर्फ आकषिर्त हुन् भन्ने उनीहरूको स्वार्थ हुन्छ । 'विद्यार्थीको क्षमता, क्षेत्र कस्तो हो भन्ने त्यसरी नै चिनिन्छ,' उमेश भन्छन्, 'अनि त्यसैअनुसार आफ्नो संगठनमा तान्ने रणनीति बन्न थाल्छ ।' 

पढन्ते विद्यार्थी भए शिक्षकसँगै चिनजान गराएर, खेलकुदमा रुचि भएका भए खेलका अवसर दिलाएरजस्ता थुप्रै शैली हुन्छन् । भन्छन्, 'कलेजमा धेरैजसो विद्यार्थी राजनीतिक आस्थाका कारणभन्दा पनि तिनै सहयोगबाट प्रभावित भएर संगठनलाई साथ र समर्थन दिन्छन् ।' नेपाल विद्यार्थी संघबाट प्रतिनिधित्व गर्ने पद्मकन्या क्याम्पसकी स्ववियु सभापति हुन्, स्वस्तिका पोखरेल, वर्ष ३० । उनका विचारमा कलेजभित्र 'हार्डकोर' राजनीति हुँदैन, जति बाहिर चर्चा हुन्छ । भन्छिन्, 'मलाई चुनावमा भोट हाल्ने थुप्रै मेरो राजनीतिक आस्था विपरीतका पनि छन् ।' कस्ता व्यक्तिलाई आफ्नो विद्यार्थी नेता मान्ने भन्ने उनको व्यक्तित्वले बढ्ता निर्धारण गरिराखेको हुन्छ । पोखरेल भन्छिन्, 'त्यसैले क्याम्पसमा झैंझगडा वा विवाद भए त्यसले विद्यार्थी नेतालाई नै हानि गर्छ ।' 

स्वस्तिकाको भनाइविपरीत कलेजभित्रै विद्यार्थी संगठनका नेताबीच हानथाप हुनु वा अन्तरकलेज द्वन्द्व चर्कनु कुनै नौलो घटना भने होइन । प्रश्न उठ्छ, 'त्यसो भए झैंझगडा कसरी हुन्छ ?' क्याम्पसमा विद्यार्थीका हकहित वा शैक्षिक मुद्दाकै कारण भने त्यति धेरै झैंझगडा हुँदैनन् । झगडा हुन्छन् त व्यक्तिगत रिसइबीका कारण । 

कलेज बाहिरका डन आएर परिस्थितिलाई झन् भड्काउँछन् । ठेक्कापट्टामा कलेज प्रशासन र विद्यार्थी संगठनबीच नै पनि आ-आफ्ना स्वार्थ जोडेर विवाद हुन्छन् । कतै एउटै संगठनले मात्र स्ववियुमा जित्यो भने त्यसले अरू संगठनलाई पाखा पार्न खोज्छ । 'त्यसलाई बेकारमा विद्यार्थी संगठनको आवरणमा ढालिन्छ,' स्वस्तिका भन्छिन् । 'त्रिभुवन विश्वविद्यालयले हामीलाई विकृतिको कारणमात्र भन्छ तर विद्यार्थी संगठनको मर्मलाई व्यवस्थित पार्नेतर्फ उसको चासो छैन,' उनले भनिन् । त्रिविले विद्यार्थी नेता बन्नका लागि उमेरको हद नराख्नु, कक्षा कोठामा विद्यार्थीको निश्चित संख्या तोक्न नसक्नुजस्ता समस्या त्यसका कारण हुन् । 

त्रिचन्द्रका उमेशको भनाइ छ, 'हामीले गत वर्ष शैक्षिक सम्मेलन गर्दा उठाएका मुद्दामा अन्य सबै संगठनले सघाउनुका साथै समर्थनसमेत गरेका थिए ।' तर त्रिचन्द्रमै नेविसंघ र अनेरास्ववियुबीच विवाद बढ्दा दुवैले एकअर्कालाई निषेधकै वातावरणसमेत बनाए । त्रिविमा समस्याका थाक छन् । परीक्षाको रुटिन समयमा नआउँदा एकै वर्ष कक्षामा दुई ब्याच विद्यार्थीसमेत छन् । नतिजासमेत उस्तै ढिलो हुन्छ । समयानुकूल न त कोर्स परिवर्तित हुन्छ न त पढाउने शैली नै वैज्ञानिक छ । अर्कोतर्फ त्रिवि भनेको 'कम नम्बर' आउने विश्वविद्यालय भन्ने गरिन्छ । उमेश केही स-साना समस्या औंल्याउँछन् । 

जस्तो, मानविकीका थुप्रै विषयमा धेरै नम्बर नै दिनु हुँदैन भन्ने मानसिकताले शिक्षक ग्रसित छन्, मार्कसिटमा दोस्रो पटकमा उत्तीर्ण हुने विद्यार्थीलाई नम्बरका पछाडि अनावश्यक रूपमा 'एक्सटि्रक' लगाएर हतोत्साहित पारिन्छन् । उमेशको भनाइ छ, 'हामीले थुप्रैपटक त्रिविलाई यो कुरा राख्यौं पनि । तर उनीहरू आफ्ना कमजोरी लुकाउँदै हामीलाई देखाएर समस्या ढाकिराखेका छन् ।'

सरस्वतीका प्रेम गुुनासो पोख्छन्, 'हामीले शान्तिपूर्ण आन्दोलन वा छलफलबाटै त्यसको समाधान होस् भन्ने ठान्छौं । तर ढुंगामुढा नै गर्दासमेत फरक नपर्ने त्रिवि संयन्त्र छ ।' कतिसम्म छ भने उपकुलपतिदेखि क्याम्पस प्रमुखसम्म राजनीतिक भागबन्डामा छानिन्छन् । 'त्यसले स्वाभाविक रूपमा न्युट्रल हुनुपर्ने व्यक्ति विवादमा होमाउँछ,' पद्मकन्याकी स्वस्तिका भन्छिन् । 'राजनीति गर्नेसमेत एउटा तह वा स्थान हुन्छ जसलाई शिक्षामा त्यसरी जोडेर विकृत बनाउनु हुँदैन,' उनलाई लाग्छ । यी विद्यार्थी नेताका कुरा सुन्दा बाहिर देखिएजस्तो उनीहरूमा मात्र समस्या भएझैं लाग्दैन । बरु उनीहरूलाई बुझ्न सकिएको छैन । विश्वविद्यालयले न त विद्यार्थी राजनीति व्यवस्थित पार्ने उपयुक्त रणनीति बनाउन सकेको छ । 

No comments:

Post a Comment