Sunday, February 3, 2013

प्रेमका सुख–दु:ख

कुनै कुरा रोचक बन्न नयाँ बिषयबस्तु वा निकै सुसज्जित भाषा चाहिंदैन, मानिसलाई उसको साधारण विगतकै सम्झना गराइदिए पुग्छ । सुबिन भट्टराईको उपन्यास ‘समर लभ’ ले त्यही भन्छ । प्रेमकथामा बुनिएको उपन्यासमा पात्र, परिवेश र प्रशंग कुनै विशेष नभई हामी सबैले जीवनको एउटा कालखण्डमा देखीभोगिआएकै हुन् । पुस्तक पढिरहंदा पाठक मुख्य पात्र अतित र सायासँगै आफूलाई पनि त्यतै कतै पुर्‍याउँछन् । प्रेमजडित आफ्ना तिता–मिठा विगत सम्झन बिचबिचमा एकैछिन पढ्न बन्द गर्छन्, एक्लै मुस्काउँछन् । कतैकतै आफूलाई उनीहरुका रोमाञ्चक घटनासँग तुलना गर्दै पछुताउँछन् पनि । उस्तै सरल एवं चल्तीकै भाषाशैलीले उपन्यासलाई पठनिय बनाएको छ । यही कथामा सायद साहित्यमा अक्सर प्रयोग हुने फूलबुट्टाजडित शब्द, ठूल्ठूला आदर्श वा दर्शन जोडिएको भए त्यो सबैभन्दा झुर पनि हुन सक्थ्यो । किनकि मन–मस्तिस्क शून्यतामा हुँदाको अवस्थामा प्रेम हुन्छ जहाँ मन र मुखको बोलीमा केही फरक हुँदैन ।    

सायासँग अतितको भेट हुनुमा केही कारण वा प्रशंग छैन । त्रिभुवन विश्वविद्यालयको वातावरण विज्ञान केन्द्रीय विभागमा पढ्न पाउनेहरुको सूचिमा साया शाक्यको नाम शुरुमै हुन्छ भने अतित शर्माको अन्त्यतिर । त्यसै पनि पढन्ते केटी कस्ता हुन्छन् भन्ने जान्न इच्छुक अतित, सायाको नामबाटै मोहित हुन्छ । कारण बिनाकै त्यो भाव भएता पनि त्यसलाई प्रष्ट्याउन अतितको स्वभाव काफी छ, कथालाई धेरै लम्बेचौडे बनाउन आवश्यक पर्दैन । जब उनीहरु साथी बन्छन्, सँगै कलेज आउतजावत गर्छन् कलेजमा गाइगुईं चल्छ । एकदिन कुराकानी चल्दैजाँदा अतितले उसलाई मन पराएको कुरा बताउन समेत पछि पर्दैन । उनीहरु साथीबाट प्रेमी बन्न त्यतिधेरै समय लाग्दैन । 

त्यसपछि उपन्यासमा प्रेम र यौनका पाटा आउँछन् जसले पाठकलाई कुत्कुत्याउँछ पनि । एक दुईपटक त्यस्ता प्रशंग आएपछि स्वभाविक रुपमा पाठकलाई उपन्यास पढाईको आफ्नो रफ्तार रोक्न गाह्रै पर्छ । तर यौनलाई कतिपय ठाउँ आवश्यक भन्दा बढ्ता प्रयोग गरेर सस्तो पनि बनाइएको छ । अक्सर चल्तीका प्रेम उपन्यास पुरुष हावी हुने गरेता पनि यसमा महिला पात्र हावी भएको देखिन्छ र पुरुष पात्र नै कमजोर मनोवलका लाग्छन् ।

कलेज जीवनको रोमाञ्चकता सकिएसँगै साया थप पढाईका लागि ओल्सो पुग्छिन् भने अतित कामका लागि धनगढि । उनीहरुको विन्दास शैली विस्तारै अलिक परिपक्वतर्फ मोडिन्छ । यद्यपि त्यसको केही समयसम्म पनि उनीहरुको प्रेममा कमी महसुस हुँदैन । कतिसम्म भने परिवारको इच्छाविपरित उनीहरु विवाह गर्छन् । विवाह गरेर फर्केसँगै भने उनीहरुको सम्बन्धमा चिसोपन देखापर्छ ।


साया र अतित दुवै निकै जिम्मेवार पात्र लाग्छन् । न त उनीहरुको प्रेम नै कमजोर धरातलमा स्थापित हुन्छ । तर अचानक त्यसमा चिसोपन आउनुको बलियो कारण भने खुलाइएको छैन । अतित पछि उसलाई पछ्याउँदै नर्वे समेत पुग्छ । तर उनीहरुको प्रेममा अन्त्यसम्म समेत कुनै सुधार आउँदैन । साया र अतितबिच फाटो देखापरेसँगै उपन्यासमा चलिराखेको रोमान्चकता एक्कासी सेलाउँछ । उनीहरु पुन: मिलेर कथाको ‘ह्याप्पी इण्डिङ’ हुने पाठकको आशामा भने तुसारापात हुन्छ । धेरैलाई त्यसबेला उपन्यास बिचबाटोमै अन्त्य गरिदिएझैं हुन्छ । त्यसलाई यसको दोस्रो भाग निकाल्न मिल्ने ठाउँ राखिएको पनि हुन सक्छ । तर सायाबिना बाँच्नै नसक्ने ठान्ने अतित अन्त्यमा आफैभित्र निकै बलियो बनिसकेको हुन्छ जसलाई समेत एउटा राम्रो अन्त्य मान्न सकिन्छ । चल्तीका फिल्मी शैलीबाट उपन्यास राम्रैसँग प्रभावित देखिन्छ । तर उनीहरुको प्रेममा आँखा लगाउने भिलेन भने कोही हुँदैनन् ।

समर लभ कथाबस्तु भन्दा पनि पात्रका शैली र परिवेशले सुन्दर भएको उपन्यास हो । यसमा हाम्रा दैनिक जीवनका बोलीचाली, चालचलन र स्वभाव भेटिन्छन् । कलेजमा कुनै नयाँ व्यक्तिलाई चिन्नु, डेटिङका लागि कक्षा बंक गर्नु, एकैछिन पनि छुट्टिंदा ठूलै समस्या आइलागेजस्तो लाग्नेजस्ता थुप्रै प्रशंगलाई निकै जीवन्त तरिकाले लेखकले प्रस्तुत गरेका छन् । तर कतैकतै अनावश्यक रुपमा अंग्रेजी शब्दको प्रयोग केही अस्वभाविक लाग्छ । सहायक पात्रका रुपमा सहपाठी किरण,  सुस्मिता, अनु, प्रतिक्षाले कथालाई एकलकाटे हुनबाट जोगाएका छन् । सायाको स्वभाव भने आफैमा एकनासको लाग्दैन ।

सायाको स्वभावलाई लेखकले शुरुदेखि नै सजिलै मूल्यांकन गर्न नसकिने बनाएका छन् जसको पुष्ट्याई उपन्यास अन्त्यसँगै हुन्छ । कतै उनी निकै बोल्ड लाग्छिन् भने कतै अति नै सहज । थुप्रै ठाउँमा उनले अतितसामु नपोखिकनै असन्तुष्टि व्यक्त गरेकी हुन्छिन् । त्यसरी नजानिंदो ढंगबाट उनको स्वभाव रहस्यमयी बनेको छ । प्रेममा चिसोपन आउँदाको कथा भने त्यत्तिकै अल्झाइएर लम्ब्याउन खोजिएको छ । समग्रमा प्रेमका सुख–दुखको संगालो बनेको छ समर लभ । उपन्यासको सुन्दरतामा आकर्षक आवरणले समेत इम्प्रेसन राम्रो पार्छ । वाक्यहरु अझै छोट्याउन सकेको भए पाठकलाई सरल कथा अझ सरल तरिकाले पढ्न सघाउँथ्यो । अतितको शब्दमा अगाडि बढ्ने कथाबस्तुमा उसले क्रुज यात्रामा एक लेखकलाई बताए अनुसार छ । जुन प्रशंगको औचित्य खासै देखिंदैन ।

यो पश्चिमा जगत् वा भारतमै पनि पछिल्लो समय चलेको ‘चिकलिट’ वा ‘मेट्रो रिड’ शैलीको उपन्यासको रुपमा नेपाली बजारमा समेत उदाएको छ । जसमा धेरै टाउको दुखाई छैन, पढ्दाखेरी छोड्न पनि मन लाग्दैन तर ती पात्रहरु धेरैपछिसम्म मनमा रहिरहन पनि सक्दैनन् ।

"समर लभ"

स्रष्टा :    सुबिन भट्टराई
प्रकाशक:    फाइन प्रिन्ट
पृष्ठ:    २५०
मूल्य:    २७५ रुपियाँ

1 comment:

  1. It is fine critics about summer love. Do love but be care your love should be broken because you anand yours..........

    ReplyDelete