Wednesday, February 6, 2013

'प्रथम हुनेलाई दोस्रोसँग डर हुन्छ’

'जति लेखे पनि नम्बर नै राम्रो आउँदैन !' त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको साझा गुनासो रहँदै आएको छ। त्यसलाई धनुषाका नवीनकुमार महतो, २७, ले गलत साबित गरिदिएका छन्, स्नातकोत्तरको गणितमा ९४ प्रतिशत अंक ल्याएर। सबै स्नातकोत्तर संकायमध्ये सर्वप्रथम भएर हालै उनले विश्वविद्यालयको चान्सलर पदक र रामप्रसाद मानन्धर पदक पाएका छन्। एक वर्षयता त्रिविकै गणित केन्द्रीय विभागमा पढाइरहेका उनीसँग गरिएको कुराकानी :

एसएलसीयता तपाईंको प्रतिशत कस्तो रह्यो ?
एसएलसीमा ७५, आईएस्सीमा ५०, बीएस्सीमा ७२.४३, एमएस्सीमा ९४ ।

धेरै अंक ल्याउने सूत्र के के हुन् ?
निरन्तर एउटै लयमा पढ्नुपर्छ। परीक्षाका बेला धेरै तनाव लिनुहुँदैन। किताबसँगै इन्टरनेटजस्ता नयाँ स्रोतको पनि प्रयोग गर्नुपर्छ। धेरै कुराको अभ्यास लेखेरै गर्नुपर्छ।

घरमा दैनिक कति घन्टा पढ्नुहुन्थ्यो ?
म कलेजका कक्षा नियमित लिन्थेँ। त्यसैले कलेज हुँदा दैनिक चार-पाँच घन्टा र कलेज नभएको अवस्थामा आठदेखि दस घन्टासम्म पढ्थेँ। एसएलसीयता पढ्ने र पढाउने सँगसँगै गरेकाले मेरो दैनिकी निकै व्यस्त हुन्थ्यो।

जीवनमा मार्कसिटको उच्च अंकले के फाइदा गर्छ ?

मनोबल उच्च पार्छ। मनोबल उच्च भएपछि हरेक कुरामा आँट आउँछ।

सहपाठीबीच प्रतिस्पर्धा कस्तो थियो ?

मेरो विभागमा त प्रथम वर्षमा एक नम्बरले मात्र अर्को साथी दोस्रो हुनुभएको थियो। त्यसैले दोस्रो वर्षमा पछि परिने हो कि भन्ने डर थियो। दोस्रो वर्षमा भने चार नम्बरले अगाडि भएँ।

विश्वविद्यालय पढ्दा छुट्टीका दिन कसरी बित्थे ?

म पत्रपत्रिका पढ्छु। खेलसम्बन्धी कार्यक्रम हेरेर रमाइलो गर्छु।

त्रिभुवन विश्वविद्यालयको नराम्रो पक्ष के हो ?

यहाँ विद्यार्थी, कर्मचारी र शिक्षक सबै सस्तो राजनीतिमा अल्भिmएका छन्। त्यसको अन्त्य हुनेबित्तिकै थुप्रै समस्याको समाधान हुन्छ।

No comments:

Post a Comment