Thursday, March 14, 2013

एप्लिकेसन एसे : राम्रो कलेजको साँचो


Sketch By: Rabindra Manandhar
चितवन, नारायणगढमा प्लस टू गरेका हुन्, चन्दन शर्मा सुवेदीले। गाईभैँसी पालेर गुजारा चलाउने उनको घरमा कम्प्युटर हुने कुरै भएन। घरमा टेलिभिजन आएको पनि उनले स्कुल सकेपछि मात्रै हो। भारतको कश्मीरमा जन्मिएका हुन् उनी।  त्यहाँ असुरक्षा महसुस गरेर नेपाल फर्कियो, उनको परिवार। उनलाई अहिले बल्ल अनुभव हुन्छ, आफ्नो परिवारको कष्टकर जिन्दगी। त्यही कष्टकर समय उनका लागि यतिबेला प्रेरणा भइदिएको छ। किनभने, त्यसले नै उनलाई अमेरिकाको म्यासाच्युसेट इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)सम्म पुर्‍याएको छ, जहाँ भौतिकशास्त्रमा स्नातक गररिहेका छन्।

एमआईटीमा भर्नाका लागि आवेदन दिँदा 'एप्लिकेसन एसे'मा उनले जीवनमा अभिभावकले सिकाएका कुरा यसरी लेखेका छन्, 'मलाई कहिल्यै लागेन, हामी गरबि छौँ। मात्र लाग्थ्यो, खाना केही मीठो भएन, जाडो केही बढी भयो, मेरो घर केही सानो छ।' 

सायद त्यस्तो मन छुने एसे नलेखेको भए उनले त्यहाँ भर्ना पाउने थिएनन् र काठमाडौँकै कुनै सरकारी कलेजमा बीएस्सी पढिरहेका हुन्थे। शीर्ष कलेजहरूको विश्वव्यापी सूचीमा 'टप-फाइभ'बाट विरलै झरेको छ, एमआईटी। सन् २०१२ मा मात्रै स्नातक र स्नातकोत्तरका लागि विश्वभरबाट ४० हजारभन्दा बढीले आवेदन दिए। पढ्ने मौका पाए, केवल ३ हजार ३ सय ६४ ले। इन्जिनियरङि् र विज्ञानका लागि विश्वभर रुचाइने पहिलो कलेज एमआईटीमा पढ्ने रहर कसलाई नहोला? तर, त्यसका लागि पढाइमा मात्र अब्बल भएर पुग्दैन।

हावर्ड, अक्सफोर्ड, पि्रन्सटन, स्ट्यान्डफोर्ड, क्याम्बि्रज, इम्पेरयिल, यल र कर्नेलजस्ता अन्य शीर्ष विश्वविद्यालयमा पनि अवस्था उस्तै हो। "ती हजारौँ विद्यार्थीमध्ये अधिकांशको पछिल्लो तहको ग्रेड, एसएटी/जीआरई, टफेल अंक उच्च हुन्छ," एमआईटीमै इन्जिनियरङि्मा स्नातक गररिहेका शम्भुबाबु कोइराला सुनाउँछन्, "त्यसैले अंकभन्दा बाहिरको यात्रा निकै लामो हुन्छ।" कलेज एसेले त्यही यात्राको गन्तव्य निर्धारण गर्छ।

विश्वभरका थुप्रै कलेजले यो शैलीलाई नै पछ्याउँछन्। एसे त्यस्तो चीज हो, जसले उस्तै प्रतिस्पर्धी विद्यार्थीका माझबाट आफूलाई छुट्याउँछ। विद्यार्थीको क्षमता जीपीए -ग्रेड प्वाइन्ट एभरेज) अर्थात् औसत अंकले मात्र मापन हुँदैन। "अंकसँगै विषयप्रतिको लगाव कस्तो छ भन्ने कलेजले विद्यार्थीबाट खोजिरहेका हुन्छन्," जर्मनीको ज्याकोब्स विश्वविद्यालयमा इलेक्टि्रकल इन्जिनियरङि् एन्ड कम्प्युटर साइन्समा स्नातक गररिहेका ग्रीष्मराज पाण्डेय भन्छन्, "अंकको पुस्ट्याइँ गर्ने र त्यसमा जीवन्तता भर्ने काम एसेले नै गर्छ।"

उनी स्वयंले आफ्नो एसेमा गतिलो स्कुल लाइब्रेरी नहुँदा विज्ञानका नयाँ कुरा सिक्न गरेको प्रयासबारे उल्लेख गरेका थिए। चित्रपुस्तकमा रुचि राख्ने ग्रीष्मको स्वभावलाई एक पुस्तक पसलेले राम्रोसँग बुझेका थिए। त्यसैले आफूकहाँ आउने हरेक नयाँ पुस्तक उनले ग्रीष्मलाई देखाउँदा रहेछन्। एक दिन ग्रीष्मका आँखा एउटा निकै मोटो एवं चित्र पुस्तक डिक्सनेरी अफ साइन्समा परेछन्। तत्काल पैसा नभएकाले उनले आफूले पैसा नजुटाउँदासम्म अरूलाई नदिन आग्रह गरेछन्। त्यही सेरोफेरो समातेर उनले एसेमा लेखेका छन्, 'त्यो पुस्तक मेरा लागि त्यसबेला गुगल वा विकिपिडियाझैँ भइदियो।' 


अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयमा स्नातक पढिरहेका किरण रानाले भने मध्यरातमा कसैले थाहा नपाउने गरी वैज्ञानिक प्रयोग गरेका रहेछन्। लन्डनमा प्लस टू सरहको आईबी कोर्स गर्दा उनलाई शिक्षकले पढाएको कुरामा मात्रै विश्वास भएनछ। त्यही भएर मध्यरातमा चुम्बक विजुली सम्बन्धको  प्रयोग गरेछन्। यही कुरालाई उनले विस्तारमा स्ट्यानफार्ड विश्वविद्यालयमा भर्नाका लागि गरेको एप्लिकेसन एसेमा उल्लेख गरेका थिए।     

एप्लिकेसन एसे यही विषयमा हुनुपर्छ भन्ने छैन। ती आफ्ना जीवनका तीता-मीठा घटना वा प्रेरणा दिने कुनै व्यक्ति वा आख्यानका पात्रलगायतका विषयमा पनि हुन सक्छन्। कसैले आफू जान लागेको कलेज आफ्ना लागि किन आवश्यक छ भन्ने कुरासमेत तिनै घटनासँग जोडेर लेख्न सक्छन्। घटना दमदार छ भने त्यसले आफ्ना कमजोरीलाई समेत ढाक्न सघाउँछ। 

राम्रा कलेजमा भर्ना पाउने सम्भावना त्यतिखेर कम हुँदै जान्छ, जब एउटा तह सकेर अर्कोमा जाँदा जति बढी अन्तराल राखिन्छ। जस्तो : अहिले अमेरिकाको कार्लटन कलेजमा बायोलोजीमा स्नातक गररिहेका समीर अमिर कंसाकार प्लस टू सकेपछि झन्डै दुई वर्ष कतै भर्ना भएनन्। प्लस टू पढ्दाखेरी नै इरानमा सम्पन्न साना वैज्ञानिकहरूको भेला 'जुनियर फिजिक्स ओलम्पियाड'मा सहभागी भइसकेका कंसाकारले त्यो खाली समयमा काठमाडौँको रोजबड स्कुलमा कक्षा ४ र ५ मा विज्ञान पढाए। स्कुलमा उनी विद्यार्थीसँग निकै नजिकिए, त्यसको नतिजास्वरूप विद्यार्थीले थुप्रै विज्ञान प्रदर्शनीसमेत गरेछन्। विद्यार्थीलाई रोचक हुने गरी विज्ञान पढाउन आफूले प्रयोग गरेका शैलीलाई नै उनले कलेजमा पठाएको एसेमा वर्णन गरेका थिए। एसेमा उनले लेखे, 'उनीहरूको संगतले नयाँ कुरा सिक्न अहिले म सबैभन्दा बढी उत्सुक भएको छु। चुनौतीपूर्ण भावी दिनका लागि ममा झन् आत्मविश्वास बढेर आएको छ।' 

कलेज एसेको शक्ति कतिसम्म हुन्छ भन्ने प्रमाण हो, केही वर्षअघि एमआईटीमा परेको एउटा निवेदन। आफ्नी आमा बिरामी भएर थला परेसँगै एक युवतीले तीन वर्ष पढ्न रोकेकी थिइन्। उनको 'स्याट स्कोर'समेत एमआईटीस्तरभन्दा केही कम नै थियो। यद्यपि, उनी छानिइन्। उनले लेखेकी थिइन्, 'म धन्य छु त्यो विगतप्रति, जसले मलाई मेरी आमाको समीपमा रहेर सेवा गर्ने अवसर दियो। ती सुख-दुःखका अनुभवले मलाई जीवनमा अब कुनै कुरा ठूला-साना छैनन् भन्ने बोध गराएको छ।'

आफ्नो लक्ष्य वा जीवनबारे केही सय शब्दमा व्याख्या गर्नु निकै जटिल काम हो। लेखन छोट्याउँदा छोट्याउँदा जब एउटा शब्द-सीमामा लेखिने निकै कम कुरा रहन्छ आवेदक विद्यार्थीको प्राथमिकतामा जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा के पर्छ भन्ने थाहा हुन्छ। अर्कोतर्फ एउटा निवेदनलाई धेरै लामो समय लगाएर हेर्नसमेत नभ्याउने हुँदा एसे उत्तिकै संक्षिप्त एवं प्रभाव पारिहाल्ने स्वभावको हुनुपर्छ। कलेज एप्लिकेसन एसेहरू निकै व्यक्तिगतसमेत हुन्छन्। 

बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा पीएचडी शोधरत श्रोशिष कार्कीका भनाइमा कलेज एसेमा भाषा राम्रो भन्नेले त्यति महत्त्व राख्दैन, जति उसले कतिसम्म आफ्नो मनले बोलिरहेको छ भन्नेले राख्छ। छनोट समितिमा हुने मनोविज्ञ, त्यस्तै पुराना विद्यार्थी र प्राध्यापकले अन्य सहयोगी डकुमेन्टसँग तुलना गरेर सक्कली-नक्कलीको सजिलै भेउ पाइहाल्छन्। 

उल्लेख्य घटना केही नभए आवेदकको सोचाइ, दृष्टिकोण कस्तो छ भन्नेले समेत भर्ना एवं छात्रवृत्तिका लागि सघाउँछ। अमेरकिाको म्यासाच्युसेटमा रहेको माउन्ट होलियोक कलेजमा गणित र अर्थशास्त्र पढिरहेकी प्रार्थना भट्टराईले आफूले जीवनका कुन कुन समयमा कस्तो कस्तो सपना देखिन् र ती कसरी परविर्तन भइरहे भन्नेबारे लेखेकी थिइन्। 

कलेज एसेको दायरा निकै फराकिलो छ। र, त्यही फराकिलो दायरा नै यसको विशेषता र चुनौती पनि हो। "एसेमा मैले यसो/उसो गरेँ भन्दा पनि म यस्तो स्वभाव र विशेषता भएको व्यक्ति हुँ भनेर चिनाउन सक्नुपर्छ," अमेरिका ब्राउन विश्वविद्यालयमा इन्जिनियरङि् गरिरहेका दीक्षान्त राई भन्छन्, "मैले मेरो जीवनका मुख्य भवितव्यसँग कसरी जुधेँ भन्ने लेखेको थिएँ।"

अमेरिकाकै ड्युक विश्वविद्यालय इलेक्टि्रकल एन्ड कम्प्युटर इन्जिनियरङि्का विद्यार्थी अभिषेक उपाध्याय घिमिरे कुनै कुरा राम्ररी जान्नका लागि त्यससँग नजिक रहनुपर्ने बताउँछन्। जस्तो, उनका काकाले काठमाडौँमा सक्दो उनलाई गाडी नचढीकन हिँड्न प्रेरति गरे। त्यसो नगरेको भए नेपालको गरिबी, राजनीतिक अस्थिरता वा सांस्कृतिक-सामाजिक विविधताको ज्ञान निकै कमजोर एवं सतही हुन सक्ने उनी ठान्छन्। 

कलेज एसेमा ठीक/बेठिक भन्ने नै हुँदैन। आवेदकका कमजोरीका बीच पनि कलेजले सम्भावना देखेर भर्ना एवं छात्रवृत्ति दिन सक्छ। त्यसैले विश्वका शीर्ष कलेजमा पढ्ने सपना देख्नेका लागि अनुभवीहरू एउटै सल्लाह हुने गरेको छ कि आफूलाई चिन्नुपर्छ र मनको कुरा बोल्नुपर्छ। राम्रो कलेज पढ्न पाउने साँचो त्यही नै हो। 

No comments:

Post a Comment